विचार/दृष्टिकोण |

लिमीका ती च्याङ्ग्रा

राजन रावत

केही वर्ष अगाडिसम्म लिमी गाउँ च्याङ्ग्रा पालन व्यवसायको पर्यायवाची थियो । हुम्ला, साविकको लिमी गाउँपालिका समिति र हालको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारिको हो यो गाउँ । लिमी भ्याली (उपत्यका) निकै उपयुक्त क्षेत्र पनि हो च्याङ्ग्रा पालनका लागि । अग्ला र सम्म मैदानी पाटन (फाँट)हरूमा हुने बुँकी च्याङ्ग्राका लागि निकै उपयुक्त भोजन मानिन्छ । बुँकी खाने तिनै च्याङ्ग्रा लिमीका स्थानीयको आम्दानीको राम्रो स्रोत थिए । मासुका लागि बिक्री हुन्थे । च्याङ्ग्राको रौंबाट भोट (हिमाली) को चिसोमा लगाउने ऊनका कपडा बनाउन पनि सहजै सकिन्थ्यो । छुर्पी, घिउ उत्पादन हुने गथ्र्यो । तर यो व्यवसाय लिमी उपत्यकाबाट पलायन भएसँगै यी वस्तुका लागि यही गाउँ अब बाह्य भर पर्नुपरेको छ । लिमीका बासिन्दाहरूले यी वस्तु चीनबाट आपूर्ति गर्न थालेका छन् ।

उपयुक्त लिमी
लिमी उपत्यका समुद्र सतहबाट चारहजार छसय मिटर उचाइसम्म रहेको छ । बर्खायाममा पाँचहजार मिटर अग्लो लाप्चा भन्ज्याङसम्म पनि च्याङ्ग्रा चराउन लगिन्थ्यो । अहिले हिउँदको याम । हिउँँ तलैसम्म पर्छ । यतिबेला च्याङ्ग्रा पालनका लागि लिमी उपयुक्त भूभाग पर्छ । बाक्लो ऊन हुने भएको कारण यत्रो उचाइमा च्याङ्ग्राले सहजै हिउँ खप्नसक्छ ।

आम्दानीको मुख्य स्रोत
गाउँ ठाउँअनुसार आम्दानीका आफ्नै स्रोत हुन्छन् । हिमाली क्षेत्रमा मुख्य आम्दानीको स्रोतका रूपमा च्याङ्ग्रा पालनलाई लिइन्थ्यो उतिबेला । स्थानीयलाई नगद, जिन्सी वा अन्नपात जे चाहिए पनि च्याङ्ग्राको व्यापारबाट काम चल्ने गथ्र्यो । स्थानीय फुन्जोक तामाङ भन्नुहुन्छ – सब थोक च्याङ्ग्रा थियो उतिखेर तर अहिले सपनाजस्तो भएको छ त्यो । पछिल्लो पुस्ताले होला र ? भन्न बेर छैन । अग्लो लाप्चा क्षेत्रको पाटन क्षेत्रमा लिमीका तीनै गाउँका च्याङ्ग्रा चराउँदाको दृश्य मनमोहक देखिने स्थानीयको भोगाइ छ । तर अब त लिमीबासीले न त्यो च्याङ्ग्रा बथान देख्न पाउँछन् न त च्याङ्ग्रापालन व्यवसायले जीवन व्यवहार धान्न सक्छ भन्ने विश्वास गर्नसक्ने अवस्थामा छन् ।

कतिसम्म थिए लिमीमा च्याङ्ग्रा
लिमी तील गाउँका पेमा छिरिङ तामाङलाई अहिले पनि च्याङ्ग्राको बथान चराएको ताजै छ । बनमा लिइएको पाटन (चरन क्षेत्र) मा चर्ने च्याङ्ग्राको सेतै बथानले पाटन पनि सेताम्मे देखिने दृश्य अहिले पनि उहाँको आँखामा घुम्छ । तर अब त केवल कल्पनामा मात्र सीमित भएको छ । उतिखेर पाँचसय च्याङ्ग्रा पाल्नुभएका उहाँले दुःख भए पनि दैनिकी भने अहिलेजस्तो नभएको अनुभव सुनाउनुहुन्छ । उहाँलाई अहिले पनि च्याङ्ग्रा पालन ब्युँताउने इच्छा त छ तर उमेरले साथ दिने अवस्था छैन । बूढाको चाहनालाई पछिल्लो पुस्ताले साथ दिँदैन । लिमीकै हल्जी गाउँमा सबैभन्दा बढी (दुईहजार) च्याङ्ग्रा आफ्ना बुबा कुटुक छिरिङ लामाका थिए भन्नुहुन्छ फुन्जोक तामाङ । त्यतिखेर जसको चल धन बढी हुन्छ, उसैलाई धनी भनिने भएको कारण लिमीमा उहाँलाई धनी नै मानिन्थ्यो ।
अर्को, जाङ गाउँमा बढी च्याङ्ग्रा हुने छिरिङ मुटुव लामासँग पनि पाँचसय भन्दा बढी च्याङ्ग्रा भएको स्थानीयको भनाइ छ । उतिखेर च्याङ्ग्रा नहुने घरपरिवार लिमीमा थिएनन् । कम्तीमा पनि ५० च्याङ्ग्रा हुने घरपरिवार थिए । हालका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीका तीन गाउँमा उतिखेर असी घरधुरीका दस हजारभन्दा बढी च्याङ्ग्रा थिए तर अहिले १४७ घरधुरीमा एउटा मात्र च्याङ्ग्रा देखिएको छ । त्यो पनि कतैबाट किनेर ल्याएजस्तो पोलमा बाँधेर राखेको देखिन्छ । तैपनि किनेर ल्याएको रहेनछ । जाङ गाउँमा पनि एउटा मात्र च्याङ्ग्रा छ ।
सङ्घीयता कार्यान्वयनमा आएपछि भूभागका हिसाबले नेपालकै ठूलो गाउँपालिका नाम्खा र वडामा ६ नम्बरको लिमी भएका छन् । लिमीका बासिन्दा मारकाट गर्नु पाप सम्झन्छन् तर कहिलेकाहीँ खसीको आवश्यकता प¥यो भने पहिले गाउँमै हुन्थ्यो, अहिले दक्षिणी हुम्लाबाट खरिद गरेर लिने गर्छन् । त्यो पनि च्याङ्ग्रा नभएर अन्य स्थानीय खसी ।

व्यापार कता हुन्थ्यो ?
लिमीमा व्यवसायिकरूपमा पालिएका च्याङ्ग्राको व्यापार भने सिमाना भएर पनि चीनमा हँुदैनथ्यो । बरु लिमीका स्थानीयहरू चीनबाट च्याङ्ग्रा खरिद गरेर ल्याउँथे । लिमीका च्याङ्ग्रा व्यापारीहरूले सदरमुकाम सिमकोटसम्म वर्षको एकपटक व्यापारका लागि ल्याउँथे । तल्लो हुम्लाका च्याङ्ग्राको व्यापार गर्न चाहनेहरू वर्षको दुईपटक लिमी पुगेर खरिद गरेर ल्याउँथे । लिमी पुगेर च्याङ्ग्रा खरिद गर्ने व्यापारी दुईवटा व्यापार सँगै गरेर आउँथे । एउटा च्याङ्ग्रा, अर्को ऊन । व्यापारमात्र नभएर, लिमीमा व्यक्तिगतरूपमा गएर यसको व्यापार गरेर आउने पनि कम थिएनन् । त्यही भएर लिमीको छुर्पी (च्याङ्ग्रा र चांैरी दुवैको) भनेर कहलिएको थियो । यसको व्यापार हुम्ला जिल्लाभरि थियो । त्योसँगै मुग, बाजुरा, बझाङ, नेपालगञ्ज र काठमाडौँ
पनि पुग्ने गथ्र्यो ।

किन रुचाइन्थ्यो ?
च्याङ्ग्राको मासु रुचाइनुको मुख्य कारण कमलो र स्वादिष्ट हुनु वडा अध्यक्ष पाल्जोर तामाङ बताउनुहुन्छ । अन्य स्थानीय खसी र च्याङ्ग्राको मासुमा भिन्नता पनि यही हो । च्याङ्ग्रा उच्च पाटनमा चर्ने भएको कारण मासु पनि सफा देखिने गर्छ । त्यसैले यसको व्यापार छ महिना हुने गथ्र्यो । अझ दसैँमा त घरघरमा च्याङ्ग्राको मात्र बलि दिने चलन हुम्लामा थियो । यसको माग पछिल्ला वर्षमा जिल्ला बाहिर पनि निक्कै थियो । त्योसँगै ऊनको महìव पनि उस्तै छ । नरम, त्यसमा सेतो र कालो रङ्गको ऊनबाट बख्खु, कोटको कपडा बुन्ने गरिन्छ । यो घरघरमा बुनिन्छ पनि । हिमाली क्षेत्र चिसो बढी हुने र यो ऊन नरम र न्यानो हुने भएका कारण बढी खपत पनि हुने गर्छ ।

पेसा छोड्न मलजल
लिमीका स्थानीयकाअनुसार च्याङ्ग्रा पालन व्यवसाय पलायन भयो । कारण मुख्य हो, चीनको ताक्लाकोटमा पाइने काम । किनकि उता काम गरेर दैनिकरूपमा कमाइ हुने तर यता च्याङ्ग्राको व्यापार मौसमी हुने भएपछि स्थानीय च्याङ्ग्रा पाल्ने किसानलाई यो पेसाप्रति नै मन म¥यो । यसै भन्नुहुन्छ वडा अध्यक्ष तामाङ । मानिस हो, जता कमाइ राम्रो भयो, उतै डोरिन्छ । अर्को, दुःख बढी भए पनि नगद हातमा नपर्नु । मानिसको हातमा नगद पर्न थालेपछि जन्माउने आमाबाबु बाहेक सबै कुरा किन्न पाइन्छ । किन चाहियो दुःखजिलोका पेसा ? लिमीवासीलाई यही लागेको छ । किनभने उतिबेला च्याङ्ग्राको व्यापार पनि जिन्सीमै हुने गथ्र्यो । तर ताक्लाकोटमा पाइने काम त नगदै हात पर्ने भएको हुँदा मानिस उतै आकर्षित हुन पुगे । अनि, लिमी उपत्यका नछोड्ने लिमीवासी बिस्तारै काठमाडौँ, भारतको दिल्लीसम्म पुग्न थाले । त्यसपछि पनि उनीहरूमा यो पेसा कम हुँदै गएको अनुभव स्थानीयको छ । कथित आधुनिकताले पनि यो पेसा छोड्नमा मलजल पु¥याएको छ । यसैले उग्लियो च्याङ्ग्रापालन व्यवसाय ।

थिएन चरन समस्या
लिमीका स्थानीय खेण्डाव तामाङ च्याङ्ग्रा पालनका लागि चरन समस्या नभएको बताउनुहुन्छ । किनभने लिमीमा आवश्यक चरन क्षेत्र जत्ति पनि छ । बरु हिउँदको छ महिना हिमपात बढी भएको वर्ष भने केही समस्या हुने गथ्र्यो । पहिले पहिले चीनमा पनि नेपाली च्याङ्ग्रा चराउन लग्ने गरिएको थियो । पछिल्लो समयचाहिँ नेपालले चीनसँगको सहमति, सम्झौताअनुसार आफ्नै चरन क्षेत्रको विस्तारमा वास्ता नगर्दा उता लान चाहिँ समस्या थियो ।

सहयोग भएन
च्याङ्ग्रा पालनका लागि अब्बल लिमीमा यसको व्यावसायिक पालनका लागि कतैबाट सहयोग थिएन । पछिल्लो दुई वर्षयता लिमीका तीन गाउँमा अनुदानका कार्यक्रम जान थालेका छन् । साविकको गाविस हुँदा केही विकासी बजेटबाहेक अन्य केही पनि गएको देखिँदैन । त्यसमाथि कुना कन्दराको लिमी गाउँमा च्याङ्ग्रा पालन व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यक्रम त के जान्थ्यो र ? सदरमुकामबाट लिमीमा पुग्नै चार –पाँच दिन त पैदलयात्रा गर्नुपर्छ । ‘विकासी’ कार्यमा संलग्न साझेदारले त लिमीमा पुग्ने आँट गरेको कतै पाइएको देखिँदैन भने किसानी कार्यमा कसको के
चासो ? त्यतिबेला स्थानीयले सहयोग आउँछ भन्नेसम्म भेउ पनि नपाएको वडा अध्यक्ष तामाङ बताउनुहुन्छ । जिल्ला सदरमुकाममा आउने सरकारी मान्छे (अधिकारी) को सङ्ख्या ज्यादै न्यून । त्यो पनि कात्तिक÷मङ्सिर महिनामा व्यापारको सिलसिलामा आउने हो ।

सम्भावना के छ ?
अहिले पनि लिमी उपत्यका च्याङ्ग्रा पालनका लागि उपयुक्त छ । तर परम्परागत नभई सुधारिएको पालन गर्न सकियो भने भविष्य राम्रो देखिन्छ । तर व्यक्तिगतरूपमा गर्न सकिने अवस्था छैन । व्यावसायिक च्याङ्ग्रा पालन गर्नेलाई पनि मेरो पेसा आत्मसम्मानको छ भन्ने प्रत्याभूति हुनु आवश्यक छ । र, यो पेसाबाटै सबै कुरा निर्वाह हुन्छ भन्ने भावना स्थानीयमा जागृत गर्नु आवश्यक छ । समाजवादी अर्थतन्त्र विकास गर्ने संवैधानिक अर्थनीति यहाँ कार्यान्वयन गर्दा बहुपक्षीय लाभ हुनेछ ।
यसो त उदाहरण पनि बनेको छ लिमी । चौंरीपालन लिमीमा लोपोन्मुख अवस्थामा थियो । तर एक वर्ष अगाडि स्रोत केन्द्रका रूपमा यहाँ चौरी पालन सुरु गरियो । अनि ६३ वटा चौंरी खरिद गरेर स्रोत केन्द्र स्थापना गरियो । अहिले चौंरीको सङ्ख्या दोब्बर पुगेको छ । राज्यले आत्मनिर्भरताका लागि कृषि, पशुपालनका लागि सहयोग सुविधाहरू उपलब्ध गराएर सहकारी÷सरकारी तबरबाटै च्याङ्ग्रा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरे च्याङ्ग्राको मासु र ऊनले नून र सुनको लाभ लिन कुनै समस्या देखिँदैन । परम्परागतरूपमा च्याङ्ग्रा पालन उगालेका लिमीका बासिन्दाले अझै आशा भने मारिसकेका छैनन् । तर यसका लागि सर्त भने छ । अब स्थानीय आफ्नै लगानीमा च्याङ्ग्रा पालनलाई अगाडि बढाउने पक्षमा छैनन् । तीनै तहका सरकारबाट सहयोग आयो भने च्याङ्ग्रा पाल्न पछाडि नपर्ने सोचमा रहेको वडा अध्यक्ष तामा बताउनुहुन्छ ।
(लेखक गोरखापत्रका हुम्ला समाचारदाता हुनुहुन्छ ।)