एमालेकै नेतृत्वमा सकारात्मक उत्कर्ष
राजेन्द्र मानन्धर
हिन्दी फिल्म ‘टाइम स्टोरी’ मा एउटा घडीको चर्तिकलाबाट कथावस्तु सुरु हुन्छ । एउटा केटोले जादुमयी घडीको सहारामा रोमाञ्चकारी गतिविधि गर्दागर्दै फिल्म सकिन्छ । घडीको मिति र समयको सुई इङ्गित गरेको बिन्दुमा मानिस र परिवेशलाई पु¥याइदिनु नै फिल्मको मूल कथावस्तु हो ।
काल्पनिक कथावस्तुमा आधारित यो फिल्मजस्तै यतिबेला सर्वोच्च अदालतले मिति र समयको सुई २०७५ जेठ २ गतेको अवस्थामा पु¥याइदिएको छ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सन्दर्भमा । फिल्म ‘टाइम स्टोरी’ एउटा काल्पनिक सिर्जना हो भने सर्वोच्च अदालतको फैसला नेपाली राजनीतिको धरातलीय कुइनेटो ।
हेरौँ, २०७५ जेठ २ अघिको परिदृश्य । पूर्ववत् दुई राजनीतिक दल नेकपा एमाले र माओवादी केन्द्र । मुलुकको राजनीतिमा लोभलाग्दा यी दुई दलका फरक फरक कार्यालय, विधि, विधान थिए । नेता, कार्यकर्ता फरक थिए । एउटाले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त अङ्गीकार गथ्र्यो, अर्कोले २१ औँ शताब्दीको जनवाद ।
तेलमा मिसिएको पानी
ती दुई दल निर्वाचनमा फरक चुनाव चिह्न लिएर उभिएका थिए । दुईबीच आरोपप्रत्यारोप चल्दा एउटाले जनताको बहुदलीय जनवादलाई विचारहरूको खोस्टो भन्थे । अर्कोले २१ औँ शताब्दीको जनवाद फगत खोक्रो शब्दहरूको सञ्जाल भन्थे । एउटा दल हतियार उठाएर हिंसात्मक बाटो हुँदै संसदीय राजनीतिमा आएको थियो । अर्को दल बहुदलीय प्रतिस्पर्धाको सिर्जनात्मक मार्गमा लम्कँदै थियो । नदी वारि र नदी पारिको राजमार्गमा हुइँकिरहेका यी दलले सहयात्रा निष्कर्ष तय गर्नुमा दुई वटा स्वार्थ
थिए– निर्वाचन जित्नु र ऐतिहासिक वाम एकता ।
दुई पार्टीबीच सहयात्रा सुरु हुनासाथ निर्वाचनमा सोचेभन्दा बढी उपलब्धि हासिल पनि भयो । दोस्रो स्वार्थ भने पूरा हुन सकेन । तेल र पानी मिसिएजस्तै भयो । केन्द्रदेखि टोल कमिटीसम्म रक्तसमूह नमिलेको रगत मिसाउन खोजिएजस्तै भयो । नेकपा एमालेबाट २०५४ मा चोइटिएको वामदेव गौतमको नेकपा माले चार वर्षको अन्तरालमा एमालेमै फर्किनुपरेको थियो । फर्केर एकीकरण भएको यतिका वर्षसम्म पनि ‘माले–एमाले छोइछिटो’ को धङ्धङ्गी अझै छ । एमाले र माले त एउटा मुहानबाट सिर्जित दुई खोला थिए तर यसपटक माओवादी केन्द्रको मुहान नै फरक थियो । दुई पार्टीका रङ्गढङ्ग नै फरक थिए, स्कुलिङ (प्रशिक्षण) फरक थिए । मुहान फरक भएका दुई पार्टीको एकीकरण तेल र पानीजस्तै हुनु स्वाभाविकै थियो ।
एक–अर्काको नेतृत्व स्वीकार्न नसक्नु नै यी दुई पार्टीबीच सहवासको शीघ्र पतन हो ।
‘ब्रान्डिङ’ को समस्या
समकालीन विश्वको सबैभन्दा ठूलो र व्यवस्थित कम्युनिस्ट पार्टीको रूपमा चिनियाँ कम्युनिस्ट पार्टीलाई मानिन्छ । नौ करोड सदस्य रहेको शक्तिशाली पार्टीले राष्ट्रपति सी चिनफिङलाई पछिल्लो समयको सर्वस्वीकार्य नेतामा स्थापित गरिरहेको छ । सीको सोचपछि निर्धारण भएको चिनियाँ विशेषतासहितको समाजवादी नीतिलाई हरेक चिनियाँमा अपनत्व छ । चीनले एक सय वर्षअघि स्थापना भएको कम्युनिस्ट पार्टीका महान् नेता माओत्सेतुङलाई सर्वकालीन नेताको रूपमा ‘ब्राण्डिङ’ ग¥यो ।
सांस्कृतिक क्रान्तिको समय भएका त्रुटिहरू बाहेक अहिले पनि चिनियाँ जनता माओत्सेतुङलाई शिरफूल मान्छन् । समाजवादी सुधार र खुलापनको नीति भिœयाएर जनगणतन्त्र चीनलाई दुनियाँसँग प्रतिस्पर्धी बनाउने देङ स्याओपिङ माओपछिको लहरमा चीनले ‘ब्रान्डिङ’ गरेको नेता हुन् । अहिले विश्व–पुँजीवादले विस्तार गरेको नवउदारवादी अवसरहरूलाई कसरी जनवादी र राष्ट्रिय पुँजी निर्माणको रूपमा उपयोग गर्न सकिन्छ र त्यसैको ढाडमा चढेर विश्व अर्थतन्त्रमा प्रभाव विस्तार गर्न सकिन्छ भन्ने सन्दर्भमा ‘सी चिनफिङवाद’ कै रूपमा चीनले आफूलाई ब्रान्डिङ गरिरहेको छ ।
नेपालमा भने ठीक उल्टो भइरहेको देखिन्छ । कुनै पनि कम्युनिस्ट नेतालाई खास कालखण्डको खास नेताको रूपमा विचार र कार्यक्रमसहित स्थापित गर्न नसक्नु नेपाली कम्युनिस्ट आन्दोलनको खास समस्या हो । मुलुकको अस्थिर राजनीति यसको एउटा कारण हुनसक्छ । लामो समय सरकारमा रहने गरी सत्ता समीकरण नबन्नु अर्को समस्या मान्न सकिन्छ । तर, कम्तीमा पछिल्लो समय पाएको जनमत एउटा अवसर थियो । आन्तरिक शक्ति सङ्घर्ष र स्वार्थको लिप्सामा नअल्झिकन नेतृत्व र उसको अवधारणालाई सघाउने वातावरण बनेको भए नेपाली राजनीतिको यो कालखण्ड प्रधानमन्त्री केपी शर्मा ओली र समृद्धिको युगको रूपमा ब्रान्डिङ गर्न सकिन्थ्यो ।
विचार निर्माणको हिसाबले पनि एउटा अवसर खडा हुँदै थियो । सन् १९९० को शुरुआती दशकमा विश्वकम्युनिस्ट आन्दोलनमै सङ्कट पैदा भइरहेको बेला नेपालमा माक्र्सवादको नवीन र सिर्जनात्मक व्याख्याताको रूपमा ‘जनताको बहुदलीय जनवाद’ (जवज) सहित जननेता मदन भण्डारीको उदय भयो । बदलिएको पुँजीवादी चरित्र र राष्ट्रिय पुँजी निर्माणको हिसाबले यो नेपाली क्रान्तिको सिद्धान्त थियो । तर एमाले र माओवादी केन्द्रबीच मेल हुनेवित्तिकै जबजलाई अस्वीकार गर्न खोज्नु ठूलो भूलको सुरुवात थियो । जबकि ‘प्रचण्डपथ’ हुँदै एक्काइसौँ शताब्दीको जनवादसम्म आइपुग्दा माओवादीले जबजकै विशेषताहरूको नक्कल गरेको आरोप उतिबेलै लागेको थियो । तैपनि जबज कम्युनिस्ट एकताको साझा दस्तावेज बन्न सकेन । जबज र मदन भण्डारीको ब्रान्डिङ गर्ने फराकिलो अवसर पनि अन्ततः तुहिन पुग्यो ।
हातखुट्टा बाँधेर मैदानमा विश्वपरिदृश्यमा देशलाई चिनाउन नेता, विचार र आन्दोलनबाट स्थापित मूल्य मान्यतालाई संस्थागत गरिन्छ । नेता र विचारलाई ब्राण्डिङ गरिन्छ । पाँच वर्षका लागि करिब दुईतिहाई जनमतबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वीकार्न नसक्नु बेथितिको जड थियो । नेकपाभित्र ओलीलाई राजनेताको रूपमा ब्राण्डिङ गर्नुपथ्र्यो । उहाँको दूरदृष्टिलाई नेकपाका सबै नेताले आफ्नो एजेण्डा भनेर बोक्नुपथ्र्यो र कसरी सार्थक र सफल बनाउन सकिन्छ भनेर उपाय खोज्नुपथ्र्यो । ओलीको अवसान गर्नसके म नेता हुन्थेँ भन्ने भ्रम जहिल्यै अर्का नेता प्रचण्डमा देखा परिरह्यो । नेता माधवकुमार नेपाललाई पनि ओलीको व्यक्तित्व उच्च बन्यो भने आफू वामपुड्के होइएला भन्ने भूतले तर्साइरह्यो ।
घृणित खेलको सुरुवात गरियो–पार्टी र शासनसत्ताको बागडोर सम्हालिरहेका नेतालाई हातखुट्टा बाँधेर मैदानमा पसाइयो । खेल्न सकेन भन्दै बारम्बार मैदानबाहिर निकाल्न खोजियो । बाटोभरि काँडा बिच्छ्याइयो अनि हिँड्न सकेन भनेर रोक्न खोजियो । लोकतन्त्रमा प्रतिपक्ष अपरिहार्य हुन्छ । अन्य मुलुकमा प्रतिपक्ष फरक पार्टीका हुन्छन्, नेकपाभित्र आफ्नै दलका नेताहरू प्रतिपक्ष भएर उभिए । अन्यत्रभन्दा पृथक मोडलको लोकतन्त्रको सामना गर्दै प्रधानमन्त्री ओलीले देश हाँक्नुप¥यो ।
चाँदीको घेरा...
भित्री बाहिरी दुवै प्रहारबाट जोगिँदै प्रधानमन्त्री ओली सरकारबाट देशको भविष्यमा दूरगामी लाभ हुने केही कार्यहरू भने सुरु भएको छ । इन्धन पाइपलाइन, रेलमार्ग, पानी जहाज, सुरुङ मार्ग, नेपालको नयाँ नक्सा, अन्तर्राष्ट्रिय विमानस्थलहरू, डिजिटल नेपाल फ्रेमवर्क लगायतका सोचहरू नयाँ पुस्ताका नेपालीलाई नवीन उपहार हुन् । कालो बादल मडारिरहेको भए पनि आकाशमा देखिएको चाँदीको घेरा हो यो । यी कार्यहरू भविष्यका लागि सुखद शुभारम्भ हुन् । तर, यस्ता युगान्तकारी सोच र दूरगामी चिन्तनहरूलाई पार्टीभित्रका नेताहरूबाट खिसिट्युँरी गरिए । प्रधानमन्त्रीका सोचहरू कसरी सफल गर्ने भनेर कहिल्यै बहस गरिएन । ठीक उल्टो यो हुँदै हँुदैन, सम्भवै छैन भन्नै न्वारन बलले भाषण गर्दै हिँडियोे । पार्टी र यसको नेतृत्व स्थापित गर्न होइन, ध्वस्त पार्न हिँडियो ।
नेपालका कतिपय ठूला भनिने निजी क्षेत्रका मिडियाहरूले पनि कार्टुन र ठ्ट्यौली भाषामा प्रधानमन्त्री ओलीको सोचलाई उडाइरहे । लोकतन्त्र गिज्याउने, खिल्ली उडाउने प्रणाली होइन, हरेक पक्ष जिम्मेवार हुनुपर्छ । आफ्ना प्रधानमन्त्रीले अगाडि सारेको दूरगामी सोचको विश्लेषक बन्ने हैसियत सञ्चार माध्यम, बुद्धिजीवीले देखाउनुपर्छ । उनीहरू रत्नपार्कको कपुर रुखको हाँगामा बसेर रमिता देखाउने भाषणवाजजस्तो हुनहुँदैन ।
यतिखेर समय फेरि हिन्दी फिल्म ‘टाइम स्टोरी’ को जस्तो भइदिएको छ । घडीको मिति र समयको सुईले एउटा बिन्दु इङ्गित गरेको अवस्थामा आफूविरुद्धमा खोलोपहिरो चलाइरहँदा पनि ओली उम्केर राष्ट्रिय स्वार्थमा डटिरहनु भएको छ । उहाँकै पक्षमा जनमत बनिरहेको छ । अर्को निर्वाचन नहुँदासम्म ओली नेतृत्वकै सरकारको आवश्यकता ठानिएको छ ।
एकपछि अर्को ‘एम्बुस’ छल्दै आउनुभएका ओली नेतृत्वको पार्टीले नेकपा एमाले जस्तो जनताको ढुकढुकी प्राप्त गरेको छ । सबैको प्यारो सूर्य चिह्न हात परेको छ । सम्भवतः सबै पार्टीको समर्थनमै बाँकी अवधि सरकारको बागडोर सञ्चालनको वातावरण आइपर्दैछ । हो, त्यसो भए मुलुक ‘पोजेटिभ क्लाइमेक्स’ (सकारात्मक उत्कर्ष) तिर अघि बढ्नेछ ।
(लेखक सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा सञ्चारविज्ञ हुनुहन्छ ।)