प्रतिभा पलायन र आर्जन (सम्पादकीय)
प्रतिभा पलायन र आर्जन विश्वव्यापी बहस हो । समाजशास्त्री इम्यानुयल मौरिस वालेरस्टिनद्वारा प्रतिपादित वर्ड–सिस्टम थ्योरी (विश्व–व्यवस्था)मा विश्वका मुलुकलाई कोर, सेमी–पेरिफेरियल र पेरिफेरियल कन्ट्री गरी तीन वर्गमा विभाजन गर्दै कोर कन्ट्रीहरूले सेमी–पेरिफेरियल र पेरिफेरियल मुलुकबाट दक्ष जनशक्तिसहित कच्चा पदार्थ दोहन गर्छन् भनिएको छ । साथै पेरिफेरियल मुलुकमा उपलब्ध कच्चा पदार्थमा कोर र सेमी–पेरिफेरियल मुलुकले चक्रीय शोषण गर्छन् भनिएको छ । उनको सिद्धान्तलाई विश्व व्यवस्था–विश्लेषण वा दृष्टिकोण भनिएको छ । उनका सिद्धान्तलाई व्यवहारमा सामान्यीकृत गरेर हेर्दा स्पष्ट हुन्छ–आज गरिब (पेरिफेरियल) मुलुकका अभिभावकले लाखौँ रुपियाँ खर्च गरेर आफ्ना सन्तानलाई चिकित्सक वा उच्च प्राविधिक शिक्षा पढाएका हुन्छन् तर सन्तानहरू पढाइ सकिना साथ कोर (धनी) मुलुकतिर पलायन हुन लालायित हुन्छन् । यस्तो प्रवृत्तिलाई कोर कन्ट्रीहरूले गरेको स्रोतमाथिको नयाँ शोषणका रूपमा वालेरस्टिनले व्याख्या गरेका छन् । विगतमा धनी मुलुकले गरिब मुलुकबाट प्राकृतिक स्रोतको दोहन गर्थे भने अबका धनी मुलुकले मानव स्रोतमा पनि उस्तै दोहन दोहो¥याउने विचार यो सिद्धान्तमा व्यक्त गरिएको छ ।
वालेरस्टिनको सिद्धान्तमा व्यापक बहस र परिमार्जनका तर्क पनि आएका छन् तर गरिब मुलुकबाट प्रतिभा पलायन हुने गरेको सत्यमा विवाद गर्न सकिँदैन । पलायनको मुख्य कारण केवल धनी मुलुक मात्र नभएर गरिब मुलुक पनि हुन सक्छन् । यहाँ पनि बसाइँसराइको पुल र पुस (धकेल्ने र तान्ने) सिद्धान्त लागू हुनसक्छ तर विश्वव्यापी रूपमा देखिएको यस्तो समस्याले गरिब मुलुक अझ गरिब हुनुपर्ने अवस्था ल्याएको छ । नेपालले सन् २०२२ सम्ममा देशलाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्दै विकासशील मुलुक र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । सरकारले यस्तो लक्ष्य प्राप्त गर्न विदेशमा रही विभिन्न विधामा विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कन प्रेरित गर्ने उद्देश्यले ०७६ वैशाखमा ‘ब्रेन गेन सेन्टर’को स्थापना गरेको छ । केन्द्रले प्रारम्भिक कामका रूपमा विदेशमा रहेका नेपाली विज्ञ जो नेपाल आएर काम गर्न चाहन्छन्, उनीहरूको विस्तृत जानकारी सङ्कलन गरिरहेको छ, जसबाट विज्ञहरूको क्षेत्र, सङ्ख्या नेपालमा काम गर्न चाहेको विधा तथा सुविधाका बारेमा प्रारम्भिक निष्कर्षमा पुग्न सकिनेछ ।
नेपाली बौद्धिक प्रतिभा विदेशिनु राम्रो होइन तर यसलाई पनि उत्पादनमुखी बनाउन सकिनेछ । नेपालीहरू जहाँ जहाँ पुगेका छन् उनीहरूले त्यहाँ त्यहाँ नेपाल पु¥याएका छन् । नेपाली संस्कृति पु¥याएका छन् । अर्को उनीहरूले विदेशमा रहेर त्यहाँका अत्याधुनिक प्रविधि, उपकरण तथा बौद्धिक ज्ञान, सीप सिक्ने अवसर पाएका छन् । यसरी बौद्धिक ज्ञान, सीप सिकेका नेपालीलाई स्वदेशमै फर्काउन सक्दा हामीले पनि कोर कन्ट्रीको विकास निर्माणका आधुनिक प्राविधिक ज्ञान तथा सिप (टेक्नोलोजी ट्रान्सफर) निःशुल्क रूपमा आयात वा खपत गर्न सक्छौँ ।
भूमण्डलीकरणले मानिसलाई एक देशको सीमामा बाँधिएर बस्नुपर्ने अवस्थाको अन्त्य गरिदिएको छ । बेलायतले उच्च दक्ष व्यक्तिलाई आफ्नो देशमा प्रवेश गराउन थालेको लामो समय भयो । बे्रक्जिटपछि यसलाई अझ सरल र सहज बनाउँदैछ । अस्ट्रेलियाले पनि यसरी नै दक्ष जनशक्ति लिइरहेको छ । भियतनामले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएर अर्थतन्त्रमा आश्चर्यजनक सुधार गरेको विश्व अनुभव छ । नेपालले के गर्ने ? कुनै पनि दक्ष व्यक्तिलाई केवल राष्ट्रियता र जन्मथलोको नाताले तान्न सम्भव हुँदैन । भावुकता र संवेगमा कुनै पनि दक्ष व्यक्ति नेपाल फर्कन चाहँदैन । उसलाई अवसर दिनुपर्छ । अवसरको वितरण कसरी गर्ने ? नेपालले सोचिहाल्नुपर्ने भएको छ । नेपालले रेल मार्गलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रम बनाउँछ भने विदेशमा रहेका यससम्बन्धी दक्ष जनशक्तिलाई लगानीमैत्री वातावरण, प्रतिफल सुनिश्चित र आर्थिक सुरक्षा प्रत्याभूत गरेर मात्र यहाँ फर्कन उत्प्रेरित गर्न सकिनेछ । साथै, नेपालमा काम गर्न चाहने दक्ष नेपाली जसले विदेशी नागरिकता लिएका छन् वा विदेशी कम्पनीमा आबद्ध छन् भने उनीहरूको गोपनीयता, आंशिक समय काम गर्न पाउने वातावरण वा परामर्शका रूपमा काम गर्न पाउने खुला अवसर दिन सकिनेछ । ‘बे्रन गेन’ लाई नारा होइन अभिभारा बनाउन सक्नुपर्छ ।