प्रदूषणबाट बचौँ बचाऔँ (सम्पादकीय)
शुक्रबारदेखि काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा प्रदूषणको मात्रा बढेको छ । लामो समयदेखि वर्षा हुन नसकेको र अहिले पाँच सयभन्दा बढी स्थानमा डढेलो लागिरहेकाले हावामा धुलो तथा धुवाँ बढेको छ । वायुमण्डल स्थिर रहेका कारण धुलो र धुवाँ छरिन नपाएकाले वायुमण्डलको तल्लो भागमै बाक्लो तुवाँलो जस्तो देखिएको छ । जनजीवन प्रभावित हुने गरी बढेको यो प्रदूषणले पोखरा, काठमाडौँलगायतका सहर बढी प्रभावित छन् । तत्काल वर्षा हुने सम्भावना नरहेकाले यो अवस्था अझै केही दिन रहनसक्ने जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।
अहिलेको वायु प्रदूषणको अवस्था विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा निकै खराब अवस्थामा छ । विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आईक्यूएयर डट कमले आइतबार अपराह्न काठमाडौँको वायु गुणस्तर सूचक २०० को हाराहारीमा पुगेको देखायो । विश्वका अति प्रदूषित पाँच सहरकै सूचीमा काठमाडाँै पनि परेको थियो । पोखरा काठमाडौँभन्दा धेरै उच्च प्रदूषित सहर बनेको छ भने बुटवल, सिद्धार्थनगर, धनकुटा, इटहरीको अवस्था पनि काठमाडौँकै जस्तो छ । यो मापदण्ड अनुसार हावाको गुणस्तर सूचक ५० सम्म रहनु मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ भने ५० देखि १०० सामान्य र त्योभन्दा माथि हानिकारक मानिन्छ । दुई सयभन्दा माथि जानु घातक र तीन सयभन्दा माथि अति अस्वस्थकर मानिन्छ । वायुमा हानिकारक ग्यासको मात्रा बढेकाले मानव स्वास्थ्यमा गम्भीर प्रभाव पारेको छ । यो प्रदूषणले छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाएको चिकित्सकहरूले जनाएका छन् । अहिलेको प्रदूषणको अवस्थाबाट ज्येष्ठ नागरिक, बालबच्चा, दीर्घरोगी र मुटुका रोगी जस्ता मानिस बढी प्रभावित भएका छन् । स्वस्थ व्यक्तिलाई पनि प्रदूषणका कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा सङ्क्रमण हुनसक्ने चिकित्सकले बताएका छन् ।
काठमाडौँ उपत्यकालगायत मुख्य सहरको वायुमण्डलमा देखिएको यो प्रदूषणको अवस्था एक्कासि आएको होइन । भौगोलिक बनावटका कारण काठमाडौँको वायु प्रदूषण त्यसै पनि उच्च छ । बाक्लो बस्ती, फोहोरमैला, उद्योगधन्दा र विकास निर्माणका कामले प्रदूषण बढाउने गरेको छ । केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रबार एकाएक उच्च तहमा पुगेर खतराको अवस्थामा पुगेको हो । लामो समयसम्म पानी परेको छैन । देशभर पाँच सयभन्दा बढी स्थानमा डढेलो लागेको छ । चैत वैशाख हावाहुरी चल्ने समय हो तर पनि अहिले वायुमण्डल स्थिर रहेकाले धुवाँ र धुलोका कण छरिन नपाई प्रदूषण बढेको हो । डढेलो सुख्खा मौसममा हुने सधैँको समस्या भए पनि यसपटक भने एक दशकयताकै सबभन्दा बढी डढेलो लागेको छ । डढेलो नियन्त्रण प्रभावकारी हुनसकेको छैन । आवश्यक ऐन कानुनको अभावले पनि जनशक्ति व्यवस्थापन गर्न र डढेलो नियन्त्रणमा समस्या आएको छ । डढेलो नियन्त्रण र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय कमी छ ।
अहिलेको वायु प्रदूषणको अवस्था दुई–तीन दिनभित्र कम हुने अवस्था नरहेको अनुमान विज्ञहरूको छ । यो अवस्थाबाट बच्न तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न आवश्यक छ । अत्यावश्यक कामबाहेक घरबाहिर वा खुला ठाउँमा ननिस्कने, नबस्ने गर्न, मास्क लगाउन र आवश्यक सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । फोहोर जलाउने, सवारी साधन चलाउने, प्रदूषण बढाउने खालका विकास निर्माण र उद्योगधन्दा सञ्चालनमा रोक लगाउनुपर्छ । फोहोरको उचित व्यवस्थापन, प्रदूषण गर्ने कलकारखाना काठमाडौंबाट बाहिर सार्ने, मापदण्डबाहिरका सवारी साधन सञ्चालनमा रोक र रुखबिरुवा रोप्नु मध्यमकालीन र दीर्घकालीन उपाय हुन् । प्रदूषण कम गराउने कार्यक्रम र रणनीति उत्कृष्ट र व्यावहारिक हुन आवश्यक छ । मानव अस्तित्वलाई नै सङ्कटमा पार्ने वायु प्रदूषणलाई गम्भीरतापूर्वक लिएर सबै व्यक्ति, निकाय र सरकारले आ आफ्नो स्थानबाट योगदान गर्नुपर्छ ।