ध्यानाकर्षणको प्रतिस्पर्धा
डा. कुन्दन अर्याल
पढ्ने, सुन्ने वा हेर्ने सामग्रीको आपूर्ति असीमित छ । फिचर फिल्म, टेलिभिजन कार्यक्रम, सौखिनले बनाएका अनेक भिडियो, सामाजिक सञ्जाल अनि व्यावसायिक अनलाइन समाचार पोर्टलहरू जुनसुकै बेला हरेकको पहुँचमा छन् । विनाकुनै थकान डिजिटल मिडिया निरन्तर समाचार र मनोरञ्जनको आपूर्ति गरिरहेका छन् । तर पाठक, दर्शक वा श्रोता अथवा उपभोक्ताको ध्यान दुर्लभ हुँदै गएको छ । यस्तो युगमा सामग्रीका सम्भावित प्रयोगकर्ताको ध्यान कसरी आकर्षित होला ? अन्तर्वस्तुको अन्त्यहीन आपूर्ति र प्रयोगकर्ताको सीमित चासो आजका विभिन्नप्रकारका मिडियाको चुनौती विषय हो ।
एकजना पाठक, श्रोता वा दर्शकसामु उपलब्ध छनोटको व्यापक अवसरले अन्तर्वस्तु प्रस्तोताका लागि चुनौतीसँगसँगै नयाँ सम्भावना भने ल्याएको छ । मानिसका आनीबानीमा क्रमशः परिवर्तन आइरहेका छन्, बिहानको ‘बे्रकफास्ट’सँगै अखबारबाट संसार नियाल्नैपर्दैैन । उठ्नेबित्तिकै सबैभन्दा पहिले मोबाइलबाट एकसरोे देश र संसार नियालेर धारणा बनाउने बानी विकसित भइरहेको छ । हिजोआज मिडियाको प्रयोगको निश्चित समय नै छैन । प्रतीक्षालय, यातायातका साधन वा जहाँसुकै र जुनसुकै बेला मिडियाको प्रयोग हुन सक्छ र भइरहेको छ ।
आँखाको प्रयोग गरेर पढिने अखबारका ठाउँमा सुनेर ग्रहण गर्नुपर्ने रेडियो र श्रव्य–दृश्यसहितको टेलिभिजनमा इन्द्रियको प्रयोगका आधारमा एक प्रयोगकर्ताले अलग–अलग स्वाद वा अनुभव प्राप्त ज गर्छ । सबै किसिमका मिडियाका आ–आफ्नै विशेषता छन् । गम्भीर विश्लेषण र चिन्तनले एकाग्र अध्ययनको माग गर्छ, जुन छापामा उपलब्ध हुन्छ । तर, छापामा पढिएको कविता रेडियोमा कविकै स्वरमा सुन्न सकिन्छ । अनि टेलिभिजनमा गैरशाब्दिक सञ्चारसहित त्यही कविता सुन्नुको बेग्लै आनन्द हुन्छ । यी सबै मिडियाले कुनै विषय वा घटनाका सम्बन्धमा गराउने अनुभव पनि बेग्लाबेग्लै हुन्छ र प्रयोगकर्तामा प्रभाव पनि फरक–फरक ढङ्गले पर्छ । २०६१ साल भदौ १५ गते इराकमा १२ जना निर्दोष नेपाली युवाको बर्बरतापूर्वक गरिएको हत्याको श्रव्य–दृश्य इन्टरनेटबाट प्रवाह गरिएपछि नेपालमा जे प्रभाव प¥यो, त्यो तहको प्रभाव अखबारमा आएका समाचारले मात्र पार्न सक्ने थिएन । आजको मितिसम्म आइपुग्दा त इन्टरनेटले सबै प्रकारका परम्परागत मिडियालाई सम्मिलन गराई बेग्लै परिदृश्यको निर्माण गरिसकेको छ । पहिलेदेखिका सबै मिडिया अर्थात् पढ्ने, सुन्ने वा हेर्ने मिडियालाई इन्टरनेट वा वेबको मद्दतले जहाँसुकै र जुनसुकै बेलाको सर्वव्यापक मिडिया बनाइसकेको छ । तर, मिडियाको यही सर्वव्यापक परिवेशमा मिडिया–संस्थाहरूका निम्ति प्रयोगकर्ताको खोजी वा विकास पनि उत्तिकै चुनौतीपूर्ण छ ।
मिडियाका प्रयोगकर्ता छरिएका पनि छन्, केन्द्रित पनि छन् । डिजिटल मिडियाले प्रयोगकर्ता वा सर्वसाधारणको सहभागिताको संस्कृतिलाई बढाएको पनि छ । अर्कोतिर डिजिटल मिडिया खासगरी सामाजिक सञ्जालहरूले आममानिसलाई एकलकाँटे बनाउँदै लगेका छन् । यस्तो परिवेशमा आमसञ्चारका माध्यमले प्रयोगकर्ताको ध्यान कसरी आकर्षित गर्न सक्छन् वा नयाँ–नयाँ प्रयोगकर्ताको विकास गर्न सक्छन् भन्ने विषयमा छलफल हुन जरुरी छ ।
आममानिसको सामाजिक व्यवहार र सहभागिताको क्षेत्र आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनसँगै विस्तारित हुँदै गएका छन् । मिडियाका अन्तर्वस्तुमा पनि त्यही अनुकूलको विविधता समेटिँदै जान आवश्यक हुन्छ । मिडियाको उत्पादनको प्रयोगकर्ता बढाउने एउटा उपाय यही हुन सक्छ । हुन त विश्वव्यापीकरणको प्रभाव यति गहिरो छ, नयाँ पुस्ताले घरेलु मिडियाका उत्पादन कत्तिको उपभोग गरिरहेका छन् र त्यसबाट कत्तिको सन्तुष्टि प्राप्त गरिरहेका छन् भन्ने विषयमा पनि जान्नु वाञ्छनीय हुन्छ । उपभोक्ता वा आममानिसको ध्यान अन्तर्वस्तु र प्रविधि दुवै दृष्टिकोणले धेरैतिर बाँडिएको छ । यस्तो अवस्थामा आजका विविध मिडियाले ध्यानको हाटबजारमा कडा प्रतिस्पर्धा गर्नुपर्ने दिन आएको छ ।
एक सय ६२ वर्षपहिले प्रकाशित जोन मिलको अन लिबर्टीले पहिलोपटक बजार प्रतिस्पर्धाको सिद्धान्तलाई स्वतन्त्र अभिव्यक्तिको सिद्धान्तमा समेत रूपान्तरण गरेको थियो । जसअनुसार सोच वा धारणाको निर्वाध प्रवाहको परिकल्पना गर्दै बन्देजप्रति असहमति जनाइएको थियो । मिलको मार्केटप्लेस अफ आइडिया अर्थात् विचार, सोच वा धारणाको हाटबजारको सिद्धान्तअनुसार सत्यको परीक्षण वा कुनै धारणाको स्वीकार्यता विभिन्न धारणाबीचको आपसी प्रतिपस्र्धाबाट हुन्छ । उहाँको विचारमा हानिकारक धारणालाई पन्छाउन सरकार वा कुनै पनि पक्षबाट सेन्सर वा बन्देज गरिरहन आवश्यक पर्दैन । उहाँ भन्नुहुन्छ, कोही एक्लैलाई सत्य थाहा हुँदैन, सत्यपन नभएको तथ्य अन्धविश्वासको तहमा रहिरहन्छ । त्यसैले उहाँ धारणा वा विचारबीचको स्वतन्त्र प्रतिपस्र्धाको पक्षपोषण गर्दै यही प्रक्रिया नै तथ्यबाट असत्यलाई पन्छाउन सबैभन्दा उपयुक्त हुने ठहर गर्नुहुन्छ ।
जोन मिलको विचारको हाटबजारको प्रतिस्पर्धाको सिद्धान्तको दृष्टिले हेर्दा ध्यानाकर्षणको प्रतिस्पर्धाबीच पनि आममानिसको विवेकको अपेक्षा गर्नुपर्छ । तर, सामाजिक सञ्जालबाट हरेक क्षण प्रवाह भइरहेका धारणाकै आधारमा हाटबजारको प्रतिस्पर्धाको सिद्धान्त आज सुस्त साबित हुने तर्क ‘मनासिव बन्देज’को पक्षपोषण गर्नेले अघि सारिरहेका छन् । शब्द वा चित्रका माध्यमले हुने आत्मनियन्त्रणबेगरका वा असम्पादित अभिव्यक्तिले सुस्पष्ट र तात्कालिक खतरा उत्पन्न गराउन सक्छ भन्ने मान्यता पनि वर्षौंदेखि उत्तिकै प्रभावशाली छ । त्यसैले सम्पादित सामग्री प्रवाह गर्ने पत्रकारिताले सामाजिक सञ्जालमा चल्तीमा आएका सामग्रीसँग प्रतिस्पर्धा गर्नु उपयुक्त हुँदैन । त्यसरी समेटिने उपभोक्ताले दिगो रूपमा साथ पनि दिँदैनन् । सवा सय वर्ष अघि संसारको विकसित भू–भागका छापा माध्यमका अगुवाले व्यावसायिक मर्यादाको प्रस्तावना अघि सार्दै सत्यतथ्यको उपेक्षा र सनसनीपूर्ण समाचार प्रस्तुति प्रचलनलाई त्याग गर्ने प्रतिबद्धता त्यसै व्यक्त गरेका थिएनन् ।
लोकतान्त्रिक राजनीति गर्ने मानिसका लागि मतदाताको महŒव भएजस्तै मिडियाका लागि अडियन्स वा पाठक–श्रोता–दर्शकको ठूलो महŒव हुन्छ । आमसञ्चार माध्यमको इतिहासले प्रस्ट पारेको छ, अडियन्सको निर्माण समाजमा र मिडिया वा सामग्री दुवैमा हुने गर्छ । एकातिर देखिएको छ, आमजनताले मिडियालाई खास प्रकारका सामग्री उत्पादनका लागि उत्प्रेरित गर्छन् । अर्थात् मिडियाले सर्वसाधारणलाई उनीहरूको चाहनाअनुसारको सामग्री प्रस्तुत गर्दै आकर्षित गर्छन् । जस्तो, राजनीतिक मत, व्यापार वा राष्ट्रिय जीवनका अन्य क्षेत्रलाई सम्बोधन गर्नेगरी सामग्री प्रस्तुत गर्ने चलन व्यापक छ । यसअनुसार मिडियाले सामाजिक समूह, समाज र राष्ट्रको आवश्यतालाई सम्बोधन गर्छन् ।
तर, अर्कोतिर अडियन्स आधारभूत रूपमा मिडियाले नै बनाउने गरेको पनि देखिँदै आएको छ । खासगरी नयाँ प्रविधिको सुरुवातका सन्दर्भमा यो कुरा लागू हुने गर्छ । अखबारपछि रेडियोले नयाँ प्रविधि भएकै कारण ठूलो परिमाणमा श्रोता निर्माण गरेको वा टेलिभिजनले नै मानिसका सोच वा आनीबानी तय गर्न थालेको विगतमा प्रस्टतः देखिएको थियो । आज अनलाइन माध्यमले विश्वभरि नै अनलाइन उपभोक्ताको अति व्यापक समाज निर्माण गरिसकेको छ । फेसबुकको समाज, ट्वीटरको समाज वा इन्स्टाग्रामको समाज ती सोसल मिडियाहरूले नै बनाएका हुन् । उपभोक्तालाई आफूतिर अत्यन्त प्रभावकारी रूपमा आकर्षित गरिरहेका यी माध्यमका कारण ध्यानाकर्षणको प्रतिस्पर्धा चरम बिन्दुमा पुगेको छ ।
अहिलेका बहुमिडिया र अत्यधिक सामग्री आपूर्तिको युगमा मिडिया–संस्था र सञ्चारकले आफ्नो सामग्री वा सन्देश कसका लागि तयार गरिएको हो, अनि कस्ता र कति मानिस ती सामग्रीबाट सन्तुष्ट छन् भन्ने कुरामा अझ बढी सजग हुन जरुरी छ । यो विषयमा विश्वभरि नै विमर्शमात्र होइन, उल्लेखनीय प्रयत्न पनि भइरहेको देखिन्छ । विश्वव्यापी रूपमा देखिएका परिवर्तनलाई आत्मसात् गर्दै नयाँ परिवेशमा पनि आममानिसको ध्यानाकर्षण गर्ने आफ्नो शक्ति क्षीण हुन नदिन लामो अनुभव हासिल गरेका ठुल्ठूला मिडिया र विख्यात सञ्चारकर्मी पनि नवप्रर्वतनात्मक प्रयास गरिरहेका छन् ।
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा आबद्ध हुनुहुन्छ ।)