विचार/दृष्टिकोण |

पर्वतारोहणमा पलाएको आशा (सम्पादकीय)

गत वर्षको हिउँददेखि सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले अर्थतन्त्रका सबैजसो क्षेत्रलाई प्रतिकूल असर पु¥यायो । नेपालमा मात्र होइन, संसारभर नै कोरोना प्रभावमा अर्थतन्त्र पिल्सियो । अर्थतन्त्रका सबैजसो क्षेत्रमा असर प¥योे तर सबैभन्दा बढी असर भने पर्यटन क्षेत्रमै प¥यो । पर्यटकीय गतिविधि ठप्प हुँदा सेवा व्यवसाय केही वर्ष नउठ्ने गरी थलियो । नेपालजस्तो औद्योगिक उत्पादनमा खासै सम्भावना नभएको मुलुकका लागि पर्यटन रोजगार र आयको भरपर्दाे क्षेत्र हो । विश्वकै सर्वोच्च शिखर सगरमाथासँगै पूर्वदेखि पश्चिमसम्म उभिएका हिमशृङ्खलाले संसारकै पर्यटकलाई तान्ने गर्छ । तर कोरोना प्रभावमा यो क्षेत्र सबैभन्दा बढी प्रभावित भयो । एक हिसाबले तहसनहस जस्तै भयो । गत वर्ष चैत ११ गतेदेखि कोरोना नियन्त्रणमा गरिएको बन्दाबन्दी (लकडाउन) ले हिमाल आरोहणमा बिरामै लगायो । भर्खर सिजन सुरु हुँदा भएको लकडाउनले खुम्बु क्षेत्रलगायतको पर्यटन आय लगभग शून्य भयो । व्यावसायीहरू चर्को मारमा परे । कोरोना सङ्क्रमणले थला परेको पर्यटन क्षेत्र उठ्न केही वर्ष लाग्ने आकलन भइरहँदा यता केही महिनादेखि भने आशभने पलाउन थालेको छ । आन्तरिक पर्यटकीय गतिविधिले भए पनि विस्तारै जुर्मराउँदैछ । कोरोनाकै दोस्रो लहरको चर्चाबीच आन्तरिक पर्यटन विस्तार हुने नहुने चिन्तामा संसारभरकै व्यवसायी छँदैछन् । नेपाल पनि त्यो पीरबाट मुक्त छैन । यसै पिरलो पनि कालो बादलभित्र चाँदीको घेरा भनेझैँ पर्वतारोहणतिर भने सामान्य आशाको खबर सम्प्रेषण भएको छ । कोरोना सङ्क्रमणकै त्रासबीच पनि विदेशी पर्यटक स्वागत गरिरहेको नेपालको पर्वतारोहण गतिविधि बढ्ने सङ्केत देखिएको छ ।
पर्यटन गतिविधिका लागि हिमाल आरोहणप्रतिको आकर्षण सबैभन्दा महìवपूर्ण पक्ष हो । पर्यटन विभागको दुई दिन अघिसम्मको तथ्याङ्कअनुसार विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या २१७ पुगेको छ । यो राम्रै सङ्ख्या हो । केही महिना अघिसम्म यति धेरैले अनुमति लिन्छन् भन्ने आशासम्म पनि गरिएको थिएन । विभागले गत फागुन २५ गते चालू वसन्त यामका लागि पहिलोपटक चार जनाको एक टोलीलाई आरोहण अनुमति प्रदान गरी पर्वतारोहणको ढोका खोलेको थियो । एक महिना नपुग्दै पर्वतारोहणको अनुमति लिनेको सङ्ख्यामा सुधार भएको देखिएको छ । सरकारी अधिकारीहरूले यो अवस्थालाई सामान्य सुधार भनेका छन् भने व्यवसायीमा केही उत्साह देखिएको छ । अझै अनुमति लिनेको सङ्ख्या थपिने सम्भावना छँदैछ ।
सबैभन्दा खुसीको कुरा त सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १०७ जनाले अनुमति लिएका छन् । पर्वतारोहणको राजधानी मानिने खुम्बु क्षेत्र कोरोनाका कारण सुनसान भएको थियो । पर्यटन पूर्वाधारका लागि त्यस क्षेत्रमा गरिएको अर्बौं रुपियाँको लगानी यो एक वर्षमा बालुवामा पानीसरह भएको थियो । गत वर्ष मुख्य सिजनमै सगरमाथा आरोहण रोकिएको थियो । सगरमाथा आरोहण नहुने विषयलाई विश्वका चर्चित सञ्चारमाध्यमले पनि प्राथमिकता साथ प्रकाशन गरेका थिए । अब यो सिजनमा सगरमाथामा चहलपहल हुने भयो । सगरमाथा बाहेक मनास्लु, अन्नपूर्ण, ल्होत्से, टुकुचे, धौलागिरि, पुमरी हिमाल आरोहणका लागि पनि विभागले अनुमति जारी गरेसँगै पर्वतारोहणमा सबै हिमशिखरतर्फ पर्यटकीय गतिविधि बढ्ने आशा बढेको छ । प्राप्त तथ्याङ्कअनुसार मनास्लु हिमाल आरोहणका लागि अहिलेसम्म एक जनाले मात्र अनुमति पाएका छन् । त्यस्तै अन्नपूर्ण हिमाल आरोहणका लागि चार टोलीबाट ४४ जनाले अनुमति पाएका छन् । ल्होत्से हिमालका लागि सात जनासहितको दुईटा टोलीलाई विभागले अनुमति जारी गरेको छ । पुमरी हिमालमा पाँच जनासहितको एक टोली र टुकुचेका हिमालमा एक जनाको एउटा टोलीले आरोहण अनुमति पाएको छ । हिमाल आरोहण अनुमतिवापत सरकारले शनिबारसम्म १८ करोड ९० लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । यो अनुमतिसँगै अब हिमाल क्षेत्रका पर्यटकीय स्थानहरूमा आर्थिक गतिविधि फेरि चलमलाउनेछ । होटलहरूमा चहलपहल बढ्ने छ । बेरोजगार भएका पथप्रर्दशक फेरि काममा फर्कने छन् । पर्यटकीय सरसामानको उपयोग हुन सक्नेछ । तर, कोरोनाको चुनौती अझै पनि कायमै भएकाले आवश्यक स्वास्थ्य मापदण्ड लागू गरिनुपर्छ । सुुरक्षित पर्वतारोहणको दिशामा पर्यटकीय गतिविधिलाई अगाडि बढाउनु वाञ्छनीय छ ।