विचार/दृष्टिकोण |

काठमाडौँको वायुमण्डलमा विष

अमरेन्द्र यादव
सन् २०२० लाई मानव इतिहासले विश्व कोरोना महामारीको त्रासदीपूर्ण वर्षका रूपमा सम्झिनेछ । तर, यस अवधिमै विश्वस्तरमा वनमा लाग्ने डढेलोको घटना पनि इतिहासकै उच्च बिन्दुमा पुग्यो । खासगरी अमेरिका, अस्टे«लिया र ब्राजिललगायतका मुलुकका जङ्गलमा डढेलोको मात्रा ह्वात्तै बढ्यो । नेपालको लिखित इतिहासमै पनि यस वर्षको चैत महिनामा सर्वाधिक स्थानमा वनमा डढेलो लागेको रेकर्ड स्थापित भएको छ । यसले गर्दा काठमाडौँ उपत्यका र यसआसपासका क्षेत्रका वायुमण्डल हालसम्मकै सबैभन्दा बढी प्रदूषित भएको छ । विगतका वर्षमा भारतको हरियाणा र पञ्जाव प्रान्तका हजारौँ किसानले धान काटेर खेतमै पराल जलाएपछि राजधानी दिल्लीको वायुमण्डल चौपट्टै रूपमा प्रदूषित भएको समाचार हामीले पढ्ने गथ्र्यौं । यसपटक सर्वाधिक वायु प्रदूषित सहरका रूपमा काठमाडौँ आफैँ त्यस्तै समाचारको शीर्षक बनेको छ । यसमा वनमा लाग्ने डढेलोका घटनाको सर्वाधिक योगदान छ ।
चैत १३ गते शुक्रबारदेखि काठमाडौँसहित देशभरका विभिन्न स्थानका वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क अत्यधिक बढेको छ । तुँवालोले भिजिबिलिटी (दृश्यक्षेत्र) स्वाट्टै घटाएको छ । फलस्वरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस दिन केही घण्टा हवाई सेवा रोकिनुपरेको थियो । घरबाहिर निस्किएकाले आँखा पोलेको र खोकी लागेको महसुस गरे । यो खतराको घण्टी हो । यसको गम्भीरतालाई महसुस गर्दै स्वास्थ्य मन्त्रालयले अनावश्यक रूपमा घरबाहिर ननिस्किन र बाहिर निस्किनै परे मास्क लगाउन आग्रह गर्दै सूचना जारी ग¥यो । शिक्षा मन्त्रालयले पनि आकस्मिक बैठक बसेर चैत १७ देखि २० गतेसम्म चार दिन देशभरका सबै शिक्षण संस्था बन्द गर्ने निर्णय ग¥यो ।
केही दशकअघिसम्म काठमाडौँ उपत्यका विश्वकै सफा, सुन्दर र हरियाली सहरका रूपमा गनिन्थ्यो । तर, पछिल्लो केही दशकदेखि काठमाडौँको वायुमण्डल प्रदूषित हुन थालेको छ । यातायातका साधनबाट निस्किने धूँवा, विकास निर्माणका कामबाट हुने प्रदूषण, उद्योग–कारखाना र इँटाभट्टाको धूँवा, धूलोले सङ्घीय राजधानीको हावा प्रदूषित बन्दै गएको हो । त्यसमा देशका धेरै स्थानमा जारी डढेलोको धूँवा काठमाडौँको वायुमण्डलमा मिसिएपछि अवस्था झन् भयावह भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको वायु गुणस्तर सूचकाङ्कअनुसार ५१ देखि १ सयसम्मको वायुको स्तरलाई सामान्य मानिन्छ । दुई सय एकभन्दा माथि पुगे धेरै अस्वस्थकर र तीन सयभन्दा बढी भए त्यसलाई घातक मानिन्छ । चैत १३ गते शुक्रबार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क ४७० रेकर्ड गरिएको थियो । त्यसैले स्वीट्जरल्यान्डको ‘आईक्यू एयर’ भन्ने संस्थाले त्यस दिन काठमाडौँलाई संसारका ९४ प्रदूषित सहरमध्ये सबैभन्दा पहिलो स्थानमा राखेको थियो । चीनको राजधानी बेइजिङ दोस्रो, भारतको आर्थिक राजधानी मुम्बई तेस्रो र बङ्गलादेशको राजधानी ढाका चौथो स्थानमा दर्ज रहे । चैत १४ गते शनिबार बिहान १० बजेतिर काठमाडौँको वायु गुणस्तर ४१० रहेको थियो । गत पुस महिनामा पनि त्यस संस्थाले काठमाडौँलाई संसारकै सबैभन्दा बढी वायु प्रदूषण भएको सहरमा सूचीकृत गरेको थियो । जुन जनस्वास्थ्यका लागि अत्यन्तै घातक हो ।
मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको अनुसार अधिकांश जिल्लाका वनमा डढेलो र त्यसबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा मिसिएकाले काठमाडौँ र यस आसपासका स्थानका वायुको स्तर अत्यन्तै खस्केको हो । यस्तै तराई र नेपालसँग जोडिएको उत्तरी भारतका विभिन्न ठाउँमा लागेको डढेलोको धूँवा पनि नेपाल भित्रियो र काठमाडौँको वायुलाई रेकर्ड स्तरमा प्रदूषित गर्न मद्दत ग¥यो । मध्यफागुनदेखि मध्यवैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । अघिल्लो वर्ष कात्तिकदेखि चैत १२ गतेसम्म १ सय ६५ स्थानमा डढेलो लागेको थियो । चैत १२ गते बिहीबार एकै दिन ४७ जिल्लाका चार सय ७९ स्थानमा डढेलो लागेको थियो । बिहीबारको डढेलो राष्ट्रियस्तरमा अहिलेसम्मकै सबैभन्दा
अत्यधिक थियो ।
विश्वका अन्य देश र नेपालमा पनि बिस्तारै डढेलोको घटनामा वृद्धि हुँदै गएको छ । डढेलोका घटना बढ्नुका एउटैमात्र कारण छैन । बढ्दो जलवायु परिवर्तनका कारण वर्षा कम हुनु, मौसम सुक्खा हुनु र पानीको स्रोत घट्नुले डढेलोका घटनामा वृद्धि हुने गरेको छ । यस्तै, चट्याङले पनि वनमा आगो लाग्ने गर्छ । अर्को, प्रत्यक्ष मावनीय कारणले पनि डढेलो लाग्ने गर्छ । सामान्यतया नयाँ पालुवा र घाँसको लोभमा स्थानीय जनताले वनमा डढेलो लगाउने गर्छन् । मानवीय लापरबाहीले पनि डढेलोको सङ्ख्यामा वृद्धि भएको छ । फागुनदेखि वैशाखसम्म गर्मी, सुख्खा मौसम र हावाहुरीका कारणले पनि डढेलोका अधिकांश घटना हुने गर्छ ।
डढेलोका घटना अत्यधिक हुन थालेपछि वन मन्त्रालयले विसं २०६७ मा डढेलो व्यवस्थापन रणनीति ल्यायो । सरकारी रणनीतिमा डढेलोका घटना न्यूनीकरण गर्न जनचेतना फैलाउने, डढेलो निभाउने दक्ष जनशक्ति तयार गर्ने र प्रविधिको विकास गर्ने भनेको थियो । तर, रणनीतिअनुरूप जनशक्ति तयार गर्ने र जनचेतना फैलाउने काम हुन सकेको छैन । सीमित स्रोत र साधनका कारण उल्लेख्य मात्रामा जनशक्ति तयार पार्न र उपकरण परिचालन गर्न सकिएको छैन । स्याउला र पानीकै भरमा डढेलो नियन्त्रण हुने गरेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घले पनि डढेलो नियन्त्रण उसको उच्च प्राथमिकतामा रहेको बताए पनि उसले त्यसअनुरूप काम गर्न सकेको देखिन्न ।
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बिस्तारै बढ्दै गएको छ । प्रदूषण बढ्नुमा डढेलोको मात्र हात छैन । राजधानीको बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसोवास, सवारीसाधनको सङ्ख्यामा तीव्र वृद्धि र विकास निर्माणका अनियन्त्रित कामबाट निस्किने धूँवा, धूलोले काठमाडौँको वायुमण्डललाई अत्यन्तै प्रदूषित बनाएको छ । जसले गर्दा केही दिनदेखि राजधानीमा तँुवालो लागेको छ र सूर्यलाई पूरै ढाकेको छ । वायु सूचकाङ्कको स्तर तीन सय नाघ्नु स्वास्थ्यका लागि निकै घातक र एक किसिमले यो काठमाडौँमा विपद् घोषणाको अवस्था हो । यसले आँखा पोल्ने र श्वासप्रश्वाससम्बन्धी रोगीमा अत्यधिक बढोत्तरी गरेको छ । साथै मुटुसम्बन्धी रोग र क्यान्सरजस्ता बिरामीको सङ्ख्यामा वृद्धि गर्न यसले भुसको आगोजस्तो भूमिका खेल्नेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर सर्वसाधारणलाई स्वास्थ्यसम्बन्धी नसिहत दिएको छ । जसअनुसार ‘मर्निङवाक’मा घरबाहिर नजान, बालबालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न, धूलो उड्नेखालका निर्माणकार्य केही दिन रोक्न र अत्यावश्यक नभई सवारीसाधन नचलाउन आग्रह गरिएको छ । काठमाडौँ र यस आसपासका स्थानमा विकराल रूपमा देखिएको वायु प्रदूषण न्यून गर्न सरकारले यति गरेरमात्र पुग्दैन, जलवायु परिवर्तनको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सङ्घ संस्था र संसारभरिका देशले वृहत्तर स्तरमा निर्वाह गर्नुपर्ने जिम्मेवारी त एकातिर छँदै छ । मुलुकभित्रका विभिन्न सरकारी र गैरसरकारी निकायले अल्पकालीन र दीर्घकालीन योजनाअनुरूप अनेकौँ जिम्मेवारी पूरा गर्नुपर्ने देखिन्छ ।
जस्तो– देशैभरि रूख र वन–जङ्गलको सङ्ख्या र मात्रा विस्तार गर्नु । काठमाडौँ र अन्य ठूला सहरको जनसङ्ख्या नियन्त्रण र अस्तव्यस्त बसोवास व्यवस्थित गर्न ढिला गर्नुहुँदैन । काठमाडौँ उपत्यकामा इन्धनबाट चल्ने दुई र चारपाङ्ग्रे सवारीसाधनको बढ्दो सङ्ख्यामा नियन्त्रण र विकास निर्माणका अनियन्त्रित कार्यमा कमी ल्याउन सरकारी र व्यक्तिगत स्तरबाट उपाय अपनाउनुपर्छ । यस्तै, हालका वर्षमा व्यापक बन्दै गएको डढेलोका घटना रोक्न र डढेलो लागिसकेमा त्यसलाई केही घण्टामै नियन्त्रण गर्न तीन तहका सरकारले अविलम्ब पहल थाल्नु अपरिहार्य छ । साथै डढेलो नियन्त्रण र रोकथाममा आमजनताको जागरुकता उत्तिकै आवश्यक छ । त्यसतर्फ पनि सरकारले काम
गर्न जरुरी छ ।
(लेखक दी राइजिङ नेपालका पत्रकार हुनुहुन्छ ।)