प्रजातन्त्र दिवस र अपेक्षा
विनोद नेपाल
आकारमा सानो भएर पनि नेपाल कहिल्यै कसैको उपनिवेश बन्नुपरेन । यो आफैँमा अत्यन्त ठूलो गौरव हो । तर, नेपाली जनताले एक शताब्दीभन्दा बढी समय रैतीका रूपमा रहनुप¥यो । यस अवस्थाबाट मुक्ति पाउन नेपाल आमाका सपुतहरूले ठूलो सङ्घर्ष गर्नुप¥यो । यस्तो अवस्थाबाट नेपाली जनताले मुक्ति पाएको दिन हो फागुन ७ गते । एक सय चार वर्षको निरङ्कुश जहानियाँ शासनबाट नेपाली जनताले मुक्ति पाएको यही दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का रूपमा मनाइँदै आएको छ । परिवर्तन एउटा क्रम हो । यो नागरिकको चेतनामा हुने अभिवृद्धिसँगै जन्मने समयको आवश्यकता हो । निरङ्कुश राणाशाही नेपाली जनतामा जागेको चेतना तथा वैयक्तिक स्वतन्त्रता र राजनीतिक अधिकारको खोजी एवम् त्यसको नेतृत्व लिन सक्षम साहसिक व्यक्तित्वको सङ्घर्षको परिणामस्वरूप ढलेको थियो । यही उन्मुक्तिको खोजीमा विसं १९९७ मै नेपाल आमाका चार महान् सपुत सहिद बनाइएका थिए भने कतिपयलाई विभिन्न किसिमले अपमानित र दण्डित गरिएको थियो ।
हालसम्म मुलुकमा जति पनि आन्दोलन भएका छन् र जे–जति परिवर्तन आएका छन्, ती सबैको पृष्ठभूमि र आधार फागुन ७ नै हो । यसैले यो ऐतिहासिक एवम् युगान्तकारी दिन हो । विसं २००७ को प्रथम ऐतिहासिक क्रान्तिले जहानियाँ राणा शासन अन्त्य गरेको थियो भने २०४६ सालको जनआन्दोलनले मुलुकमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गरेको थियो । यिनै आन्दोलन र घटनाले तयार गरेको पृष्ठभूमिमा विसं २०६२÷०६३ को दोस्रो ऐतिहासिक जनआन्दोलन सफल भई मुलुकमा गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो ।
हरेक पछिल्ला परिवर्तनका प्रेरणा अघिल्ला अर्थात् इतिहासका घटनाक्रम हुने गर्छन् । अग्रजको योगदान एवम् त्याग नै पछिल्लो पुस्ताका लागि प्रेरणाका स्रोत पनि हुन्छन् । यिनै आधारमा भन्न सकिन्छ २०४६ सालको परिवर्तन नभएको भए २०६२÷०६३ को परिवर्तन पनि सम्भव हुने थिएन । हरेक अघिल्ला आन्दोलनलाई पछिल्ला परिवर्तनका आधारका रूपमा स्वीकार गरिनुपर्छ । यसो गर्दा इतिहासप्रति न्याय पनि हुन्छ । हाम्रो सन्दर्भमा पनि २००७ सालदेखिका हरेक घटनाक्रमलाई गणतन्त्र स्थापनाकै सहयोगीका रूपमा लिनुपर्छ र तिनकै पृष्ठभूमिमा पछिल्ला आन्दोलन सफल भएका हुन् भन्ने स्वीकार्नु र तिनलाई त्यसै रूपमा उच्च महŒव दिनुपर्छ । ती आन्दोलन र क्रान्ति नभइदिएका भए, पृष्ठभूमि र आधार तयार नभइदिएका भए, तिनैका कारण जनताको चेतनास्तरमा अभिवृद्धि हुन नसकेका भए एकाएक गणतन्त्र स्थापना हुन पक्कै पनि सम्भव थिएन । यस दृष्टिकोणबाट पनि तिनको उच्च मूल्याङ्कन गरिनुपर्छ ।
समयक्रममा आरोह अवरोह आउँछन् तर पछिल्ला घटनाक्रमका कारण अघिल्ला क्रान्ति र आन्दोलनलाई ओझेलमा पार्नुहुँदैन । देश र जनताका पक्षमा भएका आन्दोलन एवम् प्रयत्न ऐतिहासिक हुन्छन् । यस्ता दिवसको महŒवलाई भुल्नु मुलुक एवम् जनताका लागि बलिदान हुने र योगदान गर्नेप्रतिको अपमानसमेत हुन्छ । यसैले आफ्ना सबै ठीक ठान्ने, आफूलाई नै सबै परिवर्तनको वाहक ठान्ने भ्रम कसैले पाल्नुहुँदैन । इतिहासलाई आफूअनुकूल बनाएर वा आफूलाई नै सारा परिवर्तनको वाहक ठान्ने धृष्टता कसैले गर्नुहुँदैन ।
समयका कालखण्डमा विभिन्न परिवर्तन हुन्छन् । फागुन ७ को हकमा यो महान् सहिदको बलिदान, राजनीतिक दलको सक्रियता र सचेत जनताको प्रयासमा ऐतिहासिक क्रान्ति सफल भई मुलुक निरङ्कुश जहानियाँँ शासनबाट मुक्त भएको दिन हो, जहाँबाट नेपाल नितान्त नयाँ युगमा प्रवेश गरेको र आफूलाई विश्वकै एक सार्वभौम मुलुकका रूपमा परिचित गराउन सफल भएको थियो । यस्तो दिवसले त्यतिखेर मात्र सार्थकता पाउँछ, जब राजनीतिक नेतृत्वले यसलाई अग्रजप्रति आदरभाव तथा सम्मान दर्शाउँदै र तिनका सपनाको स्मरण गर्दै इमानदार, जिम्मेवार एवम् खुला तथा स्वच्छ हृदयले मुलुक र जनताप्रति समर्पित हुने प्रतिबद्धता र अठोट गर्न सक्छन् । प्रजातन्त्र अर्थात् ‘लोकतन्त्र’को आधारभूत मान्यता नै आमनागरिकको सुरक्षा, शान्ति सुव्यवस्था र सुशासन हो । यसको सुन्दर पक्ष वैयक्तिक स्वतन्त्रता र अधिकारको सुनिश्चितता हो । सभ्य समाज निर्माण र आर्थिक समृद्धि यसका उद्देश्य हुन् । यसैले यसप्रति जिम्मेवार हुनु समस्त राजनीतिकर्मीको मूलभूत नैतिक दायित्व हो ।
सुदृढ र वास्तविक प्रजातन्त्रको प्रत्याभूतिका लागि प्रजातान्त्रिक चेतना र संस्कृति आवश्यक पर्छ । अधिकारसम्पन्न र कर्तव्यप्रति प्रतिबद्ध नागरिक नै लोकतन्त्रको आधार हो । सँगसँगै, लोकतन्त्रमा हरेक व्यक्तिमा लोकतान्त्रिक आचरण अनिवार्य हुन्छ । यसका लागि राज्यको भूमिका आवश्यक हुन्छ । लोकतन्त्र पारदर्शिता र सहभागितामा सुरक्षित हुन्छ । साथै, नियन्त्रण र सन्तुलनको यो प्रणालीले संविधानवादलाई विश्वास गर्ने भएकाले संविधानको अक्षरशः पालन गरिँदा लोकतन्त्र उन्नत, सुरक्षित एवम् सुदृढ हुन सक्छ । राजनीति सभ्य हुनुपर्छ । यो इमानदार र जनउत्तरदायी हुनुपर्छ । जनताले दिएको शक्ति, विश्वास र गरेको आशामाथि तुषारापात हुनेखालका गतिविधि हुनुहुँदैन । नकारात्मक प्रवृत्तिले समृद्धिको दिशामा त बाधा पु¥याउँछ नै लोकतन्त्रलाई समेत सङ्कटतर्फ धकेल्छ ।
वर्तमानमा हामी केही असहज परिस्थितिबाट गुज्रिरहेका छौँ । यस स्थितिबाट शीघ्र सहज रूपमा मुक्त हुन सबैले धैर्य, संयम र सुझबुझसाथ प्रस्तुत हुनुपर्छ । समुन्नत नेपाल समस्त नेपालीको साझा आकाङ्क्षा हो । स्थायित्व, विकास र समृद्धि नेपाली जनताको चाहना हो । राजनीतिक दलहरूले यो चाहना र भावनाको सम्मान गर्नुपर्छ । मुलुकलाई पुनः असहज परिस्थितितर्फ लैजाने प्रयास कतैबाट पनि हुनुहुँदैन । सरसल्लाह, संवाद र सहमतिबाट अघि बढ्ने प्रयास हुनुपर्छ । यसो भयो भनेमात्र मुलुक र जनताको हित तथा लामो सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक अधिकार सुरक्षित हुने भएकाले आजको यस ऐतिहासिक दिनमा सबैले आत्मसमीक्षा गर्नु र आ–आफ्ना कमीकमजोरी सच्याउँदै र सच्चिँदै मुलुकलाई अग्रगामी दिशातर्फ अघि बढाउने प्रतिबद्धता जनाउनु जरुरी छ ।
(लेखक भूगोल साहित्य समाजका अध्यक्ष हुनुहुन्छ ।)