वाणिज्य बैङ्कलाई सेयर दलाली
नरेन्द्रमान श्रेष्ठ
वाणिज्य बैङ्कहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भनेर केही लगानीकर्ताले आवाज उठाइरहेको धेरै भइसकेको छ । पछिल्लो समयमा वाणिज्य बैङ्कहरूले पनि ब्रोकरको लाइसेन्स छिटो पाउनुपर्छ भन्ने माग गरिरहेका छन् । तर, तिनलाई ब्रोकरको लाइसेन्स दिने निर्णय किन हुन सकिरहेको छैन भन्ने चर्चा सेयर बजारमा चलिरहेका छन् । कतै ब्रोकर कम्पनी र पुँजी बजारका नियामक निकायबीच बैङ्कलाई ब्रोकर लाइसेन्स सन्दर्भमा चलखेल त भइरहेको छैन ? कतै लाइसेन्स नदिनेमा सेटिङ त भइरहेको
छैन ? चर्चा छन्– पुँजी बजारमा ।
बैङ्कलाई ब्रोकरको लाइसेन्स दिने विषय सदनसम्म पुगेको थियो । यसबारेमा पँुजी बजारसम्बन्धी अध्ययन गर्न भनेर सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा बनेको संसदीय उपसमितिले प्रतिवेदन पनि बुझाइसकेको छ । तर पनि नियामक निकायले निर्णय गर्न सकिरहेको छैन । कतिपयले त वाणिज्य बैङ्कहरूले सेयर दलालको काम गर्न पाउनेमा शङ्का व्यक्त गर्न थालेका छन् । कतिपयको भनाइमा पँुजी बजारका नियामक निकायले विद्यमान ब्रोकर कम्पनीको दबाबमा वा आर्थिक लोभमा परेर बैङ्कलाई ब्रोकर लाइसेन्स दिनमा आनाकानी भइरहेको हुन सक्ने पनि बताइरहेका छन् ।
वाणिज्य बैङ्कहरूलाई ब्रोकरको लाइसेन्स दिनेलाई विद्यमान ५० वटा ब्रोकर कम्पनीले असन्तुष्टि जनाइरहेका छन् । वाणिज्य बैङ्कलाई सेयर दलालको काम गर्न लाइसेन्स दिए आफ्नो व्यापार व्यवसायमा नकारात्मक असर पर्ने डर ब्रोकर कम्पनीमा देखिन्छ । तर, अहिले प्रतिस्पर्धाको जमाना हो, कुनै पनि पेशा व्यवसाय गरिरहेकाहरू प्रतिस्पर्धामा जान डराउन हुँदैन ।
वाणिज्य बैङ्कहरूले सेयर दलालको काम गर्ने लाइसेन्स दिने कुरा भएसँगै केही विवाद सिर्जना भएकै हो । वाणिज्य बैङ्कहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिने कुरा गरेलगत्तै सेयर ब्रोकर कम्पनीले विरोध पनि गरे ।
वाणिज्य बैङ्कहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिए
‘इन्साइडर ट्रेडिङ’ हुने बताउँदै आइरहेका छन् ब्रोकर कम्पनीहरूले । कतिपय ब्रोकर कम्पनीहरू आफूहरुलाई नै विभिन्न जिल्ला, गाउँठाउँमा शाखा खोल्न दिनुपर्छ, तिनले काम गर्न नसकेमा, शाखा खोल्न नसकेमा मात्र अर्को विकल्प खोज्नुपर्छ भन्दै छन् । हामीले विभिन्न जिल्लामा शाखा खोल्छौँ भन्दा नदिने, नानाथरीको झन्झट दिने, झन्झटिलो मापदण्ड तेर्साउने अनि वाणिज्य बैङ्कहरूलाई भने सजिलै लाइसेन्स दिने ? ब्रोकर कम्पनीले आक्रोश
व्यक्त गरेका छन् ।
वाणिज्य बैङ्कहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिए पनि सेयर बजारसम्म लगानीकर्ताको पहुँचको समस्या समाधान हुनेमा शङ्का छ । के वाणिज्य बैङ्कहरूले आफ्नो शाखा सञ्जाल भएको सबै स्थानमा सेयर ब्रोकरको काम गर्छन् ? हुम्ला, जुम्लामा पनि सेयर ब्रोकरको काम गर्छन् ? प्रश्न छ । लाइसेन्स लिएका सबै वाणिज्य बैङ्कले आफ्नो शाखा सञ्जाल भएका सबै स्थानबाट ब्रोकरको काम गरे भने सेयर बजारका लागि राम्रो हुनेछ तर गर्छन् त ? कतै वाणिज्य बैङ्कका ब्रोकर कम्पनी पनि सहरमुखी हुने त होइनन् ? त्यसो त वाणिज्य बैङ्कहरूलाई ब्रोकरको लाइसेन्स दिँदैमा विद्यमान ब्रोकर कम्पनीहरू आफ्नो व्यापारमा नकारात्मक असर पर्छ कि भनेर आत्तिनुपर्ने छैन । अहिलेको जमाना प्रतिस्पर्धाको जमाना हो ।
धितोपत्र दलाल, धितोपत्र व्यवसायी, वाणिज्य बैङ्क तथा बजार निर्माता नियमावली–२०४६ अनुसार प्रक्रिया पुगेपछि मात्र लाइसेन्सका लागि अनुमति प्राप्त गर्न सकिनेछ । तर, वाणिज्य बैङ्कहरूले सेयर दलालको काम गर्नका लागि छुट्टै सहायक कम्पनी खोल्नुपर्ने हुन्छ । विगतदेखि नै केही सेयर लगानीकर्ताका नेताहरूले वाणिज्य बैङ्कहरूलाई सेयर दलालको काम गर्न दिनुपर्छ भनेर माग गरिरहेको धेरै भइसक्यो । ७७ वटै जिल्लामा वाणिज्य बैङ्कको शाखा सञ्जाल रहेका कारणले वाणिज्य बैङ्कहरूले सेयर दलालको काम गर्दा देशभरिबाट सेयरको कारोबार गर्न सकिन्छ, यसले सेयर बजारको दायरा बढ्नेछ र देशभरका लगानीकर्तामाझ सेयर ब्रोकर कम्पनी पुग्ने भएकाले लगानीकर्तालाई सेयर कारोबार गर्न सहज हुने, सेयर किनबेच गर्न राजधानी धाउन नपर्ने र सेयरको कारोबार पनि बढ्नेछ ।
धितोपत्र बजारमा वाणिज्य बैङ्कहरूको सेयरको नै बाहुल्य छ । धितोपत्र बजारमा बढी सेयरको कारोबार हुने भनेको वाणिज्य बैङ्कको नै हो । तिनलाई नै सेयर दलालको काम गर्न दिएपछि यसले इन्साइडर ट्रेडिङ हुन सक्ने कतिपय बजार विश्लेषक, विज्ञहरू र विद्यमान ब्रोकर कम्पनीको भनाइ छ । अहिले पनि बेला–बेलामा इन्साइडर कारोबारको समाचार आएकै छ । वाणिज्य बैङ्कहरूलाई सेयर दलालको काम दिनु भनेको दूधको साक्षी बिरालोलाई राख्नेजस्तो हो ।
अहिले सेयर कारोबारको दोस्रो बजारमा धेरैजसो राजधानीकेन्द्रित छन् । केही ब्रोकर कम्पनीले काठमाडौँबाहिर केही जिल्लामा शाखा कार्यालय सञ्चालन गरिरहेका छन् । तर, सेयर कारोबार राजधानी केन्द्रित नै छ । यसकारणले पनि केही लगानीकर्ताका नेताले वाणिज्य बैङ्कलाई पनि ब्रोकरको लाइसेन्स दिनुपर्छ भनेर मरिहत्ते गरिरहेका हुन् ।
पछिल्लो समयमा सेयर बजारमा नयाँ–नयाँ कम्पनीको सेयर धमाधम थपिँदै छन् । सेयरको सङ्ख्या पनि बढेको बढ्यै छ । सेयरको सङ्ख्या बढेको अनुपातमा सेयर बजारको दोस्रो बजारमा लगानीकर्ता पनि बढ्नुपर्ने हुन्छ अनि मात्र सेयर बजारले गति लिन सक्छ । सेयर बजारबारेमा जनचेतना जगाउन पर्ने देखिन्छ भने नयाँ–नयाँ लगानीकर्ताको प्रवेश गराउनका लागि नियामक निकायले पहल गर्नुपर्ने देखिन्छ ।
देशभरिका लगानीकर्ताको पहुँच सेयर बजारसम्म पु¥याउन वाणिज्य बैङ्कहरूलाई ब्रोकरको लाइसेन्स दिनुपर्छ भनिएको हुन सक्छ । तर, पनि वाणिज्य बैङ्कलाई लाइसेन्स दिनेबित्तिकै तत्कालै सेयर बजारले ठूलै फड्को मार्ने भने होइन । अहिले पनि ५० वटा सेयर ब्रोकर कम्पनीले काम गरिरहेका छन् । देशमा रहेका २६ वटै वाणिज्य बैङ्कले ब्रोकर लाइसेन्स लिए अहिलेको बजारले धान्न सक्ला त भनेर शङ्का छ । बजार राम्रो बनाउने हो भने प्रतिस्पर्धा हुनु पनि जरुरी छ ।
(लेखक सेयर लगानीकर्ता हुनुहुन्छ ।)