विचार/दृष्टिकोण |

निदान हुन नसकेको निजामती समस्या

भागवत खनाल

कसैलाई रोगी र टिठलाग्दो (प्याथेटिक) भन्नुको आशय हो ऊ करुणाजनक, दुःखी र दीन अवस्थामा छ । प्राणी मात्र रोगी हुँदैन, आफ्नो कर्तव्य पालनमा चुकेको, चुकाइएको या कुनै कुरा गर्न या नगर्न बाध्य पारिएको प्रणालीसमेत रोगी हुन्छ । विशेष गरेर पुरानो समयदेखि क्रमशः अविच्छिन्न रूपमा कार्यरत संस्थाहरूलाई जीर्णताको व्याधिले ग्रस्त पारेको हुन्छ । समयको माग अनुकूल नवीकरण गर्न सकिएन भने संस्थाको शरीरका अङ्गप्रत्यङ्गहरू माखिया लाग्दै जान्छ । खिया लागेको मेसिन पूर्ण क्षमतामा चल्न र गुणस्तरीय उत्पादन गर्न नसकेजस्तै खिया लागेको प्रणाली पनि अनुत्पादक हुँदै जान्छ ।
निजामती सेवा नेपालमा स्थापित सर्वाधिक पुराना संस्थाहरूमध्ये एक हो । २०१३ सालमा कानुनद्वारा व्यवस्थित बनेको यो संस्था एकीकृत नेपाल राज्यभन्दा धेरै जेठो छ । समय समयमा नयाँ कलेवर धारण गर्दै आएको निजामती सेवाले २०४७ साल र खासगरी २०६३ साल यता आफ्नो संस्थागत क्षमता अनुरूप काम गर्न असफल हुँदै गएको आरोप लाग्ने गरेको छ र यो आरोप लगभग सत्यतामा आधारित छ ।
अङ्ग्रेजकालीन ‘इन्डियन सिविल सर्विस’ लाई न यो इन्डियन हो, न नागरिकमुखी छ र न त यसले सेवा नै गर्छ, तथापि यसलाई इन्डियन सिविल सर्विस भन्ने नाम दिइएको छ भनेर परिहास गरिन्थ्यो । अङ्ग्रेज शासन व्यवस्थालाई बलियो पार्न स्थापना गरिएको संस्था जनमुखी हुने कुरा पनि भएन । नेपालमा पञ्चायत व्यवस्थाको समयमा कर्मचारीको प्राथमिक कर्तव्य व्यवस्थाको संरक्षण र प्रवद्र्धनमा सहयोगी हुनु रहेको थियो । कुन बखत नोकरी समाप्त हुने हो ठेगान नहुने त्यस समयमा कर्मचारी वर्गमा अद्भूत अनुशासन थियो । बहुदलीय पद्धति स्थापना भएपछि निजामती कर्मचारीको नोकरी सुरक्षित भयो । सेवाको पूर्ण सुरक्षा प्रदान गर्ने परिपाटी स्थापना भएपछि अभूतपूर्व रूपमा अनुशासन कायम हुनु पर्दथ्यो तर विडम्बना ! अनुशासनका बाँधहरू बिस्तारै कमजोर हुँदै गए । २०६३ सालपछि निजामती सेवा
‘मल्टिपल अर्गन डिस्फङ्सन सिन्ड्रोम’ को अवस्थामा पुगेको आरोप लगाउनेहरू पनि छन् । यो अवस्थामा शरीरका दुई वा सोभन्दा बढी अङ्ग आफ्नो काम गर्न असफल हुन्छन् । यो अकर्मण्यताको प्रधान कारण ‘सेप्सिस’ हो । सेप्सिसको अवस्थामा रक्तसञ्चार प्रणाली दूषित हुन्छ, जसले सक्रिय अङ्गहरूमा समेत प्रदूषण फैलाउँदै जान्छ ।
नेपालको निजामती सेवा त्यस्तो बहु अकर्मण्यतामा त पुगेको छैन तर बहुरोगले पीडित छ भन्नुमा धक मान्नुपर्ने स्थिति छैन । परन्तु समस्या रोग नभई रोगको सर्वसम्मत पहिचान वा निदान हुन नसक्नुमा छ । निजामती सेवालाई लागेका बेथामध्ये राजनीतिक बेथा मुख्य हो । राजनीतिक सङ्क्रमणकै कारण यो सेवा प्रशस्त खान सक्ने तर थोरै मात्र गर्न सक्ने माने मधौरु भएको छ । यो देख्नको खाइलाग्दो तर मसिना तिघ्रा भएको ‘मोटु’ जस्तो छ । कसैको अभिमतमा नोकरी सुरक्षित भएकाले कर्मचारीमा अटेरी र अनुशासनहीनताको बेथा लागेको छ ।
अटेरी भयो भन्ने आरोपलाई खारेज गर्न सक्ने औकात निजामती सेवासँग छैन । निजामती सेवालाई आफ्ना केही अङ्गमा अटेरी बेथा लागेको कुरा थाहा छ तर किटेर सम्बन्धित ठाउँमा भन्ने हैसियत राख्दैन । यसको कारण हो सेवाभित्रका धेरैजसो उच्च पदस्थहरूलाई सेवाबाट अवकाशपछिको नोकरीसमेत सुरक्षित पार्ने आशक्तिको बेथा । आशा गर्ने बेथाले सत्य बोल्ने औषधिबाट टाढा राख्छ ।
निजामती सेवाको उच्च तहलाई
‘जोखिमफोबिया’ को बेथासमेत लागेको छ । निजामती सेवामा असल नियतले इमानदारी साथ काम गर्दा पनि फन्दामा परिने हो कि भन्ने डरले सताइरहन्छ । इमानदारी, असल नियत र परिश्रमपूर्वक गरिएको काममा पनि संयोगवश गल्ती हुन सक्छ । तर यो सेवामा हजार असल काम गर्नेबाट संयोगले एउटा मात्र गल्ती भयो कि सकियो । बरु कामै नगर्नेलाई हाइसञ्चो छ ।
हाम्रो पद्धतिले कर्मचारीको नेकी र बदीको अभिलेख दुरुस्त राख्न पनि सकेको छैन । त्यस्तो अभिलेख राखिए तापनि सोधखोज गर्ने परिपाटी नरहेको हुँदा त्यसको प्रयोजन छैन । किन यस्तो भयो ? यसको उत्तर हो, यहाँ सर्वसम्मत रूपमा बेथाको निदान हुनै सकेन । निदान सर्वसम्मत नभएको अवस्थामा उपचार पनि सर्वसम्मत हुन सक्ने कुरा भएन । निजामती सेवा बुझेकाले पनि वस्तु तथ्यमा आधारित भएर निदान र उपचारको बाटो रोज्ने जाँगर चलाएनन् । फरक फरक उपचारको सिफारिस गर्ने सिलसिलामा कसैले निजामती सेवालाई ‘लाइलाज’ रोग लागेको हुँदा पूर्णरूपेण विघटन गरी नयाँ सेवा जन्माउने कठोर विचार प्रकट गरे । संसदीय समितिमा छलफलको सिलसिलामा केही उच्च व्यवस्थापकीय पदमा करारका कर्मचारी राख्न मनासिव हुने कुरासमेत उठ्यो । यसरी पदपूर्ति गर्दा प्रभावको आधारमा सहायक या राज्यमन्त्री सरहको खान्की खोज्ने मानिसको लर्को लाग्नेतर्फ सम्बन्धितको ध्यान गएन । स्थायी सरकारमा यस्तो पद्धति घुसाउँदा ‘प्रशासनिक धुन्धुकारी’ को खतरा हुनेतर्फ पनि ध्यान जानुपथ्र्यो । धन्न यस्तो प्रस्तावप्रति बलियो समर्थन प्राप्त भएन । धन्न वर्तमान सरकारले पनि त्यस प्रस्तावलाई महìव दिएन । हामीलाई गणेशजस्तो शक्तिको वरिपरि घुम्ने होइन, व्यावसायिक रूपमा काम गर्ने दक्ष निजामती सेवाको दरकार छ । निजामती सेवा प्रतिभावान् व्यक्तिहरू रहेको संस्था हो । तर सम्पूर्ण रूपमा प्रतिभाको सदुपयोग गर्ने वातावरण तयार गर्ने काम राजनीतिको हो । प्रतिभाशाली व्यक्ति परिस्थितिअनुसार शकुनि पनि बन्न सक्छ र तीतो सत्य बोल्ने बिदुर पनि । कस्तो निजामती सेवक मुलुक र जनताको हितमा छ र कस्तो संयन्त्र समृद्धिको सहयात्री हुन योग्य हुन्छ भन्ने विचार गर्ने पनि राजनीतिले नै हो ।
भनिन्छ, एउटा दृढ निश्चयी शासक हुन हिम्मत र आँट भए पुग्छ तर सुदृढ निजामती सेवक हुन जोस र आँट मात्र पर्याप्त हुँदैन । निजामती सेवालाई आफ्नो काबु बाहिरको परिस्थिति आयो भनेर महात्मा बिदुरलाई जस्तो तीर्थयात्रामा जाने सुविधाप्राप्त छैन । जस्तोसुकै विषम परिस्थितिमा पनि स्थायी सरकारले राष्ट्रको सर्वोत्तमहितका लागि जिम्मेवारी निर्वाह गर्नै पर्छ । मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने जिम्मेवारी राजनीतिको हो तर ऊ आफ्नो कार्यकाल सकिएपछि बिदा हुन्छ । निजामती सेवाको कहिल्यै बिदाइ हुँदैन ।
निजामती सेवालाई लागेको बेथाको निदान गर्न कुनै मुस्किल छैन । यो बेथाबारे राजनीति र स्वयं निजामती सेवालाई पनि राम्रो जानकारी छ । उच्च पदस्थ निजामती व्यक्तित्वहरूलाई त बेथाको उत्पत्ति, कारण, निदान र उपचारबारे समेत राम्रो ज्ञान छ । किन्तु कुन कारण हो जसले तथ्यलाई राजनीतिक नेतृत्वसमक्ष प्रस्तुत गर्न निरुत्साहित गर्छ ? यो कुराको खोजी राजनीतिले नै गर्नु जरुरी छ । समृद्ध निजामती सेवामात्र समृद्धि यात्राको सच्चा सहयोगी हुनेछ । प्रतिभावान्, दक्ष र व्यावसायिक युवाको आकर्षणको केन्द्रबिन्दु बन्यो भने मात्र यो सेवा समृद्ध हुनेछ । बेथाको लक्षण सबैसामु
प्रकट नै छ ।
कारण पत्ता लगाएर बेथाको पहिचान गर्न सकियो भने उपचार सरल, सुलभ र सस्तो हुने सुनिश्चित छ । निजामती सेवा वृद्ध र व्यथित भए तापनि यो मुलुकी प्रशासन र समृद्धिको प्रधानपुर्जा हो । यसलाई राम्रो लिपपोत, स्याहारसम्भार र आवश्यकता अनुरूपको सन्तुलित आहार दिन सकियो भने यो सदैव जवान रहनेछ । बेथा उत्पन्न गराउने बेथितिलाई हटाउन सकियो र सङ्क्रमणले आक्रान्त निजामती सदनलाई समुचित तवरले ‘स्यानिटाइज’ गर्न सकियो भने यो आफ्नो सुन्दर रूपमा प्रकाशित हुनेमा कुनै सन्देह छैन ।
सामान्यतया ‘ब्युरोक्रेसी’ लाई संसारभरि उति राम्रो नजरले हेरिंदैन । परन्तु यसको विकल्प पनि त छैन । यो विकल्परहित संयन्त्रलाई उत्तरोत्तर दक्ष, व्यावसायिक, शालीन र सुकिलो बनाउँदै जनताको सर्वोत्तम कल्याणमा सदुपयोग गर्ने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ ।
अन्त्यमा, वुड्रो विल्सनको भनाइ ः जनताको हितभन्दा पवित्र कार्य अर्को कुनै छैन । मानवताको पक्षमा अङ्गीकार गरिने विचारधारा भन्दा उच्च विचारधारा अर्को कुनै छैन ।
(लेखक नेपाल सरकारकापूर्वसहसचिव हुनुहुन्छ ।)