महिलाले किन अपराध गर्छन् ?
प्रकाशकुमार अधिकारी
गत साउनमा काठमाडौँको गोंगबुमा एउटा सुटेकसभित्र टाउको काटिएको शव र त्यसको केही पर झोलामा टाउको भेटिन्छ । अधबैँसे पुरुषको उक्त शव कसको हो र किन यति ‘लोमहर्षक’ हत्या कसले गरेको होला भन्ने स्वाभाविक जिज्ञासा हुने नै भयो । अनुसन्धानले हत्यारा महिला भएको खुल्यो । हत्या गर्ने तरिका असामान्य खालको देखियो ।
अपराधबारे वैज्ञानिक अध्ययन गर्ने पहिलो व्यक्ति सेसरे लोम्ब्रोसोका अनुसार महिला अपराधीहरू समकक्षी पुरुषभन्दा बढी दारुण हृदयका हुन्छन् र उनीहरूको नृशंसता परिष्कृत र पैशाची हुन्छ । गोंगबु घटनामा पीडित पुरुषलाई आफ्नो निवासमा बोलाएर पहिला दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट मिसाई खुवाएर लठ्ठिएपछि अण्डकोषमा हम्मरले प्रहार गरिन्छ । त्यसपछि सलले घाँटी कसिन्छ । पीडित मरेको यकिन गरेपछि भान्छाकोठामा घाँटीमाथिको भाग छिनाएपछि ट्वाइलेटमा लगेर घुँडामाथिको भाग छिनाएको, जिउ सुटकेसमा तथा खुट्टा र टाउको जेब्रा झोलामा राखेर छुट्टाछुट्टै स्थानमा फालिएको थियो । हत्या यति सुनियोजित थियो, दुई वटा खुकुरी र हम्मरको प्रयोग गरी यो वारदात सम्पन्न गरिएको थियो । पुरुष जननेन्द्रियलाई
निसाना बनाएको देखियो ।
अपराधको अध्ययन अनुसन्धान पौरुष आपराधिक प्रवृत्तिलाई नै आधार मानेर हुने गरेकोले अपराधलाई पुरुष चरित्र भनी चित्रित गरिन्छ । पुरुषको आपराधिक प्रवृत्तिको व्याख्या विश्लेषण नै अपराधको साङ्गोपाङ्गो व्याख्या विश्लेषण हो भनिन्छ । बालक, छोरो र पुरुषको तुलनामा बालिका, छोरी र महिलाको सामाजिकता र पारिवारिक जिम्मेवारी तुलनात्मक रूपमा सघन हुने भएकोले सामान्यतः महिलाले कानुनको पालन गर्छन् भन्ने परम्परागत विश्वासले यस्तो भएको हो । यो कुरा तथ्याङ्क र दैनिक कार्यव्यवहारबाट पनि देखिएको छ । अपराध गर्ने भनेका बहुसङ्ख्यक पुरुष हुन्छन् । त्यसमा पनि युवाको सङ्ख्या उल्लेख्य हुने गरेको छ ।
समाजमा विद्यमान आर्थिक, शैक्षिक, सांस्कृतिक संरचनाहरूले महिलालाई पुरुषको दाँजोमा तल पारेको छ । शारीरिक र भावनात्मक हिसाबमा पनि महिलाहरू पुरुषभन्दा फरक छन् । यी दुईको शरीर र मस्तिष्कको बनोट फरक फरक हुन्छ । हर्मन पनि फरक हुन्छ । पुरुष भन्ने वित्तिकै स्वतन्त्र, स्वायत्त, बुद्धिमान, जाँगरिलो, दृढ, विवेकशील, भावनामा नबहकिने, प्रतिस्पर्धा गर्नसक्ने, लक्ष्यभेदी र वस्तुपरकजस्ता गुणहरू भएको र महिला भनेकी आश्रित, सहनशील–निष्क्रिय, प्रतिस्पर्धा गर्न नसक्ने, परिपक्वता नभएकी, लक्ष्यभेद गर्न नसक्ने, बुद्धि नभएकी, भावनामा बहने, आत्मपरक, असक्षम, अबला र अविवेकीको रूपमा हेर्ने बुझ्ने गरिन्छ । पुरुषलाई सकारात्मक गुणहरूले चित्रित गरिन्छ तर उनीहरूले गर्ने क्रियाकलाप नकारात्मक हुनसक्छ किनकि अपराध गर्ने धेरैजसो पुरुष हुन्छन् । त्यसैगरी महिलाहरूलाई नकारात्मक गुणहरूले चित्रित गरिन्छ जबकि महिला कानुनको परिपालनामा अब्बल दर्जाका पर्छन् ।
समाज र परिवारको निगरानीमा रहनुपर्ने कारणले महिलामा सानैदेखि अनुशासनमा बसी मर्यादाको पालना गर्ने प्रवृत्ति विकसित भएको हुन्छ । व्यवस्थित र नियमबद्ध जीवनको दैनिकीमा रहने भए पनि राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महिला मुक्ति वा सशक्तीकरणले महिलाको बदलिँदो आपराधिक प्रवृत्ति र अपराधको बढ्दो सङ्ख्याका लागि जिम्मेवार रहेको निष्कर्षहरू छन् । घरबाहिर गएर पेसा, व्यवसाय गरेर व्यक्तित्व विकास गर्ने प्राप्त अवसरले महिलालाई हीनता, निराशा र कुण्ठाबाट छुटकारा मात्र दिएन अपितु पेसा व्यवसायसँग सम्बन्धित अपराध गर्ने मौका पनि उपलब्ध गरायो । आधारभूत मानवीय विवेकका आधारमा महिला र पुरुष समान हुन् भने पुरुषले गरेका काम महिलाले पनि गर्न सक्ने भए । महिला पनि मानिस नै भएकोले इच्छा, चाहना र महìवाकाङ्क्षा हुने नै भए । पुरुषसरह नै कानुनी र गैरकानुनी दुवै प्रकारका गतिविधिमा महिलाको पनि प्रतिस्पर्धा हुने भयो । त्यसैले समाजमा महिलाले लिएको अग्रतासँगै महिला कसूरदारको सङ्ख्या पनि बढेको छ । महिलाले गर्ने अपराध हत्या, कुटपीट, आगजनी, डकैतीजस्ता हिंसात्मकभन्दा सम्पत्ति र आर्थिक कारोबारसँग सम्बन्धित दिउँसोको समयमा पसलमा चोरी, ठगी र भ्रष्टाचारका अपराध बढी हुने गरेको देखिन्छ ।
महिलामा प्रतिक्रिया चाहने मातृवात्सल्य र प्रेम इच्छाको बहुलता हुन्छ । शुद्ध र सभ्य यौनाचारमा टिकेर सुरक्षा र माया गर्ने परिवार, बफादार लोग्ने महिलाको जीवनको आदर्श हो । यो पाउने इरादामा उनीहरू कुनै पनि कार्य गर्न तत्पर हुन्छन् । यसमा यौन वा अन्य चाहनाको भूमिका गौण हुन्छ । त्यसैले होला महिलाहरू आक्रामकभन्दा बढी रक्षात्मक पाइएको छ । महिलाले गरेका अधिकांश हिंसाको वारदात प्रतिकारमा हुने गरेको भेटिएको छ । महिलाहरूले आफ्ना परिवारका सदस्य वा नजिकको साथीका विरुद्ध हिंसात्मक अपराध गरेको पाइए पनि घरेलु हिंसा, बाल यौनाचारजस्ता अपराध गर्नेमा भने पुरुष नै अग्रणी देखिन्छन् । हिंसात्मक अपराध गर्नुपर्दा पनि महिलाले फरक तरिका अपनाएको पाइएको छ ।
महिलामा आपराधिक उद्दीपकहरूको अध्ययन गर्दा मूलतः प्रजननको चरणमा अपराध हुने गरेको पाइन्छ । मासिक स्राव हुँदा त्यसले महिलामा आफू कहिल्यै पुरुषसरह हुन नसक्ने कुरा पक्का भएको स्मरण गराउँछ, त्यसपछि हुने पीडाले उनीहरू अपराध गर्नतिर उन्मुख हुन्छन् । मासिक धर्म हुँदा वा बन्द हुँदा र गर्भवती भएको समय माहिलाहरूमा हुने हर्मोनल असन्तुलनले महिलालाई अपराधतिर प्रवृत्त गराउँछ भन्ने अध्ययनका निष्कर्षहरू छन् । यो अवधिमा अपराध गरेका महिलालाई कम सजाय भएको विदेशी अदालतका फैसलाहरू छन् ।
प्रसवोत्तर अवसादको कारण महिलाले नवजात शिशु मारी अपराध गर्ने गरेको पाइएको छ । त्यस्तो बेला हुने हर्मोनल गडबडीले महिलाको मस्तिष्क र आचरण प्रभावित भई हुने शारीरिक परिवर्तनले गर्दा यस्ता प्रकृतिका अपराध उनीहरूले गर्ने गरेको पाइएको छ । यो अवस्थालाई अदालतले आंशिक प्रतिरक्षाको आधारको रूपमा स्वीकार गरेका दृष्टान्तहरू छन् । हुन त नवजात शिशुको हत्या अन्य कारणले पनि भएको हुनसक्छ । पालनपोषण गर्न नसक्ने अवस्था, अवैध वा सामाजिक रूपमा अस्वीकृत गर्भधारणबाट जन्मिएकोले शिशुप्रति आत्मीयता र दयाभावको कमी वा अन्य सामाजिक मनोवैज्ञानिक कारणले पनि महिलाबाट शिशु वधको अपराध भएको हुन सक्छ ।
सामान्यतया परिवारमा कमाउने बाबु हुन्छ र ऊ घर बाहिर व्यस्त रहन्छ । आमाले घरमा बसेर घरधन्दाको चुलोचम्को गर्ने, केटाकेटी हुर्काउन बढाउनेमा सेवा सुसार गर्ने काममा अल्झिरहनु पर्छ । छोराहरूले सानैदेखि बाबु र आमाले पूरा गरिरहेको यो जिम्मेवारीलाई नजिकबाट नियालिरहेका हुन्छन् । उनीहरूमा पनि बाबुले जस्तै जिम्मेवारी पूरा गर्ने चाहनाको विकास हुन्छ । केटाकेटीहरूको प्रारम्भिक पालन पोषणको अधिकांश समयमा बाबु बाहिरै रहने गरेको यथार्थले छोराहरूमा सकेसम्म आमादेखि स्वतन्त्र भएर आमाभन्दा फरक भएर रहनुपर्ने रहेछ भन्ने भावनाको विकास हुन्छ । बाबुले गरेको बाहिरफेर गएर संसार घुमेर पैसा लिएर आउने कामलाई पौरखको रूपमा बुझेका हुन्छन् । क्रमशः केटाहरूमा महìवकाङ्क्षा बढ्दै जान्छ । आफूलाई महìवपूर्ण बनाउने चाहनाले सरल, सुधो, भलादमीजस्ता चारित्रिक गुणहरूलाई परित्याग गरेर उनीहरूमा आक्रामक प्रवृत्तिको विकास भएर उद्दण्डतातिर लाग्छन् । यसले उनीहरूलाई समाज विरोधी, विद्रोही र आपराधिक गतिविधितिर डो¥याउँछ ।
अर्कातिर छोरीमा आमाको सामीप्य रहन्छ । उनी ‘रोल मोडल’ अर्थात् आदर्श आमाको अनुकरण गर्दै हुर्किन्छिन् । भावनात्मक परिपक्वतासँगै शनैः शनै स्त्रीत्वका सांस्कारिक पाठ निश्चयात्मक तवरले सिक्दै जान्छिन् । सामान्यतया सुन्दर घर–व्यवहार, सरसफाइ तथा सामाजिक सुसम्बन्धको चाहना उनका लागि महìवपूर्ण हुँदै जान्छ । पारम्परिक रूपले असल र सुयोग्य बर प्राप्तिका लागि छोरीमा ३२ लक्षण हुनुपर्ने पाठ सिकाइन्छ । शिक्षामा भन्दा रूप, शृङ्गार र सौन्दर्यको प्रसाधनमा बढी ध्यान जान थाल्छ । केटाहरूको मन जित्नका लागि आफूलाई आकर्षक देखाउने राम्रो लुगा र प्रसाधन सामग्री किन्ने पैसाको जोहो गर्ने पनि अपराध
गर्न सक्छन् ।
महिलाहरू आपराधिक कार्यतिर प्रवृत्त हुनुको अर्को कारण उनीहरूमा रहेको यौन व्याकुलता हो भन्ने फ्रायडको निष्कर्ष छ । आफूसित पुरुषको जस्तो लिङ्ग (शिस्न) नभएका कारण महिलाले आफूलाई तुच्छ सम्झी लघुताभाषको अनुभूति गर्छन् । महिलाले बालिका हुँदैको बेलादेखि आफ्नो जननेन्द्रिय पुरुषको तुलनामा हीन भएको महसुस गर्छन् र यस्तो लिङ्ग हुनु भनेको उनीहरूका लागि एक प्रकारको दण्ड हो भन्ने उनीहरूको बुझाइ रहन्छ । यो विचारबाट उनीहरूमा ईश्र्यालु र बदलाको भावनाको विकास हुन्छ । यसले उनीहरूमा शरीरको प्रदर्शन गर्ने र स्वपीडन रतीमा रमाउने बनाउँछ । उनीहरू पुरुषको मन जित्न र माया पाउन राम्रा आकर्षक भेषभूषामा सुसज्जित हुने, मोहित पार्ने शारीरिक सुन्दरता बनाउने र प्रदर्शन गर्ने प्रयासमा दिलोज्यान दिन्छन् । पुरुषमा भएको
‘ओडिपल’ कुण्ठा नियन्त्रण गर्न सकेको फलस्वहरू उसमा सुझबुझको विकास भएको हुन्छ तर महिलामा दह्रिलो सुझबुझको विकास भएको हुँदैन । उनीहरूमा ‘इलेक्ट्रा’को कुण्ठा (बाबुप्रति प्रेमको झुकाव र आमाप्रति घृणा) को भावनालाई काबुमा राखिरहनुपर्ने डर हुँदैन । यो कुण्ठाले अपराध गर्नमा महिलालाई अग्रता दिन्छ तर उनीहरूको सहनशीलता र खासगरी बाबुको वा अन्य पुरुषको प्रेम एवं मायाको बलियो चाहनाले उनीहरू त्यो भावनालाई दबाएर राख्छन् । उनीहरू ‘पुरुषले बनाएको कानुन’ उल्लङ्घन गर्न चाहँदैनन् । त्यस्तो काम गरेमा उनीहरूप्रतिको पुरुष प्रेम अनुमोदन हुँदैन र प्रेम पनि टिक्दैन साथै पुरुषले गरिरहेको माया पनि टुङ्गिन्छ भन्ने उनीहरूको दृढ विश्वास हुन्छ । उनीहरूमा ईश्र्याको आग्रह पहिलेदेखि नै हुने भएकोले स्व केन्द्रित हुन्छन् र सानातिना पारिवारिक र व्यक्तिगत कुरामा बढी ध्यान दिन्छन् । सारमा, पुरुषजस्तै बन्न चेष्टा गर्ने महिला नै कुकर्मतिर प्रवृत्त हुन्छन् । आफ्नो जन्मजात सहनशीलतालाई स्वीकार गर्न नचाहनुको परिणाम नै अपराध गर्नु हो । यस्ता महिलाहरू पुरुष जननेन्द्रियको दाबी गर्ने चाहना राख्ने इरादाले प्रेरित हुन्छन् । यसैले उनीहरूलाई आक्रामक प्रतिस्पर्धातिर डो¥याउँछ । यस्तो चाहना वास्तवमा निराशाजनक हो र अन्ततोगत्वाः विक्षिप्ततामा गएर
उनीहरू ठोक्किनुपर्छ ।
नेपाली सन्दर्भमा हेर्दा दुई प्रकारको प्रवृत्ति देखिन्छ । एउटा विश्वव्यापी रूपमा जे छ नेपालमा पनि त्यही दोहोरिएको छ भने विशिष्ट स्थानीयता र परिवेशले उब्जाएको मौलिक आपराधिक प्रवृत्ति अर्को छ ।
यौन हाम्रो समाजमा नियमन गरिएको आचरणभित्र पर्छ । महिलाहरूले विवाहइतर यौन सम्बन्ध राखी गर्भवती हुने जटिलताले गर्भपतन, भ्रुण हत्या र जातक मार्ने अपराध गर्ने गरेको पाइन्छ । लोग्ने परदेश गएका स्वास्नीले र विधवाको पुनर्विवाहमा हाम्रो समाज सर्वसम्मत नहुँदा विधवाले अरूसँग यौन सम्बन्ध राखी गर्भवती हुँदा महिलाले लोकलाज र सामाजिक निन्दाबाट बच्न गर्भपतन वा जातक दबाउने अपराध गर्ने गरेको पाइन्छ । अविवाहित युवतीले असुरक्षित यौन सम्बन्ध राखी बच्चा जन्माउँदा पनि उनीहरू अपराधमा लपेटिन्छन् । नवजात शिशुलाई सडक, जङ्गल, झाडीहरूमा त्यसै फाल्ने वा अस्पतालमा बच्चा जन्माई भाग्नेजस्ता अपराधहरू महिलाले एक्लै वा पुरुष साथीको
मिलेमतोमा गर्छन् ।
महिलाले गर्ने अर्को अपराध बहुविवाहको हो । विवाहित पुरुष हो भन्ने जानी जानी उसकी जोई हुन आउनेले बहुविवाहको कसुर गर्छन् । प्रेममा कथित धोका दिएको भनेर केटाले आत्महत्या गरेका वारदातमा केटीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अपराधमा अभियुक्त बनाइन्छ । देशभित्र वा बाहिर महिलालाई बेश्यावृत्तिमा लगाएर मानव बेचबिखनको अपराध गर्ने धेरैजसो महिला नै हुन्छन् ।
आधुनिक समाजका महिलाहरू सार्वजनिक जीवनमा पुरुष जत्तिकै प्रतिबद्ध र जिम्मेवार छन् । उनीहरूको पृथक सामाजिकताले आफ्ना आचरणले आफ्ना निकटवर्ती र खास गरेर आफूमा निर्भर बालबालिकाप्रति पार्ने असरहरूकाबारे पुरुष समकक्षीभन्दा बढी चिन्तित हुन्छन् । आजभन्दा सरदर ३० वर्ष अगाडि महिलालाई अपराध गरेको होला भनेर कमै शङ्का गरिन्थ्यो । शङ्का गरिएको अवस्थामा पनि धेरै कमलाई मुद्दा चलाइन्थ्यो र मुद्दा चलाइएका मध्ये पनि कमै मात्र अपराधी सिद्ध हुन्थे । महिलालाई कैदमा राखी दिएको दण्डको प्रभाव पुरुषको तुलनामा बृहत्तर हुन्छ । यसले पारिवारिक विघटन ल्याउँछ । महिलाहरू पुरुषको जस्तो हुलदङ्गा नगरी दूर्दशाले ल्याएको बेचैनीलाई कारागारका कर्मचारीले थाहै नपाउने गरी सहेर बस्छन् ।
गम्भीर अपराधमा कसुरदार ठहरिने ८० प्रतिशत पुरुष र जेलको ३ प्रतिशत जनसङ्ख्या महिलाको हुने आँकडा संसारभरिकै हो । यसबाट मामूली खालका अपराधहरू मात्र महिलाले गर्न गरेको खुल्छ । फौजदारी न्यायप्रणालीका सबै ‘अधिकृतहरू’ ले महिलालाई मृदु व्यवहार गर्ने गरेको पाइन्छ । यो सुविधाप्राप्त वा सुसभ्य व्यवहार हुनुमा पुरुषहरूको महिलाप्रतिको ‘हिफाजती मनोदृष्टि’ हो । पुरुषहरू महिलालाई आरोप लगाउन मन पराउँदैनन् किनभने उनीहरू महिलालाई दण्डित गर्ने इच्छा पनि राख्दैनन् । त्यसैले महिलालाई ‘अपराधी ठह¥याउने’ फैसला कमै हुन्छन् ।
(लेखक न्याय सेवामा कार्यरत हुनुहुन्छ ।)