नेतृत्वको निर्माण र क्षयीकरण
खिमलाल देवकोटा
पार्टीहरू यतिबेला तीव्र निर्माण र विनिर्माणको प्रक्रियाबाट गुज्रिएका छन् । पार्टी मानिसको जीवनका लागि कि पार्टीका लागि जीवन भन्ने मामलामा धेरै अगाडिदेखि नै टुङ्गो लागेको विषय हो । पार्टी मानव जीवनका लागि हो, मानव कल्याण र मानव हितका लागि हो भन्ने निष्कर्ष हो । त्यसो हो भने पार्टी नेतृत्व मानव समाज र कल्याणका लागि हो । राजनीतिक नेतृत्व विद्यमान समाजको परिवर्तन गर्ने र परिवर्तित समाजको नेतृत्व गर्ने कार्यकारण सम्बन्ध नै समाज र नेतृत्वका बीचको सम्बन्धको सही परिभाषा हो । यसै मान्यतामा आधारित भएर यतिबेला विश्व मानव समाजदेखि नेपाली समाजसम्म र विश्व राजनीतिक नेतृत्वदेखि नेपाली राजनीतिसम्म निर्माण र विनिर्माणको चक्रव्युहमा फसेको छ । यसै सन्दर्भमा नेपाली परिवेशमा सीमित रहेर नेतृत्वको सङ्कट र अपेक्षाका विषयमा केन्द्रित रही यो आलेख तयार गरिएको छ ।
माक्र्सवादी दर्शन
जब कार्ल माक्र्सले मानव समाजको समस्याका बारेमा विश्लेषण गर्दै साम्यवाद नै सबै समस्याको समाधान हो भन्ने घोषणा गरे तबदेखि नै मानव समाजका समस्या र समाधानको बारेमा परिचर्चाको आरम्भ भयो । पुँजीवादको एकछत्र राज चलेका बखत पुँजीवादको चिरफार गर्दै पुँजीवाद समस्याको जड हो, यसले समाधान दिन सक्दैन भन्दै समाधानका लागि पुँजीवादका विकल्पमा साम्यवाद भन्ने दर्शनको आरम्भ भयो । सारमा, माक्र्सवाद मुक्तिको दर्शनका निम्ति प्रख्यात बन्न पुग्यो । शोषणबाट मुक्ति र स्वतन्त्रताको दुनियाँका लागि माक्र्सवादी मान्यता, सिद्धान्त, दर्शन, राजनीतिक प्रणालीसहितको राजनीतिक नेतृत्वको खाँचोका बारेमा पनि चर्चा आरम्भ भयो । माक्र्सवादले नै समाजमा रहेका वर्गहरूबीच सङ्घर्षको विज्ञान पहिचान ग¥यो । असल र सहीका बीचमा हुने सङ्घर्षलाई स्वाभाविक प्रक्रियाका रूपमा स्वीकार ग¥यो । अन्ततः खराबका विरुद्धमा असलले विजय हासिल गरिछाड्ने उद्घोष ग¥यो । तब माक्र्सवाद आजपर्यत्न कालजयी छ ।
समाजको चरित्र विश्लेषण, सङ्घर्षको स्वरूप र विजयको सुनिश्चितताका बारेमा आफूलाई वैज्ञानिक मान्यताका हिसाबले श्रेष्ठ साबित गरेपछि माक्र्सवाद असफल भयो, माक्र्सवाद मृत अवधारणा भन्नेहरूले पनि माक्र्सवाद नभनीकन माक्र्सवादले परिकल्पना गरेका सामाजिक सुरक्षा र राज्यको दायित्वका रूपमा परिभाषित गरिएका जनकल्याणका मामलामा आफूलाई अघि सारे । पँुजीवादले बाँकी जीवनको निरन्तरता खोज्नेदेखि हरेक १० वर्षमा पँुजीवादको स्वाभाविक परिणतिका रूपमा आई लाग्ने आर्थिक सङ्कटका बखत कार्लमाक्र्सको पुँजी किनेर त्यसमा समाधानको उपाय खोज्नेसम्म आजको यथार्थ हो । तथापि माक्र्सवादी राजनीतिक प्रणालीका अधिकांश मान्यतालाई अनुशरण गर्दै यसका पक्षमा लड्ने, जुट्ने, प्रतिरक्षा गर्ने जिम्मेवारी हरेक माक्र्सवादीमा रहेको छ ।
नेपाली परिवेश
औपचारिक रूपमा कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा अघि र पछि समेत नेपाली जनताको विश्वास कम्युनिस्ट पार्टी र साम्यवाद स्थापनाको लालसाको मान्यतामा आधारित रह्यो । अव्यक्त जनताको विश्वास र व्यक्त जनमत कम्युनिस्ट पार्टीको पक्षमा रहेको तथ्य जगजाहेर छ तापनि कम्युनिस्ट पार्टीको टुट फुटसमेतका कारण अपवादबाहेक शासन सञ्चालन गर्न सम्भव रहेन । यसको प्रतिफल काँग्रेसले प्राप्त ग¥यो । दुईतिहाई कम्युनिस्ट जनमत हुने तर एकतिहाई जनमत भएको काँग्रेसले शासन सञ्चालन गर्ने विडम्बना नेपाली राजनीतिको नियति बनेको छ । कम्युनिस्ट एकीकरणको परिणाम दुईतिहाई जनमतसहितको संसद् र सरकार प्राप्त भए पनि नेतृत्वको ल्याकतले उक्त अवस्था धान्न सकेन वा अदृश्य रूपमा देशी–विदेशी प्रतिक्रियावादीहरूका षडयन्त्रका कारण भए पनि दृश्य रूपमा भने अदालतको आदेशले पार्टी विभाजनको घोषणा गरिदियो । सबैलाई थाहा छ, दाबीभन्दा बढी बोल्न नपाइने न्यायिक मान्यताका विपरीत भएको फैसला पुनरावलोकन समेत अस्वीकार गर्ने हर्कत प्रक्रियाका हिसाबले मान्न सकिएला तर अन्तर्यमा कम्युनिस्ट विरोधी प्रतिक्रियावादी षडयन्त्रको एक हिस्सा भनेर बुझ्न कुनै अप्ठ्यारो छैन ।
सङ्कटमा नेतृत्व
राजनीतिक नेतृत्व सङ्कट मोचनको उपाय हो । नेतृत्व सङ्कटमा पहिचान हुने हो । सङ्कट समाधान गर्न सके नेतृत्वको विकास हुन्छ वा सङ्कट समाधान गर्न नसके सङ्कटले नयाँ नेतृत्वको जन्मसमेत दिने गर्छ । नेतृत्व केवल विद्यमान परिस्थितिको दास हुने मात्रै हैन, बरु विद्यमान परिवेशलाई जनता अनुकूलतामा बदल्ने, प्रतिकूलताहरूसंँग जुध्न अनुकूलता सिर्जना गर्ने समेत नेतृत्वको अपेक्षित गुण हो ।
नेपालमा राजनीतिक उथलपुथलका अनेकौँ घटनामा नेतृत्व चुकेका, झुकेका र उठेका कैयौँ उदाहरण छन् । राणा शासनविरुद्ध हतियार उठाउन हिम्मत गर्ने नेतृत्व पनि यहीँ फेला प¥यो । नेतृत्वका आदेशमा मर्न र मार्न पनि जनताले कम्मर कसे । तर क्रान्तिको सफलतापछि जसका विरुद्ध लडेको हो उसैको नेतृत्व स्वीकार गर्ने सम्झौता परस्त नेतृत्व पनि हामीसँगै रह्यो । संविधानसभाको माग पूरा भइसकेर पनि उपभोग गर्न नसकेर संसदीय चुनावमा थन्किनपर्ने परिवेशको जन्म पनि नेतृत्वको अक्षमताले नै गरायो । दुई तिहाईको निर्वाचित सरकार चुन्न, चुनिन सक्ने तर धान्न नसक्ने, त्यसका विरुद्ध सैनिक हर्कतलाई प्रतिवाद गर्न नसक्ने पनि हाम्रै नेतृत्व हो ।
३० वर्षसम्मको अनवरत सङ्घर्षमा नथाक्ने नेतृत्व पनि हाम्रैसामु छ । ऐतिहासिक जनआन्दोलनको सफलतापछि पनि राजतन्त्र फ्याँक्न नसक्ने बरु उसैसँग सम्झौता गर्ने नेतृत्वको सम्झौतापरस्त प्रवृत्तिका कारणले जनयुद्ध गर्नपर्ने परिस्थितिको सिर्जना गर्ने नेतृत्व र जनयुद्धमार्फत सामन्तवादका जरा हल्लाउने नेतृत्व पनि हाम्रै हो । आफ्नै बुद्धिले ज्ञानेन्द्रको सत्तासम्म भोग्न बाध्य नेतृत्व पनि हाम्रै हो । दोस्रो जनआन्दोलनको सफलतापश्चात् पनि राजतन्त्रको अन्त गर्न सकिएन । आन्दोलनको बलमा राजतन्त्र अन्त गर्न नसकेर घुमाउरो पाराले अन्तरिम संविधानको बन्दोबस्तबमोजिम पहिला निलम्बन गर्ने, त्यसपछि संविधान सभाको पहिलो बैठकले निर्णय गर्ने, दरबार खाली गर्न प्रस्ताव पारित गर्ने लम्बेतान प्रक्रिया अवलम्बन गर्न राजी हुने नेतृत्व पनि हाम्रो हो ।
अपेक्षित गन्तव्य गणतन्त्रमा यही नेतृतवले पु¥याए तापनि आन्दोलनको रापतापमा सो उपलब्धि प्राप्त भएको वैधता स्थापित गर्नमा कहीँ न कहीँ कमी भयो । सबभन्दा कमी त राजतन्त्रको अन्त गरेका नेतृत्वमा राजतन्त्रकै चरित्रहरूको प्रत्यारोपण बढी देखाप¥यो । यो नेपाली राजनीति र राजनीतिक नेतृत्वको सबैभन्दा खतरनाक लक्षण हो ।
नेपाली नेतृत्वको सीमा
नेपाली राजनीतिको आरम्भ र अन्त संस्थापन पक्षका विरुद्ध विद्रोहको आवाजबाट भयो । संस्थापन पक्षको विरुद्ध जे जति त्याग र बलिदान गर्न सक्यो, उसैलाई सर्वश्रेष्ठ ठान्ने संस्कार झाँगिदै गयो । जब संस्थापन पक्षको तख्तापलट भयो तैपनि आफूलाई उही पुरानै विद्रोही चेत, आलोचना र खण्डन र आन्दोलनपछि रचना हैन फेरि आन्दोलनकै संस्कार र संस्कृतिमा सीमित गरिदियो । त्यसैको परिणाम आज पनि जानी नजानी सत्ताधारीहरू आन्दोलनकारी झँै यसो हुनुपर्छ, उसो हुनुपर्छ भनेर विगतका झैँ माग गरेको नै बढी भेटिन्छ । संस्थापन पक्ष भएका नाताले यसो गरिंदैछ भन्ने अभिव्यक्ति बिरलै मात्रै पाइन्छ ।
नेपाली राजनीतिक नेतृत्वमा विद्रोही चेत संस्थापनमा रूपान्तरण हुन नसक्दा सत्ता फेरिएको अनुुभूति आम जनतामा हुनसकेको छैन । यो नै नेतृत्वको कमजोरी हो वा सङ्कट हो भन्न सकिन्छ । नेपाली नेतृत्वको तदर्थवाद अर्को समस्या हो भन्ने लाग्छ । राणादेखि राजतन्त्रको अन्त्यसम्म आन्दोलनकारी नेतृत्व सत्तारोहणपछि के गर्ने भन्ने सुस्पष्ट योजनाको अलमल र सङ्कटले नै अहिलेको अवस्थाको सिर्जना भएको हो । संविधान सभाबाट जारी भएको नयाँ संविधानको कार्यान्वयन कार्ययोजनाको अभाव, सङ्घीयता, गणतन्त्रको घोषणापछि सोको कार्यान्वयको कार्ययोजनाको अभाव, कम्युनिस्ट पार्टी एकीकरणपछिको स्पष्ट कार्ययोजनाको अभाव पनि नेतृत्व सङ्कटका कारक हुन् । पार्टी एकीकरणपछि बलियो सरकार, प्रधानमन्त्री, राष्ट्रपति वा राज्यका महìवपूर्ण ओहदामा आरोहणसम्बन्धी नेतृत्वका कार्ययोजना सफल भए तर जनताको जीवन बदल्ने घोषणापत्रमा लेखिएका योजनाहरूको इमानका साथ पालनाका बदला तिनको उपेक्षा र कतिपय अवस्थामा अनदेखा नेतृत्व सङ्कटको अर्को नमुना हो ।
नेतृत्वप्रतिको अपेक्षा
जीवनभर लोकतन्त्रका लागि सङ्घर्ष गरेका र अभावमा बाँचेका नेतृत्वमा मौका पाउनासाथ ऐयाशी जीवनको लालसा, सत्तारोहण हुनासाथ निरङ्कुश र असहिष्णु, अधिनायकवादी र अपारदर्शी हुने, सामूहिक नेतृत्वको कम्युनिस्ट मान्यताका विरुद्धमा एकल व्यक्तिवादी नेतृत्वको लालसा, वस्तुवादी हुनुको सट्टा मनोगतवादी हुने, भौतिकवादी हुनुको सट्टा अध्यात्मवादी हुने, देश र जनता हेर्नु सट्टा म मेरा र मेरो परिवार हेर्ने, पार्टी हित होइन गुटमा रमाउने व्यवहार नेपाली राजनीति र नेतृत्व सङ्कटका कारण हुन् । यी दोषबाट मुक्त नभई नेपाली राजनीतिले सही बाटो पक्रन मुस्किल छ । त्यसैले नेतृत्वले आफूलाई सच्याउने, परिस्थितिमा पैदा भएको सङ्कटको सामना गर्ने र त्यसका लागि उद्धत हुने वातावरण बनाउन सक्दा नै नेतृत्वको सङ्कट सफलतामा परिणत हुनेछ ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)