विचार/दृष्टिकोण |

नरकभित्रको स्वर्ग

अशोक सोकी

मनुष्यको विचार फोहोर भयो भने स्वर्णरत्न जडिएको झकिझकाउ सुन्दर स्वर्गजस्तो घरमा बसे पनि नरकसमान हुन्छ । विषयवस्तुमा लालायित भएर अन्यत्र सुखसुविधमा भोगेका र सयल गरेका रावणलाई मोहले गर्दा अनेकौँ दुःख–कष्ट भोग्नुप¥यो । तिनलाई कार्तवीर्यले थुनाउनुप¥यो, बालीले पुच्छरमा बाँधेर आकाश भ्रमण गराए । सीताहरणको कारणबाट श्रीरामको हातबाट मरण भयो ।
यस्तै, शम्बासुरलाई माता पार्वतीले दिएको शक्ति असत्यमा प्रयोग गर्न खोजेकाले उपयोगी भएन । उनी प्रद्युम्नबाट मारिनुप¥यो । पौण्ड्रकले गदा–शङ्ख चक्र धारण गरेर अहङ्कारपूर्वक स्वयम् श्रीकृष्ण भगवान् भनी श्रीकृष्ण भगवान्लाई अवहेलना गरे । फलतः कृष्ण भगवान्बाट दण्डित भएर मृत्यु भयो । यी श्रीमद्भागवत् महापुराणको दशम स्कन्ध उत्तराद्र्ध ‘मोहिनी’को ६६औँ अध्यायमा उल्लिखित कुरा हुन् ।
युद्धमा धेरै मानिसको मृत्यु भएको देखेर सम्राट अशोकले पश्चातापपूर्वक मनमा अशान्ति अनुभूति गरे । अहो ! यो स्वर्गभित्रको नरक हो । साधारण एकजना भन्तेको मुहारमा चमक, शिर नझुकेको स्वभाव र कुराबाट सम्राट अशोक प्रभावित भए । सम्राटको चेतनाको ज्योति उदय भयो । भौतिक साधनले युक्त बाहिरी सुखले मनमा शान्ति नपाउने रहेछ । मनभित्र सन्तोष भएपछि मात्र आनन्द प्राप्त गर्न सकिन्छ । बाहिरी सुख सुविधालाई तिलाञ्जली दिएर अशोक बुद्धको शरणमा गए । त्यसबाट आत्मशान्ति पाए ।
बल र शक्तिबाट सत्ता पाइन्छ । सत्ताबाट शक्ति प्रयोग गरेर शासन चलाइएको हुन्छ । यो क्रान्ति हो । क्रान्तिमा हुने अशान्तिले मनमा भ्रान्ति हुन्छ । आत्म शान्ति भौतिक साधनाले भन्दा सन्तोषले पाउन सकिन्छ । आत्म शान्तिमै सुख हुन्छ, आत्मज्ञानमै आनन्द हुन्छ, प्रभुको स्मरणमा सन्निपात ज्वरोलाई पनि कष्ट दबाएर, निवारण गरेर आनन्द लिन सक्छ ।
सुखसयल, आनन्दका लागि सुन्दर विचार भएर मनस्थितिमा शान्ति हुनुपर्छ । बुद्धिवृत्ति भएर पाएको आनन्द राम्रो । उपलब्धिमूलक काम भएमा हुने आमोद आनन्द । भारी बोकेका व्यक्तिले भारी बिसाउँदा लिने आनन्द वा पे्रमीप्रेमिकाको लामो समयपछिको भेटमा खुसीको अनुभूति गरी लिने आनन्द– वैषयिक आनन्द हो । यो आनन्द शान्तिकालमा निद्रा रूपले विलीन हुन्छ । ज्ञान, ध्यान अन्तर्मुख भएर बुद्धिवृत्ति हुने आनन्द सत्कर्मको अनुष्ठानबाट पाउने विवेकी आमोद आनन्द हो । स्वस्थ, शुद्ध मनस्थितिबाट निर्विकार भई अखण्डानन्द रूप विषय प्राप्तिपूर्वक पाइने आमोद आनन्दमा परमात्माको प्रतिविम्ब हुन्छ ।
चन्द्रमाको प्रतिविम्ब पानीमा देखिए तापनि वास्तविकता चन्द्रमा पानीमा हुन्न । हाम्रो शरीरभित्र परमात्माको प्रतिविम्बमा हुने मोद आनन्द हो । यो सुषुप्तिमा हुने पूर्ण आनन्द स्फुरण प्रतीत भइरहन्छ । यो आनन्दमा आफ्नो आनन्दको प्रतिविम्ब परेको हुन्छ । यो आनन्दमा सुषुप्त स्थितिमा ब्रह्मानन्दको अनुभव हुन सक्छ, यो मोद आनन्दमा शरीर बाहिर जे छ, हामीभित्र पनि उही देखिन्छ । यो नै नरकभित्रको स्वर्ग हो ।
आधुनिक युगमा अविभक्तलाई विभक्त देखिने विभिन्न मानव मनसायमा विचित्रमय स्वाभावले गर्दा हो । सर्प चल्नु कल्पना गर्न सकिन्छ, डोरी हिँडडुल गर्नु भनेको ज्ञानले यो निवृत्त मिथ्या नै भन्छ । ज्ञान के हो ? अहिले कसरी बाँचिरहेका छौँ, अहिले के भइरहेको छ भनी बोध गर्नु नै ज्ञान हो । ज्ञानले कुनै समस्यालाई समाधान गर्न खोजिनिती गरेको हुन्छ । ज्ञानले सबै अस्थिर देखेको हुनाले यो अनर्थ संसार रूप भ्रम जालमा छ भनी तुच्छ दृष्टिमा निर्विकार भई शून्यतामा देख्न थाल्छ । यो संसार रूपलाई बुझ्छ, छर्लङ्गिन्छ, बाघले सपनामा तर्साएर उठेझैँ झसङ्ग हुन्छ । अज्ञानलाई ज्ञानले नष्ट गरिसकेपछि यसलाई मोक्षको विषयमा आचार्य शब्दमा उदाहृत गरेको हुन्छ ।
(लेखक धर्म संस्कृति अध्येता हुनुहुन्छ ।)