विचार/दृष्टिकोण |

रामनवमी तथा चैतेदसैँ

विनायकप्रसाद धिताल

देवी भागवतमा दसैँविशेष र दसका भेदमा दसैँलाई चार भागमा ऋतुअनुसार राखिएको पाइन्छ । देवी भागवत माहात्म्यमा भनिएको छ, “आश्विने मधुमासे वा तपोमासे शुचौतथा÷चतुर्षु नवरात्रेषु विशेषात्फलदायकम्” अर्थात् प्राकृतिक परिवर्तनअनुसार एक वर्षमा वसन्त, गृष्म, शरद र शिशिरसमेत चार ऋतु हाम्रो यस भारतखण्डमा पाइने हँुदा प्रत्येक ऋतुमा एक÷एकवटा दसैँ हुन्छन् । वसन्त ऋतुको चैत महिनामा, गृष्म ऋतुको असार महिनामा शरद ऋतुको असोज र शिशिर ऋतुको माघ महिनामा मनाइने प्रथा रहेको पाइन्छ । देवी भागवत तृतीयम्कन्ध अध्याय ३० मा चार दैत्यको वध गर्दा विष्णुले मधुकैटभ, महादेवले त्रिपुरासुन्दर, इन्द्रले वृकासुर, श्रीरामले रावणको वध शक्तिकी प्रतीक दुर्गादेवीको नवरात्रि पूजा अनुष्ठानबाट सम्पन्न भएको उल्लेख भएबाट चार नवरात्रको पुष्टि हुन्छ । उक्त ऋतुका शारदीय दसैँ असोज र चैत महिनामा मनाइने दसैँलाई ठूलो दसैँ र चैतेदसैँ भन्न थालियो । चैत्र शुक्ल र आश्विन शुक्लमा पर्ने दुवै दसैँमा दुर्गा भगवतीको पूजा हुन्छ । तर, चैतेदसैँमा रामनवमी पनि पर्ने हुनाले यस चाडमा विशेषतः रामको महिमाको वर्णन र गान गाउँदै आर्यावर्तका राममन्दिरमा रामको धुमधाम पूजा अनुष्ठान गरिन्छ ।
चैतेदसैँमा शारदीय नवरात्रको जस्तै पाठपूजा भए पनि जमरा राख्ने, भगवतीको प्रसादका रूपमा टीका, ध्वजा लगाउने, आशिर्वाद, दक्षिणा लिने दिने, खाद्यान्न परिकार खाने खुवाउने, शुभकामना कार्ड आदानप्रदान गर्ने, पिङ थाप्ने, नयाँ कामको शुभारम्भ गर्ने, सरकारी कार्यालय, विद्यालयमा लामो बिदा दिने, सप्तमीमा फूलपाती भिœयाउने, सदर टँुडिखेलमा कवाज खेलाई हर्षवढाइँ गर्ने, फरक जिल्ला तथा विदेशमा रहेका व्यक्तिहरू आ–आफ्नो मूलथलो घरमा भेटघाट र जम्मा हुनमा लालायित हँुुदैनन् ।
गृष्म ऋतुको असार र शिशिर ऋतुको पुस, माघ महिनामा सम्पन्न हुुने गरेका दसैँ वर्तमानमा प्रचलनमा छैनन् । तर, नेवार जातिविशेषका संस्कृतिविद्हरूको उत्खनन तथा अध्ययनमा चाहिँ गृष्म र शिशिर ऋतुको दसैँको परिवर्तित रूप असार÷साउन,पुस÷माघमा दुईपटक दिगी अथवा दिशिपूजाको परम्पराका रूपमा कायम रहेको पाइन्छ । यसको पुष्टिमा वर्तमानमा लागू भएका पञ्चाङ्ग (पात्रो)मा पौष कृष्णपक्षको दशमी तिथिमा दिशिपूजा गर्ने निर्देशन तोकिएको छ । तसर्थ, गृष्म र शिशिरका दसैँको परिवर्तित रूप नेपालका नेवारी समाजमा चलिरहेको हुँदा प्राचीनकालमा सम्पन्न हुने चार ऋतुका चार दसैँ अझै पनि प्रचलनमा छन् भन्न टेवा पुग्छ ।
नेपालका नेवार समाजमा ब्रह्मवैवर्तपुराणअनुसारका दिगि अथवा दिशापूजामा प्रकृति, चण्डिका, भद्रकाली, महेश्वरी, वाराही, सर्वमङ्ला, वैष्णवी, शिवप्रिया, जगदम्बिकासमेत नौदेवीको पूजा निरन्तर रूपमा हुने गरेको संस्कृतिविद्हरू बताउँछन् । कुनै पनि दसैँको महिमा दर्शाउन दसैँविशेषका अध्ययनविद्हरूले देवी भगवतीले शारदीय नवरात्रमा भोजन गर्ने, चैतको नवरात्रमा शयन र असारको नवरात्रमा कोल्टो फेर्ने उल्लेख गर्छन् ।
हाम्रो धर्म संस्कृति वैदिक संस्कृति भएकाले दसैँको अर्थ र महŒवलाई वैदिक संस्कृतिकै आधारमा अथ्र्याउने, बुझ्ने कोसिस हुनुपर्छ । जब पृथ्वीमा राक्षसी प्रवृत्तिको बिगबिगी हुन्छ, तब भगवान्ले मानव रूप धारण गरी अन्याय अत्याचारको अन्त्य गरी मानव जातिलाई संरक्षण गरेको कुरा नै वेद धर्मशास्त्रका सार हुन् । दसैँको महŒवलाई यसै प्रकाशमा हेर्न र बुझ्न खोज्नुपर्छ ।
चैतेदसैँको उल्लेख गर्दा रामनवमीको विशेष महŒवको चर्चाविना अधुरो र अपुरो हुन्छ । एकातिर भगवान् विष्णुलाई पृथ्वीको प्रार्थनाअनुसार लोककल्याणका लागि मानव रूपमा अवतरित हुनुपरेको र अर्कोतिर राजा दशरथको पुत्रेष्टि यज्ञको सफलताको परिणाम पुत्र जन्मनुपरेको संयोगस्वरूप राजा दशरथको पुत्रका रूपमा रानी कौशल्याको कोखबाट भगवान् रामको जन्म भएको देखिन आउँछ । रामको जन्म भएको चैत्र शुल्क नवमी तिथिमा पुनर्वसु नक्षत्र, चन्द्रमाको साथमा वृहस्पति तथा अन्य पाँच ग्रह मिलेकाले यस तिथिको विशेष महŒव भएको ज्योतिषशास्त्रका ज्ञाताहरू बताउँछन् । यस चाडमा नेपाल तथा भारतका विभिन्न क्षेत्रका भक्तजनहरू पायक पर्ने कुनै पनि राम मन्दिरमा रामको पूजा–अर्चनाको निमित्त जम्मा हुन्छन् । विशेषतः जनकपुरको रामजानकी मन्दिरमा विभिन्न सरोवर नदी, तलाउमा स्नान गरी सीतारामको पूजा–अर्चनामा लाखौँ लाखको भक्त मन्दिरको कलाकौशल र आध्यात्मिक भावनामा भावविभोर हुन्छन् । सीतासँग रामको विवाह सम्पन्न भएपछि दुलहादुलही अयोध्या प्रस्थान गर्न लाग्दा राजर्षी जनक महाराजाले छोरीको चिन्ता तथा मायामोहमा आँसु निकाल्दा मर्यादा पुरुषोत्तम रामले सम्धीको चिन्ता निवारण गर्न विश्वकर्मालाई सो मन्दिर निर्माण गर्न लगाएका प्राचीन स्मरणमा उल्लेख पाइन्छ ।
कालान्तरमा उक्त मन्दिरको स्याहारसम्भार नहँुदा जीर्ण भई कुनै एक खण्डमा पीपल उम्रिएर ठूलो हुँदै जाँदा सो छहारीमा ओतको निमित्त मानिस बस्ने गरेका उल्लेख पाइन्छ । संयोगवश भारतको बद्रीनाथ आश्रमका जगदगुरु शङ्र स्वामीका जिज्ञासु शिष्य चतुर्भुजनाथ गिरी मिथिला सहर घुम्न जाँदा साँझ परेपछि त्यसै पीपलको छहारीमा रात बिताउँदा सपनामा रामले दर्शन दिई त्यसै खण्डहरमा पुरिएको रामसमेतको मन्दिर उत्खनन गरी पुनर्जीवन गरेमा सबैले पूजाआजा गरी आ–आफ्नो इच्छा पूरा गर्न पाउनेछन् भनी वचन दिँदा गिरी निद्राबाट व्युँझिएछन् । उज्यालो भएपछि रामको आज्ञाअनुसार उत्खनन गर्दा सीतारामका चार भाइ र लक्ष्मीनारायण, हनुमानसमेतको मूर्ति भेट्टाउँदा अत्यन्त खुसी भए पनि मूर्तिहरू के ? कुन सामग्रीले पूजा गर्ने भन्नेमा चिन्तित भएछन् । तर, भगवान्को पूजाको निमित्त सामग्री जसरी पनि जुट्न सक्थ्यो, जुट्यो । जङ्गलमा गाई चराउने कुनै ग्वालाले गिरीलाई सावधान गराउँदै आफूसँग भएको सख्खर र चामल श्रद्धापूर्वक दिएर त्यसै सामग्रीले उनले सबै मूर्तिको पूजा गरे भनिन्छ । गिरीको सो पूजा अनुष्ठान वरपर फैलँदै जाँदा थाहा पाएजति सबैले पूजाआजा अनुष्ठान गर्न तल्लीन भए । सो विस्तृत खबर पाएका मकवानपुरका राजा मानक सेनले मूर्ति सजाउने भवनको निमित्त १४ सय बिघा जमिन र त्यसपछि राजा हेमकर्ण सेनले समेत केही जग्गा थपेर मद्दत गरेका उल्लेख पाइन्छ । त्यसपछि नेपालका तत्कालीन राजा रणबहादुर शाहले विक्रम संवत् १८३९ मा जनताबाट कर उठाएर उक्त मन्दिरमा पूजा–अर्चना गर्ने परम्पराको थालनी गरेको बताइन्छ । रामनवमीको दिनमा दिनभरि निराहार बस्ने र साँझमा पूजा गर्ने प्रचलन छ ।
वास्तवमा रामअवतार रावण वधका लागि नै भएको थियो र त्यो वधको विजय खुसियालीको चाडका रूपमा चैतेदसैँको सुरुवात भएको होे । कालान्तरमा मानव स्वास्थ्यको अनुकूलतालाई विचार गरेर शरद ऋतुमा बडादसैँका रूपमा दसैँ मनाउने परम्परा सुरु भएको जगजाहेर छ । जेहोस्, काम क्रोध, लोभ, मोह, अहङ्कारजस्ता दुर्गुणबाट मुक्त हुन प्रेरित गर्ने र आसुरी शक्तिमाथि दैवी शक्ति विजय हुने कुराको निश्चिन्तता प्रवाह गर्ने हो– दसैँ चाड । आदर्शको अवतार मर्यादा पुरुषराम दसैँ चाडको स्रोत भएकाले पनि सत्य, न्याय र मैत्रीभाव स्थापनार्थ दसैँलाई लिनु औचित्यपूर्ण र समुचित हुन आउँछ ।
(लेखक समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।)