महिलामा पिसाब सङ्क्रमण
प्रा.डा.अर्जुनदेव भट्ट
स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्यामध्ये महिलामा हुने पिसाब सङ्क्रमण एउटा ठूलो समस्या हो । नेपाली महिलामा यो रोग कति छ, त्यसको आँकडा नभए पनि प्रायः धेरै परिवारले यो पीडाको असर अनुभव गरेको हुन सक्छ ।
महिलामा पिसाब सङ्क्रमणको मुख्य कारण प्रतिरक्षा शक्ति कम भएको शरीरमा रोग उत्पन्न गर्न सक्ने क्षमता भएका कीटाणुको सजिलो प्रवेश नै हो । महिलाको शरीरिक बनोट र क्रियाको विशेषताले गर्दा मुत्रथैलीमा कीटाणु प्रवेश गर्न सजिलो हुन्छ । एकपटक प्रवेश गरेपछि कीटाणु भुवाको सहयोगले चाम्रो तरिकाले टाँसिएर एउटा तह नै बनाएर बस्छ । महिलाको मोटो आन्द्रा, योनि र पिसाब थैलीको कोषभित्र कीटाणु सञ्चित भएर रहने हुँदा बारम्बार पिसाब सङ्क्रमण हुने गर्छ । महिलामा मुत्र सङ्क्रमण सामान्य अवस्थादेखि ज्यादै जटिल रोगका रूपमा देखिन सक्छ ।
मुत्र सङ्क्रमण किन हुन्छ ?
महिलामा मुत्र निष्कासन नली ज्यादै छोटो हुने भएकाले कीटाणुलाई मुत्रथैलीभित्र पुग्न सजिलो हुन्छ । मुत्र निष्कासन नलीको ढोकैमा योनिद्वार हुने र त्यहाँ रोग उत्पन्न गर्ने कीटाणु भइरहनाले मुत्रथैलीमा यस्ता कीटाणुको पहुँच सजिलो हुन्छ ।
अर्को महŒवपूर्ण तथ्य योीनद्वार प्रायः रसिलो भइरहने हुँदा कीटाणुहरू त्यहाँ सहजै बस्न सक्छन् । मलद्वारबाट योनिको दूरी पनि थोरै हुने भएकाले दिसा त्याग गरेपछि सफा गर्नेक्रममा यदि योनितिर पर्नेगरी पुछे वा धोएमा कीटाणु ठूलो सङ्ख्यामा योनि र मुत्र निष्कासन नलीतिर छरिन सक्छन् ।
यौन क्रिडाको समयमा पनि कीटाणुको प्रवेश मुत्रथैलीतिर सहजै हुन सक्छ । खासगरेर परिवारनियोजनका साधनको प्रयोग, प्रतिजीवाणुको अनियन्त्रित प्रयोग, स्त्री अङ्गमा भएको शल्यक्रिया वा उमेरबाट उत्पन्न हर्मोनको कमी, योनिमा रसायन पदार्थको प्रयोग गरेर सफा गर्नुजस्ता विभिन्न कार्यले योनिमा हुने सूक्ष्म वातावरणलाई खल्बलाएर रोग उत्पन्न गर्ने कीटाणुलाई मौलाउने नयाँ वातावरण तयार पार्छ ।
निदान कसरी ?
पिसाब सङ्क्रमणको निदान सर्वप्रथम कीटाणु मुख्यतया कुन ठाउँमा केन्द्रित भएर रोगका लक्षण प्रस्तुत भएका छन्, त्यसमा भर पर्छ । मुत्रथैलीमा सङ्क्रमणकेन्द्रित भएको खण्डमा धेरैपटक थोरै–थोरै गरी पिसाब भइराख्ने, पिसाब फेर्ने मन बारम्बार हुने र पिसाब निष्कासन भएपछि सन्तुष्टि अनुभूति नहुने, तल्लो पेट दुख्ने, असजिलो हुने, पिसाब पोल्ने, मुत्र निष्कासन नलीमा जलन हुने, जतिपटक पिसाब भए पनि फेरि उत्तिकै आत्तुरीले पिसाब फेर्ने आवश्यकताबोध हुनेजस्ता लक्षण देखापर्छन् । पिसाबमा रगत देखापर्ने वा धमिलो पिसाब पनि हुन सक्छ ।
मिर्गौलामा सङ्क्रमण केन्द्रित भएमा जाडो भएर ज्वरो आउने, कम्पन हुने, साह्रै कमजोरी हुने, कम्मर र कोखामा दुख्ने, पिसाब पोल्ने, छिटोछिटो पिसाब गर्नुपर्ने, पिसाब थाम्नै नसकिनेजस्ता लक्षण पनि एकैपटक मौजुद रहन्छन् ।
उल्लिखित लक्षणबाहेक पिसाब सङ्क्रमणको निदान गर्न पिसाबको साधारण जाँच र पिसाबमा कीटाणु छन् या छैनन् भनेर हेर्नुपर्छ । कति र कस्ता कीटाणु छन् ? कुन औषधिले ती कीटाणुलाई निर्मूल गर्न सकिन्छ ? कुन प्रतिजीवाणुमा ती कीटाणु बानी परेर अभ्यस्त भइसकेका छन् ? त्यो पनि थाहा पाउनुपर्ने हुन्छ । रगतको विभिन्न परीक्षण, अल्ट्रासोनोग्राफी, एक्स–रे, सिस्टोस्कोपी र अरू जाँच पनि रोग निदानको निमित्त महŒवपूर्ण भूमिका खेल्न सक्छन् । खासगरेर पिसाब सङ्क्रमण महिलामा बारम्बार देखापरे विभिन्न जाँच र परीक्षण गरेरमात्र रोगको निदान र ठीक उपचार सम्भव हुन्छ । यस्तो अवस्थामा यौन सहभागीको वीर्य र पिसाबको जाँच पनि अनिवार्य रूपमा गर्नुपर्छ ।
बारम्बार पिसाब सङ्क्रमण हुने गरेमा के भएपछि यस्तो सङ्क्रमण दोहोरिने गर्छ ? महिलाले त्यसको राम्रो ख्याल गर्नुपर्छ । यस्ता महिलामा सिस्टोस्कोपी, सिटी युरोग्राफी, युरोफ्लोमेट्री, युरोडाइनामिक्सजस्ता जटिल जाँच गरेर सङ्क्रमणका कारण थाहा पाउनुपर्छ । मधुमेह, पिसाबको पत्थरी, मुत्रप्रणालीमा कुनै अवरोध छ, छैन ? त्यसको ठोस जाँच, पिसाबथैली तल झरेको अवस्था, मुत्र निष्कासन नली साँघुरिएको वा दोब्रिएको अवस्थाको प्रमाण पाउने गरेर सबै परीक्षण गर्नुपर्छ । कम्मरबाट पिसाबको थैली र मुत्र निष्कासन नलीतिर जाने सबै नसा राम्रो अवस्थामा छन्् या छैनन् ? भनेर पनि पूरा जाँच हुनुपर्छ । यसकानिमित्त विभिन्न विशेषज्ञलाई सम्मिलित गर्नुपर्ने हुन सक्छ । दिसामा कुनै समस्या छ र खासगरेर कब्जियत हुने गरेमा त्यसको पनि समाधान नगरी पिसाब सङ्क्रमणको समस्याबाट मुक्त हुन सकिन्न ।
उपचारमा प्राथमिकता
कीटाणु निर्मूल गर्नु उपचारको प्रमुख लक्ष्य हुनुपर्छ । यसकानिमित्त प्रतिजीवाणु औषधि प्रयोगले ठूलो भूमिका खेल्छ । तर, प्रतिजीवाणुको प्रयोग गर्दा योनिको सूक्ष्म वातावरण पनि खल्बलिन सक्छ । त्यसैले फेरि अरू कीटाणुलाई योनि, मुत्र निष्कासन नली र त्यसको द्वारमा नयाँ बस्न सहयोग पुग्ने भएकाले प्रतिजीवाणुको उपयोग गर्दा धेरै ध्यान पु¥याउनु अति आवश्यक हुन्छ । प्रतिजीवाणु छान्दा पिसाबको जाँच गरेर उम्रेका कीटाणुलाई मार्ने तर योनिमा सामान्य अवस्थामा हुने गुणकारी कीटाणुको वृद्धिमा खासै असर नपार्ने गरेर छनोट गर्नुपर्ने हुन्छ ।
उपचारक्रममा महिलाको पिसाब सङ्क्रमणको केन्द्रबिन्दु मिर्गाैलामा छ वा पिसाबको थैलीमा छ, त्यो वास्तविकतालाई ध्यानमा राखेरमात्र प्रतिजीवाणु रोज्ने गर्नुपर्छ । मिर्गौलामा कीटाणु रहेमा पिसाब सङ्क्रमणको गम्भीरता मुत्रथैलीमा सीमित रहेको सङ्क्रमणभन्दा ज्यादै धेरै हुन्छ । तर पनि दुवै अवस्थामा पिसाबको जाँच गर्दा पिप र कीटाणु उस्तै देखापर्छन् तर प्रतिजीवाणुको प्रयोग, उपचार गर्नुपर्ने समय र परीक्षण गर्नुपर्ने विधिमा ठूलो अन्तर रहन्छ । पिसाब सङ्क्रमणको उपचार गर्दा महिलामा यो रोग जटिल अवस्थामा छ वा छैन ? त्यसको ठोस निदान गरेरमात्र औषधि प्रयोग गर्नुपर्छ । जटिल पिसाब सङ्क्रमण गर्भवती महिलामा, मधुमेहबाट ग्रसित महिलामा वा पक्षाघात भएका (ढाड वा मस्तिष्कमा असर परेर) बिरामीमा देखापर्छ । त्यस्तै जटिल पिसाब सङ्क्रमण मुत्र प्रणालीमा पत्थरी वा अरू कुनै पनि खराबीबाट पिसाबको प्रवाहमा अवरोध भएको अवस्थामा हुने गर्छ । सामान्य अवस्थामा प्रत्येक बिरामीले जटिल पिसाब सङ्क्रमण छ भने आफैँ जान्नको निमित्त निम्नकुरामा ध्यान दिनुपर्छ–
पिसाब पोल्ने, कोखा दुख्नेबाहेक यस्ता बिरामी ज्यादै कमजोर अनुभव गर्ने, जाडो भएर ज्वरो आएको अनुभव गर्ने, बान्ता गर्ने र प्रतिजीवाणुको प्रयोग गर्दा धेरै घण्टासम्म पनि लक्षणमा सुधार अनुभव नगर्ने हुन्छन् । पिसाब सङ्क्रमण भएका महिलाले माथि उल्लिखित अवस्था आफूमा पाए त्यसको उपचारको निमित्त अस्पतालमा भर्ना भएर नसाभित्र प्रयोग गरिने औषधि उपचारको विधि अपनाउनु अति आवश्यक हुन्छ ।
उपचारको समयमा सधैँ खाली प्रतिजीवाणु औषधिमा सीमित भएर बस्न मिल्दैन । खासगरेर यौन अभ्यासपछि पिसाब सङ्क्रमण अनुभव गर्नेले अस्थायी परिवारनियोजनका साधन प्रयोग गर्दा ध्यान पु¥याउनुपर्छ । योनिमा प्रयोग हुने शुक्राणुनाशक जेलले योनिको सूक्ष्म वातावरणलाई ठूलो खल्बल पारेर मलद्वारमा हुने रोग उत्पन्न गर्न सक्ने ई. कोली भन्ने कीटाणुलाई बासस्थान प्रदान गर्छ । त्यसैले पिसाब सङ्क्रमण हुने महिलाले यस्तो साधनको अभ्यास रोक्नैपर्छ । भित्री स्त्री अङ्गहरूमा शल्यक्रिया भएपछि वा उमेरका कारणले नारी हर्मोनको कमी भएर योनिमा सुक्खा भए यौनक्रिडाको समयमा मुत्रनलीको ढोका र योनिमा घाउ हुने भएकाले त्यहाँ रोग उत्पादन गर्ने क्षमता भएका कीटाणु ती ठाउँमा बस्न सक्छन् र बिस्तारै ती मुत्रनलीतिर प्रवेश गर्छन् । यसरी मोटो आन्द्रा, योनि र मुत्रथैली सङ्क्रमणको भण्डारमा परिणत भएर बारम्बार पिसाब सङ्क्रमणले सताउने गर्छ । यौनक्रिडाको समयमा र त्यसको लगत्तैपछि पिसाबको थैली, मुत्र निष्कासन नली र योनिमा रोग उत्पादन गर्न सक्ने कीटाणुको सङ्ख्या सक्दो कम होस् भन्न यौन अभ्यास अघि र पछि मुत्रथैलीलाई खाली गर्ने बानी बसाल्नुपर्छ ।
महिलामा पिसाब सङ्क्रमणको उपचार एउटा चुनौतीपूर्ण विषयवस्तु हो । यो चुनौती उपचारमा संलग्न चिकित्सक, स्वयम् पीडित महिला, महिलाका यौन सहभागी र समाजका अरू थुप्रै व्यक्तिको परामर्श र सहयोगबाट मात्र राम्रो परिणाममा टुङ्गिन सक्छ । केवल औषधि उपचार (खासगरेर प्रतिजीवाणुको प्रयोग)मा मात्र जोड दिएर राम्रो उपलब्धि पाउने चेष्टा गरे त्यसको निष्कर्ष ज्यादै निराशाजनक रहने निश्चित हुन्छ । त्यसैले उपचारमा कुन पक्षलाई प्राथमिकता दिने भन्ने कुरा महिलाका शरीरका विभिन्न अवस्थामा भर पर्छ । प्रतिजीवाणु उपचारको ठूलो महŒव हुँदाहुँदै पनि पूरै त्यसैमा मात्र भर पर्नेखालको प्रवृत्ति बिरामी र चिकित्सक कसैको पनि हुनुहुँदैन । यो रोगलाई निको नहुने भनेर नकारात्मक भावना सञ्चय गरेर उपचार गर्नुको साटो बारम्बार देखिने पिसाब सङ्क्रमणमा घट्दै गरेको र कम हुँदै गरेको त्यसको जटिलतामा चिकित्सक, बिरामी र संलग्न सबैले खुसी हुन अभ्यास गर्दै अरू सफलता पाउन कठोर प्रयत्न गर्नुपर्छ ।
निचोड
महिलामा शरीरको बनावट र क्रियाको विशेषताले गर्दा पिसाब सङ्क्रमणको समस्या हुन्छ । योनिमा सामान्य अवस्थामा हुने गुणी कीटाणुलाई विभिन्न औषधिको प्रयोग र परिवारनियोजनका केही अस्थायी साधनको अभ्यासले खल्बलाएका खण्डमा मुत्र प्रणालीमा रोग उत्पन्न गर्न सक्ने कीटाणुलाई योनि, महिलाको छोटो मुत्र निष्कासन नली हुँदै मुत्रथैलीमा प्रवेश गर्न प्रोत्साहन मिल्छ । मुत्रथैलीबाट यी कीटाणु मिर्गौलासम्म पनि पुग्न सक्छन् तर रगतको नली भएर पनि कीटाणु मुत्र प्रणालीमा थुप्रिन सक्छन् । महिला गर्भवती भएको अवस्था, मधुमेह, पिसाबको पत्थरी, पक्षाघात र पिसाबको प्रवाहमा अवरोध गर्ने कुनै पनि अवस्था भएमा महिलामा पिसाब सङ्क्रमण हुँदा त्यसले जटिल रूप लिन्छ । यस्तो अवस्थामा अस्पतालमा भर्ना भएर उपचार गर्नु सुरक्षित हुन्छ । पिसाबको विभिन्न किसिमको जाँच र अरू प्रशस्तै परीक्षण गरेर रोगको निदान र उपचारमा ठूलो सहयोग पुग्छ । यो रोग बिरामी, उनका सहयोगी र चिकित्सक सबैको निमित्त चुनौती भए पनि उचित परामर्श, धैर्य र सहयोग गर्दै उपचार गरे राम्रो सफलता हासिल गर्न सकिन्छ ।
(लेखक वरिष्ठ मुत्ररोग विशेषज्ञ हुनुुहुन्छ ।)