विचार/दृष्टिकोण |

नक्कलीदेखि सावधान

निर्मलकुमार आचार्य

नक्कलीदेखि सावधान हुनुपर्नेमा शङ्कै छैन तर कुन सक्कली, कुन नक्कली ? पर्गेल्ने आमक्षमताको अभावमा जतासुकै विडम्बनामात्र देखिएको छ ।
नक्कलीको बिगबिगी कुनै एक ठाउँमा सीमित नरहनु समस्याको चरमोत्कर्ष हो । नक्कली बेसार, नक्कली मरमसला, नक्कली घिउतेल त उहिलेदेखि रहेकै हुन्, पछिल्ला दिनमा नक्कली दूध, नक्कली नौनी, नक्कली खुवा र नक्कली नैतसुतले डेरा जमाएका छन् । बट्टा सक्कली, माल नक्कली पनि रहेकै छन् । ‘अनलाइन’मार्फत बेचविखन हुने सरसामान पनि नक्कली भेटिएका छन् । सर्वाधिक चर्चामा रहेको बरमझियाकै पेडाको कुरो गर्ने हो भने पनि कुन सक्कली, कुन नक्कली ? खुट्ट्याउन सहज छैन ।
खाने, पिउने, पहिरिने वस्तुबाहेक सिँगारपटारका सामानमा पनि नक्कलीको ‘धुम’ छ । तब त नक्कली हीरा, सुन र चाँदीले कैयन्लाई बिल्लिबाँठ बनाएको छ भने सौन्दर्यका लागि दलिने क्रिम, पाउडर र लालीले अपेक्षाविपरीत परिणाम देखाएका छन् । विद्युतीय तथा
‘इलेक्ट्रोनिक्स’ सामान नक्कली पर्दा पिरोलिएका र नक्कली निर्माण सामग्रीका कारण होश उडेकाको व्यथा पनि चर्को छ ।
सर्व पीडाहर ठानिने स्वास्थ्य जगत् पनि नक्कलीको बाहुपाशमा आकण्ठ निमग्न छ । नक्कली औषधि, नक्कली सुई अनि चिकित्सकसमेत नक्कली फेलापरेका दृष्टान्त छन् । महामारी भनिएको कोरोनाकालमै पनि नक्कली ‘स्यानिटाइजर’, ‘मास्क’ र ‘पीसीआर रिपोर्ट’ले बजार तताउन छाडेका छैनन् ।
नक्कली शैक्षिक प्रमाणपत्रधारीले नेपालका शिक्षा, प्रशासन, न्यायलगायत कुन क्षेत्रमा सक्कली प्रमाणधारीलाई नगिज्याइरहेका होलान् र ! नक्कलीले सक्कलीको मगज मन्थन गर्न पाएकैले आज पनि नक्कली प्रमाणपत्र लिनेको सङ्ख्या थोरै नरहेको मानिन्छ । नक्कली सवारीचालक अनुमतिपत्र र नक्कली राहदानीको कुरो त जगजाहेरै छ ।
मुलुकको प्रधान क्षेत्र मानिने कृषि पनि सक्कली, नक्कलीको भुलभुलैयाबाट मुक्त छैन । बल्लतल्ल पाइने बीउ, मल र रसाइनमा समेत त्यसको कुछाँया पर्दा रुनु न हाँस्नुको दोसाँध होइन, मर्न‘ न बाँच्नुको दोधार आमकिसानले बेहोर्नुपरेको छ । घोगा लाग्ने दाना नफल्ने, बाली लहलहाउने धान नहुने, फूल फुल्ने फल नलाग्नेजस्ता वेदना मर्मभेदी रहेका छन् ।
सक्कली छिड्कीमा र नक्कली खिड्कीमा बस्ने, बसाउने परिपाटी रहेकाले हुनुपर्छ, सक्कली सुकुम्बासीको हुर्मत नक्कली हुकुमबासीले लिइरहेका छन् । बाढी होस्, भूकम्प अथवा आगलागी यस्ता प्रकोपका बेलामा समेत नक्कलीले तर मारेका उदाहरण धेरै छन् । यस सन्दर्भमा नक्कली उपभोक्ता र नक्कली उपभोक्ता समितिलाई पनि बिर्सन मिल्दैन ।
नक्कलीको अधिमूल्यन रहेकैले हुनुपर्छ, नक्कली महात्मा, नक्कली पत्रकार, नक्कली शिक्षक, नक्कली निरीक्षक, नक्कली कर्मचारी, नक्कली परीक्षक र नक्कली परीक्षार्थी घटिरहेका छैनन् ।
नक्कली प्रहरी ठाउँ–ठाउँमा भेटिएका छन् । केही अघिको कुरो हो, बारानिवासी नक्कली इन्सपेक्टर (अरविन्द कुमार) ले तराईका जिल्लामा उधुम नै मच्चायो । सक्कलीबाट सलामीमात्र खाएन, गाडी पनि चढ्यो र आफ्नै अगुवाइमा वीरगन्जमा प्रहरी सहायक निरीक्षकको लिखित जाँच गराई ठूलै रकम कुम्ल्याउने प्रयाससमेत गरेको खबर प्रवाह भएको थियो ।
आफ्नै हातमा भएको नोट पनि सक्कली हो कि नक्कली ? जोकोहीले ठम्याउन सक्दैनन् । नक्कली नोटमात्र होइन, त्यस्ता नोट छाप्ने मेसिनसमेत फेलापर्नुले समस्या चानचुने नरहेको छर्लङ्ग हुन्छ । नेपाल राष्ट्र बैङ्कले जनसाधारणलाई नक्कलीबाट नझुक्किन उपाय पनि बताउने गरेको छ ।
नोटको गुणस्तर, पानीछाप, सुरक्षण धागो, नेपाल राष्ट्र बैङ्कको सङ्क्षिप्त रूप ‘एनआरबी’को केही अंश अग्रभागमा र बाँकी पछाडिपट्टि एकैपटक छापिएको जस्ता जानकारी दिने गरे तापनि रनभुल्ल बजारमा सर्वसाधारण अलमलमा पर्नु अनौठो होइन ।
नक्कली घरबेटी, नक्कली डेरावाल, नक्कली लालपुर्जा, नक्कली तल्सिङ, नक्कली मोही र नक्कली विवाहका सम्बन्धमा पनि यदाकदा खबर आउने गरेकै छन् । गौरवमय प्राचीन सम्पदा पनि नक्कली, सक्कलीको जालोमा जेलिएका छन् । भारतले कुनियोजित रूपमा बनाएको नक्कली लुम्बिनी र नक्कली वाल्मीकि नगरबारे नजान्ने िवरलै होलान् !
नेपालको राजनीति पनि नक्कली÷सक्कलीको जाँतोमा पिँधिन छाडेको छैन । अन्य क्षेत्रमा जस्तै यहाँ पनि को सक्कली, को नक्कली ? पहिचान्न गाह्रो छ । सात सालयता चालु भएको को सक्कली, को नक्कलीको राजनीतिक धारावाहिक पटक–पटक व्यवस्थै परिवर्तन हुँदा पनि अन्त्य भएको छैन । मिल्दा तत्काल सबै सक्कली र नमिल्दा तुरुन्तै अरू जति नक्कलीको पाराले जगहँसाइ त गरिरहेकै छ, साथसाथै हत्तु हुँदा पनि आशामुखी हुन नछाडेका जनतालाई थप आशामरु बनाइरहेको छ ।
पछिल्लो राजनीतिक चाला नै हेरौँ ! अहिले सबैका आँखाको केन्द्रबिन्दु नेकपा बनेको छ । औपचारिक रूपमा अविभाजित नेकपाको दुवै खेमाका नेता, कार्यकर्ता नक्कली, सक्कलीका सम्बन्धमा एक–अर्कालाई के–के पगरी गुथाइरहेछन् ? देखिएकै छ । कम्युनिस्टको मात्र कुरो गर्दा पनि आफूलाई सक्कली र अन्य सबैलाई नक्कली प्रमाणित गर्न‘ यहाँको वैशिष्ट्य हो । कम्युनिस्टको आपसी कोराकोर र फोराफोरले सक्कली र नक्कली छुट्ट्याउन जनसाधारणलाई झनै सकस पर्दै आएको छ ।
२०६२/०६३ का जनान्दोलनकारी शक्ति आपसमै सिँगौरी खेल्न व्यस्त रहेका छन् । सङ्घीयता, गणतन्त्रजस्ता संवेदनशील पक्षमै को सक्कली, को नक्कली ? को बहस छेडिएको छ । ऐतिहासिक पार्टी नेपाली काँगे्रसमै पनि को सक्कली प्रजातन्त्रवादी र को नक्कली प्रजातन्त्रवादी ? भन्ने प्रश्न कानेखुसीमा मात्र खुम्चिएको छैन । राष्ट्रवादकै सम्बन्धमा पनि सक्कली वा नक्कलीको विशेषण अनिवार्य रूपमा खिप्न थालिएको छ । अरूलाई नक्कलीको बिल्ला भिराइँदा आफू सक्कली दर्शिने भ्रमले सबैलाई अँचेटेको छ ।
सक्कली राष्ट्रवाद र नक्कली राष्ट्रवादको घन्कँदो दोहोरीबीच को सक्कली राष्ट्रवादी र को नक्कली राष्ट्रवादी ? सुल्झाउनै नसकिने पाटो बनेको छ । मधेसकेन्द्रित राजनीतिक दलमा पनि को सक्कली मधेसकेन्द्रित पार्टी र को नक्कली ? जनमस्तिष्क हुँडेलिन छाडेको छैन ।
परिवर्तित राजनीतिक परिप्रेक्ष्यमा राजावादीले पनि सडक तताउन थालेका छन् । तर, यहाँ पनि को सक्कली राजावादी र को नक्कली राजावादीको भुङ्ग्रोले राप बढाउँदै लगेको छ ।
सबैतिरका नक्कली (वस्तु, सेवा, व्यक्ति)लाई तह लगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने राजनीतिक संसारमै सक्कली, नक्कलीको रस्साकस्सी रहनुले विडम्बना बढाएको छ । सक्कली, नक्कली छ्यासमिस हुँदा असलीको अपेक्षा गर्नेहरू भाउन्निन विवश भएका छन् ।
आत्मसमीक्षाको अभावले राजनीतिक यात्रालाई कतै झन्झन् नक्कली बनाउँदै लगिरहेको त छैन ? सोच्ने, विचार्ने फुर्सद कसैसित भएको प्रतीत हुँदैन । राजनीतिक तहमा व्याप्त सक्कली÷नक्कलीको आलाप, प्रलाप र विलाप नथामिएसम्म अन्यत्र यसको सुप्रभाव नपर्नु स्वाभाविक हो । यसको प्रत्यक्ष, परोक्ष असर विविध फाँटमा देखापर्न थालिसकेका छन् ।
नक्कली नेता, नक्कली कार्यकर्ता, नक्कली सेवा र नक्कली परिपाटीविरुद्ध सक्कली अभियान चाल्ने काम पनि राजनीतिक तहबाटै हुने हो, यसको शुभारम्भ जति छिटो हुन सक्यो, मुलुक र मुलुकवासीले राहत पनि उत्ति नै छिटो पाउनेछन् । तसर्थ, अरूलाई नक्कली साबित गर्न कम्मर कसेर लाग्नुसट्टा प्रत्येकले मनको ऐनामा आफ्नो अनुहार हेरे पुग्छ ।
बारम्बार जनतालाई वितृष्ण बनाउने खेल जारी राख्नुको परिणति सदैव सुखद एवम् समधुर हुन नसक्ने धु्रवसत्यको हेक्का जरुरी छ । सयखुन माफ गरी जनताले बारम्बार शिरोपर गर्दा पनि सुख, शान्ति र समृद्धिको सपना चकनाचुर पार्ने कुयत्नको जति भत्र्सना गरे पनि कम हुन्छ । जनता भोला अवश्य छन् तर अबुझ नरहेको यथार्थलाई बेलैमा आत्मसात् गरी नक्कलीपनलाई तिलाञ्जली दिँदै सक्कलीस्वरूप ग्रहण गर्ने र गराउनेतिर राजनीतिक यात्रा लम्कने हो भने सुनौलो भविष्य टाढा छैन । यसका निम्ति व्यक्तिगत, गुटगत र दलगत स्वार्थत्यागसहित सबैबीच ऐक्यबद्धता अचुक मन्त्र
बनेको छ ।
(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)