विचार/दृष्टिकोण |

मेलमिलापको सामयिकता

मनोहर कार्की

लोकतन्त्र र लोकसम्मति एक अर्काका परिपूरक हुन् । लोकसम्मतिलाई केन्द्रबिन्दुमा राखेर राज्यको शासनविधि सञ्चालन गर्ने कार्यमा राज्य सञ्चालन गर्ने परिपाटीको विकास र अवलम्बन नै वास्तविक अर्थमा विधिको शासनको निम्नतम आधारभूत मान्यता हो । यस मानेमा हाम्रो शासन प्रणालीलाई शासन सञ्चालकहरूले कति विधिको शासनमुखी बनाउन सकेका छन् भन्ने कुराले खास महìव राख्छ । यसै सन्दर्भमा एक प्रसिद्ध राजनीतिक विश्लेषकले असल शासक त्यही हो जो सबैभन्दा कम शासन गर्छ भनेका छन् । राजनीतिक क्षेत्रमा असल शासन सञ्चालकले लोकसम्मतिलाई शासनको आधार बनाउने गर्छन् । यस मानेमा लोकसम्मतिको आधारशीलामा राज्यव्यवस्था सञ्चालन गर्ने उदाहरणीय शासकका रूपमा थोरै व्यक्तिले मात्र आफ्नो भूमिका जनमानसमा प्रस्तुत गर्न सकेका छन् । नेपालको सन्दर्भमा त्यस्तै व्यक्तिहरूको नाम लिँदा बीपी कोइरालाको नाम आउँछ, जसले शासकभन्दा आमजनताका पथप्रदर्शकका रूपमा जननिर्वाचित सरकारको नेतृत्व गरेको स्मरणीय छ ।
लोकतन्त्रलाई जनआशाको मियो र अभिमतको सहमतिका रूपमा लिएर जनजीविकाका सवालमा लागिपर्ने नेता विरलै पाइन्छ । शासनको बागडोरलाई शक्ति आर्जन र उत्सर्जनको प्रदूषणबाट मुक्त राखेर जनताका सेवकका रूपमा उभ्याउन बीपीका विचार र आदर्श पथप्रदर्शक हुन सक्लान् । तर कताकता हामी र हाम्रो नेतृत्ववर्ग सत्ता र शक्तिको उन्मादमा रोमका सम्राट निरोझैँ दिग्भ्रमित र अन्यमनस्क चिन्तन र सोचबाट ग्रसित भएझैँ लाग्छ । नेपालको समसामयिक राजनीतिक घटनाक्रमले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको चलायमान गतिमा गत्यात्मक अवरोध आउँछ कि भन्ने आशङ्काको बादल मडारिएको छनक देखिन्छ । फेरि सन्दर्भ र घटनाक्रमले राजनीतिक स्थिरता र दिगोपनाका लागि कुशल निर्णय क्षमताको खोजी गर्दैगर्दा राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको सान्दर्भिकतालाई अझ घनिभूत बनाएको छ । मुलुक एकपटक फेरि लोकतान्त्रिक अभ्यासको नयाँ शिरामा प्रकटीकरण भएको छ । नेकपाको चरम द्वन्द्व र विभाजनको भुमरीबीच ताजा जनादेशको खोजीमा प्रधानमन्त्री केपी ओलीले कसरत गर्दै रहँदा उहाँको निर्णयको वैधानिकता र संवैधानिकताका सवालमा सर्वोच्च अदालतमा रिट परेका छन् । घटनाक्रम र न्यायिक निरूपणले अग्रता पाउँदै गर्दा प्रमुख राजनीतिक दलहरू सडकमा लोकतन्त्र र संवैधानिकताको पटाक्षेपका बारेमा पैरवी र जनमत खोज्दैछन् । जयविजयको रस्साकस्सी केही समय फेरि बित्नेछ । आमजनमानसले लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको अक्षुण्णताको प्रत्याभूति चाहन्छ । राजनीतिक संस्कृति र संस्कारको शालिनपन हाम्रो लोकतन्त्रको जड हुनुपर्छ । सन्दर्भले राष्ट्रिय मेलमिलाप र एकताको सन्देश निकै हदसम्म राजनीतिक स्थायित्व, दिगोपन र जनजीविकाको सवालमा साझा धारणा र सहकार्य नै हो ।
नेपालको राजनीतिक इतिहासमा वि.सं. २०३३ पुस १६ गतेको ऐतिहासिक महìव छ । यसै दिन नेपाली राजनीतिका एक शिखर व्यक्तित्व तथा प्रजातान्त्रिक समाजवादी विचारका प्रणेता जननायक बीपी कोइराला छिमेकी राष्ट्र भारतको आठ वर्ष लामो निर्वासनपश्चात् राष्ट्रिय मेलमिलाप तथा एकताको नीति बोध गरी नेपाली जनता र नेपाली माटोको चाहनालाई मूर्तता दिने अठोटको पैरवी गर्दै पार्टीका अन्य नेता तथा निष्ठावान् कार्यकर्ताहरूसहित स्वदेश फर्किनुभयो । त्यतिबेला भारतमा रहेका प्रबुद्ध राजनीतिक तथा अनन्य शुभचिन्तकहरूले परिस्थिति बीपीका लागि अनुकूल नभएकोले आफ्नो निर्णयमा पुनर्विचार गर्न समेत सुझाएका थिए । तथापि बीपी आफ्नो निर्णयमा अडिग रहेर नेपाल फर्किनुभयो । यस ऐतिहासिक दिनको सम्झना र संस्मरणमा प्रत्येक वर्ष पौष १६ गतेका दिन राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको रूपमा नेपाली कांँग्रेसले देशव्यापीरूपमा मनाउँंदै आएको छ । तात्कालिक निरङ्कुश पञ्चायती शासन व्यवस्थामा दलमाथिको कडा प्रतिबन्ध, राजनीतिक दलका कुनै पनि शान्तिपूर्ण कार्यक्रम तथा भेलामा समेत रोक तथा चरम धरपकडको अवस्थामा आफूमाथि राजद्रोह तथा राजकाजसम्बन्धी करिब एक दर्जन जति मुद्दाका बावजुद असहज परिस्थितिमा निर्भिक, दृढनिश्चयी तथा साहसिक राजनेताका रूपमा बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो । लोकतन्त्रको प्रवद्र्धन अनि राजसंस्थाको हितमा पनि आफूले राष्ट्रिय मेलमिलापको नीति लिएर एकताको सन्देश प्रवाह गर्दै स्वदेश फर्किएको विचार उहाँले राख्नु भएको थियो ।
राष्ट्रिय मेलमिलापको नीतिको सान्दर्भिकतासँग समकालिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थिति पनि कारकका रूपमा लिन सकिन्छ नै । बीपीको सोचपूर्ण निर्णयशक्तिका पछाडि विशेषतः अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको कूटनीतिक चलखेल, दक्षिण एसियाको तरल क्षेत्रीय राजनीतिक असन्तुलन तथा सामरिक महìव र दक्षिण एसियाक्षेत्रको क्षेत्रीय मामलामा चासो राख्ने शक्ति राष्ट्र र शक्ति केन्द्रहरूको निहित स्वार्थ अनुकूल हितआर्जन गर्ने कुत्सित परिदृश्यहरूले नेपालको राष्ट्रियता र अखण्डतामा चुनौती दिएको उहाँको ठम्याइ थियो । यही आधारमा अन्ततः नेपालीजन माझ आफ्ना विचार, राजनीतिक चिन्तन र नीतिलाई उजागर गर्ने आशयका साथ उहाँ फर्किनुभएको हो भन्ने विश्लेषण सही हुनसक्छ । नेपाली काँग्रेस अनि नेपाली राष्ट्रिय अखण्डता र नेपाली राजनीतिलाई सहकार्य तथा सहअस्तित्वका आधारमा अगाडि लैजानुपर्छ भन्ने मान्यताको जोडदार वकालत हुनसक्यो यो नीति । उहाँमाथि तात्कालिक पञ्चायती शासकले लगाएका कथित मुद्दाहरू पञ्चायती न्यायालयमा प्रमाणित भएका भए मृत्युदण्ड हुनसक्ने थियो । त्यसैले त बीपी कोइरालाले लिनुभएको निर्णयलाई राजनीतिक विश्लेषकहरूले साहसिक तथा दूरगामी निर्णयका रूपमा लिएको बुझ्न सकिन्छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले वि.सं. २००७ को क्रान्तिपश्चात् नै संविधानसभा मार्पmत संविधान निर्माणको विचारलाई राजनीतिक एजेण्डाका रूपमा अघि सार्नुभएकै हो । यसका साथै तात्कालिक राजा त्रिभुवनबाट पनि संविधानसभाका माध्यमबाट जनताको इच्छा र चाहनाअनुसारको संविधान निर्माण गर्ने कुरा शाही घोषणामार्फत व्यक्त भएको थियो । वर्तमान नेपालको राजनीतिक व्यवस्था र लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको प्रतिविम्बका रूपमा नेपालको संविधान २०७२ लाई लिन सकिन्छ । जसको अपनत्वको ग्रहण राजनीतिका शक्तिकेन्द्र सार्वभौम जनता, प्रमुख दलहरू लोकतान्त्रिक शक्ति नेपाली काँग्रेस तथा समग्र कम्युनिस्ट शक्तिहरूको साझा उपलब्धिका रूपमा लिन सकिन्छ नै । साथै यस उपलब्धिलाई बीपीले विगतमा उठाउनुभएको राष्ट्रिय मेलमिलाप नीतिको अभिन्न अङ्गका रूपमा नै लिन र विश्लेषण गर्दा अतिशयोक्ति नहोला ।
बीपीले अवलम्बन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिको महìव र सान्दर्भिकता अहिलेको नेपालको तरल राजनीतिक अवस्थामा अझ सान्दर्भिक र महìवको रहेको छ । समसामयिक अवस्थामा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, राजनीतिक स्थायित्व तथा संस्कारको दिगोपनका दिशामा हाम्रासामु देखिएका अनगिन्ती समस्याहरूको समाधानको लागि सहकार्य र मेलमिलापलाई अङ्गीकार गरेर राजनीतिक निर्णय गरिएको खण्डमा भोलिको नेपालले स्पष्ट दिशाबोध पाउनेछ ।
केही सान्दर्भिक कुराहरू यहाँ उठान गरिनु सापेक्षिक नै रहला । राष्ट्रिय मेलमिलाप नीतिको कुरा गर्दा बीपी कोइरालाकै पार्टी नेपाली काँग्रेसभित्रको आन्तरिक राजनीतिक व्यवस्थापन र पार्टीपङ्क्तिलाई साना हित–गुट र उपगुटको संस्कृतिबाट माथि उठाएर सबल र लोकतान्त्रिक मियोको एकमात्र पार्टीका रूपमा स्थापित गर्नुमा आजको नेपाली काँग्रेसको नेतृत्वको चुनौती र अवसर पनि हो । नेपाली काँग्रेसभित्रको आन्तरिक राजनीतिको तरलताले सिङ्गो पार्टीको दिशाबोध, पार्टी विचार र नीतिको कार्यान्वयन तथा प्रतिपक्षी भूमिकामा रहेको पार्टीको जनमुखी भूमिकालाई कुशल व्यवस्थापन थप चुनौतीका रूपमा तेर्सिएको छ । यसका साथै मेलमिलाप र एकताको सन्देशलाई पार्टीको आन्तरिक राजनीतिमा अझ प्रभावकारी बनाउन सक्नुपर्छ । राष्ट्रिय मेलमिलापको नीतिको आवश्यकता र सान्दर्भिकतालाई आत्मसात् गर्दै जननेता बीपीले राष्ट्रिय मेलमिलाप तथा एकताको नीतिको जुन सबल व्याख्या र उपयोग गर्नुभयो त्यसको पदचापको अनुकरण र व्यावहारिक उपयोगका सान्दर्भिकताको धरातलमा हाम्रा राजनीतिक शक्तिकेन्द्रहरूले दीर्घकालिक सोच र जनमतको प्रतिविम्बलाई मुखरित गर्ने दिशामा ठोसकार्य हुने विश्वास लिन सकिन्छ । स्थायित्व, सङ्घीयताको सफलताको प्रतिविम्ब तथा आर्थिक सामाजिक रूपान्तरणका दिशामा मुलुकलाई अघि बढाउन एकता र सहकार्य नै प्राथमिक तìव हो । जनताले दिगो विकास तथा स्थायित्वको अभिलाषा राखेका छन् ।
(लेखक अधिवक्ता हुनुहुन्छ)