विचार/दृष्टिकोण |

राष्ट्रिय एकताका नायक

रामनारायण देव

नेपाललाई एकीकरण गरेर आधुनिक राज्यमा परिवर्तनको श्रेय राजा पृथ्वीनारायण शाहलाई जान्छ, जसको सत्प्रयासबाट मुलुक स्वावलम्बी तथा स्वाभिमानी बन्न सक्यो । राष्ट्रिय एकीकरणलगत्तै उहाँले आफ्नो दिव्योपदेशमा, ‘देशका महाजनलाई गोड प्रसाहदेखि उँभो आउन नदिनू देशका महाजन हाम्रा मुलुकमा लाया भन्या दुनिजा कंगाल गरी छाड्दछन्’ अर्थात् देश (हिन्दुस्तान) का महाजन, व्यापारीहरूलाई सिमानादेखि माथि आउन् नदिनू, यदि हाम्रो मुलुकमा आयो भने कंगाल गरी छाड्छन् । विदेशी महाजन आयो भने स्वदेशी उद्योग तथा व्यापार मात्र होइन, देशको अर्थतन्त्रलाई सखाप पार्नेछ भन्ने दिव्योपदेशको भावार्थ रहेको छ ।
कसैकसैले उनलाई विस्तारवादीको संज्ञा पनि दिन्छन् तर उनको त्यस्तो नीति भएको भए यस मुलुकको नाम नेपाल नराखेर गोरखा नै हुन्थ्यो । त्यतिमात्र नभई, राष्ट्रिय एकीकरणपछि उनले ‘‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया” भनी राष्ट्रियताको बीजारोपण गरेका थिए । नेपाल राष्ट्रलाई सबै जातिको साझा फूलबारीको संज्ञा दिई लोकतन्त्र र समानताको उद्घोष पनि गरे उनले ।
मुलुकलाई विधिसम्मत् तथा प्रजातान्त्रिक तवरले सञ्चालन गर्न थिति बाँध्नु पनि पृथ्वीनारायणको ध्येय थियो । निरङ्कुश, सामन्ती र स्वेच्छाचारी शासनशैली र पद्धतिको विपक्षमा थिए । गतिशील लोकतन्त्रमुखी संवैधानिक राजतन्त्रका पक्षपाती थिए । त्यसैले उनले ‘उप्रान्त राजा रामशाहले बाँध्यको थिति हेरि सके, राजा जयस्थिति मल्लले बाँध्यको थिति हेरि सके, राजा महेन्द्र मल्लले बाँध्यको थिति पनि हेरी सके, ईश्वर दियो भन्या म पनि यस्ता वन्देश बाछ हजारको थिति बाँधि जाला भन्या अभिलाषा थियो र निशाशास्त्रबमोजिम अदालथ चलाउनू’ भने । यो कथनले सम्पूर्ण विधिअनुसार राज्य व्यवस्था र कानुनी राज्य सञ्चालन गर्ने मनस्थितिमा उनी थिए भन्न सकिन्छ । उनले आफूले मन पराएको व्यक्तिलाई भारदार नबनाई जनताले रुचाएको व्यक्तिलाई भारदारी प्रदान गर्न‘ले पनि उनमा रहेको प्रजातान्त्रिक भावना स्पष्ट हुन्छ ।
उनी ‘‘प्रजा मोटा भया दरवार बलियो हुन्छ र राजाका भण्डार भन्याका रैतानहरू हुन्” भनी जनता (प्रजा) लाई बलियो अर्थात् धनी सम्पन्न बनाउन चाहन्थे । जनताको सम्पन्नता नै राजाका भण्डार अर्थात् सम्पत्ति हुन् भन्ने उनको विचार थियो । त्यस्तै ‘‘नियाँ निसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या, इन दुईको ता धनजीव गरी लियाको पनि पाप छैन, ई राजाका महाशत्तुर हुन्” (न्याय इन्साफ बिगारेर घुस दिने र घुस खाने दुईवटैको धन र जीउ हरण गरे पनि पाप लाग्ने छैन, किनभने यी राजा र देशका महाशत्रु हुन् ।) भनेर न्यायको पक्ष र भ्रष्टाचारको विपक्षमा आफ्नो दृढता जनाए उनले ।
यसरी अढाइ सय वर्षअघि मुलुकमा भ्रष्टाचार र घुसखोरी प्रथाको अन्त्य गर्ने उनले प्रतिबद्धता जनाएका थिए । यो अहिलेको लोकतान्त्रिक नेपालको सन्दर्भमा पनि उपयुक्त छ । नेपालका शासक र सत्तासीनहरूबाटै भ्रष्टाचारले संस्थागत रूप लिन थालेको यो अवस्थामा पृथ्वीनारायणको दिव्योपदेश निकै मर्मस्पर्शी लाग्छ । मुलुकको आन्तरिक प्रशासनलाई जनतालाई हितमा प्रयोग गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सदिच्छालाई उच्च मूल्याङ्कन गर्न‘पर्छ । मुलुकको शान्ति, सुरक्षा र सुशासनका अतिरिक्त नेपालको अस्तित्वलाई चिरकालसम्म जोगाइराख्न उनको दूरदर्शिताले त नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न ठूलो मार्ग दर्शनको काम गरेको छ । ‘उप्रान्त यो राज्य दुई ढुङ्गाबीचको तरुलजस्तो छ...’ भन्ने उनको दिव्योपदेश नेपालको असंलग्न परराष्ट्रनीतिको आधार स्तम्भ हो । अर्थात् दुई ढुङ्गाबीचको तरुल भनेको चीन र भारतबीचको कोमल स्थिति हो । दुवैसित समान सम्बन्ध राख्नुपर्छ । एउटासित विशेष सम्बन्ध र अर्काेसित औपचारिक सम्बन्ध नराखी समदूरीको सिद्धान्तमा सम्बन्ध राख्नु पर्छ । दुवै देशबीच सन्तुलन बनाइराख्नु पर्छ । यसरी परराष्ट्र नीतिको जग राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा नै शिलान्यास गरिएको मान्नुपर्छ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका मार्मिक दिव्योपदेशहरू नेपालका शासकहरूले आत्मसात् गरेमा मुलुकको राष्ट्रियता, स्वाधीनता संरक्षण र विदेशी हस्तक्षेपलाई निषेध गर्न टेवा पुग्नेछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले मानवीयतालाई दृष्टिगत गरी न्यूनतम क्षतिबाट अधिकतम उपलब्धि हासिल गरे । विभिन्न राज्य रजौटाहरूमाथि आक्रमण गर्दा मानवीय क्षति नभएको होइन तर राष्ट्रनिर्माण गर्ने कठिन कामको अगाडि त्यति क्षति व्यहोर्न‘ स्वाभाविक नै हो । जसरी जर्मनीको एकीकरणमा कावुर, मेजिनी र गौरीवाल्डी र अमेरिकाको स्वतन्त्रता र एकीकरणमा जर्ज वासिङ्टन र अब्राहम लिङ्कन एवम् भारतको एकीकरण र स्वतन्त्रतामा सम्राट अशोक, महात्मा गान्धी र चीनमा छिन ह्वाङती, माओत्सेतुङ र सनयात् सेनको एकीकरण र स्वतन्त्रतामा योगदान छ, त्यस्तै नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान छ ।
पृथ्वीनारायण शाहको असीम साहस, कूटनीतिक चातुर्य र सैन्य सङ्गठनले गर्दा राज्य रजौटाहरू एकीकरण सम्भव भयो । उहाँले विक्रम संवत् १८०० मा राज्याभिषेकपछि १९ वर्षको उमेरमै एकीकरणको अभियान थाली सर्वप्रथम वि.सं.१८०१ असोज १५ गते नुवाकोट, वि.सं. १८११ साउन २१ गते नगरकोट र दहचोक, त्यस्तै कीर्तिपुरमाथि वि.सं. १८२२ चैत ३ गते आक्रमण गरी विजय हासिल गरे । वि.सं. १८२३ असोज १५ मा सिन्धुलीगढीलाई चारैतिरबाट घेरा हाली आक्रमण गरेर काठमाडौँका राजा जय प्रकाश मल्लको सहयोगार्थ आएका अङ्ग्रेजी फौजलाई परास्त गरेपछि वि.सं. १८२५ असोज १५ गते कान्तिपुर (काठमाडौँ) माथि गोर्खाली फौजले सजिलै विजय हासिल ग¥यो । यसको केही समयपछि ललितपुर र भक्तपुर पनि नेपालमा गाभियो ।
वि.सं. १८३० साउनमा चौदण्डी माझकिरात र पल्लोकिरात प्रदेशलाई पनि एकीकरण गरियो । पूर्वी तराईका सप्तरी, महोत्तरी र मोरङ प्रदेशहरू चौदण्डी राज्यअन्तर्गत थियो । चौदण्डीका अन्तिम राजा कर्ण सेनलाई हराई त्यसअन्तर्गतका समस्त तराई क्षेत्र नेपाल अधिराज्यमा गाभियो । यसरी पृथ्वीनारायण शाहबाट बडो बुद्धिमत्ता र रणकौशलबाट नेपाल राष्ट्रनिर्माण भयो । उनी पहाडी प्रदेशको राजामा मात्र सीमित नभई तराई प्रदेशका समेत राजा भई एउटा साझा नेपालका राजाका रूपमा आफूलाई स्थापित गरे । त्यसैले यो सबै जातको साझा फूलबारी हो भने ।
विजित राज्यका जनतामाथि आफ्नो भाषा र संस्कृति लाद्ने काम पनि गरेनन् उनले । स्थानीय जनताको भाषा, संस्कृति, परम्परा, रीतिरिवाजलाई मान्यता दिई त्यसलाई राष्ट्रिय स्वरूप प्रदान गरे । जस्तो कि काठमाडौँ उपत्यकालाई विजय गरेपछि नेवारी भाषा, संस्कृति, कला, नाचगानलाई प्रोत्साहन दिएर उदारता देखाए ।
उनको दिव्य उपदेशमा ‘‘आफ्नो सोखसयललाई त... बमोजिमको तीनै शहर नेपालका नेवारहरूका नाच झिकाइ हेरे पनि हुन्छ । यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ । यसो भए आफ्नो देश सुरक्षित रहन्छ ।” भनिएको छ । यसरी स्थानीय संस्कृतिलाई बढावा दिई राष्ट्रियताको सन्देश प्रवाहित गरे उनले । त्यस्तै मकवानपुर राज्य विजय गरेपछि त्यहाँका भाषा, संस्कृतिमाथि हस्तक्षेप नगरी स्वतन्त्र छोडिदिए । त्यहाँका मठ मन्दिरका पुजारीहरूलाई मैथिली भाषामा लालमोहर प्रदान गरियो । पृथ्वीनारायण शाहले तराई क्षेत्रलाई एकीकरण नगरिदिएको भए आज सम्पूर्ण तराई ब्रिटिस भारतकै अङ्ग भई उतै विलय हुने थियो र तराईकै अस्तित्व नै मेटिन्थ्यो । आज तराईवासीले आफ्नो अस्तित्व र गरिमालाई बचाउँदै राष्ट्रिय राजनीतिमा आफ्नो स्थान सुरक्षित राख्न सफल हुनु नै पृथ्वीनारायण शाहको एकीकरणको देन हो भन्न कसैले सङ्कोच मान्नु पर्दैन ।
जनकपुरका महनत सुमरन दासलाई वि.सं. १८२८ मा मैथिली भाषामा लालमोहर दिँदै यसो भनिएको थियो ‘‘श्री दुर्गा सहाय स्पस्ति श्री गिरीराज चक्र चुडामणि नर नारायणोत्यादि विविध विरुदावली विराजमान मनोननत श्री मन्महाराजधिराज श्री श्री श्री श्री श्री पृथ्वीनारायण शाहदेव देवानाम सदा समर विजयनाम आगे जनकपुर बेलाही ससिम साबिक बदस्तुर कुश बिर्ता जाति श्री...... प्रति बहाल कै दिया । अप्पने षातिर जमासै वै वसावे आवाद कै कुरा विर्ति जाति सबै अङ्क बेतलव भोग्य किया करे श्री...... का सेवा पूजा किया करै श्री हजुरको आशिर्वाद दिया करे धर्म चलाया करै, इति सम्वत् १८२८ साल भीति चैत वदी १ रोज ६ मौकाम काठमाण्डौ शुभम् ।
त्यस्तै वि.सं. १८१९ मा सप्तरीका जीतु राउतलाई पहिला सेनवंशी राजाद्वारा दिइएका विर्ता राष्ट्र एकीकरण गरेपछि पनि पृथ्वीनारायण शाहद्वारा यथावत् राखिएको थियो । जुन यस प्रकार थियो – ‘स्वस्ति श्री गिरिराज चक्र चुडामणि नरनारायणेत्यादि विविध विराजमान मनोन्नत श्री मन्त्महाराजधिराज श्री श्री श्री श्री श्री पृथ्वीनारायण शाहदेव देवानाम सक्षसमर विजयनाम आगे जीतु राउत के प्रगना चेखन्त मौजे कलावनजर अंक १ से जे तरह सौ देल रहै से सहित हम उगाद वक्स क देल है । अप्पन षातीज....... जीतु के सभ माफ क देल है । मौकदमी सेहा जीतु राउत के देल है ।
अप्पन षातिर वैसु हजुर के सेवा करु, इति सम्बत १८१९ साल फाल्गुन सुदी रोज १ हरिहरपुर शुभम् । त्यसैगरी विजयपुर (धरान) का कालिका मन्दिरको पुजारीलाई थमौती गरी वि.सं. १८३१ कात्तिकमा लालमोहर गरिदिए । यसबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विजित भूभागमा आफ्नो हैकम नचलाई स्थानीय भाषा र संस्कृतिलाई प्रश्रय दिई महìव दिएको प्रष्ट हुन्छ । यसबाट उनी एक दूरदर्शी, राष्ट्रिय एकता र सामाजिक सद्भावले ओतप्रोत भएका राजा थिए भन्ने प्रष्ट हुन्छ । नेपालका जन्मदाता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गते उनीप्रति श्रद्धा देखाउने शुभदिन हो ।
(लेखक त्रिवि प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ ।)