समाज रूपान्तरणका बाधक विकृति
श्याम मैनाली
आधुनिक विश्व लोकतन्त्रको पक्षमा आफ्नो प्रतिबद्धता जाहेर गर्दै छ । सर्वसत्तावाद र तानाशाहीतन्त्र क्रमशः लोप हुँदै छन् । राजतन्त्रलाई सामन्तवादको प्रतीकका रूपमा आत्मसात् गर्दै कतिपय देश गणतन्त्रउन्मुख भइराखेका छन् । राजनीतिक प्रणालीका सबल र दुर्बल पक्षभन्दा पनि त्यसबाट देश र जनताले प्राप्त गर्न सकेका उपलब्धिका बारेमा विश्लेषण गर्ने प्रवृत्ति बढ्दै गएको छ । विश्वका अधिकांश देशले स्वीकार गर्दै आएको लोकतन्त्रवादी व्यवस्थासमेत सङ्कटमा पर्दै गएको छ । लोकतन्त्रका खराबीलाई यथासमयमा नियन्त्रण गर्न नसक्दा कतिपय देशले असल शासनको अनुभूति गर्न पाएका छैनन् । स्वतन्त्र र उन्मुक्त वातावरणमा बाँच्न पाउने अधिकारका कारण सम्पूर्ण प्राणीको आकर्षण बन्दै गएको लोकतान्त्रिक प्रणाली नेतृत्व गर्ने पात्रका कारण असफल हुँदै गएको छ ।
त्यसैले देशमा कस्तो प्रकारको शासन प्रणाली छ भन्ने भन्दा यसलाई नेतृत्व प्रदान गर्ने कस्ता शासकीय शैलीमा अभ्यस्त छन् ? भन्ने विषय बढी निर्णायक भएको पाइन्छ । लोकतन्त्रकै आधारमा शासन प्रणाली सञ्चालन गर्दै देशको भलाइका लागि तानाशाहकै रूपमा प्रस्तुति दिने शासकसमेत अपवादकै रूपमा भए पनि सफल प्रमाणित भएका छन् । यद्यपि, तुलनात्मक रूपमा अन्य शासन प्रणाली अवलम्बन गर्नेभन्दा लोकतान्त्रिक प्रणालीलाई आत्मसात् गर्ने देशहरू नै समृद्धिको गन्तव्यतर्फ अघि बढेको पाइन्छ ।
भारतमा मुगल र ब्रिटिसको शासन लामो समयसम्म रह्यो । देश स्वतन्त्र भएको लामो अवधि हुँदासमेत त्यहाँ भ्रष्टाचार र सामाजिक विकृतिमा खासै सुधार आउन सकेको छैन । अपवादबाहेक लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएकाहरू भ्रष्ट देखिँदै गएका छन् । लामो समयसम्मको दासत्व शैलीमा अभ्यस्त भएकाले आफ्नो संस्कारमा सुधार ल्याउने कार्य प्रभावकारी रूपमा हालसम्म पनि हुन सकेको पाइँदैन । उपनिवेशमा रहेकाहरू, विदेशी हस्तक्षेपबाट आक्रान्त भएका देशहरूमा दासत्व प्रवृत्ति धेरै हुन्छ । यस्तो दासत्वले सबै प्रकारका विकृति आमन्त्रण गर्छ । यही सन्दर्भमा हाम्रो सामाजिक परिवेश, राजनीतिक प्रणाली, सुशासनको अवस्था सबै निर्धारित हुन पुगेको परिवेशलाई स्मरण गर्नुपर्ने हुन्छ । हामी सधैँ राजनीतिज्ञ र सरकारमा रहनेलाई दोषारोपण गर्न अभ्यस्त छौँ । हाम्रै बीचबाट शक्तिमा पुगेकाहरू सबै खराब र उनैलाई जिम्मेवारीमा पु¥याउने हामी कत्तिको जिम्मेवार छौँ भन्ने कुराको लेखाजोखा पनि हुनुपर्छ । राजनीति गर्नेहरू हामीभन्दा पृथक पात्र हुन सक्दैनन् । यही समाजबाट आएका हाम्रा प्रतिनिधिमा जिम्मेवारीबोध र कर्तव्यपरायणताको कमी देखिन्छ । अर्कोतर्फ सर्वसाधारणले पटक–पटक सार्वभौम अधिकारको सदुपयोग नगरी त्यस्ता प्रवृत्ति बोकेका पात्रलाई प्रतिनिधिका रूपमा छनोट गर्छन् । बरु आफँैले निर्वाचित गरी पठाएका प्रतिनिधिको बदनाम गरेर सन्तुष्टि लिन्छन्, यो चक्रिय प्रणालीका रूपमा नेपालमा विकसित भइराखेको छ ।
प्रतिनिधि र हामी मतदाता दुवैले आफ्नो अधिकारको सही सदुपयोग नगरेको अवस्था छ । कतिपयले देशले अवलम्बन गरिआएको लोकतान्त्रिक प्रणालीको समेत खुलेर आलोचना गरिराखेको देखिन्छ । निर्वाचनमा मतदातालाई राजनीतिज्ञहरूले स्वीकृत गराएका छन् भन्ने आरोप राजनीतिज्ञमाथि लाग्ने गरेको छ । हामीले अरूको अधिकार, स्वतन्त्रता, धर्म, रीतिरिवाज र संस्कृतिको पूर्ण सम्मान गर्ने दृढता व्यवहारमा गर्न सक्नुपर्छ । समाजमा जातपात, छुवाछूत आदिका आधारमा विभेदपूर्ण व्यवहार गर्दा हामीलाई थोरैमात्र पनि असहज हुँदैन । हामीले सम्पन्न कुलीन परिवारको सदस्यले गरिब दलित परिवारको कन्यासँंग मागीविवाह गर्न सक्ने साहस गर्न सक्दा मात्र छुवाछूतजस्तो सामाजिक अन्धविश्वासमा सुधार गरी सामाजिक परिवर्तन गर्न सक्छौँ । विभेदपूर्ण व्यवहारबाट उन्मुक्ति पाउन सक्छौँ । यसका लागि हाम्रो सामाजिक परिवेशमा सुधार हुनु जरूरी छ । यसप्रकारको समाज सुधारकका रूपमा उपस्थिति दिन सक्ने व्यक्ति र त्यसलाई स्वीकार गर्ने समाजकै अभाव छ । यस परिवेशमा छुवाछूतविरुद्ध सैद्धान्तिक अभिव्यक्ति दिएर खासै अर्थ रहँदैन । व्यवहारमा स्वीकार गर्न नसक्दा विभेदपूर्ण प्रवृत्तिको अन्त्य हुँदैन । हाम्रा नेताहरू हामीभित्र रहेका कमीकमजोरीसँग परिचित छन् । त्यसैले हामीलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्छन्, प्रयोजन सकिएपश्चात् परित्याग गर्छन् ।
यस यथार्थताको पहिचान हामीले गर्न सक्नुपर्छ । हामीलाई नेताले यसरी प्रयोग गर्दा उनीहरूलाई दोष दिनुभन्दा पनि यो अवसर हामीले नै उनीहरूलाई स्वतस्फुर्त रूपमा प्रदान गरेका हौँ । निर्वाचन खर्चिलो भयो, निर्वाचनमा मत खरिद गरेर सत्तामा पुगेकाहरू अत्यन्त भ्रष्ट भएकाले निर्वाचन प्रणालीमा पुनरावलोकन हुनुपर्ने माग नागरिकले गरिराखेको देखिन्छ । हामी आफ्नै क्षणिक स्वार्थमा बेचिएको पक्षलाई विस्मरण गर्छाैं । पवित्र मतको महŒवबोध हामीमा भएन । आफ्ना अनियमित कार्यको संरक्षण गरिदिने राजनीतिज्ञप्रति हामी आकर्षित भई मतपत्रको सही प्रयोग गर्न नसकेको अवस्था छ ।
आफूबाहेक सबैलाई भ्रष्ट देख्ने हामी आफँै कति सही छौँ भन्नेतर्फ ध्यान दिनुपर्छ । आफूलाई फाइदा हुने अवस्थामा हामी मौन बस्छौँ । व्यापारी, उद्योगपति र कर्मचारीबीच देखिने मित्रवत् व्यवहार, ठेकेदार र इन्जिनियरबीचको लेनदेन, राजनीतिज्ञ र उद्योगी व्यापारीबीचको गठबन्धन आदि भ्रष्टाचारका स्रोत हुन् । दहेजप्रथाबाट आजित भई दाम्पत्य जीवनमात्र होइन, जीवनलीला नै जोखिममा पारेका महिलाले आफ्ना पति र घरपरिवारविरुद्ध न्याय प्राप्तिका लागि तयार भएको अवस्थासमेत उल्लेखनीय देखिँदैन । त्यसैले राजनीतिज्ञहरू पनि हामीजस्तै हुन्, हाम्रै व्यवहार कार्यशैली सीप सिकेर सत्तामा पुगेका हुन् भन्ने बुझ्नुपर्छ । समाजले ठीक पथ प्रदर्शन गर्न सक्दा यसप्रकारका सामाजिक विसङ्गति नियन्त्रण हुन सक्छ ।
देशले अवलम्बन गरेको लोकतान्त्रिक पद्धतिमा इमानदार र नैतिकवान नेताको खाँचो सदैव परिरहन्छ । एक इमानदार नेता सर्वजन हितायमा र धनी एवम् गरिबबीचको दूरीलाई कम गर्न समर्पित रहन्छ, कानुन कार्यान्वयन गर्ने निकायमा भ्रष्टाचार नियन्त्रण गर्न लागिपर्छ । राष्ट्र, राष्ट्रियता र सर्वसाधारणको समृद्धिका लागि चिन्तन गर्छ । सार्वजनिक निकायलाई पारदर्शी बनाउन तल्लीन रहन्छ । स्वार्थी, पदलोलुप, भ्रष्ट माफियालगायतका अपराधीलाई राजनीति गर्ने ढोका सधैँका लागि बन्द गर्न प्रयास गर्छ । देशको रूपान्तरणका लागि दीर्घकालीन सोचका साथ काम गर्छ । सार्वजनिक सेवालाई सहज, सरल र गुणस्तरीय बनाउन भगीरथ प्रयास गर्छ । परिणामस्वरूप हाम्रो समाजमा उसको कार्यशैली, इमानदारी र देश एवम जनताप्रतिको निष्ठाभाव व्यवहारमा परिणत हुन्छ ।
लोकतन्त्रका लामा–लामा वक्तव्यबाजी नगरी व्यवहारमा देशका लागि केही राम्रा कार्यको थालनी गर्ने इमानदार तानाशाहको शासन जरूरी देखिएको छ । तर, जनताको पक्षमा कार्य गर्ने तानाशाह आफैँमा लोकतन्त्रवादी हुने भएकाले हाम्रो परिवेशमा यसप्रकारको नेतृत्व प्राप्त गर्ने सन्दर्भ उत्तिकै चुनौतीपूर्ण रहेको छ । खोजिपस्दा यसप्रकारको नेतृत्व देशले प्राप्त गर्न सक्छ तर प्रदूषित, भ्रष्ट, स्वार्थी र बिचौलियाको नियन्त्रणमा रहेको समाजले यसप्रकारको आदर्श र समग्र समाजका लागि समर्पित हुने व्यक्तिलाई नेतृत्वमा पुग्न र निरन्तरता प्रदान गर्न दिँदैन । एक इमानदार नेताले पनि भ्रष्टाचारलाई समूल समाप्त गर्न सक्दैन तर कडा कारबाहीबाट हतोत्साही गर्न सक्छ । कारबाही गर्दा मृत्युदण्डको व्यवस्था भएका देशहरूले भन्दा सामाजिक दबाबबाट नागरिकले क्रियाशीलता प्रदर्शन गर्दा भ्रष्टाचारजन्य अपराध घट्दै गएका र समाज एवम् शासकीय शैलीमा सुधार भएको उदाहरण विश्व परिवेशमा पाउन सकिन्छ ।
वर्तमान समयमा नागरिकमा आएको चेतना, सञ्चारमाध्यमको प्रभावकारिता, राष्ट्रिय चिन्तनसाथ सेवाभावले राजनीतिमा लागेकाको क्रियाशीलताका कारण अधिकारको दुरुपयोग र भ्रष्टाचारजन्य व्यवहारलाई सर्वत्र भत्र्सना गर्न थालिएको छ । यसले सामाजिक विकृतिको सुधारमा उल्लेखनीय सहयोग पुगी असल शासन कायम गर्न योगदान दिने स्थित छ । त्यसैले सबै प्रकारका विकृतिको नियन्त्रण गर्दै, देशलाई सुशासन र समृद्धितर्फ अभिमुख बनाउन समाजमा सबै प्रकारका सकारात्मक रूपान्तरण हुनु अत्यावश्यक छ । एक वर्गले अर्को वर्गको आलोचना गरेर समस्याको समाधान सम्भव हँुदैन, किनकि हामी जुनसुकै पेसावलम्बी भए पनि हाम्रो उत्पत्ति र विकास यही समाजमा भएको छ । त्यसैले सामाजिक रूपान्तरणका दिशामा हामी सबै प्रतिबद्ध नहुँदासम्म यसप्रकारका विकृति र विसङ्गतिमा मौलिक रूपमा सुधारको अपेक्षा गर्नु अस्वाभाविक हुनेछ ।
(लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ ।)