विचार/दृष्टिकोण |

पुँजी बजारमा महिला लगानीकर्ता

नरेन्द्रमान श्रेष्ठ

सेयरबजार सबैको चासोको विषय बनिसकेको छ । सेयरबजारमा लगानीकर्ताहरू थपिँदै छन् । यसमा महिलाहरूको पनि चासो र सहभागिता बढिरहेको देखिन्छ । सेयर दलाल कम्पनीहरूमा सेयरको कारोबारका लागि पुग्ने महिलाहरूको सङ्ख्या बढ्दै छ । त्यसो त पछिल्लो समयमा सेयर कारोबार गर्न सेयर दलालको कार्यालयसम्म धाउन पनि नपर्ने भएको छ । टेलिफोन र अनलाइनबाट पनि सेयर कारोबार गर्न सकिने भएको छ । आफू बसेको ठाउँ जहाँ इन्टरनेटको सुविधा छ, अनलाइनबाट नै कारोबार गर्न सकिने भएको छ । यसले पनि सेयर कारोबारमा महिला लगानीकर्ताहरूलाई सहज भएको छ । दिनको समयमा ११ बजेदेखि ३ बजेसम्म आफ्नो फुर्सदको समयमा घर बसीबसी सेयर खरिद बिक्री गर्न सकिन्छ । यसले पनि सेयरबजारप्रति महिलाहरूको आकर्षण बढेको देखिन्छ ।
चाहे प्राथमिक वा दोस्रो बजारमा होस्, महिलाहरूको संग्लनता विगतमा त्यति नदेखिए तापनि अब दिनानुदिन बढिरहेको देखिन्छ । हुन त सेयरबजामा मात्र नभई, देशको हरेक क्षेत्रमा महिलाहरूको संलग्नता बढिरहेको छ । देशका संवैधानिक पदहरू– राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशदेखि विभिन्न सङ्घ संस्था, कम्पनीहरूमा महिलाहरूको संलग्नता छ । स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुुनुपर्ने व्यवस्था छ ।
सेयरबजारमा महिलाहरूको संलग्नताले सेयरबजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । बजारको दायरा फराकिलो बनाउनेछ । सेयर कारोबारमा मात्र नभई, सेयर दलाल कम्पनी, आरटीएस कार्यालयहरूमा पनि थुप्रै महिलाहरूको सग्लनता छ । विभिन्न कम्पनीहरूको साधारणसभामा पनि महिलाहरूको उल्लेख्य रूपमा सहभागिता हुने गरेको छ । सेयर कारोबारमा संलग्न हुने महिलाहरूमा धेरैजसो गृहिणी छन् । सबै वर्ग, तहका महिलाको संलग्नता देखिन्छ, सेयरको कारोबार गर्दा जागिर खाएकोजस्तो नियमित १० बजेदेखि पाँच बजेसम्म कार्यालयमा बसेर काम गर्न नपर्ने र ११ बजेदेखि तीन बजेभित्रमा आफ्नो फुर्सदमा मात्र लागे पनि हुन्छ । विशेष योग्यता पनि नचाहिने, सामान्य लेखपढ, सामान्य योग्यता भए पनि सेयर कारोबार गर्न सकिने भएकाले पनि यो क्षेत्रमा महिलाको सहभागिता बढेको हो ।
बिहान ११ बजेदेखि ३ बजेसम्म जुनसुकै समयमा घरमै बसेर पनि सेयर खरिद बिक्री गर्न सकिने भएकाले महिलाहरू आफ्नो घरको काम सकेर ब्रोकर कम्पनीमा गएर वा घरमा नै बसेर सेयर कारोबार गर्ने गरेका छन् । महिलाहरूको फुर्सदको समय सदुपयोग र केही आम्दानी पनि गर्न सकिने भएकाले र बाहिरी ज्ञान पनि प्राप्त गर्न सकिने भएकाले खासगरी गृहिणीहरूको संलग्नता बढी देखिएको हो । अरू व्यापार व्यवसाय गर्नका लागि जस्तो सुरुमा लाखौँ रुपियाँ चाहिन्छ भन्ने पनि छैन । दोस्रो बजारमा नै भए पनि कम मूल्यका राम्रा कम्पनीहरूको सय÷पचास कित्ता सेयर खरिद गरेर सेयबजारमा प्रवेश गर्न सकिने भएकाले पनि सेयर कारोबारमा महिलाहरूको सहभागिता बढिरहेको हो । कतिपय सेयर दलाल कम्पनीहरूले नयाँ र साना लगानीकर्ताहरूलाई त्यति महŒव नदिने गरेको पनि लगानीकर्ताहरू बताउँछन् तर ब्रोकर कम्पनीहरू भने यस्तो मान्न तयार छैनन् । ब्रोकरहरू नयाँ साना ठूला महिला सबै वर्ग तहका लगानीकर्ताहरूलाई उत्तिकै महŒव दिने गरेको बताउँछन् । सबै सेयर दलाल कम्पनीहरूले साना, नयाँ महिलाहरूलाई प्राथमिकता दिनुपर्छ । यिनीहरूले पनि सेयरबजारको दायरालाई बढाउने गर्छन् ।
सेयरबजारको दोस्रो बजारमा लगानी गर्दा यसमा जोखिम पनि हुने गर्छ । सेयरबजारमा लगानी गर्दा फाइदामात्र हुनेछ भन्ने कतिपयको लगानीकर्ताको सोच रहेको पाइन्छ । सेयरबजारमा सधैँ फाइदामात्र हुने होइन, यसमा जोखिम पनि हुने गर्छ । सेयरबजार सधैँ उकालोमात्र लाग्ने गर्दैन, ओरालो पनि लाग्छ । उकालो चढ्ने र ओरालो लाग्ने सेयरबजारको विशेषता नै हो । चाहे महिला वा पुरुष सेयरबजारमा पवेश गर्दा विभिन्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । सेयरबजारमा विभिन्न कारणले प्रभाव पार्ने गरेका हुन्छन् । कहिले राजनीतिले, कहिले हल्लाले त कहिले ठूला लगानीकर्ताहरूको चलखेलका कारणले सेयरबजारमा सकारात्मक नकारात्मक प्रभाव पार्ने गरिरहेका हुन्छन् । यसकारणले सेयरबजारमा प्रवेश गर्न चाहने महिलाले अरूको लहैलहैमा, अरूले सेयरबजारबाट कमाएको देखासिकी गरेर, हल्लाको भरमा लगानी गर्न उपयुक्त हुँदैन । सेयरबजारलाई बुझेर, बजारका बारेमा अध्ययन गरेर लगानी गर्नुपर्छ । सेयर कारोबारमा उतारचढाव भइरहन्छ । यसमा आत्तिन हुँदैन । कम्पनीहरूको विस्तृत रूपमा अध्ययन गरेर राम्रा कम्पनीहरूमा दीर्घकालीन योजनासाथ लगानी गर्नुपर्छ ।
नयाँ लगानीकर्ताहरू महिला वा पुरुष, सुरुमा सेयरबजारमा प्रवेश गर्दा दोस्रो बजारमा भन्दा प्राथमिक बजार र म्युचुअल फन्डहरूमा लगानी गरे राम्रो हुन्छ । प्राथमिक बजार भनेको दोस्रो बजारमा प्रवेश गर्ने सिँढीजस्तै हो । यसमा जोखिम पनि कम हुन्छ । पहिले सेयरबजारमा कारोबार हुने तौरतरिकासम्बन्धी जानकारी लिने, सूचनाहरू सङ्कलन गर्ने, आफूले खरिद गर्न लागेको कम्पनीका बारेमा तथ्याङ्कहरू सङ्कलन गरेरमात्र लगानी गर्नुपर्छ । लगानीकर्ताहरूमा धैर्य पनि हुनुपर्छ । ‘होल्ड’ गर्न सक्ने क्षमता पनि हुनुपर्छ । त्यसो त सेयरमा लगानी गर्दा आजको भोलि नै फाइदा हुने होइन । त्यसैले अल्पकालीनमात्र नभई, दीर्घकालीन योजनासाथ लगानी गर्नुपर्छ । त्यसो भएमात्र सोचेअनुरूप फाइदा लिन सकिने हुन्छ । सेयरबजारका लगानीकर्ताहरू जानकार, सजग र सचेत भने हुनैपर्छ ।
(लेखक सेयर लगानीकर्ता हुनुहुन्छ ।)