विचार/दृष्टिकोण |

पुस्तान्तरणका लागि निकास नीति

डा. बिन्दा पाण्डे

कुनै बेला गिरिजाप्रसाद कोइरालाको भनाइ सुनिन्थ्यो “एउटै पुस्ताले तीन वटा क्रान्तिको नेतृत्व ग¥यो ।” वर्तमानका नेताहरूले पनि दुई वटा क्रान्तिको नेतृत्व गरेको कुरा सगौरव अभिव्यक्त गरेको सुनिन्छ । हिजो हाम्रो पुस्ता यस्ता भनाइमा गर्व गर्दै आयौँ र आजको नयाँ पुस्ता पनि त्यो भनाइ सुन्दा ‘हाम्रा नेता महान्’ भन्ने सोचबाट मुक्त छैन । तर, एउटै पुस्ताले किन पटक पटक क्रान्ति गर्नुप¥यो ? एक पटक क्रान्तिबाट स्थापित प्रणाली जोगाउन किन सकिएन ? क्रान्तिमा नागरिकको नेतृत्व गर्नसक्ने पुस्ताले प्राप्त उपलब्धि जोगाउने कामको नेतृत्व गर्न किन असफल भयो ? र, फेरि अर्को क्रान्ति (?) आवश्यक प¥यो ? यस विषयमा न त्यो पुस्ताले आफूभित्रको कमजोरी खोज्न गम्भीर समीक्षा ग¥यो । न हाम्रो पुस्ताले नै समयमै यो प्रश्न गर्न सक्यो । न त विद्वत् समुदायले नै वस्तुगत विश्लेषणसहित यथेष्ट सामग्री नागरिकले बुझ्ने भाषा र शैलीमा पस्कन सके, न उपलब्ध कतिपय सामग्रीलाई जिम्मेवार पक्षले मनन गर्ने चेष्टा ग¥यो ।
परिवर्तित राजनीतिक प्रणालीलाई दिगोपन दिन सामाजिक, सांस्कृतिक मान्यता र संस्कार पनि प्रणालीसम्मत रूपमा बदल्नुपर्छ भन्ने विषयमा ध्यान पुग्न सकेन । परिणाम प्रणाली लोकतान्त्रिक गणतन्त्रमा पुगेको दशक बितिसक्दा पनि शीर्ष तहका नेतादेखि आशा गरिएका (?) पुस्तासम्मको मर्यादाहीन अभिव्यक्तिमा देखिँदैछ । विगतमा माओद्वारा सूत्रबद्ध ‘अनुशासनका तीन नियम र ध्यान दिनुपर्ने आठ नियम’ कण्ठ गर्दै र गराउँदै हुर्केको नेतृत्व आफँैले उक्त कुरा बिर्सेको अनुभूत हुन थालेको छ । उहाँहरूको सोच, बोली र व्यवहारमा ती कुराहरूको प्रतिविम्ब कहीँ कतै देखिँदैन । सात दशकको बीचमा भएका तीन वटा (२००७, २०४६ र २०६३) क्रान्तिमध्ये दुई वटाको नेतृत्व गरेका नेताहरू आफू, आफ्नो संस्था र त्यसमा आबद्ध व्यक्तिहरूमा समय र प्रणाली अनुकूल परिस्कृत संस्कार सिक्ने र सिकाउने प्रयत्नसमेत देखिँदैन । नेतृत्वले यसको वस्तुगत समीक्षा आफैँभित्र र आफूले नेतृत्व गरेको संस्थाबाट सुरु गर्न आवश्यक छ ।

प्रणाली र संस्कारगत सङ्गति

राजनीतिक प्रणाली निरङ्कुशताबाट केन्द्रिकृत बहुदलीय व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । यसले फराकिलो सहभागिता, अधिकारको प्रत्यायोजन र प्रक्रियामा पारदर्शिताको माग गर्छ । प्रणालीअनुसारको आचरणको माग गर्छ । अधिकारको साथमा कर्तव्यनिष्ठताको माग गर्छ । जसको न्यूनतम मापदण्ड मानव मर्यादा र सम्मान हो, जहाँ कसैलाई पनि उसको पेसा, वर्ग, क्षेत्र, जाति, यौनिकतालगायतका आधारमा हिंसात्मक अभिव्यक्ति र व्यवहार हुनै सक्दैन । अझ सार्वजनिक जीवनको उचाइमा रहेका व्यक्तिहरूका जीवनशैली परपरसम्म देखिन्छन् र सुनिन्छन् भन्ने कुरालाई ख्याल गर्दै आफ्नो सोच, अभिव्यक्ति र व्यवहारलाई थप मर्यादित बनाइनुपर्छ । थप संयम र धैर्य देखाउन सक्नुपर्छ जसलाई देखेर–सुनेर आमनागरिक र नयाँ पुस्ताले सम्मानको संस्कार सिक्न सकून् ।
तर, विडम्बना प्रणालीसँगै नेतृत्व र संस्कार फेर्ने कुरा प्राथमिकतामा परेको देखिँदैन । २०६२÷६३ को परिवर्तनपछि त अझ राजनीतिक पार्टीहरू संस्थागत प्रक्रिया र पद्धतिबाट विमुख हँुदै गए । नेतृत्वको आकार ठूलो र निर्णायक पङ्क्तिको घेरा साँघुरो बन्दै गयो । संस्थाहरू निष्प्रभावी बन्दै गए । नेतृत्वमा अवसरवादी प्रवृत्ति हावी हुँदै गयो । कार्यकर्तामा गैरराजनीतिकपन र अराजकता बढ्दै गयो । समष्टिमा, अहिलेको पहिलो पुस्ता आन्दोलन गर्न र प्रणाली परिवर्तन गर्न सफल भयो । शासनसत्ताको आवरण फेरियो । तर, प्रणालीअनुसारको आचरण र मान्यता परिवर्तनको नेतृत्व गर्न सकेन । काम गर्ने विधि, पद्धति र शैली फेरिएन । यसको परिणाम यही हुन्थ्यो, जे आज भइरहेको छ ।
आज नेतादेखि कार्यकर्तासम्मको अभिव्यक्ति सुन्दा लाग्छ, यो सांस्कृतिक विचलन हो वा पछौटेपनको निरन्तरता ? नागरिक तहबाट मात्र होइन, कतिपय कार्यकर्ता पङ्क्तिसमेत प्रश्न गर्न बाध्य छ कि हाम्रो नेतृत्वको सांस्कृतिक धरातल यही हो ? जो, हजारौँ नागरिकलाई भेला गरेर छुद्रताको हदै नाघेर एकार्कामाथि व्यक्तिगत तहमा भद्धा लाञ्छनामा उत्रँदैछन् । राजनीतिका नाममा यौनिकतामाथि प्रश्नको प्रहार हँुदैछ । व्यक्तिसँगको असहमतिमा आफ्नै पुस्तासमेतले स्थापना गरेको संस्थामाथि प्रहार गरिंदैछ । सामाजिक मर्यादा र मानवीय संवेदनाको न्यूनतम सीमा पनि मिचिंदैछ । यो प्रवृत्ति पञ्चायतविरुद्ध आन्दोलनको नेतृत्व गर्ने पुस्तामा मात्र होइन, गणतान्त्रिक आन्दोलनबाट अगाडि आएको पुस्ताको अभिव्यक्तिमा समेत देखिएको बेलगाम भद्धापन थप चिन्ताको विषय बन्दैछ । यो लगामबिनाको अभिव्यक्तिबाट आजका नवयुवा र बालबालिकाले के संस्कार सिक्लान् र भोलिको समाज कस्तो बन्ला ? स्थापित प्रणाली र संस्कारगत सङ्गति मिल्ने अभिव्यक्ति र व्यवहारले मात्र समयानुकूल संस्कार स्थापित गर्र्न सक्छ । जहाँ आफ्ना असहमतिका विचारसमेत सभ्य भाषामा शालीनतापूर्वक सशक्त रूपमा राख्न सकिन्छ भन्ने कुरा स्थापित हँुदै जान्छ र संस्कारगत लोकतन्त्रको विकास गर्न सकिन्छ ।

ससम्मान निकास नीति

दलमा होस् वा राज्यको कुनै पनि शक्ति र सत्ता जोडिएको निकायमा ‘प्रवेशद्वार र निकासद्वार’ को बीचमा सन्तुलन कायम गर्न सक्दा मात्र राजनीति सङ्ग्लो र स्वच्छ हुन सक्छ । र, जब राजनीति स्वच्छ हँुदै जान्छ, तब मात्र राज्य सुशासित, समाज मर्यादित र नागरिक कर्तव्यनिष्ठ बन्दै जानेछ । जुन लोकतन्त्रको आधारभूत पक्ष हो । तर, पटक पटक लोकतन्त्रका लागि लड्ने हाम्रा दल र राज्यसमेतको यस विषयमा आवश्यक सोच पुग्न सकेन । जसका कारण दलमा होस् वा राज्यसत्ता, कार्यकारी प्रमुखमा एक पटक परीक्षण भइसकेपछि पनि त्यही पदमा फर्किफर्की नजर लगाउने प्रवृत्ति हावी रहँदै आयो । त्यसलाई अकुश लगाउन न विधि बनाइयो, न नैतिक मूल्य–मान्यता नै स्थापित हुन सक्यो । परिणाम आज मुलुकको राजनीति धुमिल भुमरीमा जगडिएको छ । यो भुमरीबाट मुलुकलाई किनारा लगाउने हो भने राजनीतिक दल, जनप्रतिनिधिमूलक संस्थालगायतका निकायमा ‘मापदण्ड र पारदर्शी प्रक्रियासहितको प्रवेशद्वार र सहजरूपमा अनिवार्य निकासद्वार’ को व्यवस्था स्थापित गर्नैपर्छ । यस किसिमको व्यवस्था सबै तहका कार्यकारी प्रमुखका हकमा लागू गरिंदा पुराना पुस्ताले सम्मानपूर्वक बिदाइ लिंँदै जाने र पछिल्लो पुस्ताबाट सहजरूपमा प्रतिस्पर्धी र सिर्जनशील क्षमतासहितको नेतृत्व अगाडि आउने विधिको विकास हुनेछ ।
दलहरूमा कमजोर बन्दै गएको वैचारिक र राजनीतिक धरातल, नेतृत्वमा चुलिँदै गएको निजी महìवाकाङ्क्षा, लोकतन्त्र भनेको निर्वाचन मात्र हो र जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने सोचका कारण औपचारिक दस्तावेजमा सीमित हुन पुगेका दलहरूमा विधानका कारण
दल–बदल वा प्रवेशको प्राथमिक आधार वैचारिक धरातल, राजनीतिक पृष्ठभूमि र सामाजिक छवि नभई पहँुच, पैसा र प्रभाव बन्दै जानु यो बेथितिको एउटा महìवपूर्ण पक्ष हो । अनि दल प्रवेशपछि गरिएका जुनसुकै क्रियाकलापलाई दलको झण्डा र सदस्यतापत्रको आडमा ढाक्न खोज्ने वा कदमकदाचित आलोचना र कारबाहीको कुरा उठिहाले विपरीत गुटको छहारी लिने÷दिने गलत कुरा प्रवृित्त बन्ने हो कि भन्ने ठूलो चुनौती बन्दैछ । लोकतन्त्रमा सबैभन्दा बढी घातक यो प्रवृत्तिको अन्त्य अपरिहार्य छ ।
नेताहरूमा आफूमा जे छ सबै राम्रा र कमजोरी अरूमा मात्र खोज्ने प्रवृत्ति हावी हुँदै गयो । पार्टी होस् वा राज्यका निकाय आफू र आफ्ना रहे राम्रो, अर्को भए अपाच्य हुने मनोवृत्ति झाँगिन थाल्यो । कार्यकर्तामा नेतृत्वको कमिकमजोरी देखाउनु शत्रुता साँध्नु हो भन्ने मान्यताको विकास हुन थाल्यो । नेतृत्वमा प्रशंसामा रमाउने र आलोचना सुन्नै नसक्ने प्रवृत्ति मौलाउँदै गएको कारण भजन मण्डलीको आकार फस्टाउने र विवेक बोल्नेहरू किनारा लाग्ने अवस्था बन्दै गयो । यस्ता गलत प्रवृत्तिको विरुद्ध गुट निरपेक्षरूपमा सामूहिकरूपमा आलोचना गर्दै वैकल्पिक प्रस्तावसहित परिवर्तनको पक्षमा नेतृत्व लिनुको बदला निशब्द गुटमा लामबद्ध हुनु पछिल्लो पुस्ताको सबैभन्दा ठूलो कमजोरी रह्यो । सबै दलमा छलङर््गै देखिएका यी कमजोरीका विरुद्ध अझै पनि साझा विषयका रूपमा अनुभूत गर्दै सुधारका लागि सामूहिक पहल नगर्ने हो भने लोकतन्त्र जीवनको पाटो नभएर प्रणालीको नाम मात्र हुनेछ । त्यसैले लोकतन्त्रको रक्षा र विकासलाई जीवनको पाटो बनाउनुपर्छ भन्ने सोच राख्ने नेतृत्वदेखि कार्यकर्ता र शुभचिन्तकसम्मले यो अवस्थाको गम्भीर समीक्षा गर्न जरुरी छ । शहीदको जीवन र नागरिकको साहसको जगमा स्थापित लोकतन्त्रको हुर्मत जोगाउने हो भने आग्रहमा होइन, मान्यतामा उभिएर, आवेगमा आएर होइन, विवेकी भएर यो घातक प्रवृत्तिको अन्त्य र सही दिशातर्फको यात्रालाई अगाडि बढाउनुको विकल्प छैन । अन्यथा मुलुक सुध्रने कल्पना गर्न सकिँदैन ।
(लेखक नेकपा नेतृ हुनुहुन्छ ।)