विचार/दृष्टिकोण |

मार्छन् तर किमार्थ मार्न सक्तैनन्

प्रा.डा. बद्रीविशाल पोखरेल

प्रधानमन्त्री केपी शर्मां ओलीले यही वैशाख ९ गते केही मानवले आफूलाई माटामा मिलाइदिने, धूलो बनाइदिने, टाउकामा हानेर शरीर ढाल्नेजस्ता सङ्गठित हमला गर्न खोजेको बताउनुभयो । यसमा कम्युनिस्ट पार्टीभित्रका चरम अवसरवादी स्वार्थी व्यक्ति र प्रवृत्ति सक्रिय रहेको उहाँले उल्लेख गर्नुभयो । ओलीले कम्युनिस्ट नामका अराजनीतिक र अनैतिक कृत्यलाई उल्लेख गर्दै हुनुहुन्थ्यो । ओलीले नितान्त निजी स्वार्थका खातिर सत्ता, शक्ति र सम्पत्तिप्रति अपहत्ते गर्ने कुरूप तथा अत्यन्त भद्दा चरित्रको चित्रण गर्दै हुनुहुन्थ्यो । आत्मप्रशंसामा मात्र रुचि राख्ने एकाध कम्युनिस्ट नामधारी नेताजस्तो नितान्त निजी विषयमा हत्तपत्त बोल्दै नबोल्ने ओली केही समयदेखि आफूप्रति लक्षित लाञ्छनाका विषयलाई उजागर गर्दै हुनुहुन्थ्यो । देशको सङ्गीन घडीमा सम्पूर्ण देशभक्त पार्टी, नेता र जनसमुदायहरू एकताबद्ध हुनुपर्ने अवस्थामा आन्तरिक विग्रहको बीउ रोपेर देशलाई ठूलो धरापमा पार्ने दाउलाई निस्तेज पार्नुपर्ने ओलीले बताउनुभएको थियो ।
ओलीका अनुसार बाह्य हस्तक्षेपविरुद्ध नेपालले लड्नुपर्दैन, अड्दा वा एकढिक्का हुँदा हुन्छ । त्यसैले अति हुन थालेपछि आन्तरिक राजनीतिक पोलहरू जनतासमक्ष खोल्न थाल्नुभएको देखिन्छ । ओली जनता र देशका लागि अनवरत रूपमा महŒवपूर्ण काम गरिरहेको दुईतिहाइ नजिकको सरकारलाई विघटित गर्न उद्यत व्यक्ति र शक्तिलाई कटाक्ष गर्दै हुनुहुन्थ्यो । उहाँको राजनीतिक तथा भौतिक जीवन नै तलबितल पार्ने योजनाकारहरूले जीवनको वास्तविक मूल्य बोध नगरेको स्पष्ट हुन्छ ।
विक्रम संवत् १९९७ मा चार सपुतलाई मारे तर तिनै मारिनेहरू बौरिएर राणा शासनको चिहान खने । जसले रत्नकुमार बान्तवालगायत क्रान्तिकारी वीर योद्धालाई सुखानीमा निर्ममतापूर्वक मारे, तिनैले निर्माण गरेको राजनीतिक अग्निकुण्डमा राजशाही पञ्चायती शासन स्वाहा हुन गयो । जसले मकैको खेतीका लेखकलाई जेलमा सडाएर मारे तिनैको लेखनीको राप, ताप र प्रतापले जहानियाँ शासन ढल्यो । देशभक्तहरू मारिए पनि ती अजर–अमर हुन्छन् तर तिनलाई छलकपट गरेर मार्नेहरू जिउँदै मर्छन्, मरिरहेका छन् ।
ऋषि आजाद सिन्धुलीको भिमानमा मारिए तर मार्नेहरू भिमान सम्झेर अहिले पनि आतङ्कित हुन्छन् । निरपराध यदु गौतमलाई क्रूरतापूर्वक मार्नेेहरू जल्लादका रूपमा जनताका बीचमा घृणित छन् तर उता गौतम सहिदका रूपमा सम्मानित र प्रशंसित छन् । त्यसैले ओली फोबियाग्रस्त नरपशु वा मानवले सोचे हुन्छ– देशभक्त सन्तान मारे पनि मर्दैन । उसको मृत्यु हिमालझैँ गह्रुँगो हुन्छ ।
महात्मा गान्धीलाई मारे तर उनको विचारलाई मार्न सकेनन् । ब्रुनोलाई मारे तर उनको महान् विचारलाई माटोमा मिलाउन सकेनन् । जननेता मदन भण्डारीको इहलीला समाप्त पारे तर उहाँको सिद्धान्तलाई निमिट्यान्न पार्न सकेनन् । भण्डारी जीवित हुँदा वा नहुँदा पनि कम्युनिस्ट नामका कलङ्कहरू उहाँको ईष्र्या र डाहले जलिमर्थे र केही त अझै जलिरहेका छन् तर पार्टीको खुद्रे पसल चलाउन मदन र जबजको नाम नजपी तिनलाई धर भएन । जनताको बहुदलीय जनवाद (जबज)को ‘च्याप्टर क्लोज’ गर्न उद्यत कम्युनिस्ट नामको एउटा जत्था जबजको नक्कली भजन–कीर्तन गरिरहेको देखिन्छ । कतिपय सन्तानले पुर्खाको नाम बेचेर खाइजीविका गरेझैँ गर्न लागेका कथित केही कम्युनिस्टहरूले अब त लाज, घिन र सरम पनि पचाइसकेजस्तो लाग्छ ।
सैद्धान्तिक, वैचारिक, साङ्गठनिक तथा सिर्जनात्मक हुति, मति र गति नहुनेहरू प्रतिभाको शिखर व्यक्तित्व देखेर आफैँ जल्छन् । देश र जनताको उत्थानमा एकरत्ति सोच र समझ नहुने लाछीहरू आफ्नै पिरले मरिचझैँ चाउरिन्छन् । बारबार राजनीति र राजकीय नेतृत्वमा परीक्षित भएर पूरै असफल भएको नेता मौका पाए आकाश छुने डिङ हाँक्छन् । तर, समीको विशाल वृक्षका अगाडि पोथ्राहरू आफैँ खुम्चन्छन् ।
विरोधीहरूलाई ओलीले कामैले जवाफ दिएर मुख टालिदिनुभएको छ । पार्टीको घोषणापत्रअनुसार ‘म बनाउँछु मेरो धरहरा’अन्तर्गत गगनचुम्बी धरहरा देखेर विरोधीहरू उच्च रक्तचापबाट ग्रसित हुन सक्छन् ।
सिस्नुपानी नेपालले नेपालका मिडिया विदेशीका गुडिया भनेझैँ ‘फेक मिडिया’बाजीलाई समेत धुस्नो पार्नेगरी जनतासित अपिल गर्ने महान् क्षमताका कारण विकासका चरम विरोधी ‘म्यान’ र मिडियाहरू अत्तालिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले भनेझैँ एक झुटलाई निमिट्यान्न पार्न जनतासामु सही सूचना र विषय दसपटक भन्नुपर्छ । ओलीको सदावहार अस्वस्थ आलोचनामात्र गरिरहने एक प्रमुख मिडिया समूहको प्रसारण र प्रकाशन च्यानलहरूले सरकारले ल्याएको ‘मेरो कित्ता’ कार्यक्रमको सराहना गर्दै सम्पादकीय नै लेखेको देखेर यस लेखकलाई उदेक लाग्यो । यसबाट एक दिन सत्यको पक्ष लिन बाध्य हुनुपर्ने रहेछ भन्न्ने बुझिन्छ ।
खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन । नभन्दै कम्युनिस्ट नामधारीहरूले भारतीय शासकअनुकूल वा कम्फर्टेबल सरकार बनाउन खोजेको कुरा आमजनताका बीच खुलस्त भयो नै । तर, यति गम्भीर विषयमा चर्चित भनाइएका लेखक, विश्लेषक तथा नागरिक अभियन्ताहरू उपर्युक्तखालका राष्ट्रविरोधी कृत्य र क्रियाकलापका बारेमा चुपचाप देखिन्छन्, मौन समर्थनमा छन् ।
ओली सरकारले गरेका देश र जनहितका कामहरू देखे पनि नदेखेझैँ गर्नेहरू पनि छन् । आँखा भए पनि लाटोकोसेराहरू दिनलाई देख्न सक्तैनन्, उज्यालो सहन सक्तैनन् । दुर्भावना र दुराशयका दासहरू कसैका पनि सकार देख्न चाहँदैनन् । मुटुको धड्कनचाहिँ जिन्दगीको मूल पक्ष हो, खुट्टाको फड्कन गौण पक्ष हो । जाज्वल्यमान सूर्यसित आँखा जुधाउने गल्ती गर्नुहुँदैन । त्यसैले सूर्यको आगमन अघि नै टिलपिले ताराहरू टिक्न नसकेर भाग्छन् । एउटा कुुनामा बसेर सूर्यको रिससभा गर्ने एउटा कुरा हो । आफूहरूसित देश र जनताका निम्ति गर्ने केही न केही गर्ने ह्याउ नहुने र भेउ नपाउनेहरूले रुन्चे हाँसो हाँस्न्ुबाहेक अरू उपाय देखिँदैन । तागत र ल्यागत नहुनेहरू ‘रिस खा आफू’ गरिरहन्छन् । विकास निर्माणका नाममा पञ्चमीका पाइलासरह घिस्रिनेहरू ओली सरकारको विकासको बहुआयामिक द्रुततर गति देखेर मूच्र्छित बनेका छन्, लिलिपुटहरू गगनचुम्बी धरहरा देखेर जल्दै छन् । यिनको बेलैमा चेत आएन भने यी आफैँ ढल्नेछन् । अझ यस्ता भगुवा अगुवाका पछाडि लाग्नेहरू त एक दिन सोत्तर हुनेछन् ।
नवनिर्मित मनमोहक रानीपोखरी देखेर हिलेभ्यागुताहरू रिसले आगो भएका छन् । तिनीहरू सरकारलाई सराप्दै भए पनि मेलम्चीको पानी घड्काउँदै छन् । नेपाल र नेपाली हुनुमा गर्व गर्न नसक्ने, यसका मूल अभियन्ता पृथ्वीनारायण शाह, सहअभियन्ता तथा सहिदहरूप्रति सकारात्मक सोच नराख्ने (अनैतिक)हरू प्रधानमन्त्रीलाई नैतिकताको पाठ पढाउँछन् । देश र देशवासीको लामो समयदेखि मूच्र्छित सपनाहरू व्युँझिएको देख्न नसक्नेहरू कस्तो चरित्रका होलान् ? विज्ञ पाठकले विचार गर्ने कुरा हो । वर्षौंदेखि हुलाकी सडक नबनाएर अलपत्र पार्दा चुँइक्क नबोल्नेहरू अहिले उक्त सडक निर्माण सम्पन्न हुनेक्रममा भएको देख्न सक्छन् कि सक्तैनन् ? विराटनगरमा लामो समयदेखि अवस्थित भारतीय सैनिक क्याम्प हटाउन नसक्नेहरू ओली सरकारले हटाएपछि अहिले के भन्छन् ? सरकारको पहलमा सबै पार्टी एकताबद्ध भई चुच्चे नक्सा जारी भएको भोलिपल्ट नै प्रधानमन्त्रीलाई अवैधानिक र अनैतिक रूपमा अपदस्थ गर्न उद्यत कम्युनिस्ट नामका केही पात्रहरूबारे अलिकति बुद्धि र विवेक भएका बुद्धिजीवी के भन्छन् ? प्रज्ञाको डबलीमा कथित नागरिक समाजको नाटक मञ्चन गर्ने अगुवाको बोलीवचन सुन्दा लाज नै लजाएको थियो ।
त्यसैले ओलीलाई भौतिक रूपमा समाप्त पार्ने दिउँसै सपना देख्नेहरूले अहिले नै सोचे हुन्छ– एउटा देश र जनताको छहारी बनेको नेतालाई छुन पनि अलि आँट बटुल । आगोसित जिस्किए खरानी भइन्छ । पहरासित जुधे कुहिनु खुस्किन्छ, जुइनु चुडिन्छ । व्यक्ति क्षणभङ्गुर हुन्छ तर विचार त अजर–अमर हुन्छ । जनताका सन्तान मारिए, सहिद भए तर तिनको सपना र जपना कहिल्यै मरेन । कालगतिले पनि मानिस मर्छ तर उसले देश र जनताका लागि गरेको योगदान कहिल्यै मर्दैन ।
आँखा त सबैसित हुन्छ तर दूरदर्शी दृष्टि र दृष्टिकोण सबैसित हुँदैन । कुनै पनि मानिस कामले नै प्रिय र जीवित हुन्छ । प्रधानमन्त्री ओली देश, जनता र जनजीविकाका निम्ति निःस्वार्थ रूपमा लागिपर्नुभएकाले उहाँ अहिलेमात्र होइन, पछिसम्म जीवन्त हुनुहुन्छ, अजर–अमर हुनुहुनेछ । राष्ट्रभक्त सपुतलाई भौतिक रूपमा जनताका शत्रुहरूले जहिले पनि मार्न सक्छन्, मार्छन् तर किमार्थ मार्न सक्तैनन् ।
(लेखक साहित्यकार हुनुहुन्छ)