विचार/दृष्टिकोण |

आफ्नै देशको अयोध्यामा राम !

घनश्याम कोइराला

चितवनको अयोध्यापुरीमा राम मन्दिर बनिरहेको छ । रामनवमी (वैशाख ८ गते) आफ्नै देशको अयोध्यापुरीमा हनुमान र लक्ष्मणसहित सीतारामको मूर्ति स्थापित भएको छ । यो विषयलाई अन्यत्र कतैको केही विषयसँग जोडेर बुझ्न आवश्यक छैन । यो हाम्रो आफ्नै विषय हो ।
वास्तविक अयोध्या र राम जन्मभूमि नेपालको चितवन जिल्लामा रहेको अयोध्यापुरी हो वा भारत, उत्तर प्रदेशको फैजाबादको अयोध्यामा हो भन्ने विषयमा बहस हुँदै रहला, अध्ययन, खोज हुँदै गर्ला र तथ्य प्रमाणले जे भन्ला, त्यही स्वीकार गरिनेछ । तर, अहिले यति मात्र बुझौँ, अयोध्या यहाँ पनि छ, राम मन्दिर यहाँ बन्नु र नेपालका रामभक्तहरूले यहीँ राम मन्दिर स्थापित गरी यसैमा प्रतिष्ठित रामको पूजा गर्नु बहस र विवादको विषय हुनुहुँदैन ।
हिन्दुका नामले चिनिने सनातन धर्मावलम्बीहरूका लागि ‘राम’ आस्था र विश्वासको केन्द्र हुन् । साहित्यिक हिसाबले हेर्दा ‘राम’ रामायण महाकाव्यका नायक हुन् । यी दुवैको विवेचना गर्दा ‘राम’ जुनसुकै देश, काल, परिस्थितिमा प्रेरणा लिन सकिने चिरप्रभाव भएका, उत्प्रेरक व्यक्तित्व हुन् । उनले आफ्नो जीवनमा आर्जित गरेका ख्यातिका कारण उनी सामान्य मानवभन्दा उच्च आदर्श व्यक्तित्व हुन् । त्यसैले उनलाई मर्यादा पुरुषोत्तम, भगवान् भनिएको हो ।
संस्कृत व्याकरण अनुसार ‘राम’ शब्दको व्युत्पत्ति गर्दा रमते (रमाउने) इति रामः अर्थात् खुसी हुन्छन् जो, खुसी मिल्छ जहाँ, जुन कुराले खुसी दिन्छ त्यो नै राम हो । रमन्ते योगिनः यस्मिन् राम ः अर्थात् योगीहरू खुसी हुन्छन् यिनमा, जोसँग योगीहरू खुसी हुन्छन् ती नै राम हुन् । नेपाली भाषामा रङ्गरमाइलो हुने ठाउँ वा आयोजनालाई राम भन्ने गरेको पाइन्छ । रामसँग योगीको कुरा जोडिँदा कसैले फरक ढङ्गले बुझ्ने पनि गर्छन् र योगी भनेको चलन चल्तीमा भनिने जोगीहरूलाई बुझ्दा रहेछन् । यी योगी वा जोगीलाई मात्र योगी भनिएको होइन । यसरी हेर्दा अर्थको अनर्थ लाग्छ । योगी भनेका ती हुन्– जसले आफ्ना काम दत्तचित्त भएर गर्छन्, जसले योगदान गर्छन् र जसले समाजलाई जोड्छन् ।
नेपाली भाषाका आदिकवि, भानुभक्तको २०५ औँ जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट व्यक्त विचारले यतिबेला निकै ठूलो तरङ्ग सिर्जना गरेको छ । हिन्दुहरूका आराध्य मर्यादा पुरुषोत्तम भगवान् रामको जन्मभूमि नेपालकै चितवनको अयोध्यापुरीमा भएको मन्तव्यबाट सिर्जित तरङ्ग संसारभरि विस्तार भयो । यसबाट धेरै नेपाली खुसी देखिए । केही नेपाली आश्चर्यमा परे । केही मानिस अलमलमा पनि देखिए । केही मानिस भने भारतको अयोध्या नै राम जन्मेको वास्तविक अयोध्या हो भन्ने देखिए । जसरी समाजमा ‘भगवान्’ को हुन्, के हुन् भन्ने विषयमा चर्चा चल्छ, त्यसैगरी चितवनको अयोध्याको विषयमा पनि चर्चा चल्यो । चिन्तनसँग नजोडिएका घटनाले समाजको प्रभाव र महìव ‘घटाउने’ मात्र हो । दृष्टिकोणसँग नजोडिएका विचारले मानिसलाई क्षणिक रमाइलो मात्र दिने हो । चिन्तन र दृष्टिकोणसँग जोडिएर आउने विचारले समाजलाई तरङ्गित र उत्प्रेरित गर्न सक्छ । यस कोणबाट विचार गर्दा प्रधानमन्त्री ओलीले राम जन्मभूमि अयोध्यापुरी नेपाल, चितवनकै अयोध्यापुरी भएको भाषण मात्र गरेर दिन बिताएको देखिँदैन । यो त उहाँले अघि बढाएका काम र बिउँझाएका सपनामध्येको एउटा हो । राम र अयोध्याको चर्चा अघि बढाउनै पर्दा केही विषय अघि सार्न सकिन्छ । अयोध्याको विषयमा वाल्मीकि रामायणमा लेखिएका यी पङ्क्तिबाट सुरु गर्न सकिन्छ ।
कोशलो नाम मुदितः स्फीतो जनपदो महान् । निविष्टः सरयूतीरे प्रभूतधनधान्यवान् ।
अयोध्या नाम नगरी तत्रासील्लोकविश्रुता । मनुना मानवेन्द्रेण या पुरी निर्मिता स्वयम् ।
अर्थात्, सरयू नदीको तिरमा कोशल नामले प्रसिद्ध एउटा ठूलो जनपद छ । त्यो धनधान्यले सम्पन्न, सुखी र निकै समृद्ध छ । त्यसै जनपदमा विश्वप्रसिद्ध अयोध्या नाम गरेको नगर छ । यसलाई स्वयं महाराजा मनुले निर्माण गरी स्थापित गरेका थिए । (वाल्मीकि रामायण)
यी श्लोकहरूबाट निर्दिष्ट, रामको जन्मभूमि नेपालको चितवन जिल्लाको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी हो । यसको पुष्ट्याइँका आधार बाहिर खोज्नु पर्दैन, रामायणमा नै पाइन्छ । यसको नजिकै रहेको नदी, यसका नजिकै रामसँग सम्बन्धित ठाउँहरू, सुगमता र समृद्धिको आधार भएको भूमि, अन्य भौगोलिक पक्षहरू, यस निकटका केही संरचना, वाल्मीकि आश्रमको निकटता आदिले यो स्थल राम जन्मभूमि मान्न सकिने आधार प्रदान गर्छन् । यस विषयमा थप अध्ययन, अन्वेषण गरी वास्तविकता बाहिर ल्याउन भने आवश्यक छ ।
योद्धुमशक्या अयोध्या, अर्थात् जससँग युद्ध गर्न सकिन्न । दुर्गगम्भीरपरिखां दुर्गामन्यैर्दुरासदाम्, अर्थात् त्यसको चारैतिर गहिरो खाडल खनेर त्यसलाई नाघ्न र नगरमा प्रवेश गर्न कठिन थियो । (वाल्मीकि रामायण) यहाँको भूबनोट हेर्दा यस्तो हुन सक्ने नै बुझिन्छ । तथ्य, विश्वास र विवेचना नै सत्य पत्ता लगाउने र निष्कर्षमा पुग्ने उपाय हो । यहाँका मानिसहरू रामभक्त हुनु, रामायणमा वर्णन गरिएजस्तो भूबनोट हुनु, यसका नजिकमा रामसँग सम्बन्धित स्थल हुनु र माथि उल्लेख गरिएका अन्य विषयले राम जन्मभूमि भएको मान्न सकिन्छ ।
अब अध्ययनको कुरा गरौँ । यसको पहिलो विषय रामायण हो । रामस्य चरित्रयुक्तं शास्त्रं रामायणम्, रामको चरित्र चित्रण भएको शास्त्र रामायण हो । रामायणलाई आधार मानेर हेर्दा माथि उल्लेख गरिएका पक्षहरू देखापर्छन् । रामायणलाई साहित्य मान्ने, महाकाव्य मान्ने हो भने हो भने भौतिक उत्खननको अर्थ हुँदैन । काव्यसिद्धान्तका हिसाबले हेर्दा रामायण एउटा उच्च स्तरको महाकाव्य हो ।
रामायणलाई व्यासरचित पुराण १८ भित्रको नपरे पनि सो सरहको शास्त्र मानिएको छ । शास्त्र भनेको शास्ते इति शास्त्र अर्थात् आज्ञा वा शिक्षा दिन्छ, जसले त्यो नै शास्त्र हो । यसरी हेर्दा रामायण शास्त्र हो । यो आदिकवि महर्षि वाल्मीकिद्वारा रचित आदिकाव्य, आदिमहाकाव्य हो । रामायण काव्यिक रीत पुगेको भगवान् राम नायक रहेको महाकाव्य हो ।
नेपाल भूमिमा अनेकौँ धर्म, संस्कृति, परम्परा छन् । धर्म, संस्कृति र परम्पराका आधार छन् । यहाँका हिमालय ऋषिमुनिका तपस्थल हुन् । यहाँका गुफाकन्दरा र वन देवीदेवताका क्रीडास्थल हुन् । यहाँका नदी मानव सभ्यताका आधार हुन्, तीर्थ र धाम हुन् । वेद, उपनिषद्, पुराणहरू यही भूमिमा रचित हुन् । यिनका रचयिता हाम्रा पुर्खा थिए । ती पुर्खा–पूर्वजमध्ये व्यास, वाल्मीकि, वशिष्ठ, याज्ञवल्क्य, सीता, मैत्रेयी, गार्गी, गण्डर्षि आदि अनेकौँ छन् । महादेव, गणेश, कुमार कार्तिकेय, देवी पार्वती, गुह्येश्वरी, बाराही, अन्नपूर्णा आदि अनेकौँ महामाताहरूको स्थल यही नेपाल भूमि रहेका अनेकौँ प्रमाणहरू छन् । यहाँ लेखिएका त केही प्रतिनिधि पहिचान मात्र हुन् । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धका विषयमा लेखिरहनुपर्ने नै छैन । यी सबै देवीदेवता, ऋषिमहर्षि, यहाँका पवित्र स्थलहरू विगतमा ओझेलमा रहे । साधक तथा अन्वेषक विद्वान्हरूको लगनशीलता र छटपटीका विरुद्ध यसतर्फको खोज, क्रियाशीलता कमजोर रह्यो ।
राजा भगिरथले ‘स्वर्ग’बाट गङ्गा ल्याउँदा हाम्रो यहीँका शङ्करको जटामा फन्फनी घुमाएर केही समय अड्याएपछि गङ्गालाई पृथ्वीमा अवतरण गराएको कथा प्रसिद्ध छ तर हामी गङ्गाका हकदार बन्न सकेनछौँ, चुकेछौँ । यस्तो किन भएको होला ? हिमालयको नजिकैका जटाधारी शङ्करको जटाबाट निस्कने गङ्गा र गङ्गासँग जोडिएर प्रमाणसमेत अन्तै देखाएर हामी यहाँ ‘हर हर गङ्गे’ भनिरहेका छौँ । शालीग्राम शिला पाइने एक मात्र नदी गण्डकीको अवतरणसँग ऋषि ‘गण्डर्षि’को प्रसङ्ग जोडिएर आउँछ । यसबाट हाम्रो गण्डकी सभ्यताको विकास भएको छ । गण्डकीबाट नानाथरि लाभ पनि लिइरहेका छौँ तर पनि गण्डर्षिका विषयमा बेखबर छौँ ! यस्ता अनेकौँ विषय उठान, अध्ययन र अन्वेषण गर्ने काम बाँकी नै छ ।
यतिबेला भारतबाट अतिक्रमित भूमि समेटिएको नक्सा सच्याएर नेपालले पुराना गल्ती सच्याइरहेको छ । छिमेकीहरूसँग सीमा विवाद हुन सक्छन्, सीमा विवाद हुने भनेकै छिमेकीहरूसँग हो । गल्ती जोसुकैबाट भएको हुन सक्छ । ठूलो कुरा गल्ती थाहा पाउनु र त्यसलाई सच्याउनु हो । खोज र आविष्कार फरक कुरा हुन् । आविष्कारले नयाँ बनाउँछ, खोजले पुरानो पत्तो लगाउँछ । आविष्कार र खोज निरन्तर जारी रहने विषय हुन् । जसका खासै इतिहास छैनन्, तिनीहरू इतिहासको खोजीमा कम र आविष्कारमा बढी लागेका हुनन् । गौरवशाली इतिहास भएकाहरू, इतिहास र संस्कृतिप्रति विश्वास राख्नेहरू इतिहास खोज्छन् । आखिर, जे छ त्यही पाइने हो ।
अयोध्यापुरी नेपालकै चितवनमा रहेको चर्चा भइरहँदा यस विषयमा केन्द्रित रहेर गहनतम खोजअध्ययन हुनुपर्ने विषय भएको छ । यो हामी नेपालीहरूले गर्व गर्नुपर्ने र थप दायित्वबोध गर्नुपर्ने विषय हो । तर, आश्चर्य छ, आफ्नो आस्थाका रामका बारेमा, पृथ्वीको अष्ट बैकुण्ठमध्येको एउटा बैकुण्ठ मानिएको एउटा पवित्र धाम नेपाली भूमिमै रहेकोमा खुसी हुनुपर्नेमा केही मानिसहरूले ‘हो त नि, हो
र ?’ सम्म पनि नभनेर प्रधानमन्त्री ओलीका विरुद्धमा वाणीवाण वर्षाउन सुरु गरे । हाम्रा प्राचीन प्रबन्धहरूसँग वर्तमान समाजलाई जोड्न प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति प्रशंसनीय छ । साथै, प्राचीन विषयका खोज अन्वेषणकर्ताहरूका लागि यो उत्प्रेरक पनि छ ।
आफ्नो देशभित्रको कुनै भूभागको बारेमा कसैले बोल्न नहुने हो र ? प्रधानमन्त्रीको आफ्नो विचार हुँदैन ? प्रधानमन्त्रीको अभिव्यक्तिले रामका आस्थावानहरूलाई केही अप्ठ्यारो पर्छ र ? नेपाली भूमिमा जन्मेको पुष्टि हुँदा रामको देवत्व कमजोर हुन्छ ? कि, उनी मर्यादा पुरुषोत्तम रहँदैनन् ? यो रामप्रतिको श्रद्धाभक्तिमा प्रहार होइन र हुन सक्दैन । दुई वर्षअघि जे बोलियो, नयाँ जानकारी पाउँदा पनि त्यही बोलिरहनपर्ने हो ? नयाँ अध्ययन, चिन्तन मननबाट नयाँ विचार, नयाँ स्थितिबोध गर्न नपाइने हो र ? कुनै ठाउँको नामका पछाडि केही आधार हुन्छ र त्यो इतिहासको विषय हुन सक्छ । धेरै नयाँ कुरा विगतकै गर्भबाट जन्मिन सक्छन् ।
पर्वत हाम्रै देशको एउटा जिल्ला हो । पर्वतकी छोरी पार्वती हुन् । उनीसँग जोडिएका गुफा र फाँट पर्वतमा छन् । खोई विद्वान्हरू यस विषयमा बोलेको ? नेपालमा जन्मेका व्यासका विषयमा खोई विद्वान्हरू बोलेको ? पूर्वीय शास्त्रहरूको अध्ययन गरेकाहरूलाई थाहा हुनुपर्ने हो, कृष्णद्वैपायन व्यास एउटा व्यास हुन्, उनी मात्रै व्यास होइनन्, त्यस्ता अरू २६ जना व्यास पनि भएका छन् । तीमध्ये नेपालमा जन्मेका व्यास कुन कुन थिए ? खोइ व्यासभक्तहरूले यस बारेमा सोचेको, बोलेको ?
हामीले सम्बन्धित शास्त्र वा विषयको अध्ययन गरेर, त्यसैका आधारलाई प्रमाण मानेर कुनै स्थानको विषयमा बोल्ने हो । राम जन्मभूमि अयोध्यापुरीका बारेमा थाहा पाउन रामायण र अयोध्यापुरीको भूगोलको अध्ययन गर्नुपर्छ । कसैको सातो काढ्नभन्दा यता लाग्न राम्रो हुन्छ ।
‘अध्ययन गरेर मात्र बोल्नु पथ्र्यो, पुष्ट्याइँ गर्न सक्नुपर्छ’ आदि उपदेश र चुनौती दिनेहरूले पनि के कुरा हेक्का राख्नुपर्छ भने अयोध्या नाम नगरी तत्रासील्लोकविश्रुता (त्यहाँ अयोध्या नाम गरेको विश्वप्रसिद्ध नगर छ) भन्ने आधारमा भारत, उत्तर प्रदेशको फैजाबादमा पर्ने अयोध्यामा सन् १८६३ तिर सर्वप्रथम उत्खनन् भएको भनिन्छ । सम्भवतः त्यहाँको पछिल्लो उत्खनन सन् १९६९ मा काशी हिन्दु विश्वविद्यालयका अवध किशोर नारायणले गरेका थिए । ती खोजहरूबाट रामकै जन्मभूमि भएको प्रमाण भेटियो भन्ने जानकारी छ र ? यस्ता स्थलहरूको उत्खनन भनेको सामाजिक तथा शास्त्रीय उत्खनन हो । यी अनेकौँ खोज, अनुसन्धान, उत्खननले पनि आठ लाख ८० हजार १००(त्रेतायुग) वर्षसम्म पनि किन राम जन्मभूमि भनेर पुष्टि पाउन सकेको छैन ? कुनै पनि प्राचीन वैदिक, पौराणिक बस्तीहरूको भौतिक उत्खननबाट यथार्थ तथ्य पत्ता लाग्दैन, अनुमानलाई बल पु¥याउन सक्छ । मथुरा वृन्दावन, काशी, अयोध्या, जगन्नाथ, रामेश्वरम् आदि स्थलहरूको भौतिक उत्खननबाट के प्राप्त भयो भने प्रामाणिक मान्ने हो ? दशरथको मुकुट ? रामको धनुष ? कैकेयीको फरिया? कृष्णको बाँसुरी या गोपिनीका लहङ्गा ?
कुनै पनि विषय पुष्ट्याइँ हुन समय लाग्छ । नेपालमा राम जन्मभूमि प्रमाणित हुँदा हानि नै हुने कसैको केही तर्क छ भने बाहेक सबैले आफ्नो राष्ट्रमा संसारले गौरव गर्ने भूमि भएको तथ्य, तर्क, विवेक र विश्वाससहित अघि बढौँ । माथि उल्लेख गरिएका वाल्मीकि रामायणका श्लोकका आधारमा, त्यहाँको अन्य भौगोलिक अवस्थाको अध्ययन, अन्य घटनाका स्थान र तिनीहरूको दूरी यकिन गरेर निष्कर्षमा पुगिने हो । त्यो काम अब थालिहाल्नुपर्ने देखिन्छ । अयोध्यापुरी र यस्ता अनेकौँ शास्त्रवर्णित स्थलहरूको थप विषयको खोजीमा सम्बन्धित क्षेत्रका अध्येताहरू जुट्नुपर्ने देखिन्छ । 
(लेखक संस्कृति अध्येता हुनुहुन्छ ।)