विचार/दृष्टिकोण |

‘राजा’ पिराहा जेपी

शङ्करप्रसाद भेटवाल

जागृतप्रसाद भेटवाल (जेपी भेटवाल) सादा जीवन उच्च विचारमा अडिग स्वाभिमानी, सङ्घर्षशील, इमानदार, निष्ठावान व्यक्तित्वको नाम हो । मेरो आमाबुवाले भन्नुभएअनुसार उहाँ २००९ सालमा जन्मँदा घोप्टो परेर जन्मनुभएको थियो । त्यसबेला उहाँका हजुरबुवा दिल्लीध्वज भेटवालले नाति घोप्टो परेर जन्मियो, यसले राजा पिर्छ भनेर पिरोलिनुभयो र शान्ति स्वस्ति पनि गर्न लगाउनुभयो रे ! नभन्दै साँच्चै उहाँ सुरुदेखि नै राजा र पञ्चायती व्यवस्थाविरुद्धमा लाग्नुभयो ।
सानैमा जब हामी काभ्रेपलान्चोकको भगवती मावि जोगीथुम्का पढ्न जान्थ्यौँ, त्यसबेलादेखि नै उहाँ निर्भीक र निडर स्वभावको हुनुहुन्थ्यो । अलिकति पनि अन्याय शिक्षकले गरून् वा विद्यार्थीले वा अरूले उहाँ सहनुहुन्नथ्यो र तुरुन्त प्रतिकारमा उत्रने स्वभावको हुनुहुन्थ्यो ।
त्यसबेलाको एउटा सम्झना अझै ममा ताजै छ । सायद त्यो २०२५÷२६ सालतिर हो, हाम्रो गाउँको प्रधानपञ्च केशरमानसिंह बस्नेत हुनुहुन्थ्यो । त्यसबेला गाउँ फर्क राष्ट्रिय अभियान चलेको थियो । जताततै बाटो खोल्ने अभियान थियो । हामी विद्यार्थीलाई पनि प्रधानपञ्चले बाटो खन्नमा अनिवार्य सहभागी हुनू भन्ने उर्दी जारी गरे । तर, जागृत भेटवालले त्यति सानो उमेरमा पनि हामी कलिला विद्यार्थीलाई बाटो खन्न लगाउने र माथिबाट आएको बजेटचाहिरुँ प्रधानपञ्चले खाने ? भनेर हामी सबैलाई एउटा ढुंगा हातमा लिएर प्रधानपञ्चविरुद्ध उभ्याउनुभयो । हामी समूहमै प्रधानपञ्लाई ढुङ्गा हान्न गएका थियौँ तर गाउँका अन्य भलाद्मीले त्यो देखेर हामीलाई रोके । धन्न प्रधानपञ्चको ज्यान जोगियो । यो घटनापछि तत्कालीन प्रधानपञ्चले जागृत भेटवालको नाम अराष्ट्रिय तŒव (अत)मा लिपिबद्ध गरे रे ! त्यसको केही समयमै चितवन जिल्लाको भण्डारामा उहाँको परिवार बसाइँ स¥यो । त्यहाँ पनि उहाँलाई अतको नाममा चिनियो तर अशक्त, असहाय, पीडित वर्गको घाउमा मल्हम लगाउन उहाँ सफल हुनुभयो ।
भण्डारा गएपछि त उहाँले सामन्तविरुद्धमा जेहाद छेड्नुभयो । त्यहाँका सामन्तले सोझा साझा थारूहरूलाई खेतमा पानी सिँचाइ गर्नसमेत रोकेर एकलौटी गरिरहेको अवस्थामा उहाँले थारूहरूलाई सङ्गठित गरी सबैले पालैपालो खेतमा सिँचाइ गर्न पाउने व्यवस्था मिलाउनुभयो । त्यसपछि जागृत भेटवाल एउटा नेताका रूपमा उदाउनुभयो ।
त्यसपछि उहाँ काठमाडौँ प्रदर्शनी मार्गमा कानुनको विद्यार्थी भएर अध्ययन गर्न थाल्नुभयो । त्यसैबेला उहाँ तत्कालीन नेकपा(माले)को सङ्गठित सदस्य भई काम गर्न थाल्नुभयो ।
राजनीतिमा मात्र नभएर साहित्यमा समेत झर्रो आन्दोलन गर्नुभयो ‘नौलो साहित्य’ भन्ने पत्रिका छपाएर ह्रस्वमात्र लेख्ने अभियानको थालनी गर्नुभयो । यस पत्रिकाले तत्कालीन राजतन्त्र र फासिस्ट पञ्चायती व्यवस्थाविरुद्ध ठूलो जनमत सिर्जना ग¥यो । पछि साप्ताहिक रूपमा ‘प्रकाश’ नामक पत्रिका छपाएर ठूलो चर्चा बटुल्नुभयो ।
विक्रम संवत् २०४२÷०४३ तिर फासिस्ट पञ्चायती व्यवस्थाको निर्वाचनमा नेकपा (माले) पार्टीले क्रान्तिको लक्ष्यलाई बहुदलीय प्रतिस्पर्धासहितको जनवादका रूपमा विकसित गर्ने चिन्तनअनुसार नै यसलाई उपयोग गर्ने नीति लियो । त्यही नीतिअनुरूप जागृतप्रसाद भेटवाललाई तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवारका रूपमा पार्टीले उभ्यायो । उक्त निर्वाचनमा उहाँ सबैभन्दा बढी मत ल्याई विजयी हुनुभयो । त्यसपछि बसेको फासिस्ट पञ्चायती व्यवस्थाको राष्ट्रिय पञ्चायत बैठकमा जागृतप्रसाद भेटवाल र अर्का वामपन्थी नेता पद्मरत्न तुलाधरले बैठकबाटै बहुदलीय व्यवस्थाको उद्घोष गर्नुभयो । त्यसैको परिणामस्वरूप २०४६ मा बहुदलीय व्यवस्थाको घोषणा गर्न तत्कालीन राजा बाध्य हुनुप¥यो ।
बहुदल आएपछि २०४८ को आमनिर्वाचनमा पनि उहाँ संसद् सदस्यमा उठेर विजयी हुनुभयो । सार्वजनिक लेखा समितिको सभापतिण्समेत हुनुभयो । त्यहाँ रहँदा उहाँले अनियमितता र भ्रष्टाचार गर्नेप्रति खबरदारी गर्नुभयो । जेपी समाजमा रहेका विभिन्न विकृति, ढोङी तथा आडम्बरी प्रवृत्तिविरुद्धमा लड्नुभयो । श्रमप्रति सम्मान गर्ने, कृत्रिम बास्नाभन्दा पसिनाको सुगन्धमा जीवनको वास्तविकता देख्ने व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । राप्ती नदीमा उहाँको नेतृत्वमा तटबन्धको कार्य हुन सक्यो । जनताको खेतखेतमा सिँचाइ व्यवस्था गर्ने कार्य र जनताको आधारभूत आवश्यकताका रूपमा रहेको खानेपानी व्यवस्था गर्ने कार्यमा पनि उहाँले त्यत्तिकै सक्रियता देखाउनुभयो । चितवन जिल्लाका कुना–कुनामा उहाँले थुप्रै ठाउँमा कालोपत्रे गराउनुभयो । दलित, पीडित वर्गको उत्थानमा पनि उहाँको योगदान कम थिएन ।
अझै पनि थुप्रै काम गर्ने अभिलाषा उहाँको थियो । तर, विडम्बना क्यान्सरजस्तो घातक रोगले गर्दा चाहेका कतिपय काम पूरा गर्न पाउनुभएन । क्यान्सरसँग जुध्दाजुघ्दै पनि उहाँले जनताका धेरै समस्या हल गर्नुभयो । अन्त्यमा ६५ वर्षको उमेरमा उहाँले यो धर्ती छोड्नुभयो । उहाँले धर्ती छोड्दा उहाँलाई माया गर्ने थुप्रैै जनताले बलिन्द्र आँसु बगाए । आफ्नो आँखाका ‘राती गेडी’ गुमाउनुपर्दा कसलाई पीडा नहोला र ? समाजवादका लागि उहाँले गर्नुभएको सङ्घर्ष, क्रान्तिमा योगदान र चितवन जिल्लाको विकासमा अपूर्ण रहेका उहाँको सपना पूरा गर्ने अभिभारा भाबी पुस्ताको काँधमा छ । चैत २१ गते उहाँले धर्ती छोड्नुभएको तीन वर्ष पुग्दै छ । श्रद्धासहित स्मरणीय रहिरहनुहुनेछ– जेपी भेटवाल ।
(लेखक नेपाल सरकारका पूर्वउपसचिव हुनुहुन्छ ।)