विचार/दृष्टिकोण |

हिमाल सफाइ (सम्पादकीय)

नेपाली सेना संविधानप्रदत्त आफ्नो मूल कर्तव्यका अतिरिक्त राज्यले सुम्पेका विभिन्न जिम्मेवारी निर्वाहमा सक्रिय छ । विकास निर्माणका कार्यसहित वातावरण संरक्षण, प्रकृति प्रकोपमा उद्धार, जनस्वास्थ्य, हिमाल सफाइलगायत सामाजिक कार्यमा सेनाले समय समयमा अभियान सञ्चालन गर्ने गरेको छ । यस वर्ष नेपाली सेनाले विभिन्न छ वटा हिमालको सफाइ गर्ने भएको छ । यस क्रममा ती हिमालमा थुप्रिएको करिब ३५ टन फोहोर सङ्कलन गरी त्यसको उचित व्यवस्थापन गरिनेछ । चैत ३१ देखि सुरु गरिने सरसफाइ अभियानले एकातिर हिमाली क्षेत्रमा थुप्रिएको फोहोरले गरिरहेको वातावरण विनास रोक्न सघाउनेछ भने अर्कोतिर हिमालको सौन्दर्यमा आउनसक्ने विकर्षण हटाउनेछ । अभियानले त्यस क्षेत्रको प्रदूषण न्यूनीकरण, विश्वव्यापी तापक्रम नियन्त्रण, पर्वतीय क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधारमा पनि विशेष सहयोग गर्नेछ ।
यस्ता कदम हिमाललाई सफा र स्वच्छ राख्ने सरकारको लक्ष्य प्राप्तिमा कोसेढुङ्गो साबित हुनेछ । साथै, पर्यटन विकास, हिमालप्रतिको आकर्षष अक्षुण गर्दै भावी पुस्तालाई स्वच्छ हिमाल हस्तान्तरण गर्न सघाउ पुग्नेछ । नेपालका विभिन्न हिमाली क्षेत्रमा पछिल्ला वर्षदेखि फोहोर थुप्रने क्रम बढ्दो छ । हिमाल आरोहण र त्यस क्षेत्रमा बढ्दो मानव गतिविधिका कारण सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा तीन सयभन्दा बढी आरोहीको शवसहित १४ हजार टन फोहोर रहेको अनुमान गरिएको छ । नेपाली सेनाले विभिन्न सङ्घ संस्थासँगको समन्वयमा सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा सगरमाथाबाट १६, ल्होत्सेबाट एक, मकालु, धौलागिरि र आमादब्लमबाट पाँच–पाँच र पुमोरी हिमालबाट तीन टन जति फोहोर सङ्कलन गरिने बताइएको छ ।
हिमालको सफाइ निश्चित अभियान वा संस्थाले मात्र गर्नेभन्दा पनि कानुनी तथा संस्थागत संयन्त्रमार्फत यस्ता काम नियमित गर्नुपर्छ । हिमाल आरोही तथा उनीहरूका सहयोगीले प्रयोग गर्ने विभिन्न वस्तु उतै छाडेर फर्कने प्रवृत्तिले हिमालमा फोहोर बढेकाले जसले जे–जस्ता सामग्री लिएर हिमाल आरोहण वा सहयोगमा गएको छ, उसले ती सबै सामग्रीको व्यवस्थापन गर्नुपर्ने नियमलाई बाध्यकारी बनाउन सक्दा मात्रै सफाइ कार्यले संस्थागत निरन्तरता पाउनेछ । नेपाली सेनाले थालेको सफाइ अभियान आफैँमा सराहनीय भए पनि जसले फोहोर गर्छ उसैलाई सफाइप्रति जिम्मेवार बनाउन सकियो भने मात्र समस्याको स्थायी समाधान हुनसक्छ । आरोहीले हिमाल आरोहणका लागि बुझाएको शुल्कलाई हिमाल सफाइमा खर्चनका लागि प्राप्त स्रोत भनेर बुझ्न सकिन्छ । हिमाल आफैँले आफ्नो सफाइका लागि रकम आम्दानी गरेको भए पनि सफाइ कार्यलाई नियमन गरी स्थायित्व दिनुपर्ने देखिएको छ ।
हिमाल सफाइ जटिल र खर्चिलो कार्य हो । यस निम्ति समुदायको परिचालन त्यति सहज हुँदैन तर नेपाली सेनाले विभिन्न सङ्घ संस्थाको सहभागितामा यस्तो कार्य गर्ने लक्ष्य लिएको छ । यसबाट सम्बद्ध सङ्घ संस्थालाई सत्कार्य निम्ति प्रेरित गर्न सकिनेछ । सामाजिक उदारदायित्वको अतिरिक्त यस्ता कार्यले सेनालाई विशेष अनुभव पनि दिन्छ । एक त हिमाली क्षेत्रको भौगोलिक, वातावरणीय तथा सांस्कृतिक जीवनका बारेमा सेना जानकार हुनसक्छ भने हिमाली क्षेत्रमा गर्नुपर्ने उद्धार कार्यका लागि नेपाली सेनाभित्र विशेष जनशक्ति उत्पादन हुनेछ । नेपाली सेनाका लागि पनि हिमाल सफाइ नयाँ अभ्यास हो । विगतमा गरिएका अभियानबाट सेनाले आफ्नो कार्यमा थप परिमार्जन गर्न सक्छ ।
विगतमा हिमालमा भन्दा पनि हिमालका आधार क्षेत्र र तल्लो भागमा मात्र सफाइ केन्द्रित रहेको, प्रचारमुखी भएको सड्ने र नसड्ने फोहोर छुट्टयाउन ध्यान नदिएका जस्ता गुनासा आएका छन् । साथै हिमालको सफाइमा स्थानीय शेर्पा समुदायलाई संलग्न बनाउन सक्दा काममा प्रभावकारिता आउने दाबी पनि गरिएको छ । नेपाली सेनाले यी र यस्ता माग तथा दृष्टिकोणमैत्री कार्यविधि बनाएर सफाइ अभियान सञ्चालन गरेमा अभियान प्रभावकारी र परिणाममुखी हुनेछ । हिमालमा थुप्रिएको फोहोर व्यवस्थापनमा नेपाली सेनाले विशेष ध्यान दिएर थालेको अभियानमा हुने सानातिना कार्यगत कमीकमजोरी सुधार गर्नुपर्ने देखिएको छ । मुख्य ध्यान आगामी दिन हिमालमा फोहोर हुनै नदिने वातावरण सिर्जना गर्नुपर्छ र फोहोर भएको अवस्थामा नेपाली सेनाले गर्ने अभियान वा अन्य संस्थागत प्रयासलाई प्रोत्साहन गर्नुपर्छ ।