डढेलो न्यूनीकरण
डा. धनपति कोइराला
नेपालको आकाश विगत दुई हप्तायता निकै विषाक्त छ । यसको मूल कारण हो– धूँवा र धूलो । अझ संसारमै सर्वाधिक प्रदूषित सहरको सूचीमा अङ्कित भयो काठमाडौँ । यस्तै स्थिति छ अहिले मोफसलमा समेत । नेपालको कुल भू–भागमध्ये वनले करिब ४५ प्रतिशत भू–भाग ओगटेको छ । यी वनक्षेत्र प्रायः मानव बस्तीसँग जोडिएका छन् । देशका ६० जिल्लामा डढेलो लागिरहेको छ । तीमध्ये चितवनका ४८ र नवलपुरका ११ स्थानमा यस्तो डढेलो लागिरहेको छ । वनमा लागेको डढेलोका कारण नै वन विषाक्तमात्र भइरहको छैन, वन्य प्राणीसँगै मानवीय क्षतिसमेत भइरहेको छ । गत वर्षमात्र नेपालमा लागेको डढेलोका कारण ४९ जनाले ज्यान गुमाउनुपरेको थियो । यस वर्षमै पनि ८६ जनाको ज्यान गइसकेको देखिन्छ । त्यसो त वैशाखदेखि यता मात्रै पनि ३१३ वटा डढेलो लागेका र त्यसमा परी ३५५ जना घाइते बनेको खबर छ । यसमा झन्डै एक अर्ब ७० लाखबराबरको आर्थिक क्षति भएको तथ्याङ्क छ ।
डढेलो पहिचान तथा अनुगमन प्रणालीअनुसार यतिखेर देशका आठ सय स्थानमा डढेलो लागिरहेको छ । लगातार रूपमा ठूलो वृष्टि नहुने हो भने अबका झन्डै डेढ महिना वनक्षेत्र यसको चपेटामा पर्ने निश्चित छ । आधुनिक तथा सुरक्षित सामग्रीको अभावकै कारण आगो नियन्त्रण गर्न जाने मानिसको अकालमा ज्यान जाने गरेको छ । वन नियन्त्रणका लागि पञ्जा, बुट, जुत्ता, साबेल, कुटो, कोदालो, गैँची, कुचोजस्ता सामग्री दिएरमात्र पुग्दैन । आजसम्म यस्तै सामग्रीमात्र उपलब्ध भइरहनुले हाम्रो देशको वनलाई डढेलोबाट नियन्त्रण गर्न आवश्यक पूर्वतयारी र औजारको अवस्थाको स्पष्ट सङ्केत गर्छ ।
सरकारले वन संरक्षणका निम्ति सामुदायिक वनको अवधारणा लागू गरेपछि विनाशको मुखमा पुगिसकेको वन एकाएक बढेर अहिले निकै सघन भएको छ । गाउँको खेतबारी छाडेर सहर, विदेशमा रमाउने प्रवृत्तिका कारण पनि वन–झाडीको विकास र विस्तार भएको छ । फलतः वन क्षेत्रमा वृद्धि भई वन गाउँबस्तीसम्म नै विस्तारित हुन पुग्दा वनमा लागेको डढेलोले मानव बस्तीसम्म सल्किएर मानवीय तथा भौतिक क्षति हुन पुगेको छ । वन उपभोक्ता समूहले वन फँडानी रोकेरमात्र पुग्दैन । वनमा डढेलो लाग्न नदिने, डढेलो लागिहालेमा नियन्त्रणका निम्ति आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्न नागरिकलाई सचेतना दिने, सम्बन्धित निकायलाई समयमै सुसूचित गर्ने र रोकथामका निम्ति तत्काल उपाय अपनाउन अग्रसर हुनुपर्छ ।
वास्तवमा वनमा लाग्ने डढेलो नियन्त्रण गर्ने मुख्य शक्ति भनेकै जनचेतनामा वृद्धि गर्नु हो । साक्षर भईकन पनि यस्ता धेरै नागरिक हुन्छन्, जो लापरबाही गर्छन् । निरक्षर भए पनि कतिपय यस्ता विवेकशील नागरिक पनि हुन्छन्, जसले हरेक समस्या र चुनौतीमा पनि सुझबुझपूर्ण व्यवहार देखाउँछन् । तिनलाई सचेतना दिन अभिमुखीकरण कार्यक्रम अपेक्षित नरहन सक्छ । तर, कतिपयलाई आवश्यक पनि हुन सक्छ । तिनलाई वन उपभोक्ता समितिकै माध्यमबाट सचेतना प्रदान गर्ने, त्यसले पार्ने विनाश लीला र दुर्घटनाबारे सडक नाटक, विभिन्न वृत्तचित्र प्रस्तुति, सानो परिघटनामूलक कार्यक्रम आदि–इत्यादिका माध्यमबाट बुझ्न र बुझाउनु जरुरी छ । विभिन्न पशु, पक्षी, सरीसृप आदि वन्यजन्तुको जीवन धरापमा पर्दा मानवजीवनमा पर्ने असरबारे बुझाउनु पनि उत्तिकै आवश्यक छ ।
डढेलोपछि नरम घाँस पलाउने, निगुरो र च्याउ उम्रने, वनको झाडी जलेर वन खुलाजस्तो हुने, डरलाग्दा हात्ती, बाघ, भालु भाग्ने, कृषिकर्मका निम्ति खरानीजन्य मल प्राप्त हुने, पानी परेपछि त्यहाँको खरानी कृषिजन्य खेतबारीमा आउँदा उब्जनी बढ्ने आदि–इत्यादिको लोभमा मानिसले वनमा आगो लगाउने गरेको पाइएको छ । कतिपय गोठाला र वन भएर यात्रा गर्ने चुरोटसेवी यात्रुले पनि राम्ररी ननिभाएको चुरोटको ठुटोबाट पनि आगो लाग्ने गरेको विभिन्न तथ्यहरूले देखाउँछन् । अपवादमा चट्याङ, ज्वालामुखी विस्फोट आदि प्राकृतिक कारणले पनि वनमा आगो लाग्ने गरे पनि प्रायः डढेलो मानवीय कारणले नै हुने गरेका छन् ।
वन अर्थात् प्रकृति सुरक्षित रहे नै पारिस्थितिक प्रणाली सुरक्षित रहन सक्छ । वन्य जीवजन्तु र वनस्पति रहे नै पृथ्वी मानव बस्न योग्य बन्छ । अन्यथा पृथ्वी पनि मानवजीवन बस्न योग्य रहने छैन । यसका निम्ति सबैले वनमा लागेको डढेलो नियन्त्रणका निम्ति आवश्यक पूर्वतयारी गर्नु जरुरी छ । क्यालिफोर्नियामा लागेको डढेलो, अस्ट्रेलियामा लागेको भीषण आगलागी ‘जुन अभैm नियन्त्रणमा आइनसकेको’ भनिएको छ । भारतका आगलागी नेपालमा वातावरणीय विषाक्तता सिर्जना हुनुमा महŒवपूर्ण कारक मानिन्छन् । तथापि, वातावरणीय विषाक्तता सिर्जना हुनमा डढेलोमात्र जिम्मेवार छैन । यो खास समयमा मात्र देखापर्छ । तर, स्थायी रूपमा औद्योगिक प्रतिष्ठान र रासायनिक हातहतियारको उत्पादन र प्रयोग, घातक रसायनको चुहावट, प्लास्टिकजन्य वस्तुको उत्पादन र प्रयोग, वायु, जल र स्थलमा चल्ने सवारीसाधनबाट पैदा हुने विभिन्न घातक ग्यासले पनि वातावरणीय स्वच्छता र गुणात्मकतामा हानि पु¥याइरहेका छन् । यिनले स्थायी रूपमा अलि–अलि गर्दै मन्दविषका रूपमा मानवीय अङ्ग र प्रत्यङ्गहरूमा गम्भीर असर पु-याइरहेका छन् ।
हो, गर्मीयाममा सुकेर झरेका पातमा लाग्ने गरेको डढेलोजन्य वातावरणीय विषाक्तताले आँखा र फोक्सोमा प्रत्यक्ष असर पारिरहेको छ । टाउको दुख्ने, वाक्वाकी लाग्ने, भोक नलाग्ने, सास फेर्न कठिनाइ हुने, दम बढ्ने, शरीर पोलेजस्तो अनुभूति हुने, ज्यादा तिर्खा लागिरहने, नाक, मुख सुख्खा हुने, रुघाखोकी लाग्ने, चिडचिडाहट अनुभूति हुने, खान मन नलाग्ने, पढ्न र दैनिक कार्य गर्नमा समेत अरुचि पैदा हुने, कसैले बोल्दा पनि दिक्दार लाग्नेजस्ता स्वास्थ्य समस्या देखिन थालेका छन् । वनको विस्तारसँगै वन्यजन्तु गाउँसम्म नै आउने र तिनले मानव जीवनमा असर पु¥याउन थालेको तथ्यलाई भुल्न मिल्दैन । तथापि वन, वन्यजन्तु र मानवबीचको सन्तुलन बनाइराख्नमा सम्बन्धित सबैले मिलेर काम गर्नुपर्छ । वन जोगाउनका निम्ति तीनै तहका सरकार मूकदर्शक मात्र बनिरहेका छन् अहिले । उपभोक्ता समितिको जिम्मा हो यो, उसैले नियन्त्रण गरिहाल्छ भन्ने सोचाइ छ उनीहरूमा । तर, वन नै जलवायु परिवर्तनका कारण पैदा भएका सारा समस्या समाधानको मूल कडी हो भन्ने हेक्का राखेर काम गर्नुपर्छ ।
पक्कै पनि वन विभागले गर्न नसकेको काम सामुदायिक वन उपभोक्ता समितिले गरेर देखाए । वन, वन्यभूमि, वन्यपैदावर, वन्यजन्तु, जडीबुटी आदि–इत्यादिको संरक्षण र सम्बद्र्धन हुन सक्नु नै यसको प्रमाण हो । तर, जेहोस् यसको संरक्षण र सम्बद्र्धनबाट मानव समाज कुनै पनि दृष्टिले असुरक्षित रहनुहुँदैन । बरु यसबाट हरसम्भव मानिसले लाभ लिन सक्ने सम्भावना खोजिनुपर्छ । कार्बन उत्सर्जनबाट, वातावरणीय पर्यावरणको समृद्धिबाट, जडीबुटीको अन्वेषण, उत्पादन र बिक्री वितरण, वन पैदावरको समुचित उपयोग आदिका माध्यमबाट पनि लाभ लिनमा पछि पर्नुहुँदैन । वन्यजन्तुले मानव समाजलाई असर पु-याउने सम्भाव्य क्षेत्रभन्दा निकै परको निश्चित दूरीसम्म मात्र आउन दिने वातावरण निर्माण गर्नु जरुरी छ । अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो भूक्षयहरू जस्तै डढेलो लाग्दा पनि यसबाट सुरक्षित रहने र राख्ने उपायबारे सबै किसिमका तयारी गरिराख्न स्थानीय, प्रदेश र केन्द्र सरकार तथा सरोकारवाला पक्ष सबैले बेलैमा पूर्वतयारी गरिराख्नु आवश्यक छ ।
(लेखक विश्लेषक हनुहुन्छ ।)