नेपालीको पठन संस्कृति
सुदर्शन पौडेल
हिलो सन्दर्भ, कोभिड–१९ले सिर्जना गरेको बन्दाबन्दीबीच केही पुस्तक पढ्ने निधो गरेँ । यो अवसरमा पेसासँग भन्दा पनि व्यावहारिक विज्ञान, जनजीविकाका साहित्य र जीवनीसम्बन्धी पुस्तकहरू पढ्ने विचार आयोे । आफ्नो सङ्ग्रहमा रहेका किताबमध्येबाट केही इच्छाएका छनोट पनि गरेँ । कथावस्तु र प्रस्तुतीकरण राम्रै हुँदा पनि कतिपय किताब पढी भ्याउन निकै सकस प¥यो । म आफूलाई पुस्तकपे्रमी ठान्थेँ तैपनि निरन्तर पढ्न दशा भयो ! यस सम्बन्धमा साथीहरूको राय बुझ्दा उनीहरूलाई पछिल्लोपटक पढेको किताबको नाम सम्झन समेत गाह्रो भयो ।
अर्को सन्दर्भ, हाम्रा पितापुर्खाहरूको खोजतलास गर्ने प्रयासमा थियौँ । हजुरबुबाले आफ्नो जीवनकालमा गरेका कार्यहरूको बारेमा पर्याप्त जानकारी पाउन सकेनौँ । मैले सुनेअनुसार उहाँ वि.सं. १९०० को आखिरी ताका सप्तरीको हनुमान नगरमा बडाहाकिम हुनु हुन्थ्यो । त्यहाँ बुढा–पाका मान्छेहरूलाई भेट्ने र उहाँका बारेमा जानकारी सङ्कलन गर्ने प्रयास समेत उपलब्धिमूलक भएन्न । उहाँहरूका बारेमा लिखित तथ्य सङ्ग्रह भएको कतै पाइएन । जो जो जानकार थिए, उनीहरूको अवसानसँगै यति छोटो अवधिमा सबै
कुरा हराए ।
माथिका दुई प्रतिनिधि घटनाले मेरो चेतनाको अन्तःस्करणमा निकै घोच्यो । हामी श्रुति–प्रथाका अनुयायी रहेछौँ, सुनेको भरमा विचार बनाउने । सुनेका कुरा पुस्तान्तरण भएन भने बिलाएर जान्छन्, पुस्तान्तरण हँुदा समेत धेरै अपभ्रंश हुन्छन् । आफ्ना कुरा लेख्ने, पढ्ने बारेमा (परापूर्वकालदेखि) त्यत्ति महìव दिएको पाइँदैन । यसैकारण हाम्रा वंश–परम्परा, सांस्कृतिक रीतिरिवाज, ऐतिहासिक तथ्यहरू विलोप भए भने अझ कतिपय तथ्य तथा भाषा संस्कृति अघिल्लो पुस्तासँगै समाप्त हुने क्रममा छन् ।
पत्र–पत्रिका वा अन्य सूचना शिक्षा सञ्चारका सन्दर्भ सामग्रीहरू अधिकांश मानिसले ज्ञानको लागि भन्दा पनि सतही जानकारी लिन उद्देश्यले शीर्षक मात्र पढ्ने प्रचलन देखिन्छ । पाठ्यक्रमका पुस्तकबाहेकका अन्य प्रकाशित पुस्तकहरू रोजाइमा कमै पर्छन् । किताब, सङ्ग्रहणीय पाठ्य सामग्रीको खरिद गर्नुलाई फजुल खर्च ठान्ने जमात ठूलो छ । राजनीतिदेखि शिक्षण पेसामा समर्पितहरू पनि यसै वर्गमा पर्छन् । आफ्ना भावनालाई लिखित अभिव्यक्त गर्न महìव दिँदैनन् । कलम चलाउने हिम्मतै गर्दैनन् । जसले धेरै अध्ययन गरेको छ, उसले कम लेख्छ, जो केही लेख्न सक्ने छन् उनीहरू
कम पढ्छन् !
पढ्ने–लेख्ने कामलाई जीवन निर्वाहको आधार बनाउन सक्ने अवस्था पनि छैन । त्यसैले कतिपय राम्रा लेखकका पाँच सय पुस्तक समेत बिक्री नभएको सुनिन्छ । पाठकहरूको उत्साहजनक सहभागिता नभइरहेको कारण जतिसुकै गुनिलो पुस्तकको पाण्डुलिपि तयार भए पनि रचनाकारहरू प्रकाशनको जोखिम उठाउन चाहँदैनन् ।
स्मार्ट मोबाइल, कम्प्युटर मानिसका आधारभूत आवश्यकता बन्न गएका छन् । बच्चादेखि वृद्धसम्म यसैमा झुम्मिएका हुन्छन् । वातचित् गर्ने, केही पढ्ने–सुन्ने–हेर्ने, खेल खेल्ने वा फोटोमा रम्नेदेखि पेसा–व्यवसाय सम्बन्धित काम यिनैबाट हुँदैछ । प्रविधिले मानिसलाई नै विस्तारै मेसिन बनाउँदैछ । आजभन्दा दुई दशक अघिसम्म कैयौँ फोन नम्बरहरू, महìवपूर्ण तिथिमिति कण्ठाग्र हुन्थे । आजकल हाम्रो मस्तिक अल्छी वा सुस्त भएको छ । फोन वा कम्प्युटर साथमा नहँुदा आफ्नै जन्ममिति थाहा नहुने अवस्था आएको छ ।
मनमा जिज्ञासा उठ्छ, हामी केका लागि पढ्छौँ, ज्ञानका लागि या सवाल जवाफका लागि ? आफ्नो पारिवारिक विरासत, समाज र राष्ट्रको विगत–आगतको बारेमा कति जानकार छौँ? जवाफ धेरैको हकमा एउटै हुन सक्छ – ‘विगतको बारेमा जानेर के गर्नु ?’
तर आफ्ना पुर्खाको सङ्घर्षका घटना र अनुभवबाट पाठ लिनु सर्वत्र भावी पुस्ताका लागि फाइदाजनक हुन्छ । पठन संस्कृतिको विकास भनेको उपलब्ध भएसम्म धेरै पाठ्य सामग्री अध्ययन गर्नु, त्यसमा अन्तरनिहीत ज्ञानलाई मनन गर्ने बानी बसाल्नु हो । पाठ्य सामग्री पुस्तकका अलावा, भेटघाट, अवलोकन, विद्युतीय सामग्री वा श्रव्य–दृश्य माध्यमका सामग्री समेत हुन सक्छन् । विविध विषयका पाठ्य सामग्रीहरू छनोट गरी गर्नुपर्छ ।
भनिएको छ, धेरै पढ्ने मानिस नै पूर्ण हुन्छ । पठन संस्कृतिले चेतनाको मार्ग हुँदै सत्यका विभिन्न पक्षहरूसँग साक्षात्कार हुने मार्ग प्रशस्त गर्छ । सही र गलतको फरक छुट्याउने क्षमता मिल्छ अर्थात् समग्रमा मानव बनाउँछ । उसो त हालको इन्टरनेटले सिकाइका लागि निकै ठूलो अवसर जुटाई दिएको छ । अहिले विश्वको उपलब्ध ठूलो ज्ञान यसैमा सङ्गृहीत र उपलब्ध छ । यसको पहुँच नहुने वर्गको कुरा अर्कै भयो, पहुँच हुनेहरू पनि किन अज्ञानी छन् ? यसको अर्थ हो – हामी अधिकांश मानिस पूर्ण हुन सकेका छैनौँ ।
पढ्दा भाषिक ज्ञानको साथै त्यहाँ वर्णित सामाजिक, भौगोलिक, मनोवैज्ञानिक पक्षको बारेमा समेत पर्याप्त जानकारी पाउन सकिन्छ । यो क्रमलाई जति व्यापक र विविधीकरण (इतिहास, भूगोल, सामाजिक, संस्कृति, राजनीति, आर्थिक, जीवनी, साहित्य, विज्ञान, सङ्गीत आदि) गर्न सक्यो त्यति विविध विषयमा सैद्धान्तिक, व्यावहारिक र वैचारिक रूपमा बलियो बन्न सकिन्छ । पढ्ने बानी बसेपछि यो जीवनपद्धति बन्न जान्छ । आफ्नो पेसा वा रुचि बाहेकका विविध विषयवस्तुमा छलफल गर्नुपर्दा पनि आफू निरीह बन्नु पर्दैन । छलफलमा केही न केही योगदान गर्न वा वैकल्पिक विचारहरू राख्न सक्षम भइन्छ । अन्यथा सीमित धारणा व्यक्त गरेपछि आफू रित्तिएको महसुस गर्नुपर्ने हुन्छ ।
कतिपय मानिस सन्तुष्टिका लागि पढ्छन् भने कतिपय असङ्ख्य जिज्ञासा मेट्न पढ्छन् । तर हाम्रो समाजमा अधिकांश मानिसहरूको लागि पढ्नु भनेको बाध्यता मात्र हुने गरेको छ । नयाँ पुस्ताले शिक्षालयमा बाध्यताले पाठ्य–पुस्तक पढेका छन् । परीक्षाको डरले पढेको यस्तो पढाइ पूर्ण हुनै सक्दैन । त्यसबाहेक बढी पढिने भनेको सामाजिक सञ्जाल वा इन्टरनेटमा आधारित (सतही ज्ञानका) सामग्री हुन् । अधिकांश मानिस कुनै विषयमा निष्कर्षमा पुग्नुभन्दा पहिले विविध स्रोतबाट जानकारी सङ्कलन वा ग्रहण गर्ने गरेको पाइँदैन । सहजरूपमा उपलब्ध सीमित तथ्यलाई आधार मान्दा तथ्य अपुष्ट वा गलत भएमा त्यसले पार्न सक्ने क्षति निकै प्रत्युदपादक हुन्छ ।
कलिला सन्ततीले अरनिको, बहादुर शाह, बलभद्र, भक्तिथापा, भिमसेन थापा, अमर सिंहबारे सुनेका होलान् तर तिनीहरूको योगदान थोरैलाई मात्रा थाहा होला । आफ्ना पितापुर्खाको सङ्घर्षको कथा थाहा नपाएको ठूलो जमात हुर्कंदै गरेको समाज साँचो अर्थमा खोक्रो र नीरस हुँदैछ । उनीहरूले आफ्ना दांैतरी चिनेका छन् र तिनीहरूलाई बाबुआमा भन्दा पनि बढी विश्वास गरेका छन् । नयाँ पुस्ताले सामाजिक मूल्य मान्यतालाई अनुसरण गर्न र जीवन उपयोगी सीप सिक्न रुचि नदेखाएकोमा अभिभावकहरूले गुनासो गर्छन् । यसको पहिलो कारण त अभिभावक स्वयं नै हुन् । बच्चालाई सानै उमेरदेखि सकारात्मक उत्प्रेरणा हुने घटना वा विषयवस्तुहरू रोचक माध्यमबाट सुनाउने वा देखाउने गरेको भए सायद धेरै मानिस ठूलो भएपछि पनि पढेर नयाँ कुरा सिक्न तत्पर रहन्थे होला ।
बाल्यकालमा राति सुत्ने बेलामा सुनाएका दन्त्य कथामा व्यावहारिक ज्ञान कम तर डर त्रास बढी भरिएका हुन्थे । अलि ठूला भएपछि बच्चाहरूलाई यो गर त्यो नगर भनी सिकाइन्थ्यो । कुनै काम किन गर्ने र अर्को किन नगर्ने भन्ने बारेमा कहिल्यै चित्त बुझ्दो जवाफ नदिने, केवल लाद्न खोज्ने प्रवृत्ति यथावतै छ । तर बाबु –आमा वा परिवारमा पढ्ने संस्कार देखेको बच्चालाई अरूले पढ भन्नै पर्दैनथ्यो । त्यसैले नयाँ पुस्तालाई सतही ज्ञानमा सीमित बनाउन थालनी परिवारबाटै भएको छ ।
परिवारलाई छोडेर बच्चाले बढी समय बिताउने स्थान स्कुल हो । त्यहाँ पनि ज्ञानभन्दा परीक्षालाई लक्षित गरी सम्भाव्य प्रश्न र त्यसको उत्तर कण्ठस्थ गर्न लगाइन्छ । पाठ्यक्रमका अलावा बाहिरका विषय–विधामा सायदै चर्चा हुन्छ । स्कुलहरूमा विद्या लक्षित पुस्तकालय छैनन् । यदाकदा भए पनि विद्यार्थीलाई त्यहाँका पुस्तकहरू पढ्न प्रेरित गरेको पाइँदैन । शिक्षकहरूले विविध विषयका पुस्तकको बारेमा बोधगम्य रूपमा विद्यार्थीहरूलाई बताइदिने र उनीहरूलाई थप पढ्न प्रोत्साहन गरेको पाइँदैन । किनभने, शिक्षकहरूमै पढ्ने, लेख्ने संस्कृति बनेको छैन । यस्तै पारिवारिक तथा शिक्षालयको पृष्ठभूमिबाट अगाडि बढेका देशका उच्च पदस्थहरू समेत भन्नका लागि धेरै पढ्नुपर्छ भन्छन् तर उनीहरू आफैँ पढ्दैनन् वा पढेको मनन गरी व्यवहार गर्दैनन् । यसैले नेपालका अधिकांश मानिसका लागि पढ्ने बानी बसाल्नु कठिन काम देखिएको छ । ■
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्राध्यापक हुनुहुन्छ ।)