बलियो नेपाल (सम्पादकीय)
भूकम्पपछिको पुनर्निर्माणकार्य आगामी असार मसान्तभित्रै सम्पन्न गर्ने र बाँकी काम सम्बद्ध मन्त्रालय वा निकायबाट नियमित गरिने भएको छ । भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा यस्तो जानकारी दिइएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण ३२ जिल्लामा क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, धार्मिक, साँस्कृतिक भौतिक संरचनाको निर्माण तथा मर्मतको काम सम्पन्न हुने चरणमा पुगेकाले भूकम्पका घाउ पुरिनेक्रममा देखिएका छन् । यसबीच क्षतिग्रस्त निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी ५८ हजार ६५० निजी आवास तोकिएको सीमाभित्र सम्पन्न गर्नेगरी काम हुँदै छ । निजी आवास पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखिएअनुसार मापदण्डमा पर्ने पीडितले नयाँ घरमा प्रवेश पाएका छन् र पाउनेक्रम जारी छ । भूकम्पले क्षतिग्रस्त ९२० ऐतिहासिक तथा धार्मिक सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न भएको र २८८ वटाको पुनर्निर्माण भइरहेको छ । क्षतिग्रस्त सात हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ भने बाँकी १७ प्रतिशतको पुनर्निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिनेछ । स्वास्थ्य क्षेत्रका २९६ भवनको पुनर्निर्माण जारी छ । ९० प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने सुरक्षा निकायका दुईवटा संरचनामात्र बन्न बाँकी रहेका छन् ।
भूकम्पपीडित जनधनको उद्धार, राहत, पुनःस्थापना, व्यवस्थापन, क्षतिग्रस्त संरचना पुनर्निर्माणको कहालीलाग्दो अवस्थामा कहाँ टेक्ने र कहाँबाट यात्रा थालनी गर्ने भयावह स्थितिमा नेपाल थियो । एकातिर गरिब मुलुक, कुनै योजना पनि तोकिएको समयमा पूरा नहुने अवस्था अर्कातिर भूकम्पले भाँचिएको आत्मविश्वास ! त्यस्तोबेलामा २०७२ फागुन ४ मा ‘म बनाउँछु मेरो धरहरा’ अभियानको घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्नुभयो । यो धरहरा नेपाली आत्मविश्वास, स्वाभिमान र साझा मनको प्रतीकको विम्ब बनेको छ ।
सरकारका प्रतिबद्धता र प्राथमिकता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना, अन्तर्राष्ट्रिय दाता सम्मेलन, दाताराष्ट्र तथा दातृनिकायको परिचालनलाई नेपालले पुनर्निर्माणको साधन बनाएकाले पुनर्निर्माण अभियानमा यो सफलता प्राप्त भएको छ । यस्तो सफलताका लागि भूकम्पपछिका सरकार, सरकारसम्बद्ध निकाय, प्राधिकरण तथा दाताराष्ट्र वा निकायको भूमिका मुख्य रहेको छ । साथै नागरिक समाज, पीडित व्यक्ति परिवार तथा समुदायको धैर्य, संयम तथा सहयोग पनि उल्लेखनीय छ । दुई खर्ब ९४ अर्ब रुपियाँको वास्तविक प्रतिबद्धतामध्ये दुई खर्ब ४३ अर्ब रुपियाँका लागि सम्झौता भई स्रोत सुनिश्चित हुनु नेपालको प्रयासमा राम्रो उपलब्धि मानिन्छ । द्विपक्षीय र बहुपक्षीय दातृनिकायले व्यक्त गरेका सहयोगका प्रतिबद्धता र पुनर्निर्माणमा नेपालले प्राप्त गरेको स्रोत तथा सफलता विश्वमै उदाहरणीय देखिएको छ । संरचना पुनर्निर्माणले दिगो र गुणात्मक पक्षमा सुधार गरेको छ । कतिपय प्राचीन संरचना भग्न तथा जीर्ण अवस्थामा थिए । तिनीहरूको पुनर्निर्माणले नेपालमा सम्पदालाई सुरक्षित र दीर्घकालिक बनाएको छ । घर निर्माणमा प्रविधिमैत्री जनचेतनाको विकास भएको छ । दक्ष डकर्मी/सिकर्मी उत्पादन भएका छन् । यस्ता पक्षले आगामी नेपाललाई ‘बलियो नेपाल’ बनाउन सहयोग पुग्नेछ ।
भूकम्पपछि नागरिक तथा औपचारिक निकायका कार्यसम्पादनमा नयाँ अनुभव प्रवेश भएको छ । आफ्नो घर कसरी बलियो बनाउने भन्नेमा नागरिकमा सचेतना आएको छ । सहरी क्षेत्रमा डबल बिम राख्नुपर्ने, ढलान बिम र पिल्लरको न्यूनतम मापदण्डलगायतका नयाँ व्यवस्था गरिएको छ, जसले हाम्रा निजी तथा व्यक्तिगत संरचनालाई बलियोमात्र बनाउने छैनन्, बलिया संरचनाको संस्कृति सुरुवात गर्नेछ । तर, अझै पनि भवन निर्माणमा आचारसंहिता पूर्णतः लागू हुन सकेको छैन । व्यक्ति आफू बस्ने घर कच्चा बनाउन उद्यत पाइन्छन् । व्यक्तिले गर्ने यस्ता लापरबाही रोक्नुपर्ने दायित्व प्राप्त स्थानीय तहलगायत सम्बद्ध सरकारी निकायले नै लापरबाहीलाई नजरअन्दाज गरिदिएका हुन्छन् । भूकम्पपछि काट्नुपर्ने भनिएका कतिपय अग्ला भवन अहिले पनि ज्यूँका त्यूँ देखिन्छन् । अन्य मापदण्ड नीतिगत सौन्दर्य र मौखिक प्रतिबद्धताका लागि खर्चिने गरिएको छ । यस्ता विविध पक्षमा सामूहिक सुधार गरेर नेपाललाई बलियो नेपाल बनाउनुपर्छ ।