विचार/दृष्टिकोण |

स्थानीय तहको मध्यमकालीन खर्च

प्रमोद अर्याल
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ ले तीनै तहका सरकारले अनिवार्य रूपमा मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय तहमा मध्यमकालीन खर्च संरचनाको औचित्य र महŒवबारेमा पूर्ण ज्ञान तथा दक्ष जनशक्तिको कमी र मध्यमकालीन खर्च संरचना निर्माणका लागि आवश्यक अध्यावधिक आवधिक योजना, आन्तरिक राजस्व सुधार कार्ययोजना तथा क्षेत्रगत र विषयगत तथ्याङ्क र सूचनाको अभावका कारण अधिकांश स्थानीय तह कार्यान्वयन चरणमा प्रवेश गर्न सकिरहेका छैनन् ।
सङ्घीयता कार्यान्वयनको महŒवपूर्ण भूमिकामा रहेका स्थानीय तहहरूको दीर्घकालीन सोच ‘समृद्ध पालिका र खुसी नागरिक’ नै हुनुपर्छ । स्थानीय तहको समृद्धि भनेको समग्र प्रदेश हँुदै मुलुककै समृद्धि हो । त्यसकारण स्थानीय तह कार्यान्वयनका पक्षले प्रथम कर्तासमेत हुन् । पालिकाको आवधिक योजना भनेको दीर्धकालीन सोचलाई चरितार्थ गर्ने किसिमबाट बनाइनुपर्छ । आवधिक योजनाले निर्दिष्ट गरेअनुसार योजनाबद्ध रूपमा वार्षिक विकासका कार्यक्रम तय गर्नुपर्छ । वार्षिक कार्यक्रमको तर्जुमा र सफल कार्यान्वयनपश्चात् निर्दिष्ट लक्ष्यको हासिल र मापन गर्नुसमेत आवश्यक हुन्छ । आवधिक योजनाले तय गरेका विकास र समृद्धिका कार्यक्रम समयमा नै सम्पन्न गर्नका लागि आर्थिक स्रोत, वित्त परिचालन र वित्तीय अनुशासनको आवश्यकता पर्छ । यसरी आवधिक योजना र वार्षिक कार्यक्रमबीच तालमेल मिलाउने, प्रतिफल मापन गर्ने र आर्थिक अनुशासन कायम गर्ने सार्वजनिक खर्च व्यवस्थापनको उपयुक्त औजार नै मध्यमकालीन खर्च संरचना हो ।
कुशल वित्त व्यवस्थापनले आम्दानीका स्रोतको उच्चतम उपयोग, प्रभावकारी वितरण र खर्च गर्ने सामथ्र्य वृद्धि गर्नुका साथै वित्तीय जोखिमको पूर्वानुमान र न्यूनीकरणमा सधाउ पु¥याउँछ । बजेट तर्जुमा प्रक्रियालाई यथार्थपरक र वस्तुनिष्ठ बनाउँदै दायित्वको पूर्वानुमान र आवश्यक स्रोतको सुनिश्चित एवम् खोजीमा तत्परता प्रदान गर्छ । सामान्यतया कुशल वित्त व्यवस्थापनको प्रयोगबाट गत वर्ष र चालु वर्षका आधारमा, आम्दानी र खर्चलाई अनुमानयोग्य बनाउँदै चक्रिय रूपमा आगामी आर्थिक वर्षको वार्षिक बजेट र त्यसपछिका दुई वर्षको बजेटको प्रक्षेपण नै मध्यमकालीन खर्च संरचना हो ।
मध्यमकालीन खर्च संरचना तर्जुमा प्रक्रिया ः प्रत्येक आर्थिक वर्षको बजेट तर्जुमा गर्नुपूर्व आगामी तीन आर्थिक वर्षको आम्दानी र खर्चको प्रक्षेपणसहितको मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्छ । सो संरचना तयार गर्दा आवधिक योजनालाई मार्गदर्शनका रूपमा लिनुपर्ने व्यवस्थाबमोजिम संरचना निर्माण चरणमा विभिन्न विषयगत तथा क्षेत्रगत तथ्याङ्क र सूचना सङ्कलन, आधार वर्षको सूचक र सूचकाङ्ककोे निर्माण, समावेशी र लक्षित वर्गका मुद्दाको सम्बोधन, चरणबद्ध छलफल गर्नुपर्ने हँुदा लामो समय लाग्न सक्छ । त्यसैले कार्ययोजना र तालिका बनाई निश्चित अवधिभित्र सम्पन्न गर्नेगरी प्रक्रियामा जान उपयुक्त हुन्छ ।
समिति गठन÷परिचालन ः संस्थागत व्यवस्थाअन्तर्गत विभिन्न मूल एवम् क्षेत्रगत र विषयगत समिति आवश्यक पर्छ । ती समिति नयाँ गठन वा विद्यमान समितिको परिचालनबाट पनि गर्न सकिन्छ । जसमा मुख्य समितिका रूपमा पालिका प्रखुमको संयोजकत्वमा कार्यपालिका सदस्य, विषयगत कार्यालयका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेगरी एक निर्देशक समिति बनाउनु उपयुक्त हुन्छ । विषयगत क्षेत्रतर्फ आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन समिति रहन्छन् ।
मध्यमकालीन खर्च संरचनाको मस्यौदा तयारीका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा प्राविधिक समिति रहन्छ । जसमा पालिकाका प्रत्येक शाखा÷महाशाखा प्रमुख सदस्यका रूपमा रहन्छन् । यस समितिमा योजना तथा बजेट शाखा÷महाशाखा प्रमुखले सदस्य सचिवका रूपमा कार्य गर्नुपर्छ । यस समितिमा आवश्यकताअनुसार विषयविज्ञलाई समेत आमन्त्रित सदस्यका रूपमा राख्न सकिन्छ ।
वडाबाट प्राप्त हुने योजना तथा कार्यक्रमको बजेटको सीमा, दिगो विकास लक्ष्य, मार्गदर्शन तथा आयोजना प्राथमिकता निर्धारण, आवश्यक परिमार्जनसहित कार्यपालिकामा पेस गर्ने प्रयोजनका लागि विद्यमान पालिका उपप्रमुखको संयोजकत्वमा रहेको एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा समितिको परिचालनबाट गर्न सकिन्छ ।
त्रिवर्षीय खर्चको प्रक्षेपण, कुल बजेटको आकार तयारी र मार्गदर्शन ः यस चरणमा बजेट तथा स्रोत अनुमान समितिले आधार वर्षको यथार्थ स्थिति, अपेक्षित प्रतिफल र मध्यमकालीन खर्च संरचनाका आधारमा वडा कार्यालय, विषयगत कार्यालय, योजना तथा आर्थिक प्रशासन र कार्यपालिकामा नीतिगत छलफल गर्छ । आवधिक योजनाअनुरूपको आयोजना तथा कार्यक्रम र खर्चको अनुमान, सञ्चालन तथा प्रशासनिकजस्ता चालु खर्चका लागि आवश्यक बजेटको अनुमान गरी शेष रकम पुँंजीगत तथा कार्यक्रम खर्चतर्फ समावेश गरिन्छ । यसरी आगामी वर्ष र त्यसपछिका दुई वर्षको कुल बजेटको आकार र सीमासहितको मार्गदर्शन तयार गरी क्षेत्रगत समिति, विषयगत कार्यालय, प्राविधिक समिति÷योजना महाशाखा एवम् आर्थिक प्रशासन शाखामा पठाउनुपर्छ ।
स्रोत समितिबाट प्राप्त क्षेत्रगत बजेटको सीमा, चालु, पुँजीगत र वित्तीय अवस्थासहितको मार्गदर्शनमा आयोजनाको प्राथमिकीकरणका आधारमा सम्बन्धित कार्यालयले आफूमातहतका कार्यक्रम तथा आयोजनाको त्रिवर्षीय बजेट सूत्रमा राखी मध्यमकालीन खर्च संरचना प्राविधिक समितिमा पठाउनुपर्छ । आयोजनाको छनोट गर्दा पालिकाको आवश्यकता, समस्या र सम्भाव्यता हेरी कार्यान्वयन योग्य प्रतिफलमुखी आयोजनाको विश्लेषण गरी योजना बैङ्क बनाई गर्नुपर्ने हुन्छ । यसरी योजना बैङ्कमा समावेश आयोजनाको प्राथमिकताका आधारमा छनोट गरी मध्यमकालीन खर्च संरचनामा समावेश गर्नुपर्छ ।
एकीकृत मस्यौदा तयारी ः स्रोत समिति, क्षेत्रगत समिति, विषयगत कार्यालय तथा शाखा, महाशाखाबाट प्राप्त बजेट तथा कार्यक्रमको सीमा र मार्गदर्शनअनुसार प्राविधिक समितिले सम्बन्धित निकाय÷कार्यालयले छनोट गरी पठाएका आयोजना तथा कार्यक्रमको त्रिवर्षीय खर्च प्रक्षेपणसहितको मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्षको बजेट तयार गरी विषयगत समितिमा प्रस्ताव गर्नुपर्ने हुन्छ ।
विषयगत समितिमा राष्ट्रिय नीति, निर्देशक सिद्धान्त र दीर्घकालीन सोच, पालिकाको क्षेत्राधिकार, दिगो विकास लक्ष्य तथा सम्बन्धित पालिकाको आवधिक योजना र आयोजना बैङ्कजस्ता विषयका आधारमा दफावार छलफल गर्नुपर्छ । छलफलबाट छनोट भएका कार्यक्रमलाई समावेश गरी त्रिवर्षीय खर्चको प्रक्षेपणसहित मध्यमकालीन खर्च संरचना र बजेटको एकीकृत मस्यौदा तयार गरिन्छ ।
कार्यपालिकाबाट स्वीकृति र पालिकासभामा प्रस्तुति ः प्राविधिक समितिबाट तयार भइआएको एकीकृत मस्यौदा, निर्देशक समितिमा आवश्यक छलफल र संशोधन गरी कार्यपालिकासमक्ष पेस गरिन्छ । उक्त मस्यौदा कार्यपालिकाले स्वीकृति प्रदान गर्छ । स्वीकृत मध्यमकालीन खर्च संरचनाको आवश्यक प्रति छपाई गरी पालिकासभामा बजेट वक्तव्यका साथ प्रस्तुत गरिन्छ । विषय क्षेत्रगत आधारमा त्रिवर्षीय बजेट, खर्च तथा स्रोतको अनुमान र प्रक्षेपण गरी तयार गरिएको क्षेत्रगत विस्तृत विवरणको एकीकृत स्वरूप नै मध्यमकालीन खर्च संरचना दस्तावेज हो । जुन दस्तावेज निर्माणका हिसाबले दुई चरणमा गरिन्छ । प्रत्येक विषयगत क्षेत्रमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, अन्तरसम्बन्धित क्षेत्र, संस्थागत सुधार र सुशासन पर्छन् । यी क्षेत्रका प्रमुख समस्या, चुनौती र अवसरसहित सम्बन्धित क्षेत्रगत नतिजा, सूचक र लक्ष्य, सूचकको प्रकृतिका आधारमा एकाइमा (सङ्ख्या, हेक्टर, प्रतिशत वा रकम)मा निर्धारण गरी त्रिवर्षीय खर्च तथा स्रोतको अनुमान र प्रक्षेपण गरेर विषयगत क्षेत्रको मध्यमकालीन खर्च संरचना तयार गरिन्छ ।
समग्र मध्यमकालीन खर्च संरचनाको पृष्ठभूमि, उद्देश्य र रणनीतिसहित कृषि, गैरकृषि, उद्योग र सेवाका आधारमा आर्थिक वृद्धिदर, राष्ट्रिय÷प्रदेशको कुल गार्हस्थ उत्पादनमा सम्बन्धित पालिकाको योगदान, प्रतिव्यक्ति आम्दानी, बेरोजगारी दर, निरपेक्ष, बहुआयामिक गरिबीको दर र जनसङ्ख्या, कुल निक्षेप र कर्जामा पालिकाको अंश तथा वित्तीय संस्थाको सङ्ख्याका आधारमा समग्र पालिकाको प्रमुख नतिजा सूचक र लक्ष्य निर्धारण गरी तालिकामा प्रस्तुत गरिन्छ । अर्को तालिकामा पालिका समृद्धिका प्रमुख विषयगत क्षेत्रका नतिजा सूचक र लक्ष्य निर्धारण गरी चित्रण गर्न सकिन्छ ।
पालिकाको आन्तरिक आय, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँड तथा समपूरक कोषबाट प्राप्त हुने आय एवम् चालु र पुँजीगत खर्चका आधारमा आर्थिक वृद्धिदरको लक्ष्य तोकी स्थिर मूल्यमा त्रिवर्षीय बजेट विनियोजन र प्रक्षेपण तालिकामा प्रस्तुत गर्न सकिन्छ । सो विनियोजन र प्रक्षेपणलाई कुल गार्हस्थ उत्पालन, साधारण र विकासतर्फको अनुपातमा समेत चित्रण गरिन्छ ।
बजेट विनियोजनका प्राथमिकता निर्धारण गर्दा योजना बैङ्कलाई आधार लिनुपर्छ । बजेट विनियोजन र प्रक्षेपणको बाँडफाँड गर्दा आवधिक योजनाले निर्धारण गरेका रणनीतिक स्तम्भ, लैङ्गिक सङ्केत र दिगो विकास लक्ष्यका आधारमा बाँडफाँट तालिकामा चित्रण गरी हेरिन्छ । यसरी तयार भएको दस्तावेजमा प्रत्येक विषयगत क्षेत्रको मध्यमकालीन खर्च संरचना समायोजन गरी एकीकृत दस्तावेज निर्माण गर्नुपर्छ । यसरी निर्माण भएको मध्यमकालीन खर्च संरचनाको पहिलो वर्षको प्रक्षेपण नै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम हुने गर्छ ।प्रत्येक वर्ष अघिल्लो वर्षको बजेटको प्रगति समीक्षाका आधारमा तत्कालीन प्रक्षेपण परिमार्जन गर्नुपर्ने भए आवश्यक परिमार्जन गरी थप एक वर्षको बजेट प्रक्षेपण गर्ने गरिन्छ । यसरी यो प्रक्रियाले चक्रिय रूपमा निरन्तरता पाउँछ ।
प्रतिवेदन ः यो संरचना समग्र रूपमा आवधिक योजनाले मागदर्शन गरेको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र रणनीतिको सफल कार्यान्वयनका लागि आर्थिक प्रशासनको महŒवपूर्ण र प्रमुख औजार हो ।
यस संरचनालाई अर्थशात्रका विभिन्न कोण र औजार प्रयोग तथा अनुपात, तथ्याङ्कको प्रशोधन र सम्मिश्रणबाट चित्रण गरी प्रस्तुत गर्नाले जोखिम न्यूनीकरण र संरचनालाई वस्तुनिष्ठ बनाउन सकिन्छ ।
(लेखक रुरल एन्ड अर्बन कन्सल्ट प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ ।)