विचार/दृष्टिकोण |

पुण्य र पाप

शीतल गिरी

नियमवादी होइन, व्यवहारवादी बन्नुपर्छ । नियमवादी बन्दा धेरैजसो काम खराब लाग्छ र राम्रो काम नगन्यमात्र देखापर्छ । व्यवहारवादी खोजी खोजी खराबको पछि लाग्दैन । नियमवादीका लागि त कतिपय काम हरेक अवस्थामा खराब लाग्छ । व्यवहारवादीको नजिकमा पाप र पुण्य कर्मद्वारा तय गरिने होइन, पाप र पुण्य दुई विपरीत हुन् । शास्वतको आधारमा पाप र पुण्य चिन्नुपर्छ । जुन काम मानिसले जागरुकतापूर्वक गर्छ, त्यही पुण्य हो । जस्तो क्रोध पाप हो अथवा पुण्य ? यदि क्रोध जागरुकतापूर्वक गरिएको छ भने त्यो पुण्य हो । स्थिति बुझ्नुपर्छ ।
यदि आमा आफ्नो सन्तानउपर क्रोध गर्छिन्, त्यो पाप नहुन पनि सक्छ । क्रोध नगर्दा छोराछोरी बिग्रिन पनि सक्छन् । प्रत्येक परिवारमा प्रत्येक आमाले आफ्नो सन्तानउपर क्रोध देखाउँछन् । थोरै आमाले मात्र क्रोधमा पाप समावेश गर्छन् ।
आमा दयाकी सागर हुन् ।
प्रत्येक आमा ममतामयी हुन्छिन् । सन्तान सुमार्गमा लागून् भन्ने चाहना उनीहरूको मनमा हुन्छ ।
आमाको क्रोध पनि पुण्यमय हुन्छ । त्यो क्रोध सन्तानलाई सुमार्गमा लगाउनका लागि हुन्छ, कुमार्गमा धकेल्न होइन । त्यसैले त योग्य छोराहरूले आमाको ममता जीवनभर सम्झिरहन्छन् । यसकारण जननी सबैभन्दा महान् हुन्छिन् । तर लम्पट सन्तानले ममताको अनुभूति सङ्गालेर राख्न सक्दैन ।
पाप र पुण्य व्यवहारलाई पहिचान गर्नुपर्छ । नियमको आधारमा मात्र पाप र पुण्य छुट््याउन सकिँदैन । रात दिन, घाम छाया र नङ मासुजस्तै हो पाप र पुण्य ।
सगरमाथामा चढ्न प्रयास गर्नेले घरको चिन्ता लिनु ठीक होइन । थुम्कामास–साना थुम्कामा सबै चढ्न सक्छन्, चढ्नु साधारण कुरा हो । आकर्षक छ, मनमोहक छ सगरमाथा तर सबै चढ्न सक्दैन, चढ्न असहज छ, कठिन छ र त चढ्नेहरूले ख्याति कमाउँछन् ।
ख्यातिको अर्को नाम घमण्ड हो । नजिकको तीर्थ हेलाँ ! यसकारण जुन सहज र सुगम हुन्छ, प्रायः त्यो छुट्न सक्छ र आकाशको तारा टिप्न लालायित हुन्छौँ । चन्द्र धरातलमा पुग्नु यन्त्र विज्ञानको अद्भूत विजय हो । मानव मस्तिष्कको सही परिचालन हो । तर नेपालका हामीले बाँच्न सक्ने स–साना आधारभूत कुराहरूसम्म आफ्नो बलबुतामा बनाउन सकेका छैनौँ । रुघा, खोकीजस्ता सामान्य समस्याबाट समेत जसरी सहज रूपबाट मुक्ति पाउन सकिँदैन, त्यसैगरी गलत सोच मनमा पालेमा शङ्का हरहमेशा समस्या उब्जिरहन्छ । अहंकारलाई चुनौती बनाउँदा जीवन सुखमय नहुन पनि सक्छ, जीवन सुखमय बनाउन अहंकारलाई त्याग गर्नुपर्छ । अहंकार त्यागेमा आफूलाई चिन्न सकिन्छ । आफूलाई नचिन्ने व्यक्तिले जतिसुकै प्रगति गरे पनि त्यो साँचो अर्थमा प्रगति हुन्न ।
यसकारण बुझ्नुपर्छ–जुन सुगम छ, त्यही साधना हो । आफ्नो जीवनलाई अत्यन्त सुगम बनाउनुपर्छ, कामचोर अथवा अल्छीतिघ्रे जोगी बन्छ भनेको सुनिन्छ । जोगी बन्नु बडो गाह्रो कुरा हो । त्यस्तै टाउको टेकेर उभिनु, चर्को घाममा उभिनु, जाडोमा कठ्याङ्ग्रिदै नाङ्गै बस्नु पनि गाह्रो हुन्छ । जान्दा, मानव जीवन त सुगम, सरल छ । नैसर्गिक बन्नुपर्छ साथै अहङ्कारको आकाशमा रम्नु हुँदैन ।
हामी आफ्नो स्वभाव अनुकूलको संसार होस् भन्ने चाहना राख्छौँ । सजिलै उपलब्ध हुने सरल, सत्य कहिलेकाहीँ जटिल बन्न पुग्छ । सोझो र सरल कुरा बुझ्नका लागि कुनै ठूला पण्डितको आवश्यकता पर्दैन । प्रत्येक ठाउँमा सबै किसिमका चलाख ठग पनि हुने गर्छन् । प्रत्येक ठाउँमा विरोधीहरू पनि रहने गर्छन् । जहाँ राम्रो चिकित्सक रहन्छ, रोगीहरूका घुइँचो त्यहाँ हुन्छ । चिकित्सक प्रायः सुविधासम्पन्न ठाउँमा रहन्छन् । रोगीहरूले चिकित्सकलाई भगवान् ठान्छन् । चिकित्सक शब्द प्यारो छ । यसको अर्थ हो, रोगीलाई उपचार गरी रोगमुक्त बनाउने । तर धन पिपासुलाई जतिसुकै आदर गर, त्यस्ताले शब्दको गरिमा बचाउन सक्दैन । केही चिकित्सकहरूले आफूलाई जीवनदाता ठान्ने भूल गर्छन् । कति मीठो शब्द छ, चिकित्सक, डाक्टर । तर केही ठग बनी बिरामीको असहाय अवस्थामा धनको निम्ति बिरामीलाई टोक्न पुग्छन् । तिनले गरिमामय शब्द सेवाका लागि नभई व्यापारका लागि बनाएका छन् । सेवा गर्नेहरूले मेवा खोज्न थाले भने त्यसले व्यापारको रूप लिन्छ । सेवा गर्ने भार मेवा फरक हुन् । पुजनीय बन्न सेवा चाहिन्छ ।
कुपात्रमा अमृत हालियो भने त्यो विष बन्न पुग्छ । केही ठगको व्यवहारले डाक्टर शब्द ममताको सागर बन्न दिएको छैन । चिकित्सकहरूले सम्झनु पर्ने हो–ऊ सामान्य मानिसभन्दा भिन्न होइन र उसले सेवा गरेर सम्मान पाउनुपर्छ । त्यो सम्मानको गरिमा उसको व्यवहारबाट बढ्न सक्छ । सम्मान र गरिमा एक–अर्काका पूरक हुन् ।
आज चिकित्सक नोकर शाहको घरको सदस्य बन्छ, सामन्तको छोरा बन्छ । त्यसैले डाक्टर गड (देवता) बाट ‘डग’ (कुकुर) मा परिणत हुँदैछन् । सामान्यजनका छोरा पढाइको आधारमा राज्यले निःशुल्क चिकित्सक उत्पादन गर्न सकेको भए चिकित्सा क्षेत्र सेवामुखी नै हुने थियो । अभावको अनुभूति गरेकाले नै अनुभवको आधारमा सरल, सुलभ उपचार गर्ने थिए ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता मानवतावादी भावनामयी चिकित्सक हुने थिए–जसले बिरामीलाई रोगमुक्त बनाउन चिन्तन गर्ने थिए । चिकित्सकको मायाले बिरामीको मनोबल बढ्छ, मनोबल टुटेमा, निराश भएकालाई औषधि र उपचारले केही लछारपाटो लगाउँदैन ।
हो, ‘थाहा’ पाउनु पर्छ, अन्धकार हटाउन चाहनेहरू शोषक बन्नु हँुदैन । परिश्रम नगर्नेलाई संसारमा रमण गर्ने छुट दिनुहुँदैन । शोषणबाट छुटकारा दिलाउँछ परिश्रमले । तर आज काम गर्ने भोकै पर्छ, काम नगर्ने मोज गर्छ । यसकारण राज्यले परिश्रम गर्नेको सम्मान गर्नुपर्छ, परिश्रमीहरू भएमा मात्र नेपाल स्वर्गजस्तो बनाउन कुनै अप्ठ्यारो छैन ।
राज्य सञ्चालक शोषक, स्वार्थी बन्नु भएन । यति भए थोरै परिश्रमले पनि नेपालीहरूको पेट भरिनेछ । भरिएको पेटले राम्रो कुरा सोच्नेछ । विदेशीको कमारो बन्नुपर्ने छैन ।
सोचेको सबै कुरो राम्रो हुँदैन । हाम्रो ठूल्दाइ ठानिने हिन्दुस्तानले आफ्ना भाइहरूप्रति कहिल्यै राम्रो सोच बनाएन, त्यो ‘इण्डिया’ बनेकोमा गौरव गर्छ तर हामीले त्यस्तो नीच सोच राख्नुहुँदैन । हाम्रो सोचको नराम्रो असर छिमेकीहरूमा कदापि पर्नु हुँदैन ।
¥याल चुहाउने स्यालको नजिक बस्दा घर गृहस्थी चलाउन धेरै कुराको विचार गर्नुपर्ने हुन्छ । आफू नामर्द भयो भने छिमेकीले जे भन्छ त्यो मान्नै पर्छ, मानिरहेका पनि छौँ ।
नुन हामी खान्छौँ । जसले नुन दिन्छ, त्यसको विपरीत जान नसकेको हुँदा कोशी, गण्डकी र महाकाली सुम्पिसक्यौँ, कर्णाली सुम्पिन बाँकी छ ।
नुन खाएको कुखुराले परिवर्तन ल्याउन सक्दैन । नुन संस्कृति भेषभूषा, छोरीचेली, धर्म, माखे साङ्लो हो । सेवाभावका लागि चिकित्सक शब्द बहुमूल्य हो । सेवामा जुन आत्मीयतारूपी मेवा पाइन्छ, त्यसको कुनै मूल्य लगाउन सकिँदैन, यस अर्थमा पनि चिकित्सक ‘डग’ बन्नु हुँदैन । कर्तव्यपथको नाम नै साधना र ध्यान हो‑– कसैले पर्याप्त रकम (फिस) दियो भने धन्यवाद दिँदै राम्ररी परीक्षण नगर्न सुहाउँदैन चिकित्सकलाई ।
फिस दिन नसक्नेलाई वेमनले परीक्षण गरेको जस्तोगरी झारा टार्नुै ठीक होइन । जसले फिस दिनसक्दैन सकभर त्यस्ता नआओस् भन्ने चाहना राख्ने चिकित्सक पुण्य होइन पाप कमाइरहेको हुन्छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)