विचार/दृष्टिकोण |

अपराजिता पारिजात

कमल सुवेदी

रोजगारीको खोजीमा पूर्वी नेपालका बस्तीहरूबाट मुग्लान पस्ने प्रथा निकै पुरानो हो । यस्तै मेसोमा पूर्वी नेपालको सङ्खुवासभा जिल्लाको उखुवा गाउँबाट धनमान धुरा (मुखिया) रोजगारीको खोजीमा भारतको दार्जिलिङ पसे र त्यहाँको लिगिया चियाकमानमा कुल्लीको काम गर्दागर्दै त्यहीँ घरजम गर्न पुगे । उनले आफ्नो छोरा एस.के.वाइबालाई एलोपेथिक डाक्टर पनि बनाए ।
ती एस.के.वाइबालाई कमानका गाउँलेहरू डाक्टरबाबु भनी सम्बोधन गर्दथे । हुन त त्यो कमानको गरिब बस्तीमा एउटा नेपालीको छोरो डाक्टर बन्नु निकै गर्वको विषय थियो तर ती डाक्टरको जीवनमा भने एकपछि अर्काे विनाशक हुण्डरीहरू आए । बिहे गरेको केही समयपछि नै उनकी प्राण प्यारी जीवन सङ्गिनीको मृत्यु भयो । यसपछि अमृत योञ्जनसित पुनः बिहे गरे र कान्छी श्रीमतीका रूपमा तिनलाई भित्राए । उनबाट छोरी हिसन वाइबा र छोरा शिवकुमार जन्मिए, अर्की कान्छी छोरी गर्भमा नै छँदा तिनै कान्छी श्रीमती अमृत योञ्जन पनि बितिन्, छोरा शिवकुमार पनि बिते । यस्तो मानमाथि भुक्तमान सहिरहेका बेला उनीबाट अर्की बच्ची पनि जन्मिन् । जन्मँदा त उनी एउटी साधारण बच्ची थिइन् तर विष्णुकुमारी वाइबा नाम गरिएकी ती बच्ची कालान्तरमा नेपाली साहित्य संसारमा पारिजातका नामले अमर अजर बन्न पुगिन् ।
डाक्टरबाबु अर्थात् एस.के.वाइबा आफ्नो जीवनमा यस्तो महाविपत्ति आइलागेपछि विरक्तिंदै दुई छोरीहरू विष्णु र सुकन्यालाई च्यापेर आफ्नो पितापुर्खाको देश नेपाल फर्किए । यो वि.सं. २०११ तिरको कुरा हो । डाक्टर एस. के.वाइबालाई लागेको थियो यो तेज दिमाग भएकी ठूली छोरी अर्थात् विष्णुलाई विज्ञान विषय पढाएर डाक्टर बनाउनुपर्छ । दार्जिलिङमा छँदै एस.के.ले यस्तो सोचेका थिए र विद्यालयमा भर्ना भएर माध्यमिक तहसम्म उनले त्यहीँ नै विज्ञान विषय पढेकी पनि थिइन् । तर आफ्नो किशोरावस्थामा नै आमा र दाजु गुमाउनु पर्दाको पीडाले उनलाई विदिर्ण बनाइसकेको थियो । सँगसँगै, डाक्टर बन्ने चाहनामाथि पनि तुषारापात गरिदियो । यता काठमाडौँ आगमनपछि लक्ष्मीप्रसाद देवकोटा, भूपि शेरचन, शङ्कर लामिछाने, द्वारिका श्रेष्ठ, पोषण पाण्डे, मोहनहिमांशु थापा तथा ध्रुवचन्द्र गौतम आदिको लोकप्रिय लेखन र उता दार्जिलिङमा इन्द्रबहादुर राई, बैरागी काइला तथा ईश्वर बल्लभहरूको आयामेली आन्दोलनले समग्र साहित्य जगत्लाई नै राप र ताप दिइरहेका बेला उनको ध्यान पनि साहित्यतिर मोडिन पुग्यो । यसरी नेपाली साहित्य र सङ्गीतका क्षेत्रमा स्वर्णिम युगको बिहानीमा उनले पद्मकन्या विद्याश्रमबाट माध्यमिक र पद्मकन्या क्याम्पसबाट आइ.ए. र बी.ए गर्दा उनी विष्णुकुमारी वाइबाबाट पारिजात बनिसकेकी थिइन् । किर्केगार्ड, चे ग्वेभारा, लेनिन र माओत्सेतुङलाई बुझिसकेकी थिइन् ।
शिरीषको फूलको आगमनभन्दा अगाडि नै पारिजात कविताको माध्यमबाट साहित्यका क्षेत्रमा उदाएकी हुन् । आकाङ्क्षा कवितासङ्ग्रह (२०१४) यसको साक्षी हो । झण्डै चार दशक लामो लेखनयात्रामा कवि, कथाकार, उपन्यासकार, आत्मसंस्मरणकार तथा आख्यानेतर गद्य लेखकका रूपमा उनको परिचय बाँडिन पुगेको छ । लेखनमा यस्तो भए पनि मूलत उपन्यासकार र संस्मरणकारका रूपमा उनको सार्थक परिचय रहन पुगेको छ । यो यात्रामा चिन्तनका दृष्टिले अस्तित्ववाद, विसगङ्तिवाद, राल्फाली सन्तती र अन्तमा यथार्थवादी माक्र्सवादी विचारमा उनी सक्रिय रहिन् र अन्तमा आत्मसात् गरेको माक्र्सवादी चिन्तनमा नै उनी अडिग रहँदै मृत्युपर्यन्त सङ्घर्षरत रहिन् । बैंसको मान्छे उपन्याससम्मको उनको विसगङ्तिवादी यात्रा त्यसपछि प्रगतिवादी बाटो समात्दै अनिदो पहाडसम्म आइपुग्दा उनमा समाजवादी यथार्थवादले जरा गाडिसकेको थियो ।
बीसको दशकदेखि उनमा क्रोनिक बाथ भनिने विशेष प्रकारको कुँजिने रोगबाट उनी पीडित हुन पुगिन् । यसअघि रोजगारीका रूपमा रहको मदन मेमोरियल स्कुलको जागिरसमेत क्रूर शैलीको यो रोगका कारण उनले थाम्न सकिनन् । अब उनको बाँच्ने र कर्मको आधार नै लेखन रह्यो र यसैमा उनी पूर्णकालीन् भइन् । तीसको दशकतिर केही वर्ष तत्कालीन नेकपा (चौथो महाधिवेशन) को सदस्य र सोही पार्टीको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घमा सम्बद्ध रहे पनि प्रत्यक्ष राजनीति पारिजातको रोजाइमा परेन । बरु मानव अधिकारका क्षेत्रमा उनको सहभागिता रह्यो भने उत्पीडित जातीय सङ्गठनतिर उनले हरियो बत्ती देखाइन् । आफ्नो कुँजो शरीर आफ्नी बहिनी सुकन्या वाइबालाई जिम्मा लाउँदै पारिजातले आफूलाई लेखनका माध्यमबाट स्वतन्त्रता र मुक्ति आन्दोलनहरूमा समर्पण गरिन् । यस अर्थमा सुकन्या बहिनी मात्र रहिनन् पारिजातकी, आमा पनि बन्न पुगिन् तर यो स्वीकारोक्ति पारिजातकै हो । पञ्चायतको अन्ततिर प्रगतिशील लेखक सङ्घ र तत्कालीन नेकपा (माले) सम्बद्ध राष्ट्रिय जनसांस्कृतिक मञ्चका बीचको घम्साघम्सीमा उनले साहित्यकार मोदनाथ प्रश्रितलाई साइलकको उपमा दिएर एकाएक चर्चामा आएकी थिइन् ।
उनको कृति ‘शिरीषको फूल’ ले मदन पुरस्कार पायो भने मदन पुरस्कार पाउने पहिलो महिला हकदार पनि उनै भइन् । पञ्चायती संविधानका एक जना डाफ्टकर्ता ऋषिकेश शाहसित सहजै सहकार्य गर्न सकिन् उनले तर मोदनाथ प्रश्रित आदिसित सकिनन्, यो उनको पृथक् परिचय हुन पुग्यो । आजीवन नेपाल र नेपाली मात्रको उन्नयनमा लागिन् तर नेपाली नागरिकताको प्रमाणपत्र उनको कहिल्यै बनेन । हुन त हरिभक्त कटुवाल, अरुणा लामा, तुलसी घिमिरे, इन्द्रबहादुर राई तथा शान्ति ठटालहरूसित पनि नेपाली नागरिकताको प्रमाण पत्र रहेन । अझ घतलाग्दो र मर्मस्पर्शी कुरा त के छ भने लेखनकर्म उनको किशोरावस्थादेखि मृत्युको सम्मुख नपुग्दासम्म रह्यो तर जीवनको अन्तमा रोगले आक्रान्त पार्दा सके विदेश लान पाए जीवन केही लम्बिन्छ कि भनेर उनका शुभेच्छुकहरूले नागरिकता र राहदानी बनाउने क्रममा एकैपटक ती दुवैको आवेदन फाराम भर्दा उनले त्यसमा हस्ताक्षर गर्न सकिनन्, यसबेला उनले हस्ताक्षर गर्ने ठाउँमा ल्याप्चे लगाउनुप¥यो । आजीवन लेखनमै बिताउने एउटा स्रष्टाले कुनै दिन आफ्नो हस्ताक्षर गर्न पनि नसकेर ल्याप्चे लगाउनु पर्दाको क्षण कतिसम्म पीडादायी हुन्छ ? यस्तो पीडादायी क्षणको उनीबाहेक पहिला प्रत्यक्षदर्शी कथाकार तथा पत्रकार हरिगोविन्द लुइँटेल र कवि दुबसु क्षेत्री हुन पुगेका छन् । उनीहरूको मन त्यो क्षणमा कसरी संवेदित भयो होला ?
जीवनको उत्तराद्र्धमा रोगले आक्रान्त पार्दा पनि उनले सरकारसित हारगुहार गर्न रुचाइनन् र सगर्व घोषणा गरिन्– मृत्युपर्यन्त मेरो शवलाई प्रज्ञाप्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि नराखियोस् भनेर । अस्वस्थ र कमजोर शरीर र प्रजातन्त्रको पुनस्र्थापनापछि कामको धपेडीले बिरामी परी वीर अस्पतालमा रहँदा प्रगतिशील लेखक सङ्घबाट प्राप्त सानो सहयोग रकम भने उनले सहर्ष स्वीकारेकी थिइन् । पञ्चायत कालमा केही प्रगतिशील युवाले नियमित रूपमा सञ्चालन गर्ने गरेको साहित्यिक अभियान साहित्य सन्ध्यामा पारिजातको नियमित रूपमा सहभागिता रहन्थ्यो । सो सन्ध्याको नियमित एउटा कार्यक्रममा यो पङ्क्तिकारले पनि उत्कृष्ठ श्रोता पुरस्कार प्राप्त गरी उनै पारिजातका हातबाट ग्रहण गर्ने अवसर पाएको थियो । यो समयभन्दा केहीअघि झापामा पञ्चायती शाषकहरूले एउटा किशोर लक्ष्मी पाण्डेको हत्या गरेका थिए र उनैप्रति समर्पित कविता थियो त्यो । प्रजातन्त्रको प्राप्तिपछि यसै संस्थाको एउटा कार्यक्रममा जब प्रदीप नेपाल उर्फ सञ्जय थापाले साहित्य सन्ध्याको पर्दाअगाडि यी केही भाइहरू थिए भने पर्दापछाडिबाट हामी सञ्चालन गथ्र्यौं भनी पारिजातकै उपस्थितिमा सार्वजनिक रूपमा भनेपछि पारिजातको उपस्थिति त्यहाँ त्यसपछि देखिएन ।
वि.सं.२०१२ सालदेखि २०४५ सालसम्म आइपुग्दा उनले जीवनका ३३ वर्ष लेखनमा लगाएको पाइन्छ । विसङ्गतिवादबाट समाजवादी यथार्थवादतर्फको उनको यात्राको उत्कर्ष ‘अनिंदो पहाड’ सँगै उपन्यासमा देखिन पुग्छ । इन्द्रेणी सांस्कृतिक समाजको मानार्थ अध्यक्ष रहेकी पारिजात राष्ट्रिय मुक्ति आन्दोलनहरूमा सशरीर होमिन सदा लालायित रहिन् । वि.सं.२०४६ साल चैत्र ३ गते लेखक कलाकारहरूले मानव अधिकारको हनन् तथा भइरहेको आन्दोलनमाथिको दमनका विरुद्ध गरेको कालोपट्टि पर्वको सिलसिलामा स्थानीय त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा भएको विरोध प्रदर्शनमा सहभागिता मात्र जनाइनन्, त्यो विरोध प्रदर्शनको नेतृत्वसमेत गरिन् । उनीसँगै थिए, आमूल परिवर्तनका पक्षधर वयोवृद्ध क्रान्तिकारी कवि युद्धप्रसाद मिश्र । शारीरिक रूपले अपाङ्ग र वयोवृद्ध स्रष्टाहरूमाथि तत्कालीन निरङ्कुश सत्ताले लाठी प्रहार गर्दै गिरफ्तार गरेको केही समयपछि सो व्यवस्था आर्यघाटमा पुगेको थियो । जब प्रजातन्त्रको पुनर्बहाली भयो सो विरोध प्रदर्शनलाई धारेहात लाउनेहरू एक नम्बरी प्रजातन्त्रवादी बने, सरकारी प्रतिष्ठानमा झुम्मिन पुगे । पञ्चायती सत्ताको जुठोपुरोमा रमाएका यस्ता छेपाराहरू रङ्ग फेर्दै तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको मलिलो कुर्सीमा आसीन भएपछि परिवर्तनका पक्षधर लेखक कलाकारहरूले गठन गरेको अभियान प्राज्ञिक सङ्घर्ष समितिको नेतृत्व पनि उनै पारिजातले गर्न पुगिन् । सङ्घर्षबाट कहिल्यै पीठ नफर्काउने पारिजात यसपछि भने आफ्नै कमजोर शारीरिक अवस्थासित भने हार्दै गइन् । यस अर्थमा पारिजात अपाङ्ग होइनन् सबलाङ्ग हुन् ।
एउटी सबलाङ्ग स्रष्टा पारिजात अर्थात् विष्णुुमारी वाइबा सङ्घर्षै सङ्घर्षका बीच वि.सं. २०५० साल वैशाख ५ गते अनन्तमा बिलाइन् । सबलाङ्ग पारिजात एउटा अपराजिता स्रष्टा जो महिला साहित्यकार, वामपन्थी साहित्यकार र जनजाति साहित्यकार मात्र नभएर समग्र नेपाली साहित्यकै उज्ज्वल नक्षत्र हुन् ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)