विचार/दृष्टिकोण |

‘खोलदेली’सँगै हराउँदै वडको काष्ठकला

गोकर्ण दयाल

मन्दिर सजाउन प्रयोग हुने काठका झ्यालढोकामा हातेऔजारले कलात्मक बुट्टा कोर्दै आइरहनुभएका बैतडीको दशरथ चन्द नगरपालिका–४, बवेत गाउँका ९५ वर्षीय अन्तराम वड पुख्र्यौली पेसा र सीप लोप हुने अवस्थामा पुगेकोमा चिन्तित हुनुहुन्छ । उहाँलगायत औँलामा गन्न सकिने मानिस मात्रले अहिले यो काम गर्दै आइरहनुभएको छ ।
मन्दिरको कलात्मक द्वार होस् कि सुदूरपश्चिमका ‘खोलदेली’ (बुट्टा कोरिएको काठको ढोका) निर्माण गर्थे– वड जातिले । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घरदेखि अधिकांश मन्दिरमा प्रयोग भएका काठका सामग्री र ढुङ्गाको गाह्रो बवेत गाउँका वड जातिले निर्माण गरेको अन्तराम वड बताउनुहुन्छ । अन्तरामले भन्नुभयो, “त्यो बेला खोलदेलीवाला घर सबैले बनाउन सक्दैनथे । आर्थिक अवस्था राम्रो भएका मानिसले मात्र खोलदेलीवाला घर बनाउँथे । घरका ढुङ्गा र मन्दिरमा मासको गाह्रो प्रयोग हुन्थ्यो । अधिकांश मन्दिर हेर्नुभयो भने त्यहाँका सबै झ्यालढोका बवेतका वडले नै बनाएको पाउनुहुन्छ । पछिल्लो पुस्ताले पुख्र्यौली सीप र कला सिक्न चाहँदैनन् । खोलदेलीवाला घरसँगै वड जातिको सीप पनि लोप हुँदै छ ।”
अन्तरामले १६ वर्षको उमेरदेखि ९५ वर्षको उमेरसम्म पनि काष्ठकला देखाउँदै आउनुभएको छ । मन्दिरमै धेरै काम गरेको अनुभव सुनाउँदै धार्मिक कारणले गर्दा एक छाकमात्र खाना खाने गरेको उहाँ बताउनुहुन्छ । “२०४२ सालदेखि एक छाकमात्र खाना खान्छु । नियमित योग–साधना गर्छु । अम्मल केही छैन । सरकारका लागि केही उल्लेख्य काम गर्न नसकेकाले म वृद्धभत्ता पनि लिन्न, अन्तरामले भन्नुभयो, हातगोडा चुलुन्जेल काष्ठकलामै बिताउँछु ।
आफ्नोजस्तो सीप दोस्रो पुस्तालाई सिकाउन नसक्दा दुःख लागेको उहाँले बताउनुभयो । “छोराहरूलाई हात समाएर नाप–जाँच सिकाएँ तर सिक्न चाहेनन्,” उहाँले भन्नुभयो, “नयाँ पुस्ताले सजिलो काम खोज्छन् । त्यसैले सीप लोप हुने अवस्थामा पुगेको छ ।”
विश्वकर्मा वर्गभित्र पर्ने वड जाति सीप र कलाका लागि प्रसिद्ध मानिए पनि जातीय विभेदका कारणले नयाँ पुस्ताले पुख्र्यौली पेसा अँगाल्न नरुचाएको नयाँ पुस्ताको भनाइ छ । राज्यले पनि सीप र कला संरक्षणका लागि ध्यान नदिँदा वड जातिको सीप लोप हुने अवस्थामा पुगेको छ ।

वड जातिको इतिहास
११औँ शताब्दी अघि नै भारतको दुवानगरीबाट वड जाति बैतडी आएको स्थानीय महेश वड बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “किंवदन्तीअनुसार बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा लाग्ने ‘बोगाल’ (मेलापर्व)का दिन गाली गर्ने चलन छ । त्यसबखत आपसमा झगडा नहोस् भन्ने हेतुले बीचमा वड जातिका मानिसले ‘वडो’ (सीमा) हाल्ने चलन छ । ‘वडो’ हालेर बस्नुपर्ने चलन भएका कारण ‘वड’ थर रहेको भनाइ छ ।” मेलाको दिन अहिले पनि वड जातिका मानिस हरियो रूखको हाँगाको लठ्ठी लिएर जानुपर्ने परम्परा रहेको उहाँ बताउनुहुन्छ ।

सुदूरपश्चिमकै सिपालु
घर निर्माण र काष्ठकलाका लागि निकै सिपालु जाति मानिने वड समुदायका सिकर्मी÷डकर्मीको बैतडी, डोटी, अछाम, बझाङ र बाजुरासम्म माग हुन्थ्यो । सुदूरपहाडका अधिकांश कलात्मक घर वड जातिले निर्माण गरेको ९५ वर्षीय अन्तराम वडले बताउनुभयो ।

दालको कहानी
पञ्चायतकालमा गाउँमा कुनै प्रधानपञ्चको घर निर्माण गर्न गएका सिपालु वड जातिका डकर्मीले खाना मीठो नभएको टिप्पणी गरेको बैतडीमा रोचक किंवदन्ती नै छ । जानकार महेश वड भन्नुहुन्छ, “खानाको परिकार मीठो नभएपछि प्रधानपञ्च आफैँ चुलोमा बसेर खाना पकाउन लगाउनुभएको थियो । खाना पस्केर दिएपछि वड डकर्मीले सबै कुरा मीठो छ तर दाल पकाउँदा भने ‘बासी पानी’ (दुई दिनअघि नै भरेर राखेको पानी)मा पकाएको भनेपछि कसरी थाहा पायौ ? भन्दै प्रधानपञ्च छक्क परेका थिए रे !”
डोली चढ्ने अनुमति
बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा विवाहका बेला दलित समुदायले गैर दलितको डोली बोक्नुपर्ने चलन थियो । तर, दलित समुदायले आफ्नै विवाहमा डोलीमा चढेर जान सामाजिक रूपमा प्रतिबन्ध थियो । सो समयमा पनि वड जातिले भने डोली चढ्ने अनुमति पाएका थिए ।
महेश अगाडि भन्नुहुन्छ– घर निर्माण गर्नेक्रममा गैरदलितको घरमा बास बसे गोठमा बस्नुपर्ने बाध्यता थियो । गोठमा नबस्ने हुनाले नै वडहरू दिनभरि काम गरेर जति टाढाको गाउँबाट भए पनि हिँडेर घर आउने चलन थियो । पहिलेको तुलनामा अहिले सामाजिक विभेद कम हुँदै गएको छ ।

झुलाघाटको पुलसँग साइनो
भारतमा अङ्ग्रेजको शासन हुँदा इस्ट इन्डिया कम्पनीले झुलाघाटमा बनाएको पुलको जग दुई÷तीनपटक भत्केपछि त्यसको जाँचबुझ गर्न वड जातिका सिपालु मिस्त्री बोलाइएको भनाइ छ । महाकाली नदीवारिपारि भिरालो ठाउँको कडा चट्टानको बीचबाट पुलको जग उठाइएको थियो । पुलको जग दुईपटक भत्केपछि बैतडीको बवेत गाउँका सिपालु मानिस बोलाएर पुलको जग पुनः निर्माण गर्न लगाएपछि त्यो जग अहिलेसम्म नभत्किएको जानकार अन्तराम वडले बताउनुभयो ।
(लेखक गोरखापत्रका बैतडी समाचारदाता हुनुहुन्छ ।)