मानव र वन्यजन्तुबीचको द्वन्द्व
पूर्णहरि अमात्य
सप्तरी जिल्लाको उत्तरी भेकमा जड्ढली हात्तीको आक्रमणबाट कैयौँ व्यक्तिको ज्यान गएको र चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैँडाको चोरी सिकारको खबरले संरक्षणकर्मीहरू चिन्तित भएका छन् । तर, पहिलो र दोस्रो समस्यामा भिन्नता छ । कुनै पनि जनावरले त्यत्तिकै मानिसलाई मार्दैन । हात्तीलगायत अन्य वन्यजन्तुहरू किन मानव बस्तीभित्र पसेर धनजनको क्षति गर्छन् भन्नेबारे हामीले गहिरिएर विचार गर्नु अत्यावश्यक हुन्छ । केही वर्षअघि चितवन जिल्लामा ‘ध्रुवे’ नाम गरेको जड्ढली हात्तीले गरेको जनधनको क्षतिका सम्बन्धमा निकै चर्चा सुनिन्थ्यो ।
पुस १८ गते आधाभार, अमलेखगन्जनजिक तीव्र गतिमा गुडेको गाडीले एउटा पोथी पाटेबाघको इहलीला सदाका लागि समाप्त गरेको हृदयविदारक सचित्र समाचार राष्ट्रिय दैनिकमा प्रकाशित भएपछि धेरैको मन कुँडिएको छ । त्यस्तै हालैमात्र साँझ बर्दियामा राष्ट्रिय निकुञ्जसँग जोडिएको राजमार्गमा गुड्दै गरेको मोटरसाइकलमा सवार एक महिलालाई बाघले थुतेर मारेको दुःखदायी खबर आयो ।
हात्तीले जनधनको क्षति गरेको घटनाले प्रभावित परिवारहरूमा आक्रोश हुनु स्वाभाविकै हो । नेपालमा जड्ढली हात्तीको प्रकोप, यहाँका जड्ढली हात्तीहरूबाट खेप्नुको साथै भारतको आसामतिरबाट हुलका हुल हात्ती विशेषगरेर झापा जिल्लामा वर्षौंदेखि प्रवेश गरेर आतङ्क नै सिर्जना गर्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गको निर्माणपछि तराई–मधेसमा रहेको बाक्लो वन–जड्ढलको क्षेत्रफल निकै घटेकाले चरिचरणको अभावले गर्दा हात्तीले किसानले लगाएका बाली खानुका साथै मानवीय क्षतिसमेत पु¥याउने गरेको छ । मध्य पहाडी लोकमार्गको निर्माणले बचेखुचेको वन–जड्ढलको क्षेत्रफल थप कम भएको छ । झापामा त हात्ती आतङ्क न्यून गर्ने उद्देश्यले नेपाल सरकारलाई सहयोग गर्न केही वर्षअघि विश्व बैङ्क नै अघि स¥यो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार एसियाली प्रजातिका हात्ती विश्वका १४ मुलुकमा पाइन्छ । नेपालका तराई–मधेसमा रहेका जड्ढली हात्ती एसियाली प्रजातिका हुन् । नेपालको तराई–मधेसको विशेषगरी कोसीटप्पु, चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जड्ढली हात्ती पाइन्छन् । नेपालका विभिन्न ठाउँमा १५० वटा जति घरपालुवा हात्ती र २५५ देखि २६५ जड्ढली हात्ती रहेको विज्ञहरूको अनुमान छ । एसियामा ४० हजारदेखि ५० हजार र अफ्रिकामा चार लाख ५० हजारदेखि सात लाख हात्ती रहेको सम्बन्धित विज्ञहरू बताउँछन् ।
हात्तीको नकारात्मक पाटोलाई मात्र नहेरौँ । यसका केही सकारात्मक पाटाहरू पनि छन् । हात्तीसित मानिसको सम्बन्ध प्राचीनकालदेखि नै छ । स्वर्गका राजा इन्द्रको ऐरावत हात्ती युद्धमा प्रयोग गरिएको धार्मिक ग्रन्थमा चर्चा गरिएको पाइन्छ । थाइल्यान्डको वन–जड्ढलमा ठुल्ठूला रूखहरूको ओसारपसारमा हालसम्म पनि हात्तीको प्रयोग भइरहेछ । र, यसभन्दा महŒवपूर्ण कुरा हात्तीको संरक्षण हुँदा पारिस्थितिक
(इकोसिष्टम) प्रणाली सबल बनाउन ठूलो भूमिका खेलेको हुन्छ । हात्ती जड्ढलमा चर्न हिँड्दा रूखका ठुल्ठूला हाँगाहरूलाई लुछेर अन्य बिरुवालाई हुर्किन सहयोग पु¥याउँछ । अनि अग्ला काँसका ढड्डीहरू (टल ग्रास) लडाएर बिरुवा तथा वनस्पतिहरूलाई अनुकूल वातावरण पनि सिर्जना गर्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ बमोजिम हात्तीलाई संरक्षित जीवको सूचीमा राखिएको छ । त्यसैगरी विश्व प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) र साइटिसले हात्तीलाई लोपोन्मुख जीवको सूचीमा राखेको छ । यसैबाट यसको महŒव प्रस्टिन्छ । केही दशकअघिसम्म तराई–मधेसका सम्पन्न जमिनदारहरू हात्ती पाल्ने गर्थे र यो पाल्नु एउटा शानको विषय पनि हुन्थ्यो । हौदा कसेर हात्तीमा सवार भई जन्ती जानेहरूको फुर्ति नै बेग्लै हुन्थ्यो । स्व. राजा वीरेन्द्रको राज्याभिषेक
(२०३१ साल) मा दरबारमा रहेका विलासी महँगा कारको सट्टा विशेष रूपले सिँगारिएको हात्तीमा नगर परिक्रमा गराइएको थियो ।
हात्तीको प्रयोग पर्यटकहरूलाई आकर्षित गर्न पनि गरिन्छ । हात्तीजस्तो भीमकाय जनावर एसिया तथा अफ्रिकामा मात्र पाइने हुनाले युरोप, अमेरिका र अस्ट्रेलियाका मानिस त्यहाँका चिडियाखानामा अवलोकन गर्न लालायित हुन्छन् । नेपालका राष्ट्रिय निकुञ्जहरूमा तिनैमाथि सवार भई वन्यजन्तुको अवलोकन गर्दै आफ्नो भ्रमण अविस्मरणीय भएको महसुस गर्छन् । पश्चिम चितवनको मेघौली विमानस्थलको घाँसेचौरमा प्रत्येक वर्ष आयोजना गरिने हात्तीपोलो नेपालको एउटा नवीन तथा विशिष्ट पर्यटकीय उत्पादन (प्रडक्ट) थियो । उक्त खेलको आयोजक कसरा (चितवन)मा रहेको विश्वप्रसिद्ध टाइगर टप्स रिसोर्टले गथ्र्यो, जहाँ विश्वका धनाढ्य–प्रकृतिप्रेमी पर्यटकहरूको ठूलो जमघट हुन्थ्यो । र, उक्त एलिफ्यान्ट प्रतियोगितामा पोलो बहुराष्ट्रिय कम्पनीका खेलाडीले ठूलो उत्साहसाथ भाग लिन्थे । नेपालको सिको गर्दै भारतको जयपुर (राजस्थान) तथा थाइल्यान्डमा पनि हात्तीपोलो प्रारम्भ भयो । नेपालमा चाहिँ कथित संरक्षण तथा पशु अधिकारवादीहरूको लहैलहैमा लागेर चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका उत्कृष्ट रिसोर्टहरू बन्द गर्ने अविवेकी निर्णय गरियो । टाइगर टप्स बन्द भएपछि कसले आयोजना गर्ने हात्तीपोलो ? चितवन राष्ट्रिय निकुञ्जमा हाल गुणस्तरीय पर्यटकले निकै न्यून सङ्ख्यामा भ्रमण गर्ने गरेको पाइन्छ ।
एउटा वयस्क हात्तीको वजन पाँचदेखि छ टनको हुन्छ र उसलाई कम्तीमा दैनिक पाँच सय पाउन्ड ग्रीन फोहर (घाँसपात)बाहेक धान, नुन तथा सख्खर पनि भोजनका रूपमा आवश्यक पर्छ । खुला वन–जड्ढलमा विचरण गर्न रुचाउने हात्ती आहारको खोजीमा प्रशस्त ढड्डी (टल ग्रास) भएको वनको अभावमा उदर पूर्तिका लागि बाध्य भई व्यक्तिहरूले लगाएको बाली खानेमात्र होइन, कुल्चेर नोक्सान गर्ने भएपछि मानिस तथा हात्तीबीच द्वन्द्व हुने नै भयो । हात्तीलगायत अन्य वन्यजन्तुहरू ओहोरदोहोर गर्ने कोरिडरहरूमा भौतिक निर्माणका कार्यहरू तथा मानवीय अतिक्रमणहरूले तिनीहरूको वासस्थान
(ह्याबिट्याट) खोसिएपछि कहाँ जाने ? मानिसले जस्तो नारा जुलुस र प्रदर्शन तथा चक्का जाम गर्न सक्दैनन् ती वाणिहीन (भ्वाइसलेस) जीवहरूले ।
नेपालमा गैँडा र बाघको संरक्षणमा राज्यले विशेष ध्यान पु¥याएको एकथरी आरोप पनि छ । अरू त के कुरा, पूर्वमहानिर्देशक समेत रहिसक्नुभएका डा. सनत ढुङ्गेलले हामीकहाँ ठूला जनावरहरू (गैँडा, बाघ) पश्चिमाहरूको चाहनामा संरक्षण कार्य भइरहेको, अन्य वन्यजन्तुहरूको संरक्षणलाई बेवास्ता गरिएको गुनासो यस पङ्तिकारसित केही वर्ष पहिले गर्नुभएको थियो । बाघ र गैँडा संरक्षणमा जति हात्तीको संरक्षणमा राज्यले त्यति ध्यान नपु¥याएको सत्य हो ।
हात्ती घरपालुवा पनि हुन्छन् र जड्ढली पनि हुन्छन् । तर चीनमा खसी, बाख्रा पालेझैँ बाघ पालिएको छ र अन्य मुलुकमा पनि बाघ पालिनुपर्छ भन्ने कुराको वकालत लिबर्टी इन्स्टिच्युट (नयाँदिल्ली)ले गर्दै आएको छ । उक्त संस्थाले केही वर्षअघि उक्त कार्यलाई न्यायोचित ठह¥याउन काठमाडौँमा एउटा छलफल कार्यक्रमसमेत गरेको थियो । तर, नेपालका सरकारी तथा गैरसरकार क्षेत्रबाट साइटिसले सङ्कटापन्न अवस्थामा रहेको बाघलाई घरपालुवा जनावरका रूपमा पालन गर्ने कुरामा एक स्वरमा असहमति जनाएका थिए ।
नेपाल वन्यजन्तु संरक्षणमा एउटा अग्रणी मुलुक हो र सन् २०२२ सम्म बाघको दोब्बर सङ्ख्या पु¥याउन हामी सक्षम रहेका सम्बन्धित सरोकारवालाहरू बताउँछन् । तर, यस्ता सफलता हासिल गर्न कोसीटप्पु, पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रहरूमा बस्ने विशेषगरी गरिब किसानले वन्यजन्तुहरूबाट निकै पीडा भोग्नुपरेको तथ्य बिर्सनुहुँदैन । यलोस्टोन यसोमाइट र बाँफजस्ता राष्ट्रिय निकुञ्ज मध्यवर्तीका बासिन्दाहरूलाई घाँस, दाउरा, कन्दमुल, निउरो र खर लिन (छाना छाउन) निकुञ्ज छिर्नुपर्दैन । तर हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई वैध÷अवैध जसरी पनि वन–जड्ढल छिर्नु बाध्यता छ । पश्चिमा संरक्षणका रणनीति यहाँ हुबहु लागू गर्न व्यावहारिक रूपले सम्भव छैन । पर्यावरणविज्ञ केलर्ट भन्नुहुन्छ– पर्यावरण कार्यक्रम सञ्चालन गर्दा मानव समाजका अभावहरूलाई बुझ्नु जरुरी छ । त्यसैगरी, अर्का विद्वान् अल्डो लियोपोल्ड यो भनाइलाई समर्थन गर्दै भन्नुहुन्छ– दूरदराजको क्षेत्र तथा मानवीय वातावरणको पर्यावरणचक्र (इकोसिष्टम)मा रहेको अन्तरसम्बन्ध बुझ्नु अत्यावश्यक छ ।
राष्ट्रिय निकुञ्जहरू तथा स्थानीय बासिन्दाहरूको अन्तरसम्बन्धबारे नेपालमा मात्र होइन भारत, उगान्डा, केन्या, तान्जानिया, कोस्टारिका, पेरु, दक्षिण अफ्रिका, रुवाण्डा र जिम्बावेमा पनि तात्तातो बहस वर्षौंदेखि चल्दै आएका छन् । र, दी फ्युचर अफ पार्कका लेखक डेविड कामेनका अनुसार निकुञ्जहरूबाट बाहिरका सम्भ्रान्त व्यक्तिले लाभ लिइरहेका छन् । त्यसकोवरिपरि बस्ने निमुखा जनताको मूल्यमा÷वन्जन्तुको संरक्षण जनतालाई उठिबास गराएर हुन सक्दैन र हुनु पनि हुँदैन । भू–बनोट र जैविक विविधता संरक्षण गरी राष्ट्रिय निकुञ्ज संरक्षण गर्नु भनेको सम्भ्रान्त वर्गको अर्को साँस्कृतिक उपनिवेश खडा गर्नु हो । लोकतन्त्रमा सामाजिक न्यायलाई विशेष ख्याल गरिएको हुन्छ । र, सम्मानमूलक शोषणविहीन समाजको सिर्जना गरी प्राकृतिक स्रोतहरूको उपयोगमा विनाभेदभाव सबैको पहुँच हुनु आजको आवश्यकता हो ।
चितवन राष्ट्रिय निकुञ्जका संस्थापक वार्डेन स्व. तीर्थमान मास्के केही वर्षअघि यो पङ्तिकारसँग भन्दै हुनुहुन्थ्यो– संरक्षण कार्य हाम्रो पहिलो प्राथमिकता हो, पर्यटन होइन र पर्यटन व्यवसायबाट केही व्यक्तिहरू मालामाल भएका छन् । तर, रैथाने थारूहरूको आर्थिक अवस्थामा खासै परिवर्तन भएको देखिँदैन । पार्क एन्ड पिपुल्स र तालजस्ता केही परियोजनाहरूले राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रहरूका बासिन्दाहरूको घाउमा मलहमपट्टी त लगाएको छ, जुन पर्याप्त छैनन् । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर नजिकको र हात्ती प्रजनन केन्द्र जाने बाटोमा राप्ती नदीको ऐलानी जग्गाको डिलमा बसेका भूमिहीन बासिन्दाहरूलाई किन लालपुर्जा नदिने ?
अस्थिर राजनीतिले हरेक क्षेत्रलाई प्रभावित पारिरहेको हुन्छ र यसको प्रभाव राष्ट्रिय निकुञ्जहरू तथा वन–जड्ढलमा पर्नु कुनै अस्वाभाविक कुरा छैन । नेपालमा विगतमा जनमतसङ्ग्रह–२०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनाका लागि भएको आन्दोलन र ०६२÷६३ मा तराई–मधेसको आन्दोलनमा फितलो प्रहरी प्रशासनको फाइदा उठाउँदै व्यापक वन विनाश भएको दृष्टान्त हामीसित ताजै छ । जनताको धैर्यको पनि एउटा सीमा हुन्छ । जड्ढली हात्ती, बाघ र अन्य जन्यजन्तुबाट स्थानीय जनताले मृत्युवरण हुँदा केही लाखको क्षतिपूर्ति त पाउँछ तर एउटा परिवारको सदस्य गुमाउँदाको पीडा हामीले अनुभव गर्न सक्दैनौँ ।
ग्वाटेमालाको लागुनाडेल टाइगर निकुञ्जबाट आजित स्थानीय बासिन्दाले त्यहाँका चार कर्मचारीहरूलाई अपहरणसमेत गर्न पछि परेनन् । त्यसैगरी, केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्जलाई जनदबाब थेग्न नसकी आरक्षमा घटुवा गरी मासेर जनजातिलाई सुम्पनुपरेको थियो । नेपालमा फेरि राजनीतिक अन्योलको स्थिति पैदा भएको छ । र, यो राजनीतिको असर हाम्रा नमुना संरक्षित क्षेत्रहरूमा नपर्ला भन्न सकिन्न । अतः यो अवस्थामा सबै सरोकारवालाहरू वन्यजन्तुको संरक्षणमा विशेष चनाखो रहनु
अत्यावश्यक छ ।
(लेखक वरिष्ठ वातावरण पत्रकार हुनुहुन्छ ।)