विचार/दृष्टिकोण |

हसनको काँधमा तान्जानियाको भारी

रामप्रसाद आचार्य
पूर्वी अफ्रिकी मुुलुक तान्जानियामा सङ्घर्षशील महिला सामिआ सुलुह हसन मुलुकको पहिलो राष्ट्रपति बन्नुभएको छ । त्यहाँका राष्ट्रपति जोन मगुफुलीको निधन भएपछि ६१ वर्षीया उपराष्ट्रपति हसन राष्ट्रपति बन्नुभएको हो ।
मगुफुलीको ६१ वर्षको उमेरमा मार्च १७ मा निधन भयो । मार्च १९ राजधानी दारेसलाममा हसनले राष्ट्रपति पदको सपथ लिँदै इमानदार भएर तान्जानियाको संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तान्जानियाको संविधानअनुसार उहाँले मगुफुलीको दोस्रो चरणको बाँकी अवधि सन् २०२५ सम्म काम गर्नुहुनेछ । तान्जानियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ ।
पूर्वराष्ट्रपति मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो । जनतामाझ लोकप्रिय बनेका कारण सन् २०२० मा दोस्रो कार्यकालका लागि पनि उहाँ नै निर्वाचित हुनुभयो । हसन पनि सन् २०१५ मा उपराष्ट्रपति बन्नुभयो । मगुफुलीको विश्वास पात्रका रूपमा काम गरेकाले सन् २०२० मा दोस्रो कार्यकालका लागि उहाँ पनि उपराष्ट्रपति बन्नुभयो । मगुफुलीको असमायिक निधनले उहाँमाथि राष्ट्रपतिको जिम्मेवारी आयो । अब उहाँले सबै राजनीतिक दलहरूलाई मिलाएर राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित र उन्नतिका लागि काम गर्नुपर्ने भएको छ । मुलुकको समग्र विकासका लागि लगानीको वातावरण
बनाउन आवश्यक छ ।
जन्जिबारस्थित सामान्य मुस्लिम समुदायमा सन् १९६० जनवरी २७ मा हसनको जन्म भएको हो । उहाँका बाबु शिक्षक हुनुहुन्थ्यो भने आमा गृहिणी । हसन सानैदेखि लगनशील र मिहिनेती हुनुहुन्थ्यो । त्यही कडा मिहिनेत, कडा परिश्रम साथै इमानदारीपूर्वक काम गरेकै कारण मुलुकको सर्वोच्च पदमा पुग्न उहाँ सफल हुनुभयो । मिहिनेतले नै मानिसलाई महान् बनाउँछ भन्नुहुने उहाँ कहिल्यै निराश बन्नुभएन । महिला अधिकारका लागि महिला नै सक्रिय हुनुपर्ने उहाँको मान्यता छ । जन्जिबारमा प्रारम्भिक र स्नातक तहको शिक्षा त्यसपछि स्वदेश तथा विदेशबाट उच्चशिक्षा हासिल गर्नुभएकी हसनले सहायकस्तरको कर्मचारीबाट सार्वजनिक
जीवन सुरु गर्नुभयो ।
काम र पढाइ सँगसँगै अगाडि बढाउनुभएकी उहाँ प्रान्तीय सरकारको मन्त्री, सांसद हुँदै केन्द्रीय सरकारमा पुग्नुभयो । उहाँ विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उपराष्ट्रपति बन्नुभयो । राष्ट्रपति मगुफुलीको असामयिक निधनले उहाँको काँधमा राष्ट्रपतिको जिम्मेवारी आयो । त्यसलाई उहाँले स्वीकार्नुभयो । अब हसनमाथि मुलुकको गरिबी र बेरोजगारी समस्या समाधान गर्दै शान्त र समृद्ध मुलुक बनाउन, वैदेशिक लगानी आकर्षित गर्नुपर्ने चुनौती छ । वैदेशिक लगानी भिœयाउन लगानीमैत्री वातावरण बनाउनुपर्छ । त्यसका लागि कानुनी तथा नीतिगत सुधार आवश्यक छ ।
असंलग्न आन्दोलनको सदस्य राष्ट्र तान्जानिया विकासोन्मुख मुलुक हो । नौ लाख ४५ हजार ८७ वर्ग किमि क्षेत्रफलमा फैलिएको यो मुलुकको जनसङ्ख्या साढे पाँच करोडभन्दा बढी छ । धेरै जनसङ्ख्यामा गरिबी छ । यहाँको मुख्य भाषा अङ्ग्रेजी र स्वाहिली हो । मुख्य धर्म इसाई र मुस्लिम रहेको तान्जानियामा पुरुषको औसत आयु ६३ वर्ष र महिलाको ६७ वर्ष छ । गरिबी र बेरोजगारी प्रमुख समस्या हो ।
अफ्रिका महादेशको सबैभन्दा अग्लो हिमाल किलिमन्जारो यहाँको प्रमुख पर्यटकीय आकर्षण हो । त्यसैगरी, जङ्गल सफारी र जङ्गल सिकार अर्को लोकप्रिय गन्तव्य हो । यहाँ ठूलो मात्रामा प्राकृतिक ग्यासको भण्डार छ भन्ने कुरा सन् २०१२ मा पत्ता लाग्यो । अब यसको उत्खनन र प्रयोगका लागि ठूलो विदेशी लगानी आवश्यक छ । विदेशी लगानी जुट्न नसकेका कारण ग्यास उद्योग खोल्न भने सकिएको छैन । पछिल्ला दिनमा केही भारतीय लगानीकर्ता त्यहाँ गएर विभिन्न क्षेत्रमा लगानी गर्दै छन् ।
लामो समयसम्म विभिन्न देशले उपनिवेश बनाएको यो मुलुक सक्षम राजनीतिक नेतृत्वको अभावले गर्दा पछाडि प¥यो । विकासका लागि राष्ट्रिय सहमति बन्न सकेन । अस्थिर राजनीति र अपरिपक्व राजनीतिक दलहरूकै कारण अर्थतन्त्रले गति लिएन । विदेशीले उपनिवेश बनाई आफ्नो स्वार्थ पूरा गरे अनि गरिब बनाएर छाडे । यो मुलुक सन् १४९८ देखि १६९९ सम्म पोर्चुगलको अधीनमा रह्यो । सन् १६९९ देखि १८८४ सम्म ओमानी अरबको नियन्त्रणमा गयो । त्यसपछि जर्मनीले नियन्त्रण कायम ग¥यो । सन् १९१६ मा बेलायत, बेल्जियम र दक्षिणी अफ्रिकी सेनाले आक्रमण गरेको तीन वर्षपछि बेलायतको अधिनमा गयो । सन् १९६१ मा तान्जानियाको एउटा भू–भाग तान्जानिका स्वतन्त्र भयो । त्यसको दुई वर्षपछि सन् १९६३ मा अर्को भू–भाग जन्जिबारलाई स्वतन्त्र बनाइयो । तान्जानिका र जन्जिबारलाई मिलाएर सन् १९६४ मा तान्जानिया एउटा सग्लो राष्ट्रका रूपमा उदय भयो ।
तान्जानियालाई स्वतन्त्र बनाउने आन्दोलनको नेतृत्व गर्नुभएका नेता जुलियस निरेरे मुलुकको पहिलो राष्ट्रपति बन्नुभयो । उहाँले विभिन्न पार्टी मिलाएर पार्टी अफ रेभुलुसन नामको एउटा पार्टी बनाउनुभयो । सन् १९६७ मा एक आदेश जारी गरी सोही पार्टीका नाममा एक दलीय शासनसहित समाजवादी आर्थिक नीतिको अभ्यास सुरु गर्नुभयो । यो राजनीतिक अभ्यासले अपेक्षित सफलता पाएन । मुलुकको आर्थिक अवस्थामा सुधार भएन । गरिबी र बेरोजगारी घटेन ।
सन् १९७८ मा युगान्डासित सीमा विवाद भयो । युगान्डाले तान्जानियाको केही भू–भाग कब्जा ग¥यो । त्यसको एक वर्षपछि सन् १९७९ मा तान्जानियाको सेनाले युगान्डामाथि आक्रमण ग¥यो । राजधानी कम्पाला कब्जा गरी त्यहाँका कुख्यात राष्ट्रपति इदी अमिनलाई सत्ताच्युत ग¥यो । तान्जानियाले गरेको राम्रो काम थियो यो, जसले युगान्डाली जनतालाई कुख्यात इदी अमिनबाट मुिक्त दिलायो ।
एक दलीय व्यवस्था सफल नभएपछि सन् १९९२ मा तान्जानियामा संविधान संशोधन गरी बहुदलीय व्यवस्था स्थापना गरियो । दलहरूबीच बहुदलीय राजनीतिक प्रतिस्पर्धा सुरु भयो । मुलुकले केही आर्थिक गति लिन थालेकै बेला सन् १९९८ मा दारेसलामस्थित अमेरिकी दूतावासमा अलकायदाले बम आक्रमण गरी जनधनको ठूलो क्षति पु¥यायो । त्यसपछि त्यहाँको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्यो । अर्थतन्त्र पुनः कमजोर भयो । सन् २००१ मा चुनावी विषयमा दलहरूबीच विवाद भयो । विपक्षीको ¥यालीमाथि सरकारले प्रतिबन्ध लगाएको भन्दै हिंसात्मक प्रदर्शन भयो । ३१ जनाको मृत्यु भयो भने सयौँ घाइते भए । यस घटनाले दलहरूबीच दूरी बढ्यो । राजनीतिक सहमति जुट्न नसक्दा त्यसयता अस्थिर राजनीतिले विकास भएन । भ्रष्टाचार बढ्यो, सुशासनको अनुभूति गर्न जनताले पाएनन् ।
सन् २०१५ मा एमसीसी पार्टीका नेता मगुफुली भ्रष्टाचारीलाई कारबाही गरी सुशासन र विकास गर्ने नारा दिएर सत्तामा आउनुभयो । उहाँलाई विकासको ‘बुल्डोजर’ पनि भनियो । आफ्नो पहिलो कार्यकालमा केही सुधारका प्रयास गर्नुभयो । जनताले उहाँलाई दोस्रो कार्यकालका लागि पनि अनुमोदन गरे । कोरोना महामारीले मुलुक थला प¥यो तर उहाँले कोरोना रोकथामबारे सकारात्मक दृष्टिकोण बनाउनुभएन । अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुभएन । घरेलु उपचार गर्ने भन्दै कोरोनालाई बेवास्ता गर्नुभयो । अन्त्यमा उहाँको आकस्मिक निधन भयो । उहाँको निधनका कारण सार्वजनिक गरिएको छैन । कोरोनाका कारण उहाँको निधन भएको भन्दै धेरै समाचार बाहिर आए पनि आधिकारिक पुष्टि हुन सकेको छैन ।
उहाँको निधनपछि राष्ट्रपति बन्नुभएकी उपराष्ट्रपति हसनले मुलुकलाई कोरोना महामारीबाट थप क्षति हुन नदिन अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्दै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको छ । कोरोना महामारी विश्वव्यापी समस्या भएकाले एक्लो प्रयासले यसको समाधान सम्भव छैन । हसनको काँधमा मुलुकको भविष्य बनाउने जिम्मेवारी आएको छ । एक कुशल महिलाले परिवारमात्र होइन, मु्लुक नै बनाउन सक्ने उदाहरण बन्नुभयो भने हसनको कार्यकाल ऐतिहासिक बन्नेछ ।
(लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।)