सङ्कटमोचनको सर्वौषधी एकता
निर्मलकुमार आचार्य
यतिखेर अनेकखाले सङ्कट देखापरिरहेका छन् । कोरोना (कोभिड १९) को कहरबाट पिण्डपानी छुटेको आभास गहिरिन नपाउँदै फेरि यसका भयावह रूप, रङ देखा पर्न थालेका छन् भने वातावरणीय प्रदूषणको आधिक्यले चिन्ता बढाएको छ । सबैखाले सङ्कटको समाधानका निम्ति सक्रिय एवं समन्वयात्मक प्रभावकारी भूमिकामा रहनुपर्ने राजनीतिक क्षेत्र स्वयं सङ्कटको जालोमा जेलिइरहनुले जनमानसमा शुभ सन्देश नदिइरहेको वस्तुस्थिति छ ।
राजनीतिक अस्थिरता, अशान्ति र पछ्यौटेपनको लामो पट्यारलाग्दो यात्रालाई सधैँभरिका लागि बिदाबारी गर्ने उद्देश्यले झन्डै दुईतिहाईको बल प्राप्त गरेका राजनीतिक दल तथा तिनका नेतृत्वले जनमतको यथोचित कदर गर्न नसकेकै हो । अन्यथा परिवर्तित राजनीतिक पद्धतिको सार्थकताका छेकछन्द देखाउन अर्धावधि पनि अपर्याप्त हुने थिएन । सङ्घमा मात्र होइन, प्रदेश तथा स्थानीय तहमा समेत अधिकांश स्थानमा अनुकूलता हुने गरी जनादेश रहेको हो, तैपनि ‘रातभरि करायो दक्षिणा हरायो’ को विडम्बना तेर्सिन पुगेको छ ।
सत्ताधारी नेकपाकै आन्तरिक व्यथाका कारण ‘बुलेट ट्रेन’ को गतिमा कुद्नुपर्ने राजनीति गति नपक्डँदै दुर्घटनाग्रस्त बनेको कलङ्क सितिमिती पखालिने देखिँदैन ।
दुर्घटनाको जिम्मेवार जसले जसलाई ठह¥याउँदै आरोप, प्रत्यारोप, आक्रोश र गालीगलौजका सिलसिला जतिसुकै घनीभूत बनाइएको देखिए पनि जनदृष्टिमा चाहिँ कसैको मान बढेको उदाहरण छैन । छिटछिटो फेरिंदो राजनीतिक दृश्य, परिदृश्यले रहस्यमय नाटकका अङ्कलाई समेत फिका साबित गरिरहेका छन् । प्रतिनिधिसभा विघटन, प्रतिनिधिसभा पुनःस्थापन, एमाले र माओवादी केन्द्रको पुनरवतरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरको फैसला पुनरावलोकन गर्न राखिएको माग समेत हिजो (बिहीवार) अस्वीकृत भएको अवस्था छ ।प्रतिनिधि सभा विघटन, प्रतिनिधि सभा पुनस्र्थापन, एमाले र माओवादी केन्द्रको पुनर्वतरणपछि अहिले आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरको फैसला पुनर्वलोकन गर्न राखिएको मागले थप के कस्तो दृश्य देखाउने हो ? हेर्न बाँकी छ । दृश्य परिवर्तनसँगै फेरिने राजनीतिक पल्लाको उतारचढावले एकातिर कौतूहल बढाएको छ भने अर्कोतिर अलमल, आशङ्का र अविश्वासको खाडल पनि खनिरहेको छ ।
साम, दाम, दण्ड, भेदको नीति पनि चलेकै छ । ‘म्युजिकल चेअर्स’ खेलजस्तो भएको छ सत्ताको राजनीति, घुमाइ र दौडाइ जारी छ तर सत्तासीन हुनेको मुहार पुरानै रहने हो कि नयाँ ? ठोकुवासहित भविष्यवाणी गर्नसक्ने अवस्था छैन । जेठ १५ मा बजेट ल्याउनैपर्ने र त्यसअगावै सरकारको नीति तथा कार्यक्रम पनि छलफलपश्चात् पारित भइसक्नुपर्ने भएकाले सरकारसम्बन्धी टुङ्गो नववर्ष प्रारम्भकै अवसरमा होला कि भन्ने लख मात्र काट्न सकिन्छ । कुरो सरकार कसको छ वा कसको नेतृत्वमा बन्ने ? भन्नुभन्दा पनि सङ्कट समाधान हुन्छ कि हुँदैन भन्ने मूल प्रश्न हो । सबैखाले सङ्कट निवारण गर्न सर्वप्रथम राजनीतिक सङ्कट मेटिनु जरुरी छ । सङ्कटलाई थाती राखेर केवल गठजोडमा ध्यान दिइँदा केही राजनीतिक दललाई तात्कालिक सत्तासुख त प्राप्त हुनसक्छ तर त्यसको दीर्घायु, सफलता र सार्थकता आकाशपारिकै चरो बनिरहनेछ । यस प्रकारको राजनीतिक अभ्यासले विगतमा अनुहार चम्किन नदिएको कटु यथार्थलाई ध्यानमा राखेर सङ्कट मोचनको स्थायी उपाय पहिल्याउनु वर्तमान आवश्यकता बनेको छ ।
सत्ताधारी नेकपाभित्र जस्तो खालको सङ्कट देखियो वा अहिले एमालेमा जस्ता सङ्कट देखिँदैछन्, यसको कारक तìव वा बीउको खोजी हुनुपर्छ । आफैँभित्रबाट उम्रिएको हो कि अरूले आएर बीजारोपण गरिदिएका हुन् ? यत्ति मात्रै छुट्याइए पनि समाधानका हजार उपाय निस्कन सक्छन् । सङ्कटको स्रोत आफूमै छ भने शुद्धीकरणका लागि महाभारत, रामायण, भागवत् के गर्दा हुने हो ? शान्तिस्वस्ती अथवा आत्मालोचना गरेरै भए पनि सच्चिने र मुलुकलाई सही दिशा दिने निःस्वार्थ प्रयत्नमा ढिलाइ हुनुहुँदैन । सङ्कटको बीउ अन्तैबाट रोपिएको हो भने त यत्ति ज्ञान मात्रैले पनि समाधानका दैला उघार्न मद्दत गर्नसक्छन् ।
झट्ट हेर्दा आन्तरिक फुटले बढाएको कलह साम्य हुन नसक्दा सुरसाको मुखझैँ सङ्कटको आयतन बडेमानको हुँदो देखिन्छ । वैचारिक, सैद्धान्तिक वा आदर्शगतभन्दा पनि व्यक्तिगत, गुटगत स्वार्थ, अहं र दम्भको परिणतिजन्य सङ्कटको संज्ञा पनि यसलाई दिन नसकिने होइन । केवल आन्तरिक कारण हो भने अझै पनि मिलाउन नसकिने अथवा मिल्नै नसक्ने रङ कसैको देखिँदैन ।
मिल्नु र मिलाउनुमा यहाँका नेता दुनियाँमै विलक्षण नरहेका होइनन् । तीन दशकयताको मात्रै इतिहास पल्टाउँदा पनि यसको राम्रो दृष्टान्त पाउन सकिन्छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही नहुने परम मन्त्रको सदाजपले राजनीतिक दललाई निकै लचिलो बनाएको छ । तब त पञ्चायती व्यवस्था बितेको केही वर्षमै गाली गरिएका तिनै पञ्चनेतालाई नेतृत्वमा राखी सत्तागाडी चलाइएकै हो । माओवादीलाई आतङ्ककारी भनी टाउकाको मोलसमेत राख्ने र राखिने दुवैथरिले एक, अर्कालाई नेतृत्व प्रदान गरेकै हुन् । जब मुख्य दुस्मन भनिएका दल वा नेता सत्ताका समान सारथि वा दूरयात्राका सहयात्री बन्न सक्छन् भने एउटै दल वा आस्थाभित्रका नेता वा समूह किन मिल्न सक्दैनन् ?
सत्ताकै लागि, पदकै लागि, अहं र गुटगत स्वार्थकै लागि सधैँभरि मरिहत्ते गरिरहने हो भने जनताले दुत्कार्ने मात्र होइनन्, लघार्ने सम्भावना पनि उत्तिकै छ । कुनै पनि दल फुटोस् भन्ने जनचाहना कहिल्यै रहेन । तैपनि दल फुटेको इतिहास छ, फुटी नहालेको तर फुट्ला फुट्लाजस्तो वर्तमान छ अनि अदृश्य, अज्ञात कहालीलाग्दो भविष्य पनि छ । कुनै एक दल फुट्दा आकाशै खस्ने चाहिँ होइन, कोही फुटेर जुटेका छन् त कोही जुटेर पनि फुटेजस्ता छन् । आफैँ फुट्न लागेको वा आफैँ फुटेको हो भने सङ्कटको बीउ आफैँभित्र रहेको मान्नुपर्छ, अरूका कारणले हो भने अझै पनि नखुलेको चेत कहिले खुल्ने होला ! पञ्चतन्त्रको एउटा रोचक र सान्दर्भिक कथा यतिखेर उदाहरणीय बनेको छ । कथासार यस्तो छ– ‘दक्षिण प्रदेशको एउटा नगरबाहिर बरको पुरानो रुख थियो । त्यसमा एउटा काग बस्थ्यो । नगरतिर उड्दै जाँदा उसले बाटामा शिकारीले पासो हालेको देख्यो र सोच्यो, कतै यो शिकारी त्यो बरको रुखमा पुग्यो भने यसका जालमा त्यहाँका चराचुरुङ्गी पर्नेछन् । चिन्तित काग तुरुन्तै रुखमा फर्किई सबै चरालाई भन्यो– ‘आइरहेको मानिससित पासो छ, यसले हामीलाई फँसाउन दाना फाल्नेछ, त्यसलाई विष सम्झनू ! त्यता जाँदै नजानू !’ कागले यत्ति भन्दा नभन्दै त्यो शिकारी आइपुग्यो, वरपर दाना छ¥यो, पासो थाप्यो र कुनातिर लुक्न गयो । सबै चरा हेरिरहेका थिए, अचानक परेवाहरू कतैबाट उड्दै आए । चराहरूले तिनलाई सतर्क गराएका पनि थिए तर मानेनन्, दानाको लोभमा परी शिकारीको फन्दामा पर्न पुगे । कुनै विद्वान्ले ठीकै भनेका हुन्– जिब्रोको स्वादले गर्दा पानीमा बस्ने माछाको जस्तै लोभी मान्छेको अन्त्य हुन्छ ।
जसरी रावणले पराई स्त्रीलाई हरण गर्दा पनि पाप स्वीकार गरेन । रामले सुनको हरिण हुने असम्भावना किन जानेनन् ? धर्मपुत्र युधिष्ठिर, जुवाको चालमा कसरी फस्न पुगे ? साँच्चै भन्ने हो भने मानिसलाई सङ्कट आइपर्दा बुद्धि भ्रष्ट हुन जान्छ । पासोमा परेपछि परेवाका मुखियाले भनेछ– ‘नडराउनू है, सङ्कटमा तर्सिएर काम बन्दैन, बुद्धि लगाउनुपर्छ, सबै मिलेर यो पासोसमेत लिएर उड्नुपर्छ । हामीले यसो गरेनौँ भने यो शिकारीले हामीलाई खत्तम पार्नेछ । अनि हेर्दाहेर्दै परेवाहरू पासोसहित उडे । शिकारी हेरेको हे¥यै’ भयो ।’ यो त भयो पुरानो प्रसिद्ध नीतिशास्त्र पञ्चतन्त्रको कथा । कथामा जस्तै नेपालको राजनीतिक सङ्कटका पछाडि पनि अदृश्य पराईशिकारीको हात छ भने त्यस शिकारीलाई मात खुवाउन पासोलाई एकताको सनासोले पक्डिई बडेमानको घनले किन नपिट्ने ?
संविधान सभाबाट संविधान बनेपछि मुलुकको स्वर्णिम रूपरेखा कोरिने सपना देखाएका राजनीतिक दलहरू चाहे सत्ताधारी होऊन् वा प्रतिपक्षी अनेकखाले सङ्कटको घडीमा कसरी अनुत्तरदायी बनिरहनसक्छन् ? दोष आफूभित्रै छ भने विरेचनमा विलम्ब गरिनु भएन, खेला अर्कैको हो भने सहमति र सहकार्यका लागि किन साइत कुरिरहनु ! सबैको ध्येय मुलुक र मुलुकवासीको सुख, शान्ति र समृद्धि हो भने यस महाभियानमा निषेधलाई बिदा दिई ऐक्यबद्धतालाई सम्मान गर्नैपर्छ । विगतका भूलचुक÷पाप पखाल्न पनि जनाकाङ्क्षालाई सर्वोपरि राख्नुको सुन्दर विकल्प कसैसित छैन ।
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)