पाठ्यक्रमद्वारा सिकाइ
डा. हरिप्रसाद पोखरेल
पाठ्यक्रमलाई समग्र सिकाइको योजनाका रूपमा लिने गरिन्छ । कुनै निश्चित शैक्षिक उपलब्धि हासिल गर्न तयार गरिएको एउटा व्यवस्थित एवम् योजनाबद्ध शिक्षण सिकाइको खाकालाई पाठ्यक्रम भन्ने चलन छ । पाठ्यक्रममा के, किन, कसरी र कस्तो ढङ्गले सिकाइ अनुभव आदान–प्रदान गर्ने भन्नेसमेत सुनिश्चित गरिएको हुन्छ । शिक्षा शब्दकोशमा पाठ्यक्रमलाई उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रक्रिया, स्रोत, मूल्याङ्कनको साधन आदि भनेर उल्लेख गरिएको छ । पाठ्यक्रम वास्तवमा सिकारुमा अपेक्षित शैक्षिक उपलब्धि प्राप्त गराउन विद्यालयभित्र या विद्यालयबाहिर सञ्चालन गरिने कार्यक्रम भएकाले यसलाई केवल विद्यालयीय कार्यक्रमका रूपमा मात्र लिनु सान्दर्भिक हुँदैन ।
पाठ्यक्रमले उद्देश्य, विषयवस्तु, शिक्षण विधि, शैक्षणिक सामग्री, शिक्षण सिकाइ क्रियाकलाप, स्रोत एवम् मूल्याङ्कन प्रक्रियाका बारेमा समेत आवश्यक जानकारी एवम् सूचनाहरू उपलब्ध गराउने भएकाले यो प्रभावकारी एवम् योजनाबद्ध शिक्षणका लागि मार्गनिर्देशक सामग्री पनि हो । शिक्षाको लक्ष्य हासिल गर्न तयार गरिएको सिलसिलाबद्ध एवम् सङ्गठित योजना नै पाठ्यक्रम हो, जसले शिक्षक एवम् विद्यार्थी दुवैलाई शिक्षण सिकाइसम्बन्धी आवश्यक विषयवस्तु, ज्ञान, सीप एवम् अनुभव प्रदान गर्छ । पाठ्यक्रमले निर्दिष्ट गरेबमोजिम आवश्यक विषवस्तु सङ्कलन गरी तयार गरिएको अध्ययन सामग्री पाठ्यपुस्तक भएकाले पाठ्यक्रमका उद्देश्य प्राप्तिमा पाठ्यपुस्तकको अहम् भूमिका रहेको हुन्छ । तर, पाठ्यपुस्तक नै शिक्षण सिकाइको एकमात्र निर्विकल्प साधन भने होइन । सामान्यतया पाठ्यपुस्तकमा पाठ्यक्रमले उल्लेख गरेअनुसारका विषयवस्तुलाई उपयुक्त क्षेत्र र क्रमका आधारमा व्याख्या विश्लेषण गरिएको हुन्छ ।
शिक्षकलाई सहज रूपमा पठनपाठन गर्न तथा सिकारुलाई सहज रूपमा अध्ययन गर्न पनि पाठ्यपुस्तक आवश्यक हुन्छ । पाठ्यपुस्तकमा पाठ्यसामग्रीलाई सिलसिलेवार ढङ्गले राखिने भएकाले पनि पाठ्यक्रममा समेटिएका शैक्षिक उपलब्धि प्राप्त गर्न यसले सहयोग गर्छ । पाठ्यक्रम आफैँमा शिक्षण सिकाइको एक व्यवस्थित र सम्पूर्ण योजना भएकाले पाठ्यक्रमको विकल्प पाठ्यपुस्तक हुनै सक्दैन । पाठ्यपुस्तक त केवल एक आंशिक सिकाइ सामग्रीमात्र हो, पूर्ण सामग्री भने होइन ।
पाठ्यक्रम आफैँमा पाठ्यपुस्तक, शिक्षक निर्देशिका तथा अन्य स्रोत सामग्रीको जननी भएकाले शिक्षण सिकाइमा पाठ्यक्रमको निर्देशन पालना वाञ्छनीय हुन्छ । नेपालको सन्दर्भमा विद्यालयीय तह कक्षा १–१० मा नेपाल सरकारद्वारा निःशुल्क पाठ्यपुस्तकको व्यवस्था गरिएको छ । शैक्षिक सत्र प्रारम्भ हुनासाथ सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याउन विगतदेखि नै विभिन्न प्रयास हुँदै आएको पनि छ तर सालिन्दा समयमा पाठ्यपुस्तक विद्यालयमा पु¥याउन भने सकिएको अवस्था छैन । कतिपय दुर्गम तथा हिमाली जिल्लामा शैक्षिक सत्रको मध्यतिर पनि पाठ्यपुस्तक नपुग्दा शिक्षकले पाठ्यपुस्तक अभाव देखाउँदै पढाउनै छाडेको अवस्था पनि छ । सिकारुलाई पठनपाठन गर्न पाठ्यपुस्तक नभई हुँदैन भन्ने परम्परागत मान्यतामा रुमल्लिँदा र आवश्यक स्रोत सामग्री खोजेर पाठ्यक्रमद्वारा पठनपाठन नगर्दा एकातिर पाठ्यपुस्तक निर्माणमा राष्ट्रको करौडौँ रकम अनुत्पादक क्षेत्रमा खर्च भएको छ भने अर्कातिर शिक्षकमा पनि शिक्षणका लागि केवल पाठ्यपुस्तक नै उपयोग गर्ने प्रवृत्ति पनि विकास भइरहेको छ । यसले पाठ्यपुस्तकको विकल्पमा अब सघन बहस चलाउनुपर्ने परिस्थिति सिर्जना भएको अवस्था देखाउँछ ।
पाठ्यक्रमद्वारा सिकारुलाई शिक्षण गर्नका लागि पाठ्यक्रमका बारेमा सुसूचित गराउन सर्वप्रथम त शिक्षकलाई तालिमको आवश्यकता देखिन्छ । पाठ्यक्रमले विषयगत रूपमा के–कस्ता सिकाइ क्षमताको अपेक्षा गरेको छ ? कस्ता शिक्षण सिकाइ क्रियाकलापलाई सिफारिस गरिएको छ ? मूल्याङ्कनका तौरतरिका कस्ता छन् ? आदि शिक्षण सिकाइका लागि आवश्यक पर्ने जानकारी पाठ्यपुस्तकबाट मात्र पाउन सम्भव पनि छैन । पाठ्यक्रमबाट शिक्षण गर्दा कुनै एक पाठ्यपुस्तकको मात्र सहारा लिइरहनुपर्दैन । स्थानीय वस्तुस्थिति तथा सिकारुको परिवेश सापेक्ष स्रोत सामग्रीको व्यवस्थापन गरेर शिक्षक स्वयम्ले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सक्छन् । एउटा पाठ्यपुस्तकमा लेखिएका विषयवस्तु र त्यसमा दिइएका शीर्षकगत परिचयात्मक कुरा सबै परिवेशमा उपयुक्त नहुन सक्छ । सिकारुको आवश्यकता र धरातलीय यथार्थको सही चित्र पाठ्यपुस्तकमा हुन्छ भन्न पनि सकिँदैन । यसो हुँदा पुस्तक लेखकको धारणा नै आधिकारिक विषयवस्तु मान्नुपर्ने परिस्थिति सिर्जना हुन जान्छ । तर, पाठ्यक्रमको गहिरो अध्ययन गरेर शिक्षकले आफ्नो विषयसँग मेल खाने स्थानीय परिवेशसमेत जोडेर आवश्यक विषयवस्तु तयार गरी शिक्षण गर्दा यसले शिक्षकलाई पनि अध्ययनशील र सक्रिय बनाउँछ । सिकाइलाई सिकारुको जीवन्त अनुभवसापेक्ष, व्यावहारिक, सान्दर्भिक बनाउन र पाठ्यपुस्तकको साँघुरो परिधिबाट बाहिर निस्कन पनि पाठ्यपुस्तकको विकल्पमा बहस वाञ्छनीय देखिन्छ । सिकारुलाई पनि आफ्नै परिवेश सापेक्ष विषयवस्तुको जानकारी लिने अवसर दिनका लागि पाठ्यक्रममा आधारित सिकाइ क्रियाकलाप सञ्चालन आवश्यक हुन्छ । पाठ्यपुस्तकको साटो पाठ्यक्रमद्वारा शिक्षण गरी राष्ट्रको बर्सेनि लगानी हुने अनुत्पादक खर्च कटौती गर्न सकिन्छ ।
धेरै लामो समयदेखि पाठ्यक्रम नहेरी केवल उपलब्ध पाठ्यपुस्तकलाई शिक्षण सिकाइको एकमात्र निर्विकल्प साधन मान्दै शिक्षण गरेका शिक्षकका लागि केवल पाठ्यक्रममात्र दिएर शिक्षण गर्न लगाउँदा शिक्षण सिकाइमा समस्या आउन सक्छ । तर, पाठ्यक्रमले उल्लेख गरेका विषयवस्तुलाई समेटेर शिक्षकले चाहेको बेला हेर्न र प्रयोग गर्न सक्नेगरी कक्षागत तथा विषयगत पाठ्यपुस्तकको विद्युतीय कपी उपलब्ध गराउन सकिन्छ । यतिमात्र गर्न सकियो भने पनि बर्सेनि पाठ्यपुस्तक छपाइ र वितरणमा लाग्ने ठूलो खर्च कटौती गर्न सकिन्छ । शिक्षक निर्देशिका तथा अन्य सन्दर्भ सामग्रीलाई विद्युतीय कपीका रूपमा उत्पादन गरी शिक्षकको पहुँचमा पु¥याउने तथा पाठ्यक्रम प्रयोगबारे शिक्षकलाई आवश्यक तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी सुसूचित गर्नेतर्फ क्रियाशील हुन आवश्यक देखिन्छ ।
पाठ्यपुस्तकको विकल्पमा पाठ्यक्रमबाट शिक्षण गर्दा शिक्षक स्वयम्ले आवश्यक सन्दर्भसामग्री तयार गर्नुपर्ने भएकाले शिक्षक सक्रिय, लगनशील र मिहिनेती बन्ने सम्भावना रहन्छ । पाठ्यपुस्तक लेखन तथा छपाइमा लाग्ने खर्च बचत गरी उक्त रकमलाई विद्यार्थी र शिक्षकको हितमा उपयोग गर्न पनि पाठ्यपुस्तकको सट्टा पाठ्यक्रमलाई नै जोड दिन जरुरी छ । पाठ्यक्रमद्वारा शिक्षण गर्दा सिकारुलाई उनीहरूकै परिवेशसापेक्ष सिक्न पाउँछन्, जसले गर्दा पाठ्यपुस्तकमा उल्लिखित कतिपय असान्दर्भिक कुराको झमेलाबाट सिकारु मुक्त हुने सम्भावना रहन्छ । समय सन्दर्भअनुसार परिवर्तन भएका कुरालाई तत्कालै समायोजित गरी सिकारुलाई समसामयिक ज्ञान, सीप प्रदान गर्नसमेत पाठ्यक्रमद्वारा गरिने शिक्षणले सघाउँछ । यसो हुँदा पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तु खोजी गर्ने बानीको विकास हुन्छ र यस्तो सिकाइ बढी व्यावहारिक र समय सान्दर्भिक हुन सक्छ ।
पाठ्यक्रम आफैँमा एक वृहत् सिकाइ योजना भएकाले यसको निर्देशन र कार्यदेशको पृष्ठभूमिमा शिक्षण गर्दा कुनै एक पाठ्यपुस्तकको साटो अन्य सान्दर्भिक पुस्तकमा उल्लिखित सान्दर्भिक विषयवस्तुलाई पनि निर्वाध उपयोगमा ल्याउन सकिन्छ । पाठ्यक्रमद्वारा शिक्षण गर्दा शिक्षण सिकाइ क्रियाकलाप पनि परिवेश एवम् सिकारु र सन्दर्भ सापेक्ष बन्ने सम्भावना बढी रहन्छ किनभने पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उपलब्धि प्राप्तिका लागि विभिन्न स्रोत सामग्रीको प्रयोग गर्ने गुञ्जायस पनि शिक्षक र विद्यार्थी दुवैलाई प्राप्त हुन्छ ।
(लेखक सामाजिक रूपान्तरणका लागि नागरिक अभियन्ता हुनुहुन्छ ।)