विचार/दृष्टिकोण |

शहीद सप्ताह र राजनीति

खिमलाल देवकोटा

यतिबेला हामी शहीद सप्ताह मनाइरहेका छौँ । यस अवसरमा राजनीतिक आन्दोलनका क्रममा देश र जनताका लागि प्राणको आहुति दिने महान् शहीदहरूलाई हामी स्मरण मात्रै गर्दैनौँ शहीदहरूले देखाएको सपना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । राणा विरोधी आन्दोलन, पञ्चायत विरोधी आन्दोलन होस् वा महान् जनयुद्ध, संयुक्त ऐतिहासिक जनआन्दोलन होस् वा क्षेत्रीय एवं जनजाति आन्दोलनलगायत देश र जनताका मुक्तिका लागि गरिएका सबै आन्दोलनमा शहादत प्राप्त गर्ने सबै महान् शहीदको सम्मान र स्मरणमा मनाइने शहीद सप्ताहको गम्भीरताले निःसन्देह विगतको राजनीतिको समीक्षा र आगामी दिनको राजनीतिको मार्गचित्रलाई पनि सङ्केत गर्छ । त्यसैले शहीद सप्ताहको बारेमा चर्चा गर्ने यस आलेखको ध्येय छ ।

á अन्तर्राष्ट्रिय सन्दर्भ ः
जनवादी गणतन्त्र चीनले राष्ट्रिय एवं भौगोलिक अखण्डताका लागि प्राण दिने महान् शहीदहरूको सम्मानमा आफ्नो राष्ट्रिय दिवसको एक दिन अगाडि अर्थात् सेप्टेम्बर ३० लाई शहीद दिवसका रूपमा मनाउने गरेको छ भने । गणतन्त्र भारतले भने महात्मा गान्धीको हत्या भएको दिन जनवरी ३० लाई शहीद दिवसका रूपमा मनाउने गरेको छ । इस्लामिक गणतन्त्र पाकिस्तानले ३० अप्रिललाई राष्ट्रको रक्षाका लागि सेवा गर्दागर्दै ज्यान गुमाउने सेनाको सम्मानका रूपमा शहीद दिवस मनाउने गर्छ । बङ्गलादेशले भने बङ्गाली भाषाका लागि भाषा आन्दोलनका लागि शहीद हुनेहरूको स्मरणमा २१ फेबु्रअरीलाई, बङ्गाली नरसंहारमा ज्यान गुमाउनेहरूको सम्झनामा २५ मार्चलाई र बौद्धिक आन्दोलनका क्रममा सैनिकद्वारा हत्या गरिएका बौद्धिकहरूको सम्झनाका लागि १४ डिसेम्बरलाई गरी तीन भिन्नभिन्न दिनलाई शहीद दिवसका रूपमा मनाउने गरेको पाइन्छ । जनगणतन्त्र भियतनामले युद्धमा ज्यान गुमाउनेहरूको सम्झनामा २७ जुलाईलाई शहीद दिवसका रूपमा र टर्कीले पहिलो विश्व युद्धका बखत ज्यान गुमाउने सिपाहीहरूको सम्झनामा १८ मार्चलाई शहीद दिवसका रूपमा मनाउने गरेको छ । यसो त संसारभरि सबै मुलुकले शहीद दिवस मनाउने नभई जम्मा अढाइ दर्जन मुलुकमा मात्रै औपचारिक रूपमा शहीद दिवस मनाउने गरेको पाइन्छ । खासगरी देश र जनताको मुक्तिका निम्ति प्राणको आहुति गर्नेहरूको सम्मानमा मनाइने यो दिवस नै सो मुलुकको शहीद दिवसका रूपमा स्मरण गरिन्छ ।

á शहीद दिवसको अन्तर्य ः
अमेरिकी राष्ट्रपति थोमस जेफर्सनले स्वतन्त्रताको रुखलाई समयसमयमा अत्याचारी र देशभक्तहरूको रगतको स्मरणले जीवन्त बनाई राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएर अत्याचारका विरुद्ध देशभक्तहरूको बलिदानको सम्मान गरे । चाल्र्स डी गौलेले (जो नाजीको अत्याचारबाट फ्रान्सलाई मुक्त गर्ने फ्रेन्च योद्धा हुन्, जो पछि फ्रान्सका राष्ट्रपति निर्वाचित भए) देशभक्ति र राष्ट्रवादलाई तुलना गर्दै भन्छन्, आफ्नो देश र जनतालाई माया गर्ने काम देशभक्ति हो भने अरूलाई घृणा गर्ने काम राष्ट्रवादका नाममा गरिन्छ । त्यसैले शहीदहरूको बलिदानलाई राष्ट्रवादका नाममा दुरुपयोग गर्नभन्दा देशभक्तिमा उपयोग गर्न सल्लाह दिनुहुन्छ । अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमेनले अमेरिका कुनै भय र त्रासमा निर्माण गरेको राष्ट्र हैन, बरु राष्ट्र निर्माण गर्ने दृढ साहस र पवित्र परिकल्पनामा आधारित भएर निर्माण भएको थियो भन्नुभएको छ । अमेरिकी सेना विरुद्ध लडेको भियतनामी सेनाका बारेमा राष्ट्रपति जोन अफ केनेडी भन्नुहुन्छ – ‘‘युद्धमा साहस त हुँदै हो, देशभक्ति मैले सबैभन्दा धेरै देखेँ ।” उहाँले देशभक्तिले ओतप्रोत भियतनामी सेनालाई कसैले हराउन नसक्ने टिप्पणी समेत गर्नुभएको थियो ।
हो, शहीदहरूको बलिदानको अन्तर्यमा साहस र देशभक्तिको तìव प्रचुर मात्रामा हुन्छ । शहीद दिवस मनाउने र शहीदहरूलाई स्मरण गर्ने भन्नुको अर्थ नै शहीदहरूको साहस र देशभक्तिको कदर गर्नु हो ।

á नेपाल सन्दर्भ ः
नेपालको सन्दर्भमा शहीद दिवसको अन्तर्य देशभक्ति र जनअधिकारको अंश बराबरी छ । नेपाली राजनीतिको अघिल्लो कालखण्डमा विदेशी आक्रमण र उपनिवेशबाट बचाउने मामलामा देशभक्तिको अंश बढी र पछिल्लो कालखण्ड अधिकारको प्राप्ति र रक्षाका लागि –अंश बढी देखिन्छ । अङ्ग्रेज आक्रमणका विरुद्धभक्ति थापा र बलभद्रहरूको लडाइँ देशभक्तिको नमुना हो भने राणा शाही विरुद्ध चार शहीदको बलिदान राजनीतिक अधिकार प्राप्तिका लागि गरिएको त्याग र बलिदानको उच्चतम नमुना हो । यो क्रम पञ्चायत विरुद्ध देखाप¥यो । पछिल्लो कालखण्डमा ज्ञानेन्द्र शाहीको अत्याचारका विरुद्ध समेत देखाप¥यो । सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशी समानुपातिक मान्यताका लागि जनयुद्ध र सो क्रममा भएको बलिदानका गौरव गाथाहरू देखा परे । यिनै बलिदान र गौरव गाथासमेतका आधारमा शहीदहरूको त्याग र बलिदानीको स्मरण गर्नु शहीदहरूको स्मरण र सम्मानका अन्तर्यहरू हुन् । सङ्घीयताका लागि मधेस आन्दोलन, पहिचानका लागि जनजाति आन्दोलन र सो क्रममा प्राण आहुति गर्ने शहीदहरूको स्मरणमा शहीद दिवसको मर्म अन्तरनिहित छ । राजनीतिक अधिकारका हिसाबले विगत ७० वर्षदेखि आफ्नो भाग्यको फैसला आफैँ गर्न सक्ने अधिकारको प्राप्तिका लागि संविधानसभाको निर्वाचनको माग गरिआएको सन्दर्भ र सो क्रममा भएका सबै बलिदानहरूको स्मरणमा ऐतिहासिक संयुक्त जनआन्दोलन जसलाई दोस्रो जनआन्दोलन पनि भन्ने गरिन्छ सोको स्मरण र सम्मान नै शहीद दिवसको मर्म हो । यसो हो भने संविधानसभाको मर्म परिपालनाको प्रश्न, संविधानसभाको रक्षाको प्रश्न र संविधानसभाको परिणामको प्रयोग र प्रचलनको प्रश्नसँग जोडेर वर्तमान सन्दर्भलाई नियाल्न र पर्गेल्न जरुरी छ ।

á बलिदानको यथोचित सम्मान ः
मुलुकको व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन । व्यवस्था बदलेको यति समयमा पनि जनताको सुख र समृद्धिको चाहना परिपूर्ति भएन । जनताको जीवनमा परिवर्तन ल्याउन नसक्दासम्म शहीदको सम्मान भएको मान्न सकिँदैन । यसका लागि जनताका आधारभूत आवश्यकताको परिपूर्ति, देशभित्रै रोजगारी सिर्जना र जनताको विकासको चाहना परिपूर्ति गर्न जरुरी छ ।
विकास र समृद्धिको आधार बनेको नयाँ संविधान र सो संविधानले परिकल्पना गरेको राजनीतिक स्थायित्वको रक्षा पनि त्यत्तिकै जरुरी छ । तर विडम्बना नै मान्न पर्छ, यतिबेला विगत ७० वर्षदेखिको मागबमोजिम संविधानसभाबाट जारी भएको संविधानबमोजिम निर्वाचित संसद् विघटन भएको छ । राजनीतिक स्थिरताको अचूक औषधि प्रतिनिधि विघटन हुँदैन भन्ने विश्वासका विपरीत प्रतिनिधिसभा विघटन गरिएको छ र उक्त मामला सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । संवैधानिक इजलासले गर्ने फैसलाको महìव आफ्नो ठाउँमा छ । तर सत्य के हो भने विगतका अस्थिरताबाट आजित भएर संसद् विघटन कुनै हालतमा हुँदैन भन्ने व्यवस्था संविधान निर्माण गर्दाका बखतको राजनीतिक सहमति हो । विगतका संविधानसभाको विवाद समाधान उपसमिति र सोअन्तर्गत बनेको कार्यदलको सिफारिसले यही कुरा बताउँछ । त्यसैको स्वामित्व ग्रहण गर्दै बनेको दोस्रो संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनले पनि सोही कुरालाई स्वीकार गरी संविधानको अन्तिम मस्यौदा तयार गरिएको हो । संविधान निर्माणका बखत भएको सहमति र संविधान विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदम नसच्चिदासम्म राजनीतिक स्थिरताका लागि प्राण आहुति गर्ने शहीदहरूको सम्मान गरेको ठहरिने छैन ।

á भावी कार्यदिशा ;
देशभक्ति, राजनीतिक स्वतन्त्रता, राजनीतिक स्थिरता, सुख र समृद्धि नेपाली राजनीतिका आयामहरू हुन् । यी मामलालाई नै केन्द्रमा राखेर सिङ्गै नेपालको राजनीति विगतदेखि आजसम्म सञ्चालित छ । नेपाली राजनीतिक इतिहासमा नेपाली राजनीतिका सम्पूर्ण आयामहरूलाई स्थापित गर्नका लागि बलिदानीपूर्ण सङ्घर्ष भएको इतिहास साक्षी छ । तिनै बलिदानीपूर्ण सङ्घर्षहरू लामो समयको बलिदानी र त्यागको कुल योगमा प्राप्त निधिका रूपमा आजको राजनीति र आजको संविधान हो भन्ने कुरामा दुईमत हुन सक्दैन । तिनै उपलब्धिहरूलाई जोगाउन सकिएन भने शहीद दिवस मनाउनुको अर्थ के होला र ? तिनै उपलब्धिको जगमा नेपाली जनतालाई सुख समृद्धि प्रत्याभूत गर्न सकिएन भने शहीदका गाथा गाउनुको के अर्थ होला ? अहिले यसको उपयुक्त र चित्त बुझ्दो र सकारात्मक जवाफ दिन कोही पनि जिम्मेवार नागरिकका लागि त्यति सजिलो छैन । त्यसैले शहीदहरूको बलिदानीपूर्ण सङ्घर्षको गाथाको गीत गाउने हो भने तिनै उपलब्धिको अपमान गरेर हैन, उपलब्धि प्राप्त गर्दा बगेको रगतमाथि होली खेलेर पनि हैन, तिनको रक्षा, सम्मान गरेर र तिनको विकास गरेर मात्रै सम्भव छ ।
यतिबेलाकोे शासन र शासक वैधताको प्रश्नले घेरिएको छ । आफैँ सहस्र प्रश्नहरूको घेराबन्दीमा परेको शासनले जनताका हक र स्वतन्त्रताको रक्षा गर्न हजार कोसिस गरे पनि पत्यार लाग्दैन । शहीद सप्ताहको यो अवसरमा शहीदहरूले परिकल्पना गरेको शासनको चरित्र, शहीदहरूको बलिदानले प्राप्त संविधान र तिनका व्यवस्थाहरूको रक्षा प्रयोग र विकासमा भएको योगदानको सकारात्मक वा नकारात्मक परीक्षण र मूल्याङ्कन आजको आवश्यकता हो । यसै परीक्षण कसीमा शासनाधिकारीहरू छन् भन्ने हेक्का राख्न यो शहीद सप्ताहले उत्प्रेरित गर्नेछ ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)