विचार/दृष्टिकोण |

राष्ट्रिय जनगणनामा दायित्व

मुनीन्द्ररत्न वज्राचार्य

प्रत्येक दश–दश वर्षमा हुँदै आइरहेको जनगणना यस वि.सं २०७८ मा पनि जनगणनाका लागि सुरु हुन लागेको छ । जनगणना भनेको जनसङ्ख्याको लगत वा तथ्याङ्क हो । कुनै ठाउँ वा देशमा भएका सबै केटाकेटी, युवक युवती तथा बूढाबूढीको कुल सङ्ख्यालाई जनसङ्ख्या बुझाउँछ । देशभरको क्षेत्र प्रदेश, जिल्ला सहर, गाउँहरूको आधारमा जनगणना गरिन्छ । कुनै पनि देशको विकास त्यस देशको जनसङ्ख्याको थपघटबाट प्रभावित भएको हुन्छ । देशको विकास कार्यहरू सञ्चालनका लागि जनसङ्ख्याको लगत आवश्यक छ । जनसङ्ख्याले देशमा रहेको वातावरण, प्राकृतिक, सामाजिक र सांंस्कृतिक पक्षहरूमा समेत प्रभाव पारेको हुन्छ । सामाजिक तथा सांस्कृतिक पक्षहरूमा सामाजिक चाल चलन रीतिरिवाज धर्म, चाडपर्व, मन्दिर धार्मिक स्थल आदि पर्छन् । यिनीहरूको बीच एक अर्कामा अन्तरसम्बन्ध भई एक अर्कामा प्रभाव पार्छ । मानिस जन्मदेखि नमरुन्जेल समाजमा नै अन्तक्र्रिया गरिरहेको हुन्छ । आमाको काखमा बसी दूध चुसेदेखि बोलेको बोली, आमा बाबुका साथ सब परिवारले देखाएको ममता र प्यार हेरचाह र व्यवहार आदि संस्कारलाई सबैले मनन गरेको हुन्छ । यसैले आफ्नो जाति, धर्म, भाषा र भेषभूषा आदिलाई विर्सन हुन्न ।
नेपाल बुद्ध जन्मभूमि राष्ट्र हो । यो बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक पनि हो । देशको राजनीतिक परिवर्तनले नेपालको संविधानले नेपाललाई एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो भनेर संविधानमा उल्लेख भइसकेको छ । यसकारण सबै जनजातिले आफ्नो हक अधिकारलाई स्वतन्त्रपूर्वक मान्नु जरुरी छ । विगतको इतिहासमा शासकहरूले नेपालको हरेक जनगणना लिने बेलामा सही तथ्याङ्क नलिई यसलाई तोडमोड गरेर प्रस्तुत गर्ने गरेको देखिन्छ । मुख्यत जनगुनासो के मा छ भने जनगणना लिँदा जाति, भाषा र धर्मको महलमा बढी सवाल उठ्ने गरेको छ । हरेक जनगणनामा आदिवासी बौद्ध जनजातिहरूलाई हिन्दु करणको चेपुवामा पारी बौद्धहरूको सङ्ख्यालाई कम देखाउने प्रयास गरिंदै आएको छ । अब त्यसो हुन पाउने छैन । यसका लागि आगामी वि.सं २०७८ को राष्ट्रिय जनगणनामा सबै जातिले आफ्नो जातीय सही धर्मलाई लेखाउनु दायित्व बहन गर्नुपर्छ । विगतको जनगणनामा किन बौद्धहरूको सङ्ख्या घट्न गयो भन्ने सबैको चासोको विषय भएकाले यसको जानकारी पाउनु अति आवश्यक छ । जनगणना देशको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा यसको महìव हुने भएकाले देशको शासन, प्रशासन र विकासको नीति निर्माण र व्यवस्थापनमा यसको उपयोग गरिन्छ । यसैले आगामी जनगणनामा सबै आदवासी जनजातिहरूले सबैले आफ्नो जातीय भाषा र धर्म संस्कृतिको सही तथ्याङ्क दिनुपर्छ । गणना गर्न आउने गणकहरूले के लेख्यो भनेर सर्तक भई निगरानी राख्नु जरुरी छ । यदि गणकले सही लेखिएन भने त्यसलाई संशोधन गर्न लगाउनुपर्छ ।
नेपालमा बौद्ध धर्मको सङ्ख्यामा हरेक जनगणनामा उथलपुथल हुने गथ्र्यो । यस सम्बन्धमा विगतका जनगणनालाई अध्ययन गर्नु जरुरी छ । नेपालको धर्मसम्बन्धी ई.सं १९५२÷५४ मा उपलब्ध भएको जनसङ्ख्याको तथ्याङ्कअनुसार नेपालको कुल ८२ लाख जनसङ्ख्यामध्ये ७,०७,१०४ अथवा ८.८ प्रतिशत बौद्ध थिए । फेरि सन् १९५२÷५४ देखि १९६१ को दशकमा २३.२ प्रतिशत वृद्धि भएको देखिन्छ । त्यसपछि १९६१÷८१ को दुई दशकमा बौद्ध जनसङ्ख्या ८.३ प्रतिशतले घट्यो । नेपालको कूल जनसङ्ख्याको ५.३ प्रतिशतमात्र बौद्ध रह्यो । पञ्चायती शासनको एकाधिकारी, धार्मिक पक्षपातको नीतिको कारणले यसो भएको मानिन्छ । एक भाषा, एक जाति, एक भेष र एक धर्मको नाराले दमन र भेदभाव र दबाबको नीति थियो । पछि नेपालमा ४६ सालको जनक्रान्तिले प्रजातन्त्रको पुनस्र्थापनापछिको सन् १९९१ को जनगणनामा भने १९८१ को तुलनामा बौद्ध जनसङ्ख्या ८६.१ प्रतिशतले बढेको देखिन्छ । त्यसपछि १९८१ देखि २००१ सम्ममा ६९.७ प्रतिशतले बढ्यो । तर पनि बौद्धको सङ्ख्या अझै बढी भएको अनुमान गरिन्छ । यसैले यस आसन्न जनगणनामा समस्त बौद्ध सजक र सर्तकता अपनाउन सकिएन भने बौद्धहरूको सङ्ख्या वृद्धि नै हुन्छ भन्ने ढुक्क बस्नु पश्चाताप हुनेछ ।
मोटामोटी रूपमा नेपालमा बौद्ध धर्म मान्ने जातिहरूमा तामाङ, गुरुङ, मगर, शेर्पा, लामा, थकाली, लेप्चा, नेवार र अन्यलाई लिइन्छ । खासगरी गत जनगणनाअनुसार बौद्धहरूको सबैभन्दा बढी जनसङ्ख्याको वृद्धिमा तामाङ, मगर र गुरुङहरू यथेष्ट मात्रामा देखिएका छन् । तर पनि मगर, गुरुङ, थकाली र राई किराँतका विभिन्न थरीमा कोही हिन्दु भनी लेखिने गरिएको हुन्दा अचेल बौद्धहरूको सङ्ख्या कम हुँदै गएको छ । नेवार समुदायमा तीन चौथाईभन्दा बढी बौद्ध भएको अनुमान गरिछ । जसमा वज्राचार्य, शाक्य, स्थापित, कंसाकार, ताम्राकार, राजकर्णिकार, तुलाधर, मानन्धर, डङ्गोल, महर्जन, सुवाल, अवाले, शिलाकार, रञ्जितकार, तण्डुकार, चित्रकार, खड्गी केही श्रेष्ठ, प्रधान, राजभण्डारी अमात्य र अन्य छन् । नेवारहरूमा ठूलो सङ्ख्यामा बुद्धधर्म मान्ने भए पनि बुद्धधर्म लेखाउनमा कमी आएको देखिन्छ । केही दशक अगाडिसम्म पनि ५० प्रतिशत श्रेष्ठहरूले वज्राचार्यलाई पुरोहित मानी बुद्धधर्म मान्दथे । तर पछि धेरैजसो श्रेष्ठ दरबारीया जागिरे र मोफसलमा व्यापार र जागिरे हुनाले हाल हिन्दु धर्मावलम्बी बाहुन पुरोहित राख्न थाले । यसले पनि बौद्धहरूको सङ्ख्या केही प्रतिशतले घट्न गयो । तर काठमाडौँ उपत्यकाका अधिकांश नेवार बौद्ध हुन् । यहाँका ६० प्रतिशत नेवार बौद्धहरू वज्रयान र थेरवादमा बौद्ध धर्मको आस्थामा अडिग छन् । अचेल तराईका थारूहरूले पनि बुद्धधर्म लेखाउनमा उत्साह देखाउने गरेका छन् ।
वर्तमान परिप्रेक्ष्यमा जनसङ्ख्याको सही तथ्याङ्क किन महìवपूर्ण छ भने राजनीतिक हिसाबले समानुपातिक समावेशी लोकतन्त्रका सिद्धान्तको आधारमा सङ्घीय शासन चलाउने व्यवस्था भएकाले जुन जातिको जति सङ्ख्या छ सोही अनुपातमा सांसद सङ्ख्या चुन्ने व्यवस्था संविधान सभाको निर्वाचनमा उल्लेख छ । यसैले हरेक जातिले आआफ््नो संस्कृति विकास गर्न सांस्कृतिक सम्पदा सुरक्षाका लागि धार्मिक आस्था हुनुपर्छ । यस्तै हरेक जातजातिले आआफ्नो संस्कृति भाषा, भेषभूषा, सोच मूल्य मान्यता व्यवहार शैली पहिचान गर्न सक्नुपर्छ । सांस्कृतिक सम्पदाको सुरक्षाका लागि धर्मको बाहुल्य हुन्छ । नेपाल बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक र धर्मनिरपेक्ष राष्ट्र भइसके पनि सरकारी रवैयामा परिवर्तन आएको छैन । यसैले आगामी आसन्न जनगणनामा समस्त बौद्धले देहायका विषयमा सचेत हुनु जरुरी छ ।
जनगणना लिन आउँदा आफूले अलिकति पनि अज्ञानता नदेखाई सही जवाफ दिनुपर्छ । सही तथ्याङ्क लेखाउन स्वयं चनाखो रहनुपर्ने हुन्छ । जनगणनामा लागेका व्यक्तिहरूलाई राम्ररी प्रशिक्षण नदिइएको हुनसक्छ त्यसैले आफूले नै सही जवाफ दिनुपर्छ । जनगणनामा गणकद्वारा गाउँ घरका ठूला ठालु मुखिया र शिक्षकहरूलाई मात्र सोधी गाउँको सबै तथ्याङ्क सङ्कलन नगरियोस् । कसैको मानव अधिकारको हनन् नहोस् । जनगणनाबारे यथेष्ठ प्रचार प्रसार हुनुपर्छ । जनगणनामा कुनै किसिमको धाँधली नहोस् भनी यस कार्यक्रमप्रति समस्त बौद्ध समुदायलाई “हामी बौद्ध हौँ” भन्ने पहिचान गराई सचेत गराउन बौद्ध धार्मिक संस्थाहरू जस्तो धर्मोदय सभा, वज्राचार्य संरक्षण गुठी, मगर समाज, गुरुङ समाज र थारू समाजहरूले पहल गर्नुपर्छ । यसो गरिएमा आगामी जनगणनामा बौद्धहरूको सही तथ्याङ्क आउनेछ । कसैले धाँधली र पक्षपात गर्न सक्दैन । यसरी सही तथ्याङ्क दिनु बौद्धहरूको दायित्व हो ।
(लेखक अवकाशप्राप्त सह–प्राध्यापक हुनुहुन्छ)