अनुशासन पर्वको अनुष्ठान
भागवत खनाल
महाभारत युद्ध समाप्त भएपछि युधिष्ठिर आफ्ना भाइहरूलाई साथ लिएर वाणको शøयामा मृत्युको प्रतीक्षा गरिरहेका भीष्मपिता महलाई भेट्न गए । युधिष्ठिरमा न त विजयको उल्लास थियो न आसन्न एकछत्र सत्ताको उन्माद नै । अवनत शिर र व्याकुल चित्त साथ उनी अभियुक्तजस्तो बनेर पितामहको सामु प्रस्तुत भए । युधिष्ठिरसँग सल्लाह लिन लायक तिनै मृत्योन्मुख पितामह र कृष्ण मात्र बाँकी थिए ।
युद्धपश्चात्को युधिष्ठिरको अपराधबोध, शोक, रोदन, क्षमा याचना, पश्चाताप एवं शालीन प्रस्तुति र विह्वल अवस्था अविस्मरणीय छ । उनलाई पितामहले दिएको उपदेशको विस्तृत पाठलाई महाभारत महाकाव्यमा अनुशासन पर्वको रूपमा वर्णन गरिएको छ ।
ठूलो युद्ध, दैवी उथलपुथल, महामारी या क्रान्तिको समयमा सामाजिक मर्यादा र अनुशासन खण्डित हुन पुग्छ । त्यस्तो समयमा देशको अर्थतन्त्र तहसनहस हुन्छ, व्यभिचार, अनाचार र भ्रष्टाचारको बोलबाला हुन्छ । त्यस्तो परिघटनाको समाप्तिपछि खण्डित भएको अनुशासनलाई पुनःसही बाटोमा ल्याउन गरिने सम्यक व्यवस्थापन नै अनुशासन पर्व हो ।
युद्धको विकराल परिणामबाट क्षुब्ध, विगलित, कमजोर, भीरु र व्याकुल भएका युधिष्ठिरले धेरै गहन प्रश्न गर्छन् । प्रायःविजयी सम्राट या सेनापतिमा अपार दम्भ हुन्छ । उनीहरू न प्रश्न गरेर सल्लाह लिन्छन् न त अरूलाई प्रश्न गर्ने छुट नै । विजयीहरूमा आफैँ सर्वज्ञ र सर्वोपरि भएको दम्भ हुन्छ । यो प्रवृत्ति आधुनिक लोकतान्त्रिक आन्दोलन र निर्वाचनमा विजयी हुने नेतामा समेत प्रकट भएका धेरै उदाहरण छन् । तर सम्राट युधिष्ठिर दम्भहीन र शालीन व्यक्ति थिए ।
युद्ध, क्रान्ति र आन्दोलनभन्दा तत्पश्चातको व्यवस्थापन धेरै कठिन कार्य हो । विद्रोह, क्रान्ति र युद्ध खराब घटना भए पनि ऐतिहासिक वास्तविकता हुन् । जहाँ युद्धपछिको व्यवस्थापन सफल हुन्छ, त्यहीँमात्र परिवर्तन संस्थागत हुन्छ । फ्रान्सको राज्यक्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलन एकै समयमा भएका थिए । फ्रान्समा क्रान्ति सफल भए पनि उचित व्यवस्थापनको अभावमा चरम अशान्ति र भयावह हत्याकाण्ड भयो । अमेरिकामा शान्ति, अमनचयन र समृद्धि छायो ।
सौभाग्यवश युधिष्ठिरले राज्य सत्ताको लोभ नभएका निरपेक्ष सल्लाहकारको रूपमा कृष्ण र हितैषी एवं स्नेही उपदेशकको रूपमा पितामहलाई पाए । अनुशासन भनेको सामाजिक, आर्थिक र राजनीतिक रूपमा नैतिकता कायम गर्नु र कानुनको पालना गर्नु हो । समाजलाई अनुशासित र मर्यादित बनाई राख्न क्रान्ति, विद्रोह, युद्ध र आधुनिक युगमा निर्वाचनमा विजयी भएको नायक ÷ नायकहरू निस्वार्थ, नैतिकवान्, मर्यादित र शालीन हुनु आवश्यक छ ।
परिवर्तनको समय खतरनाक र तरल हुन्छ । एउटा युगबाट अर्कोमा प्रवेश गर्ने सङ्क्रान्ति कालमा नवीनबोध, नवीन सोच, नवीन कदम, नवीन संस्कृति र नयाँ समाजको स्थापनाको माध्यमबाट राज्यपद्धतिको शल्यक्रिया गर्नुपर्ने हुन्छ । नयाँ बोतलमा पुरानो रक्सी भर्नु या पुरानो बोतलमा नयाँ रक्सी भर्नु परिवर्तन हुन सक्दैन । यो फगत एक युक्ताभ्यास मात्र हुन्छ । छलछामबाट परिवर्तन व्यवस्थापन हुन सक्दैन ।
युधिष्ठिरले सर्वप्रथम शान्त चित्तले स्थितिको सम्यक अनुशीलन गरे । उनले युद्धको समयमा आफूबाट भएका ज्यादती र अन्यायलाई स्वीकार गरे । उनले अब के गर्नु पर्ला, कस्ता व्यक्तिको भर पर्दा ठीक होला र राज्यको प्राथमिक आवश्यकता के होला जस्ता विषयमा शान्त भावले विश्लेषण गरे । सम्भावित असन्तुष्टिको पहिचान र सूूक्ष्म विश्लेषणका साथै त्यसको निराकरणको उपाय आदिबारे विचार गरे । यति गरेपछि मात्र शास्त्रले मार्गदर्शन गरे अनुरूपको यज्ञ यज्ञादि, चिताएको अभीष्ट पूरा गर्न सामाजिक, आर्थिक, नैतिक आदि अभियान चलाए । कामलाई उपासनाको रूपमा एक चित्तले ग्रहण गरे ।
आधुनिक युगमा अनुशासन पर्वमा अपनाइने पहिलो उपाय हो संविधान निर्माण । अहिलेको आधारभूत शास्त्र भनेको संविधान हो । हाम्रो मुलुकमा परिवर्तन फलीभूत हुन नसक्नुमा राजनीतिले गतिलो आधारभूतशास्त्र लेख्न नसक्नु या आन्दोलनका अभियन्ताबाटै त्यसको पालना नहुनु हो ।
शास्त्र नै कमजोर हुनु या कमजोर पारिनुले के देखाएको छ भने हामी परिवर्तन त चाहन्छौँ तर त्यसको सम्यक व्यवस्थापन गर्न असफल छौँ । यही शास्त्र निर्माणको कमजोरी, शक्तिको अत्यन्त कामना र आपसी ईश्र्याजस्ता कारणले गर्दा हाम्रा राजनीतिक दलहरू आफैँलाई खोज्न अदालत धाउन अभिशप्त छन् । हामी क्रान्तिपर्व र आन्दोलन पर्वमा सफल भयौँ तर तत्पश्चातको अनुशास नपर्वको अनुष्ठान गर्न असफल भयौं । हामी अन्जानमा यो गल्ती गरिरहेका छौँ या जानाजान ? यसको उत्तर बारम्बार आन्दोलनको नेतृत्व गरिरहने व्यक्तिहरूलाई नै थाहा होला ।
यस्तो किन भयो र अझै यस्तै भइरहने लक्षणहरू किन प्रकट भइरहेछन् ? सबैलाई थाहा छ, हाम्रो पर्व विफलतातर्फ उन्मुख छ । तथापि अहिलेको राजनीतिक परिदृश्यमा प्रकाशित भइरहेका पात्रहरूलाई रत्तिभर चिन्ता छैन । राजनीति केही व्यक्तिहरूको वृत्तमा फनफनी घुमिरहेछ अविरल । हार्नेमा हारको अवधिसम्म पर्खेर बस्ने धैर्य छैन । जित्नेमा हार्नेप्रति बदलाको भावना विद्यमान छ । देशको समस्याको पहिचान गर्न सर्वदलीय छलफल त कता हो कता एक्लो राजनीतिक दलमा समेत राष्ट्रका बारे छलफल हुँदैन । सत्ताको लुछाचुँडीले गर्दा सबैको व्यक्तिगत अहं मात्र दुख्छ । देश दुख्दैन, सामाजिक विकृति दुख्दैन, छुवाछूतजस्तो अक्षम्य घटना दुख्दैन, विदेशमा दुःख पाएको युवक दुख्दैन, बलात्कार र अनाचार दुख्दैन ।
यहाँ व्यक्तिलाई दोष दिनुको कुनै प्रयोजन छैन । हामीमा संरचनात्मक दोष छ । हामीमा हाम्रा दोषहरू खुटट्याएर निराकरण गर्न पहल नगर्ने दोष छ । हामी एकातर्फ हाम्रा पूर्वजहरूले कायम गरेको अपसंस्कृतिबारे संविधानमा लामो विवरण दिन्छौँ भने अर्कातर्फ जानीनजानी आफैँले सामन्ती भन्दै आएको ‘राजसी’ ठस्सा ग्रहण गर्न रमाउँछौँ । हामी अनुशासनपर्वको अनुष्ठान गर्न डराउछौँ । हामीलाई थाहा छ, त्यसो गरियो भने हाम्रा व्यक्तिगत आकाङ्क्षाहरू कुण्ठित हुनेछन् ।
हामी जसका विरुद्ध लामो युद्ध गर्छौं, उसैसँग कुटिल गठजोड गर्छौं । हाम्रो लक्ष्य नै येन केन प्रकारेण सत्तासुख भोग गर्नेछ । युधिष्ठिर त आफ्नो शासनप्रति देखिएका अपशकुनलाई पहिचान गरेर आफ्नो समय सकिएको बुझी महाप्रस्थानमा गए । आफ्नो अनुपस्थितिमा के के बित्याँस पर्ला भन्ने चिन्ता नगरी पछाडिसमेत नफर्की लगातार गइरहे । किन्तु हामी सत्ताको ‘म्युजिकलचियर’ को खेल छाड्न तयार छैनौँ । हामीलाई हाम्रा युवाप्रति भरोसा छैन । हामी निश्चित अवधिका लागि आफैँले चुनेर पठाएको सरकार प्रमुखको कुर्सी आफैँतिर तान्न उद्यत छौँ । हामी सरकारले देश देखेन भनेर चिन्तित छैनौँ, बरु ‘मलाई’ हेरेन भनेर बलिन्द्र बिलौना गर्छौं ।
हामीमा छिर्के चरित्र लबालव भरिएको छ । हामी हाम्रा आन्दोलनका सहयात्रीको छिर्केको डरले न्यायाधीशलाई सरकार प्रमुख बनाउँछौँ । हामी चुनाव हारे पनि प्रधानमन्त्री बन्न हुरुक्क हुन्छौँ र हामीमध्ये कतिपयले त्यो उत्सुकताको हार्दिक समर्थन गर्दछौँ । हामी सर्वदा सत्ताको उद्योग पर्व मनाउनमै मस्त हुन्छौँ । हामीलाई चालबाजी र लफ्फाजी मन पर्छ । मौकापर्दा सत्याग्रहीबनेर ‘हामीयता छौं’ भनेर बडो विनयी, शालीन र लाचार भावमा प्रकाशित हुन्छौँ । हाम्रा रूप अनेक छन् ।
हामी हाम्रो छाती भित्रको हृदयलाई शुद्धीकरण गर्न र हाम्रा आँखाभित्रको दुई थोपा आँसु बगाएर जनतासामु प्रकट हुन डरायौँ । हाम्रो हृदय र चित्त आर्द्र भएन सुक्खा भयो, किनकि हामी ‘ठूला मान्छे’ भइसकेका थियौँ ।
हामीले हाम्रा किशोर र युवाको वैचारिक स्वतन्त्रताको अपहरण ग¥यौँ । हामीले हाम्रा अनुगामी बढाउने धुनमा सोचेर र विचार गरेर आफ्नो अभिमत तयार गर्ने उनीहरूको हकलाई बन्धक बनायौँ । अल्पवय नागरिकलाई ‘अति राजनीतिक’ बनाउने क्रममा हामीले सिद्धान्तहीन र विचारहीन गुटीय जत्थामात्र तयार ग¥यौँ ।
हरेक समाजमा विद्रोहको बिज लुकेर बसेको हुन्छ । धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौगोलिक विविधता रहेको देशमा यो सम्भावना झनै प्रबल हुन्छ । हामीले यो सोच्नु हुँदैन कि हाम्रो उद्धार हुनु नै समस्त जनसमुदायको उद्धार हुनु हो । कतै हामी हाम्रो स्वार्थको लुछाचँुडीको भुमरीमा परेर त्रासद दुर्घटनालाई निम्त्याइरहेका त छैनौँ ?
हो, हामीले अनुशासन पर्वको अनुष्ठान गर्न छुटाएका छौँ । यो छुट्नु भनेको परिवर्तन संस्थागत नहुनु हो । यो छुट्नु भनेको समस्या र सम्भावनाको पहिचान गर्न छुट्नु हो । के हामी १०÷१२ जना मानिस आफ्नो बित्दो उमेरलाई ख्याल गरेर यो अनुष्ठान गर्न तयार छौँ ?
(लेखक नेपाल सरकारका पूर्वसहसचिव हुनुहुन्छ ।)