विचार/दृष्टिकोण |

सामाजिक सञ्जालको लत

डा. रामहरि ढकाल

नेपाली समाजमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबर, ह्वाटसएप, इमोजस्ता विभिन्नखालका सामाजिक सञ्जाल प्रयोगमा आए पनि नेपालको सन्दर्भमा भने सबैभन्दा लोकप्रिय फेसबुक हो । विश्व परिवेशमा २००६ बाट यसको प्रयोगमा वृद्धि भए तापनि नेपालमा यसको व्यापकता २०१० तिरबाट भयो । बजारमा स्मार्ट फोन र दूरसञ्चार प्रदायकको डाटामार्फत इन्टरनेट सेवा प्रदान गर्न सुरु गरेबाट यसका प्रयोगकर्ताको संरचनामा वृद्धि भएको हो । हाल यसको उपयोग सकारात्मक र नकारात्मक दुवै ढङ्गले हँुदै आइरहेको छ ।
सकारात्मक पक्ष

यो एउटा आफ्ना विचार पोख्ने, प्रतिक्रिया बुझ्ने र अन्तरक्रिया गर्ने सहज माध्यम भएको छ । हिजोआज हरेक कुरा सामाजिक सञ्जालबाट थाहा हुन्छ । पुराना मित्रहरूसँगको भेट, खबर आदान–प्रदान ज्ञान र सूचनाको प्रचार, चेतना जगाउने, चुनाव प्रचार, उत्पादित सामग्रीको विज्ञापन, अनलाइन व्यापार, अपरिचित र अर्धपरिचितसँग परिचित हुने, पुराना घटनाको स्मरण गराउने, समाचार सम्प्रेषण, तस्बिरको सङ्ग्रह र संरक्षण महŒवपूर्ण तिथिमितिबारे स्मरण एवम् जानकारी आदिका लागि फेसबुक एउटा राम्रो माध्यम हँुदै आइरहेको छ । कुनै व्यक्तिका बारेमा बुझ्नुपर्दा पहिलो खोजी फेसबुकमै गरिन्छ ।
अहिलेको समाज सामाजिक सञ्जालबाट टाढा रहनै सक्दैन । यसले वास्तवमा व्यक्तिको अन्तर्राष्ट्रिय जगत्मा पहुँच पु¥याउने काम गरेको छ । व्यक्तिलाई यदाकदा कामको अवसर दिनेसमेत गरेको छ । आवश्यक पर्दा मद्दत गर्नेहरू खोज्न, मित्रहरूमा सहसम्बन्ध स्थापित गर्न र आफूलाई सूचना र सञ्चारमा अध्यावधिक गर्न यसको प्रयोग व्यापक रूपमा भइरहेको छ । कामको व्यस्तताले प्रत्यक्ष भेटघाट गर्न नपाउँदा सञ्जालले अप्रत्यक्ष रूपमा भेटाएर राहत दिने काम पनि गरेको छ । सामाजिक सूचना तत्काल पाएका छौँ । सञ्जालमा जोडिएका मित्रहरूको हालखबर निरन्तर थाहा भएको छ । अतः यसका सकारात्मक पक्षहरू धेरै छन् तर यसको दुरुपयोगले हाम्रो समाजमा धेरै खराबी ल्याएको छ । इन्टरनेटको दुनियाँमा भर्खर बामे सर्दै गरेका हामी नेपालीलाई यसको लत नै लागिसकेको छ ।
नकारात्मक पक्ष
हामी दिनमा कतिपटक यो सञ्जाल खोल्छौँ वा कति समय यसमा बिताउछौँ ? पटक–पटक खोल्छौँ र थाहै नपाई समय बिताउछौँ भने त्यो लत लागेको अवस्था हो र यो केवल समय र पैसाको बर्बादी हो । यसले गर्दा साइबर अपराध बढाएको छ । कहिलेकाहीँ फोटोको दुरुपयोग भएको छ । बौद्धिक चोरी भएको छ । घटनाको तत्काल सूचना सम्प्रेषण गर्दा कहिलेकाहीँ घातक नतिजा पनि निस्केको छ । घण्टा–घण्टामा नयाँ–नयाँ पोस्ट हाल्दै जाँदा अपराधीलाई सजिलो भएको छ । पराईसँगको नाताले नजिकका टाढा भएका छन्, पारिवारिक बेमेल, विछोड र सम्बन्धविच्छेदसमेत भएको छ । त्यस्तै ढाँटछलको व्यवहार, अतिरञ्जित फोटो पोस्ट, अश्लीलताको सुगमता, हेर्नै नसकिने घटनाको तस्बिरको पोस्टले मानसिक त्रास र अशान्ति ल्याउनु यसका नकारात्मक
पक्षहरू छन् ।
लामो समय फेसबुकमा बिताउनेहरू डिप्रेसनमा जान्छन् भन्ने नयाँ तथ्य सार्वजनिक भएको छ । ज्याकोब टम (२०१४) भन्छन्, ‘इन्टरनेट ब्लगले असुरक्षित यौन अभ्यास गर्न सिकाउँछन्, जुन स्वयम् ध्वंसात्मक व्यवहार हो ।’ ह्याकरहरूको फन्दामा परियो भने ठूला दुर्घटना निम्तिन सक्छन् । सुरक्षाको प्रश्न प्रयोगकर्ताका लागि त्यत्तिकै चुनौतीको विषय छ । अल्छीपना, आँखा र ढाडमा समस्या र मानसिक स्वास्थ्यमा समेत यसले नकारात्मक प्रभाव पार्दछ । यसले व्यक्तिलाई एकाङ्की बनाएको छ । वास्तवमा यसले असामाजिक पुस्ता निर्माण गरेको छ । अन्तर्राष्ट्रिय आतङ्कवादीले समेत यसको प्रयोग गरी सदस्यता विस्तार, अर्थ सङ्कलन, सूचना सङ्कलन गर्न र प्रपोगाण्डाका रूपमा यसको प्रयोग गर्दै आइरहेको छन् ।
सञ्जालको सही प्रयोग
यात्रा गर्दा आफ्नो योजना पोस्ट नगर्दा राम्रो हुन्छ । आवेगमा आएर यसो गर्नाले चोरी, हिंसा, हत्या, बलात्कारजस्ता आपराधिक योजना अपराधीले बनाउन सक्छन् । एकपटक राखेको फोटो वा सन्देश तपाईंंले हटाए पनि कतै अदृश्य रूपमा बसेको हुन्छ । अतः कुराकानी सन्देश वा पोस्ट प्रवाह गर्नु हुँदा अश्लिल, नितान्त व्यक्तिगत वा समाजलाई असर गर्ने कुराहरू नराख्नुहोस् । अपराधका घटना जस्ताको तस्तै नराख्नुहोस्, एउटा घटनाले अर्को घटना गर्न उद्यत गर्छ, एउटा घटनाको अपराधको तरिका अर्को
अपराधीले सिक्छ ।
कतिपय घटनाले व्यक्तिको मानसिकतामा नकारात्मक असर गर्छ । भद्र सूचना तथा ज्ञानको प्रवाह गर्नुहोस् । सामाजिक सञ्जालमा दुःखका कुरा धेरै नगर्नु राम्रो होला । किनकि तपाईंंको सन्देश हेर्नेहरू पनि अत्यन्त सुखी छैनन्, जति उनीहरू देखाउँछन् । आफ्ना कमजोरीका पक्ष प्रस्तुत गरेर आफूलाई थप कमजोर बनाउनु उचित हुँदैन, साथ दिनेहरू खास छैनन् दुनियाँमा । त्यसैले अरूको मूल्याङ्कनको पात्र नबन्नुहोस् । सन्देश प्रवाह गर्दा भद्र र शिष्ट भाषाको प्रयोग गर्नु राम्रो होला । सामाजिक सञ्जाल अरूलाई गाली गर्ने माध्यम नबनाउनुहोस् । आपसी दोहोरीका कुरा सार्वजनिक नगर्नुहोस् ।
तपाईंंको एउटा ‘स्टाटस‘ हेर्दा तपार्इं कुन प्रकृतिको मान्छे हुनुहुन्छ, अरूले चाल पाउँछन् । व्यक्तिगत सबै कुरा अरूलाई भन्नैपर्छ भन्ने छैन । संविधानले पनि गोपनीयताको हक एउटा मौलिक हकका रूपमा व्यवस्था गरेको छ । नचिनेको मान्छेलाई साथी नबनाउनुहोस् । तपाईंंका फेसबुके साथीहरू जीवनमा खासै उपयोगी हुँदैनन् । तपाईंका फोटोका लाइक र कमेन्टहरू तपाईंको जीवनमा काम लाग्दैनन् । कसैले लेखेका प्रशंसाका शब्दहरू प्रायः वास्तविक हँुदैनन् । अपरिचितसँग कुराकानी अगाडि नबढाउनुहोस्, धेरैको यसैका कारण जीवन बर्बाद भएको छ । नचिनेकोसँग कुरा गर्दागर्दै परिचितझैँ लाग्ने र पछि भेटघाट, घुमफिर, विदेश लैजाने आश्वासन, विवाहको नाटक, धेरै माया गर्ने मान्छेको नाटक आदि नाटक मञ्चन हँुदै भ्रममा फसाउँछन् ।
फेसबुकमा साथी बनेर इमेलमार्फत करोडौँको आश्वासन देखाउँदै ठग्नेहरू बढेका छन् । सुरुमा ठूलो धन–राशि पाउने वा विवाह गर्न पाउने आशामा थोरै–थोरै लगानी गर्नुपर्ने बताउँदै सकेसम्म ठग्छन् र अन्ततः सञ्जालबाट हराउँछन् । काल्पनिक नाममा सञ्जाल चलाउने
(क्याट फिसिङ) देखि सावधान रहनुपर्छ । यिनीहरूको नाम, ठेगाना, तस्बिर सबै नक्कली हुन्छन् । सुरुमै केही थान फोटो हालेर लोभ्याउँछन् र पछि धोका दिँदै गायब हुन्छन् । फेसबुकले दिएका विभिन्न सुविधाको प्रयोग गर्दै फोटो वा पोस्ट नराख्नुहोस् । यस्ता नतिजा वास्तविक हुँदैनन् ।
यस्ता सञ्जालबाट तपाईंको चियो गर्ने धेरै छन् । जसले खराब मनसायले तपाईंलाई गलत गन्तव्यमा पु¥याउन सक्छन् । साथी वा ‘फलोअर’को सङ्ख्या बढी भयो भनेर दङ्ग नपर्नुहोस् । यो घातकसमेत हुने गर्छ । यस्ता सबै साथी विश्वासपात्र नहुन सक्छन् । अतः बुद्धिमत्ता र सुरक्षित ढङ्गले सामाजिक सञ्जालको प्रयोग गर्नुहोस् तर कतै यसको लत पो बसिसक्यो कि तपाईंमा ? मूल्याङ्कन गर्नुस् त आफैँलाई ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)