विचार/दृष्टिकोण |

मुलुकले गुमाएको आशलाग्दो व्यक्तित्व

डा. सुरेश आचार्य

दुब्लो पातलो शरीर, ख्याउटे अनुहार, चुच्चे नाक, बाक्ला जुँगा अनि शरिमा सधैं सगरमाथा शैलीको कालो भक्तपुरे टोपी । नेपालको लोकतान्त्रिक आन्दोलनमा सधैं काठमाडौंका सडकमा देखिने र आदर गर्नुपर्नेदेखि माया गर्नु पर्नेसम्मका सबैप्रति विनयशील र शालीन व्यक्ति । हो, उही व्यक्ति थियो, जसलाई असमयमै कालले आफ्नो प्रिय बनायो अर्थात नवीन्द्रराज जोशी । नेपाली समाजमा शायद दुनियाँमा नै मानिसले जीवनमा भन्दा मृत्युपछि सम्मान पाउने गर्छ । जीवनमा देख्न, भोग्न नपाएको सम्मान मृत्युपछि ऊ स्वयंका लागि अर्थ राख्दैन । तर उसमा लुकेको व्यक्तित्व आम नागरिकका लागि प्रेरणा चाहिँ बन्न सक्छ ।
मृत्यु आफैँमा स्वाभाविक प्रक्रिया हो तर हामी मृत्युलाई अस्वाभाविक ठान्ने गर्छौं । राज्यले शुरुमा वृद्धभत्ता दिने ग¥यो । वृद्ध शब्द प्रयोग गरिनेका लागि नै प्रिय रहेन र ज्येष्ठ नागरिक भन्न थालियो । त्यो भत्ता लिने गरेको १५÷२० वर्षपछि मृत्युवरण गरेका हकमा समेत हामीले असामयिक निधन भनेर श्रद्धाञ्जलि र समवेदना सन्देश बनाउँदै आएका छौँ । मानिसको एक सय वर्ष आयुको मान्यतामा हामी आज पनि बाँचेका छौँ । शायद यही कारण हामीलाई हरेक मृत्यु असामयिक लाग्ने गर्छ । औषधिविज्ञानले धेरै मानिसको लामो आयु सम्भव बनाइदिएको पनि छ र पनि, मृत्यु शाश्वत सत्य हो । जन्मको अर्थ जीवन हुँदै हो तर जन्मसँगै मृत्यु अनिवार्य शर्त बनेर आएको हुन्छ । नवीन्द्रको मृत्युमा उहाँको पार्टी नेपाली काँग्रेसले उच्च सम्मान दियो । केन्द्रीय समितिको बैठक नै बसेर तीन दिनसम्म काँग्रेस केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । १३ दिनसम्म केन्द्रदेखि जिल्ला तहका पार्टी कार्यालयमा शोकपुस्तिका राखिने भएको छ र तेह्रौँ पुण्यतिथिमा केन्द्रदेखि जिल्लासम्म शोकसभा गरिने भएको छ ।
पार्टीबाट एउटा केन्द्रीय सदस्यलाई उसको मृत्युमा दिइएको यो शायद सबैभन्दा ठूलो सम्मान हो । काँग्रेसको यो निर्णय नवीन्द्रले पार्टी र नागरिक तहमा कमाएको इज्जत र गरेको योगदानको सम्मान हो । नेपाली राजनीतिमा एक निष्ठावान, इमान्दार, जुझारु र जनसेवामा समर्पित नेताको रूपमा प्राप्त पहिचानलाई काँग्रेसले स्थापित गरिदिएको छ । नवीन्द्रप्रति श्रद्धा व्यक्त गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा पुगेका नेता र जनसमूहले उहाँप्रति सम्मान मात्र व्यक्त गरेको देखिँदैनथ्यो, उहाँका कामको उच्च प्रशंसा र मूल्याङ्कन गरेको प्रतीत हुन्थ्यो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतका शोकसन्देशले नवीन्द्रको व्यक्तित्व अझ झल्काएको छ । उहाँको मृत्युले शायद आजको नेपाली राजनीतिका सञ्चालकहरूसँग पञ्चायतविरुद्धको राजनीतिक आन्दोलनमा सक्रिय रहँदाको सम्बन्धलाई स्मरण गराएको हुनुपर्छ । हरेक मृत्यु परिवार र आफन्तजनका लागि अपूरणीय क्षति हुन्छ । नवीन्द्रको मृत्युले पनि नेपालको राजनीतिमा नै त्यस्तै अनुभूति गराएको छ । उहाँको अभावको महसुस गराएको छ ।
२०२० पुस २४ गते काठमाडौंमा जन्मिनुभएका नवीन्द्रका योगदान विभिन्न चरणमा देखापरेका छन् । विद्यार्थी राजनीतिमा रहेर निरंकुश पञ्चायती शासनविरुद्ध आन्दोलन गर्दा उहाँ नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्यदेखि केन्द्रीय महामन्त्रीसम्म हुनुभयो । काठमाडौं महानगरपालिकामा २०४७ को जन आन्दोलनपछि २९ वर्षको उमेरमा पहिलो निर्वाचित उपप्रमुख हुँदा महानगरका आधारभूत पूर्वाधार तयार गर्न नवीन्द्रले निर्वाह गरेको भूमिकाकै जगमा आजको महानगरपालिका खडा भएको छ । दोस्रोपटक संविधानसभाको सदस्य रहँदा उद्योगमन्त्रीका रूपमा पद बहाली गरेपछिको छोटो समयमा उल्लेखनीय उपलब्धि हासिल गरेपछि फेरि एकपटक महानगरको उपप्रमुख हुँदाको सक्रियतालाई स्मरण गराएको थियो ।
नेपाली काँग्रेसको सरकारले कलकारखाना र उद्योगहरू समाप्त पारेको आरोप खेप्दै गरेका बेला यस क्षेत्रमा नवीन्द्रले गरेका काम व्यक्तिले चाहँदा पनि धेरै काम हुनसक्छ भन्ने उदाहरण बनेको थियो । सम्पूर्ण पूर्वाधार हुँदाहुँदै राज्य सञ्चालकका स्वार्थमा डुबेको तत्कालीन शाही औषधी लिमिटेड शायद नवीन्द्रलाई देशले मन्त्रीका रूपमा नपाएको भए फेरि उठ्ने थिएन । झाडापखालाको पुनर्जलीय उपचारको पर्याय बनेको ‘जीवनजल’ले पुनर्जीवन पाउन सकेको नवीन्द्रकै प्रयासमा हो । निजी र भारतीय सिमेण्ट कम्पनीको स्वार्थमा बन्द गराइएको उदयपुर सिमेन्ट कारखानालाई पुनर्जीवन दिँदा पनि यसले निकै चर्चा पाएको थियो । नेपालमा विदेशी लगानी बिथोलिँदै गएको परिवेशमा विश्व लगानी सम्मेलन गरेर मन्त्री नवीन्द्रराज जोशीले अन्तर्राष्ट्रिय समुदायलाई लगानीप्रति आश्वस्त पार्न गरेको प्रयासस्वरूप लगानीको सम्भावना फेरि बढेका हुन् । यस अतिरिक्त उद्योगमन्त्री छँदा नवीन्द्रको कार्यकालमा नीतिगत, कानुनी तथा संस्थागत र संरचनागत सुधारका कार्यक्रमहरू भएको अहिले पनि उद्योगीहरू सम्झना गरिरहेका छन् ।
नवीन्द्रसँगको मेरो सम्बन्ध न निकट, न टाढाको थियो । लौहपुरुष गणेशमान सिंहको आदर्शबाट प्रभावित भएर राजनीतिमा संलग्न भएका कारण म भावनात्मक रूपमा नवीन्द्रलाई नजिक ठान्थेँ । गणेशमान सिंह प्रतिष्ठानका अध्यक्षका रूपमा क्रियाशील रहेर मृत्युवरण गर्दा नवीन्द्रमा गणेशमानले बोक्नुभएको राजनीतिक भावना कति बाँकी थियो, त्यो समीक्षाको विषय बन्न सक्ला । तथापि गणेशमान सिंहको राजनीतिक आदर्शबाट प्रेरित भएर कुनै बेला हामी सँगसँगै राजनीतिमा थियौँ । दायित्व र पदीय हैसियत नवीन्द्रको माथि र ठूलो थियो र पनि, एक अर्काप्रतिको सम्मान एउटै थियो । नैतिकता र इमानदारीको राजनीति गर्न रुचाउने नवीन्द्र ‘लो प्रोफाइल’ मा रहेर आफ्नै ढंगमा काम गर्ने व्यक्तिका रूपमा पनि म प्रभावित रहेँ ।
संयोगवश नेपाल टेलिभिजनको समयचक्र कार्यक्रमको मसँगको अन्तर्वार्ता नै नवीन्द्रको अन्तिम मिडिया वार्ता भयो होला भन्ने लाग्छ । फागुन १० गते सोमवारका लागि मैले समयका लागि अघिल्लो दिन फोन गरेँ । बेफुर्सदका बावजुद मैले समय लिएको थिएँ, मित्रताको करबलमा । नवीन्द्रलाई अतिथि बनाउनुको कारण थियो– युवा पुस्तालाई राजनीतितर्फ कसरी आकर्षित गर्ने भन्ने अभियान । पछिल्लो समय युवापुस्तामा राजनीतिलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । राजनीति गर्नु खराब हो, असल हुने हो भने राजनीतिमा चासो नै दिनुहँुदैन भन्ने मानसिकता विकास भएको छ । यद्यपि हामी विद्यार्थी छँदा पनि यो सोच थियो । अझ पञ्चायतकालीन राजनीतिले जरो गाडिरहेका बेला प्रजातन्त्र फर्काउने अभियान अभिभावकका आँखामा सन्तान बिग्रने काम थियो । ज्यानको जोखिम उठाउनु हुन्थ्यो । अहिले त्यत्रो खतरा छैन, मानिँदैन र पनि, किन युवापुस्ता राजनीतिबाट निरपेक्ष रहन चाहन्छ ?
वास्तवमा यो सोच्नुपर्ने विषय हो । कम्तीमा लोकतन्त्रप्रति नयाँ पुस्ताको विश्वास जगाउन सकिएन भने भोलिको राजनीतिक नेतृत्व कस्तो होला ? राजनीतिक उत्तराधिकारीका रूपमा राजनीतिक दलका नेताहरूले कसलाई अघि सार्लान् ? राजनीति गर्नुको अर्थ कुनै निर्वाचन लड्नु वा कुनै पद प्राप्त गर्नुमात्र होइन । राजनीतिक रूपमा सचेत हुनु र जोसुकैका अलोकतान्त्रिक कदमका विरुद्ध उभिनका लागि नागरिक चेतना भर्न सक्नु पनि राजनीति हो । नवीन्द्रको अभियान कसरी चलेको थियो भन्ने जानकार नभएर पनि यो अभियानलाई साथ दिनुपर्छ भन्ने मान्यताका साथ मैले मेरो कार्यक्रमको अतिथि बनाएको थिएँ । त्यो वार्ता काँग्रेसभित्र भइरहेको अन्तरद्वन्द्व वा कम्युनिष्ट पार्टीभित्र चलेको सत्ता राजनीतिक स्वार्थका कारण उत्पन्न परिस्थितिमा केन्द्रित थिएन । त्यो दिन नवीन्द्रको व्यस्तता यस्तै कार्यक्रममा थियो । बानेश्वरको कुनै ठाउँमा कार्यक्रममा सहभागी भइरहँदा बीचैमा छाडेर कुराकानीका लागि उहाँ आउनुभएको थियो र कुराकानी सकिएपछि हनुमानस्थानमा छाडेर म घर फर्केको थिएँ ।
कसैले चासो नदिएको तर बहस गर्नुपर्ने यो विषयमा म नवीन्द्रसँग अरु गफिन चाहन्थेँ । मैले नयाँ पुस्ताका राजनीतिमा चासो रहने केही युवा युवतीको नाम लिएर उनीहरूलाई पनि भेट्न सुझाएको थिएँ । टेलिभिजनको कार्यक्रममा समयको सीमा थियो । बाहिर कार्यक्रममा दौडिरहने नवीन्द्रको व्यस्तता । तर पनि हामी दुई चार दिनमा नै भेट्ने प्रतिबद्धता साथ छुट्टिएका थियौँ । हामी दुबैलाई थाहा थिएन, भेटघाटको त्यो समय फेरि हामीबीच आउनेछैन ।
(लेखक नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हुनुहुन्छ ।)