विचार/दृष्टिकोण |

विश्वसम्बन्ध नवीकरणमा बाइडेन

रामप्रसाद आचार्य

विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति जोए बाइडेन विश्वसम्बन्ध नवीकरणमा जुट्नुभएको छ । गएको जनवरी २० मा ४६औँ राष्ट्रपतिका रूपमा पदभार सम्हालेयता उहाँले विश्वका अन्य शक्तिशाली मुलुकका समकक्षी नेताहरूसँग संवाद गरी सम्बन्ध सुधार र नवीकरणमा ध्यान केन्द्रित गर्नुभएको छ । विश्वका सबैखाले समस्या संवादबाटै समाधान गर्ने दिशामा उहाँले जोड दिनुभएको छ । कोभिडले ल्याएको विश्वव्यापी आर्थिक सङ्कट, कमजोर विश्व व्यापार, आणविक हतियारको होडबाजी, बिग्रँदो वातावरणीय समस्या, आतङ्कवादलगायतका विषयमा साझा दृष्टिकोण बनाई समस्याको दिगो समाधान गर्नुपर्नेमा उहाँले विशेष चासो राख्नुभएको छ ।
राष्ट्रपति बाइडेनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग टेलिफोन संवाद गरी अमेरिका र बेलायतबीचको सम्बन्धलाई प्रगाढ बनाउन जोड दिनुभयो । उहाँले युरोपेली सङ्घबाट अलग्गिएको बेलायतसँग व्यापारका नयाँ योजनाबारे पनि जोन्सनसँग छलफल गर्नुभयो । त्यसैगरी, राष्ट्रपति बाइडेनले चीनका समकक्षी सी चिनफिङसँग पनि सम्बन्ध सुधार गरी दुई देशबीचको व्यापार युद्ध अन्त्य गरी व्यापार र लगानीको सहज वातावरण बनाउन जोड दिनुभएको छ । दुवै नेताबीचको टेलिफोन संवादले चीन र अमेरिकाबीच चिसिएको सम्बन्धलाई लिकमा ल्याउने काम गरेको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्ध सुरु गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।
त्यसैगरी, राष्ट्रपति बाइडेनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोन संवाद गरी अमेरिका र भारतबीचको सम्बन्ध सुमधुर बनाउने तथा हिन्द–प्रशान्त रणनीतिलाई सहजीकरण गर्नुभएको छ ।
अर्कोतर्फ विश्वका प्रमुख हतियार उत्पादक अमेरिका र रूसले आणविक अस्त्र कटौती गर्ने सङ्केत गरेका छन् । अमेरिकी राष्ट्रपति बाइडेन र रूसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवादमा दुवै नेता विश्वमा शान्ति र स्थायित्वका लागि मिलेर काम गर्न सहमत हुनुभएको छ । आपसी मतभेद र अविश्वास हटाई द्विपक्षीय, क्षेत्रीय तथा
अन्तर्राष्ट्रिय साझा चासो र सरोकारका विषयमा सहकार्य गरी विश्वलाई शान्त बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने प्रतिबद्धता उहाँहरूले व्यक्त गर्नुभएको छ ।
अमेरिकामा बाइडेनजस्तो उदारवादी र सुधारवादी नेता राष्ट्रपति निर्वाचित भई सत्ता सम्हालेसँगै विश्वमा अस्थिरता र आणविक अस्त्र विस्तार रोकिने अपेक्षा गरिएको छ । रूससँग गरिएको अस्त्र कटौती सम्झौतालाई निरन्तरता दिने बाइडेनको सङ्केतले अस्त्र होडबाजीले सिर्जित त्रासमा कमी आउनेछ । अब दुवै नेता मिलेर विश्वलाई नै आणविक अस्त्रमुक्त बनाउने ऐतिहासिक काम गर्नुपर्ने बेला आएको छ । उहाँहरूले यस विषयमा सहकार्य गर्नुभयो भने आणविक अस्त्र बनाउने होडबाजी र यसले जन्माएको समस्या स्वतः समाधान हुनेछ । राष्ट्रपति बाइडेनसँग उत्तर कोरिया, इरानजस्ता मुुलुकले पनि सहकार्य गर्न खोजिरहेका छन् । उत्तर कोरियामाथिको अमेरिकी नाकाबन्दी हटाइएमा आणविक होडबाजी नगर्ने सङ्केत त्यहाँका नेता किम जोन उनले गर्नुभएको छ । उत्तर कोरियाको आणविक समस्या समाधान गर्ने हो भने कोरिया प्रायद्वीप, जापानलगायत पूर्वी एसियामा शान्ति हुनेछ ।
इरान पनि अमेरिकी नयाँ नेतृत्वसँग आशावादी बनेको छ । इरानी राष्ट्रपति हसन रुहानी अमेरिकी राष्ट्रपति बाइडेनको आगमनसँगै वातावरण सहज हुँदै गएको र वार्ताद्वारा आणविक समस्या समाधान सकिने सङ्केत गर्नुभएको छ । त्यसका लागि दुई देशबीच सार्थक वार्ता गर्न ढिलो गर्नुहुँदैन ।
मूलतः आणविक अस्त्र विश्ककै लागि चुनौती हो । यसले विश्वलाई सुरक्षित होइन ध्वस्त बनाउँछ । मानव सभ्यता र संस्कृति नष्ट पार्ने यस्ता अस्त्र बनाउन आवश्यक नै छैन । अमेरिका, रूसलगायतका देशले बनाएका यस्ता अस्त्रले विश्व सुरक्षा, शान्ति र स्थायित्वलाई नै चुनौती दिएको छ ।
आणविक हतियारको दुरुपयोग शासकबाट हुने खतरा एकातिर छ भने अर्कातिर विश्वमै अस्थिरता सिर्जना गर्ने आतङ्क मच्चाउने आतङ्वादी समूहको हातमा पर्ने अस्त्र पुग्ने सम्भावना गम्भीर चिन्ताको विषय बनेको छ ।
परमाणु अस्त्र आतङ्कवादीको हातमा परे के होला ? आज सबैका लागि यो चिन्ताको विषय बनेको छ । अहिले विश्वका विभिन्न मुलुकमा क्रियाशील आतङ्कवादी सङ्गठन थप आतङ्क मच्चाउन परमाणु हतियारको खोजीमा सक्रिय भएका छन् । आतङ्कवादी परमाणु हतियार हात पारेमा जुनसुकै अभीष्ट पूरा गर्न सकिने भन्दै त्यसका लागि भरमग्दुर प्रयास जारी राखेका छन् । अलकायदा, तालिवान, आईएस स्टेट र बोको हरामजस्ता आतङ्कवादी समूहले परमाणु हतियार हात पार्न प्रयास केन्द्रित गरेका छन् । आत्मघाती आतङ्कवादी आक्रमण गरी एसिया र अफ्रिकामा मात्र होइन, सुरक्षित भएको दाबी गर्ने युरोप र अमेरिकालाई समेत पटक–पटक आक्रमण गरी जनधनको क्षति पु¥याउने काम गरेका आतङ्कवादीहरू परमाणु अस्त्रको पहुँचसम्म पुगे भने विश्व झन् असुरक्षित हुनेछ । त्यसैले हालसम्म बनाइएका परमाणु अस्त्रको सुरक्षा प्रमुख चुनौती बनेको छ ।
संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले विश्वमा आणविक आतङ्कवादको खतरा बढेको र पछिल्लो समय अमेरिका र युरोपमा आतङ्कवाद विस्तार भएको दाबी गरेको छ । आतङ्कवादीले आणविक अस्त्र हात पारी यसको दुरुपयोग गर्न सक्ने भनी सो संस्थाले विश्व नेताहरूको ध्यानाकर्षणसमेत गराएको छ ।
सुरक्षित मानिएको अमेरिकामा पनि पछिल्लो समय पूर्वराष्ट्रपति ट्रम्पका समर्थकले संसद् भवन क्यापिटल हिलमा गरेको आक्रमण र तोडफोडसँग आन्तरिक आतङ्कवादको खतरा बढेको भन्दै सुरक्षा निकायले गम्भीर चासो देखाएको छ । अमेरिकामा ठूलो समस्या बनेको छ– बन्दुक आतङ्क । ट्रम्पले आफ्नो शासनकालमा इस्लामिक आतङ्क रोक्न अमेरिकामा इस्लामिक आप्रवासीलाई प्रवेश निषेध गर्न मेक्सिकोसँगको सीमामा ठूलो पर्खाल लगाउने अभियान सुरु गर्नुभयो तर त्यो समस्याको समाधान थिएन । अहिले नयाँ राष्ट्रपति बाइडेनले पर्खाल बनाउने अभियान रोकिदिनुभयो । पर्खाल बनाएर आतङ्कवाद रोकिँदैन ।
विश्वमा शान्ति स्थापना गरी युद्धलाई अवैध घोषित गर्न स्थापना भएको संयुक्त राष्ट्रसङ्घको भूमिका यतिखेर प्रभावकारी भएन । जसले गर्दा विश्वमै अशान्ति र अस्थिरता बढेको छ । आज विश्वशान्ति र घातक हतियार कटौतीका ठुल्ठूला कुरा गरे पनि विश्वमै यस्ता हतियार बनाउनेक्रम झन् बढेको छ ।
पहिलो विश्वयुद्धमा दुई करोड र दोस्रो विश्वयुद्धमा चार करोडभन्दा बढी मानिसको ज्यान गयो । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा प्रयोग गरेको पहिलो अणुबम जसले चार लाखभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको र लाखौँ मानिस घाइते भएको घटनासँगसँगै स्थापना भएको संयुक्त राष्ट्रसङ्घले युद्धलाई निषेध गरेको छ । विश्वमा युद्ध रोकिने र घातक हतियार नबन्ने विश्वास विश्ववासीले गरेका थिए तर यो उनीहरूको आकाङ्क्षा पूरा भएन । प्रथम र दोस्रो विश्वयुद्धपछि पनि सयौँ युद्ध भए भने असङ्ख्य घातक हतियार बन्नेक्रम रोकिएन । यही हतियारको होडमा हाल विश्वमा २३ हजारभन्दा बढी परमाणु हतियार बनेका छन् । यी हतियारले विश्वलाई झन् असुरक्षित बनाएको छ ।
सोभियत सङ्घको पतनसँगै अमेरिका र रूसबीच भएका विनाशकारी हतियार नष्ट गर्दै जाने र नयाँ विनाशकारी हतियार नबनाउने भनी सन्धि सम्झौता भयो । तर, त्यसको सफल कार्यान्वयन नहुँदा अहिले समस्याले झन् विकराल रूप लिएको छ । हिजोसम्म पाँच मुलुकमा सीमित रहेको परमाणु हतियार आज एक दर्जनभन्दा बढी मुलुकमा विस्तार भएको छ । आणविक हतियार बनाएर शक्तिशाली र सुरक्षित बन्न सकिन्छ भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्छ । शान्तिको विकल्प युद्ध र हतियार हुनै सक्दैन ।
अतः बयोवृद्ध राष्ट्रपति बाइडेनले विश्वशान्ति र मेलमिलापका लागि आणविक हतियारमुक्त विश्व बनाउने अभियानको नेतृत्व गर्नुपर्छ ।
(लेखक गोरखापत्रका नायवकार्यकारी सम्पादक हुनुहुन्छ ।)