विचार/दृष्टिकोण |

अल्जाइमरप्रति चेतना

अलङ्कार आत्रेय

नेपालमा मानसिक रोगको बारेमा अझै पनि खुलेर कुरा गर्ने वातावरण बनिसकेको छैन । त्यसैले समाज र इष्टमित्रले के सोच्लान् भन्ने डरले मानसिक रोगलाई सकेसम्म अरूबाट लुकाएर राख्ने गरेको पाइन्छ । डिमेन्सिया भनेको स्मरणशक्तिमा नकारात्मक प्रभाव पार्ने लक्षणहरूको समूह हो । अल्जाइमर मस्तिष्कको रोग हो जसबाट क्रमशः स्मरणशक्ति र कुनै कुरा चिन्ने क्षमताको ह्रास हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म संसारभरि १३ करोडभन्दा बढी मानिसलाई डिमेन्सिया हुने सम्भावनाको आँकलन गरेको छ । त्यसमध्ये ५० देखि ७० प्रतिशत अल्जाइमर रोगी पर्दछन् । यी आँकडा हेर्दा यस रोगले ठूलै समस्या निम्त्याउने खतराको पूर्वानुमान गर्न सकिन्छ । आजको मितिसम्म यस रोगको रोकथाम र उपचारका लागि कुनै औषधि पत्ता नलागिसकेको हुनाले यो रोग झन् डरलाग्दो छ ।
अल्जाइमर रोगसँग सम्बन्धित समस्या सामान्यतया वृद्ध मानिसले भोग्छन् । यी रोगीहरूमा बिस्तारै सम्झने र सोच्ने शक्ति हराउँदै जाने गर्छ । उमेर ढल्दै गएपछि स्मृति पनि अलि अलि हराउँदै जान्छ । यो बुढ्यौलीमा हुने कुरा हो भनेर नेपालमा यसलाई खासै मतलब राख्ने गरिँदैन । अल्जाइमर रोगका सुरुवाती दिनहरूमा रोगीहरूलाई केही याद राख्न गाह्रो हुने गर्दछ । उनीहरू केही सम्झिने प्रयास गर्दछन् तर त्यो कुरा मस्तिष्कसम्म पुग्न पाउँदैन । यो रोग बढ्दै गएमा रोगीले बिस्तारै बिस्तारै आफ्ना परिवारलाई पनि चिन्दैन र यसले रोगी र उनको हेरचाह गर्ने मानिसहरूका लागि थुप्रै जटिलता निम्त्याउँछ । केही गरी युवा अवस्थामै यो रोग देखिएमा यसको व्यवस्थापन अझै जटिल हुने अनुमान छ । नेपालमा मानसिक समस्यालाई अझै पनि नकारात्मक दृष्टिकोणबाट हेरिने गरिन्छ । त्यसैले होला नेपालमा यो रोगबारे धेरै छलफल भएको पाइँदैन ।
अल्जाइमर भएका मानिसहरूको मस्तिष्कमा प्रोटिनको संरचनामा गडबडी भएको पाइन्छ । यसका लक्षणहरू निद्रा नलाग्ने, सानोतिनो काम गर्न पनि नसक्ने, सामानहरू कहाँ राखेको छ भनेर बिर्सिने, दृष्टि धमिलो हुने, डर लाग्ने, आफ्ना परिवारका सदस्यलाई पनि चिन्न छोड्ने, चाहिनेभन्दा बढी निराश हुने आदि हुन् । अल्जाइमर रोग लाग्नुका वास्तविक कारणहरू स्पष्ट छैनन् । आनुवंशिकता (परिवारमा कसैलाई अल्जाइमर लागेको वा भएको), बढ्दो उमेर र मस्तिष्कमा चोट लागेमा अल्जाइमर रोग लाग्नसक्ने अनुसन्धानले देखाउँछ । मानिसको औसत आयु बढ्दै जानु र जीवनशैलीमा परिवर्तन हुनुले पनि यो रोग धेरैलाई लाग्न सक्ने कारण हुनसक्छ । यसको कुनै उपचार छैन यद्यपि आफ्नो जीवनशैलीमा परिवर्तन गरेर जस्तैः धूमपान त्याग्ने, मद्यपान कम गर्ने÷नगर्ने, सन्तुलित आहार, स्वस्थ शारीरिक तौल कायम राख्ने, शारीरिक क्रियाकलापमा संलग्न हुने र मानसिक रूपमा सक्रिय भई जोखिम कम गर्न वा यो रोग लाग्न सक्ने समयलाई पर सार्न सकिन्छ ।
नेपाल सरकारले पनि २०७० देखि अल्जाइमर रोगलाई सार्वजनिक स्वास्थ्य समस्याअन्तर्गत मान्यता दिएको छ र जिल्ला स्वास्थ्य अस्पतालको सिफारिसमा आर्थिक सहयोग दिने रोगहरूको सूचीमा समावेश गरेको छ । तैपनि तुलनात्मक हिसाबमा अरू रोगीले भन्दा अल्जाइमरका रोगीले कम आर्थिक सहयोग पाउँछन् । यस रोगको पहिचानपछि व्यवस्थापनका लागि थुप्रै खर्च लाग्ने र सरकारी सहयोग कम भए पनि यसले सार्वजनिक स्वास्थ्य समस्या अन्तर्गत मान्यता पाएको कुरालाई सकारात्मक कदमका रूपमा लिन सकिन्छ ।
अल्जाइमर रोगको व्यवस्थापनअन्तर्गत पीडित व्यक्तिको हेरचाह गर्न पर्याप्त दक्ष र अर्ध–दक्ष जनशक्तिले भरिएका विशेष केन्द्रहरूको आवश्यकता पर्दछ । केही सरकारी र गैरसरकारी निकायले नेपालमा यस रोगबारे जागरुकता बढाउने काम गरिरहेका छन् । पशुपति वृद्धाश्रम, होप हर्मिटेज, अर्किड होम, आमाघर, निःसहाय सेवा सदन आदि संस्थाहरूले पनि अल्जाइमर र डिमेन्सियाबाट पीडित व्यक्तिहरूलाई उचित सेवा प्रदान गरिरहेका छन् । यी संस्थाहरूका सेवा काठमाडौँ उपत्यकामा मात्रै सीमित नराखी नेपालभरि विस्तार गर्ने र अल्जाइमर र मानसिक स्वास्थ्यबारे प्रचार–प्रसार गरेर यस रोगप्रतिको सङ्कोच र हीनताबोधलाई सकेसम्म हटाउने पहल गर्न जरुरी छ ।
(लेखक बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अल्जाइमर रोगको विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।)