विचार/दृष्टिकोण |

महाविपदीय सङ्कटको चुच्चो देखिन पुग्यो

अरविन्द रिमाल

हाम्रा सुन्दर, शान्त, विशाल महाकवि लक्ष्मीप्रसाद देवकोटाले हामीलाई आफू एक्लैमा भारतका सुविख्यात भगवतीचरण वर्मा, सूर्यकान्त त्रिपाठी निराला, सुमित्रानन्द पन्त, पाकिस्तानका फैज अहमद फैज, चीनका लू सुन, टर्कीका नजीम हिक्मत, रुसका पुश्किन र ब्लोक, बेलायतका बाइरन, कीट्स तथा शेली, फ्रान्सका लुई आरागोँ, जर्मनीका गेटे, अमेरिकाका वाल्ट ह्विट्म्यान तथा मार्क ट्वैन, ल्याटिन अमेरिकाका पाब्लो नेरुदाका काव्यरचना कौशल तथा मेधाको राम्ररी चिनारी नगराएका होइनन् । अनि हाम्रा धेरै कविले यसबाट समुचित मार्गदर्शन पनि नपाएका होइनन् । तर पनि यो वृद्ध पङ्क्तिकारलाई आफ्नै सिरानीमा आफ्ना कुनै अधिकारी, ढकाल, श्रेष्ठ, भण्डारी, प्रधान, पारिजात, रोका नामले सुशोभितका कमलेश्वरको “कितने पाकिस्तान”, मोहित सेनको “द ट्राभलर एण्ड द रोडः अ जर्नी अफ एन इण्डियन कम्युनिस्ट”, वा फैज अहमद फैज वा रोबर्ट फ्रस्टको जस्तो कुनै रचना हुन पाए कस्तो सुनमा सुगन्ध हुनेथ्यो भन्ने लागिरहन्थ्यो । यस्तो कुनै मृगतृष्णा, कुनै आसक्ति त होइन, परन्तु एउटा चिराकाङ्क्षा चाहिँ निश्चय नै थियो ।
पुस्तक मनुष्य जीवनका असल मित्र हुन् भन्ने गोर्कीवचन अनि मनुष्य जीवनको अध्ययनबाट साधक ज्ञानी हुन्छ भन्ने गुरुवचनले सधैँ एउटा चेतको घण्टी बजाइरहेको एकदिन, गएको चैत २७ गतेको शुक्रबार कवि श्यामल अधिकारीले वैचारिक उथलपुथलको वसन्तलाई सँघारमा पठाइदिनुभयो, “गोरखापत्र” आलेखमार्फत, एउटा वैचारिक तूफानी चरोको प्राञ्जल उडानले छाड्ने सुवासजस्तै गरी । प्रायः विचार –प्रधानता नभएका, शब्दाडम्बरी, पाँडे गालीगलौचले भरिभराउ, जडसूत्रवादी, सैद्धान्तिक वजन–शून्य आजको राजनीतिक परिस्थितिमा श्यामलको यस्तो आलेखले सार्थकता, महìव एवम् औचित्य पाउन नसक्ला, तर यस्तो रचना पढ्न पाउनु विरलाकोटी अवसर हो । अनि, जुन आलेखका निम्ति लेखकले मुख्य आधार बनाउनुभयो कार्ल माक्र्सकृत “लुइ बोनापार्टका अठारौैँ ब्रुमेर” लाई, त्यो कालातीत महìवको ऐतिहासिक निबन्ध यस पङ्क्तिकारले २००९ सालतिर पढ्दा उसमा छाएको भाव, माक्र्सको ग्रन्थ पढेर बुझेकोमा अपार हर्षका साथै त्यसमा आजको भर्खर प्रजातन्त्र आएको देशमा राजनीतिक पात्रहरूको हुबहु चरित्र चित्रण पाउँदाको विष्मयले रसाएका आँखाको सम्झना आज पनि नआइरहन सक्दैन ।
अनि, त्यही ग्रन्थ रोजेर उहाँले नेपालको दुःखद तथा अनिष्टकारी वर्तमान राजनीतिक घटनाक्रमको अत्यन्त सूक्ष्म ढङ्गले, गहन विश्लेषणद्वारा व्यापक विवेचना गर्दा पनि यो पङ्क्तिकारले झल्याँस्स सम्झियो, ओहो, चैत २७ गतेको दिन त नेपाली काँग्रेस तथा नेपालका विभिन्न वामपन्थी दलको प्रजातन्त्र पुनस्र्थापनाको संयुक्त जनआन्दोलनसँग एकतन्त्रीय पञ्चायती राजाले ऐतिहासिक सम्झौताको सुभारम्भ गरेको, आफ्नै पिताका अक्षम्य राजनीतिक अपराधको प्रायश्चित गर्न थालेको भोलिपल्ट पो, हो ! अनि अनेक नाटकीय मोडपछि नयाँ ४७ सालको वैशाख ११ गतेको वासन्ती दिन पनि त्यही दिनले नै ल्यायो जुनकि विशिष्ट विविध रङ रूपका विदेशी दबाबलाई पन्छाउँदै तथा चलखेललाई छिछोल्दै विशुद्ध नेपाली राजनीतिक बुद्धिमत्ताले आफ्नो मुलुकको उज्ज्वल भविष्यलाई लक्ष्य गरेर स्थापना गरेको असाधारण राजनीतिक अभ्यासको शानदार कोशेढुङ्गा पनि थियो ।
अनि, कदापि नमिल्नेजस्तो देखिएको विश्वेश्वरप्रसाद कोइराला तथा पुष्पलालको पञ्चायतविरुद्ध तर बेग्लाबेग्लै ढङ्गले लक्षित विचारधाराले गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईमार्फत तìवत ः मदन भण्डारी नेतृत्वको वामपन्थी समूहसँग कार्यगत एकात्मकताले सफलता पाएको महान दिवस साबित भयो, जसका सहजकर्ता १९९७ सालका क्रान्ति द्रष्टा टङ्कप्रसाद आचार्य रहेको तथ्यलाई ओझेलमा राखिएकोले गर्दा आजकालका धेरैलाई थाहा छैन, यो सत्य कुरा । अनि धेरैलाई थाहा नभएको अर्काे तथ्य हो, नेपालमाथि निर्मम नाकाबन्दी लगाउने, त्यसमाथि नेपालविरुद्ध चरम बन्धनकारी सम्झौता लाद्ने तत्कालीन भारतीय सत्ताको खुला विस्तारवादी महìवाकाङ्क्षा अनि यो नमाने “नेपालमा प्रजातन्त्रको पुनस्र्थापना” को निहुँमा नेपालभित्र भारतीय फौज पठाउने चाललाई लत्याउँदै राजा वीरेन्द्रले आन्दोलनकारीसमक्ष गरेका सर्वथा उल्लेखनीय राजनीतिज्ञतापूर्ण सम्झौता जुन पछि, २०५८ सालमा वीरेन्द्रको वंश विनाश हुनाका अनेक कारणमध्ये पनि एउटा हुन पुग्यो ।
चैत २६ को दिन बिर्सन पुग्दाको थकथकीमै हाम्रा अन्यथा सुरबेसुरका “अग्रगामी” नागरिकबाजहरू र धाके तलबी सामन्तवादविरोधी मिडिया म्यानहरूको चुपचाप पनि खुल्यो । अनि सम्झिइन पुगियो
“कितने पाकिस्तान” मा कमलेश्वरका चेतावनी शब्दहरू । उहाँले देश विशेषका इतिहास, संस्कृति तथा सभ्यताको विस्मृति तिनकै जनमानसलाई गराउने “रसायन” तिनलाई नै ख्वाउनका लागि नै स्वयं अमेरिका राष्ट्रपति ड्वाइट आइजनहावरले, कुन्नि कसरी हो, “यूएस–मिलिटेरी–इण्डस्ट्रियल–कम्प्लेक्स” भन्ने नाम दिएका, महाशक्तिशाली अमेरिकी केन्द्रले फैलाएको “नियन्त्रणको राजनीति” को विश्वव्यापी सञ्जालको यथार्थ वर्णन गरेका गर्नुभएको छ । यो शक्ति केन्द्रको इशारामा चल्ने हामीकहाँ पनि धेरै रङ्गीबिरङ्गी राजनीतिक बाज भएकोमा कुनै शङ्का छैन । कमलेश्वर भन्नुहुन्छ ः “नियन्त्रणद्वारा आत्माहरूलाई फोरिन्छ, अनि तिनलाई विभाजित गरिन्छ, तिनमा सांस्कृतिक प्रतिरोध गर्ने शक्ति विखण्डित गरिन्छ र त्यसपछि बजारवादी जुकाहरूले त्यस विभाजित राष्ट्र र जनताको सारा रगत चुसेर सोस्छन् । खण्डित संस्कृतिका मशानहरूमा अनि उत्सवका बजार थापिन्छन्, धर्म र इतिहास शोषकहरूका हातका खलौना बनेर नाच्दै–गाउँदै, चाडबाड मनाउँदै आफ्नै विभाजित अङ्गका शत्रु र आफ्नै विनाशका कारण बन्न जान्छन् । ठूलाठूला सभ्यताहरूलाई फोडफार गरी तिनलाई बन्दी बनाउनका लागि विभाजनको यही बाटो ती असभ्य अपसंस्कृतिहरूले रोजेका छन् । “कितने पाकिस्तान”, पाना ४५)। यही “नियन्त्रणको राजनीति” ले मध्य यूरोपको डेन्यूब सभ्यतालाई नष्ट गर्न भनेर नै महाराक्षसी सैन्यगठबन्धन “नेटो” द्वारा एकतर्फी युद्ध चलाएर पहिले युगोस्लाभियालाई टुक्र्यायो, अनि सर्बियाबाट उसको अभिन्न कोसोभोलाई आफ्नो प्रभुत्वमा राख्न खोजेकोलाई अकाट्य प्रमाणको रूपमा प्रस्तुत गर्छन् ।
होइन, चैत २६ गते वा वैशाख ११ गते कुनै पेरिस कम्युनसमान घटनाक्रम त होइनन्, फेरि किन यत्रो र यत्तिको चर्चासहित एउटा आलेखको यत्रो बयान भन्ने प्रश्न पनि संशयवादीहरूबाट उठ्ला ! हो, हाम्रो मामिलामा थियर्स जस्ता घोर प्रतिक्रान्तिवादी राजनीतिक मठाधीशहरू र सहरपारिका मार्शल बिसमार्कका जर्मन आततायी फौजहरू भएनन् । तर नेपालजस्तो भूरेभारे देशमा राजनीतिक नेतृत्वले राजालाई प्रजातान्त्रिक संविधानमा बाँधेर प्रजातन्त्रवादी तथा वामपन्थी दलहरू स्वतन्त्र आम निर्वनचनद्वारा आलोपालो सत्तामा आउनसक्ने राजनीतिक अभ्यास संस्थागत भएको देख्न चाहने वा सहने “प्रजातान्त्रिक मानवतावादी” हाम्रा सहायक मित्रराष्ट्र त होइनन् नि ! तिनीहरूले लैनचौरमा दुईदुई वटा र महाराजगञ्ज, त्यसरी अन्य ठाउँमा पनि हाम्रो समर्थन गर्न नै त्यत्तिकै वा त्यसै “मानव अधिकारवादी” पसल खोलेका त थिएनन् नि, होइनन् नि ! व्यापारी थिए र हुन्, त्यसैले व्यापारबापत ब्याजसमेत नाफा उठाउन चुक्नेवाला त ती थिएनन् ! नेपालको त्रिशक्ति राजनीतिक अभ्यासमा आआफ्नो संयुक्त वा निजी हालीमुहाली खोसिन लागेको देखेर चुप्पलाग्ने–चित्त बुझाउने जन्तु पनि ती थिएनन् । हो, त्यसैले, श्यामल अधिकारीले अहिले वर्णन गरेका नेपाली संस्करणीय सन् १८५० को दशकको “लुई बोनापार्टको अठारौँ ब्रुमेर” को नाटकलाई, दारुण तालले, रीसइभी फेर्दै, परिपूर्णता दिन भनेर नै योजनाबद्ध रूपले आफ्ना राजनीतिक भरौटेहरूलाई विभिन्न कोणबाट प्रायोजित गरिहाले–प्रजातन्त्रवादी फाँटबाट “लोकतान्त्रिक” र वामपन्थीबाट “माओवादी– गणतन्त्रवादी” लाई भजाउँदै ।
अनि तुलनात्मक ढङ्गले विश्वकै सर्वश्रेष्ठमध्येको एउटा, हाम्रो एसियाली भूभागको अत्युत्तम संविधान, २०४७ को नेपालको संविधानलाई अन्तर्घातद्वारा ध्वस्त नै गर्ने “अभियान’’ चलाए– सम्झौतावादी संविधान, अपूरो संविधान भन्ने वात् लगाउँदै । त्यो दस्तावेज बनाउनेमा निर्मल लामा पनि भएको तथ्यलाई पूरै बेवास्ता गर्दै नेपालको मूल कानुनलाई, राज्यीय संरचनाको आधारभूत ग्रन्थलाई विध्वस्त गर्न सेमुयेल हनटिङ्गन– फ्रान्सिस फुकोयामाद्वारा सञ्चालित नव– स्तालीनवादीहरूले संविधानमा “आत्मनिर्णयको अधिकार” नभएकोलाई तारो बनाए जबकि स्तालिन नै सोभियत सङ्घको सङ्घीय संवैधानिक व्यवस्थाका प्रमुख रचयिता थिए । संविधान “बाहुनवादी” राष्ट्रवादको परिपोषक भएको आरोप लगाए जबकि रुसी राष्ट्रियताको यशोगान गर्दै जर्जियाली जातिका सर्वाेच्च सेनापति मार्शल स्तालिनले सोभियत रुसले हिट्लरी आक्रमणविरुद्धको युद्धलाई महान् देशभक्तिपूर्ण युद्ध भन्ने गौरवशाली नाम दिएका थिए । कदाचित नेपाल भन्नू नै बाहुनवादी राज्यव्यवस्था भन्ने आराप पनि लगाइयो ! राज्य भन्नु नै “प्रताडनकारी” पृथ्वीनारायण शाहको अनुगमन भएको आक्षेप पनि लगाइयो, जबकि महान् क्रान्तिकारी दार्शनिक– सङ्गठनकर्ता लेनिन बोल्शेभिक क्रान्ति सम्पन्न गरी सोभियत रूसका प्रधानमन्त्री बनेपछि चारैतिर अङ्ग्रेजी– अमेरिकाली–फ्रान्सेली आदि पश्चिमी साम्रज्यवादी शक्ति र सैन्यवादी जर्मनीबाट घेरिँदाको कल्पनातीत सङ्कटपूर्ण परिस्थितिमा राज्य बचाउनमै लागेका थिए । शत्रुपक्षको सबभन्दा निर्धाे जर्मन पक्षलाई घातगरी घेरा फोर्ने जमर्काे गर्दै लेनिनले विदेशमन्त्री चिचेरिनलाई समझाई–बुझाई पठाए, “यदि ब्रेस्त लिभोस्तमा शान्ति सम्झौता गर्न जाँदा जर्मनहरूले तपाईंलाई पेट्टीकोट लाएर आउनु भने पनि गएर सम्झौता गर्न‘होला, कमरेड चेचेरिन !”
तर–तथ्य–सत्य–प्रमाणसँग विस्थापनकारी तìव र तिनीहरूद्वारा पालिएका, पोषिएकाहरूलाई के मतलव ? अन्ततः संविधान ध्वस्त गरियो, अनि राजनीति तथा राज्य सञ्चालनका समस्त आचारसंहिता, मूल्यमान्यता धरासायी गरियो, लाउडा तथा चिनियाँ विमान काण्डद्वारा, राज्यीय औद्योगिक आधारलाई ध्वस्त गरी । राजीव उपाध्यायको एउटा सारगर्भित पुस्तकको शीर्षकलाई लिएर बताउँदा, “काबाल्स एण्ड कार्टेल्स” को राजद्वारा, पजेरो संस्कृतिद्वारा, बैङ्कक यौन भ्रमण, अरुण परियोजनाको भ्रण हत्याद्वारा, घोर अवसरवादी राजनीतिक गठबन्धन, भागबण्डाको राजनीतिद्वारा, भारतीय सत्ताको प्रत्यक्ष सहयोगबाट माओवादी आतङ्क युद्धद्वारा, लम्पसारवादको विदेश नीतिलाई कूटनीतिक पुटद्वारा, देशमा अत्यधिक समुदायलाई– “अन्य” मा झारेर, जनसाङ्ख्यिकी कोतपर्व रचाइद्वारा, सनातन धर्म –संस्कृतिलाई नष्ट गर्न खुला रकम दानको पादरीवादी अभियानद्वारा !
यतिले नपुगेझैँ धर्म र जातिको नाममा देश विभाजन गर्न भड्काइयो । यस क्रममा राष्ट्रिय –सांस्कृतिक एकताका ज्यूँदा विभूति सत्यमोहन जोशीलाई नेवारच्युत, डा. जगमानसिंह गुरुङच्युत भएको घृणित डाम लगाइयो । उठ्यो ।तर शक्तिकेन्द्रवाला नकच्चरा थिए, के लाज, तिनलाई ! अनि तलब खानेलाई झन् के लाज ?!
यसरी नियन्त्रणबाजहरूले हाम्रा अनेक राजनीतिक कोशेढुङ्गालाई दाशढुङ्गा बनाउँदै गए, हाम्रा “आफ्नै” मठाधीशहरूलाई लगाउँदै !
यस अर्थमा श्यामल–आलेख खलहरूलाई छानीछानी चिनाइकन राष्ट्र र राष्ट्रियतामाथि छाइरहेको भयावह खतरा औँल्याइएको कथा हो भने, कमलेश्वरको “कितने पाकिस्तान” सम्रग अन्तर्राष्ट्रिय विस्थापन रणनीति– कार्यनीतिको सैद्धान्तिक भण्डाफोर कृति हो । यसमा अझ थप व्यावहारिक परिपुष्टिको बौद्धिक व्याख्या र दृष्टान्त साहित्यकार रामजीप्रसाद उपाध्याय पोखरेलको पुस्तक “सर्वधर्म समभाव” ले दिन्छ भन्नु असान्दर्भिक हुँदैन ।
संक्षेपमा भन्नुपर्दा, संसद् र आम निर्वाचनलाई एकअर्काको विपरीत उभ्याई, आफ्नै खाले खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने, सुसभ्य राजनीतिक पद्धतिलाई हत्या– हिंसाको माध्यम बनाउने भयावह खेल चलिरहेछ, अहिले मुलुकमा । राज्य विस्थापनको विदेशी एजेण्डालाई “राष्ट्रिय राजनीतिक अग्रगामी अभियान” को पाखण्डी नामले मुलुकका प्रजातान्त्रिक एवम् कम्युनिस्ट– वामपन्थी इतिहासका चार मूर्धन्य राजनीतिक पुरुष– विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल, मदन भण्डारीका उत्तरदानलाई झुम्रे– झाँक्री बुख्याँचाहरूद्वारा अपहरण गर्नेगराउने अनिष्ट षडयन्त्रलाई श्यामल आलेखले दर्शाएको भन्दा भयावह रूपमा चलखेल भइरहेको चेत समस्त देशप्रेमीहरूमा हुनु अनिवार्य छ । विदेशी शक्तिहरूको उक्स्याइमा, तिनकै भित्री स्वार्थ पूरा गर्ने हेतुले निर्वाचनबाट भागेर चोरीको बाटो सत्ता हथ्याउने हामी अहिले जुन चलखेल देखिरहेका, भोगिरहेका छौँ, ती त महादुर्घटनाकारी बरफको पहाडको चुचुरो मात्र हो भन्ने चेत राख्नु पनि अपरिहार्य छ ।
यो शताब्दी एसियाली शताब्दीको रूपमा अङ्कित हुने भएबाट पश्चिमी शक्ति केन्द्र थर्कमान छ । त्यसैले त्यो केन्द्र महान् नेपाली सभ्यतालाई सजीव राखिराख्ने हाम्रो समाजलाई नेपालको राजनीतिक–भूभौतिक अवस्था र सुशासनको अभावबाट फाइदा उठाई अस्तव्यस्त गर्दै चीन र भारतका महान् सभ्यतालाई समेत विस्थापित गर्ने स्पष्ट ध्येय राख्दछ । यो तथ्य पनि हामी सम्यक नेपालीले बुझ्नैपर्छ, भलै भारतीय सत्ता सदा नै नेपाल र नेपालीको मूल हितविरुद्ध कार्यरत रहेको होस् । यो शक्तिकेन्द्रको पूर्वस्वरूपले भारतमा रबर्ट क्लाइभका चाल मुताविक बङ्गालको सत्तामा अङ्ग्रेज सुन्दरी तर रोगग्रस्त वेश्या प्रवेशद्वारा, चिनियाँ राजदरबारमा जबर्जस्ती अफिम सेवनद्वारा र नेपालमा मल्लकालका काला कोटधारी पादरीको चर्तिकाला पनि यहाँ स्मरणीय होस् । नेपालमा अहिलेको समयमा युनाइटेड मिसन इन नेपालद्वारा बेग्लै रूपले यही रणनीति चलिरहेको पनि चेत रहोस् ।
सद्गुरु स्वामी सत्यदेवले यस पङ्क्तिकारलाई २०५८ सालको असोजमा विकारबाट उत्पन्न राजनीतिले विकार भनिने राजनीतिबाट मुक्ति दिन सक्दैन र राजनीति पनि एक प्रकारले प्रज्ञाको बाटो भएकोले त्यस “बाटोमा हिँड्दा आलोचना सुन्ने सामथ्र्य बढाउन सक्नुुपर्छ” भन्ने सिलसिलामा एउटा अत्यन्त सारपूर्ण वाणी टिपाउनुभएको थियो :
“हिजोका चिन्तन र सोचमा मात्र भर परेर आजको बदलिँदो परिस्थितिमा शान्ति एवम् क्रान्ति सम्पन्न गर्न सम्भव छैन । त्यसकारण प्रत्येक सम्यक मनुष्यले यथार्थ सोच, मौलिक चिन्तन एवम् नवीन सङ्कल्पको प्रकाशमा आफैँ दीपक भएर अगाडि बढ्नुपर्छ ।”
अब “लोकतन्त्रवादी” तथा अन्य वादी खलहरूले कुन ग्रन्थको पुनर्अध्ययनबाट आफूलाई सुधार्ने हुन्, त्यो उनै जानुन् । तर आफूलाई “कम्युनिस्ट”, “समाजवादी”, “प्रतिगमनविरोधी अग्रगामी” वामपन्थी भन्ने खलहरूले श्यामल आलेखको मर्म बुझेर माक्र्सको उपरोक्त ग्रन्थ अध्ययन गरी आफूलाई चिनेमा तिनले बुद्धमन्त्र “अप्प दीपो भव” भन्ने सिद्धि प्राप्त नगरे पनि अङ्गुलीमाल बन्न सक्ने सम्भावना छ ।

(लेखक स्वतन्त्र राजनीतिक विश्लेषक हुनुहुन्छ ।)