अर्थतन्त्रमा न्यून क्षति (सम्पादकीय)
अर्थतन्त्र फेरि सङ्कटमा पर्न सक्ने देखिएको छ । कोरोना (कोभिड–१९)को विषाणुले विषाक्त भएको अर्थतन्त्रयताको तीनचार महिनामा तङ्ग्रन खोज्दै थियो । गतवर्षको तीनचार महिनाको बन्दाबन्दीले संसारको जस्तै नेपाली अर्थतन्त्र पनि थिलथिलो भएको थियो । तर कात्तिक/मङ्सिरपछि कोरोनाको सङ्क्रमण अलि मत्थर हुँदै गएपछि त्यसको अनुकूल प्रभाव अर्थतन्त्रमा पर्न थालेको देखिँदै थियो । पुँजीबजारमा लगानीकर्ताको आशाले फूल खेल्न थालेको थियो । लगानी बढ्दै थियो । नेपाल स्टक एक्सचेन्जको परिसूचक नेप्सेमा साँढे उफ्रिएको छनक दिँदै थियो । आन्तरिक पर्यटनको आशलाग्दा गतिविधि देखिन थालेका थिए । बाह्य पर्यटक आउने खासै वातावरण नभए पनि आन्तरिक पर्यटनले सेवा क्षेत्रको व्यवसायमा चहलपहल आउन थालेकै हो । औद्योगिक उत्पादनले आकार गति लिन खोज्दै थियो । व्यापारिक कारोबारहरू बढ्दै थिए । सरकारलाई प्राप्त हुने राजस्वको तस्बिरले अर्थतन्त्रका आयामहरू फेरि पहिलेकै दिशातिर जाने छन् भन्ने विश्वास गर्न ठाउँ दिँदै थियो ।
अकस्मात् यताका एक महिनामा विकास भएको गतिविधिले कोरोनाको दोस्रो लहरले असजिलो पार्दै लगेको छ । दैनिक रूपमा कोरोनाको सङ्क्रमणको फँडा फराकिलो हुँदै गएको छ । नयाँनयाँ रूप बदल्ने कोरोना विषाणुले अघिल्लो वर्षजस्तो कमजोर, रोगी, वृद्धवृद्धालाई मात्र सङ्क्रमित गरेको छैन । यो पटकको कोरोनाले त बालबालिकालाई चाँडो सङ्क्रमित बनाएको छ । युवावयकालाई पनि झन् चाप्दै छ । सङ्क्रमणको तीव्रता पहिलेभन्दा अझ व्यापक भएको छ । सरकारले राजधानी उपत्यकासहित अति प्रभावित जिल्लामा स्थानीय प्रशासनको आकलनमा निषेधाज्ञा जारी गर्न बाटो खुला गरेको छ । यो असजिलो अवस्थाले सबैभन्दा बढी शिथिल पार्ने भनेकै अर्थतन्त्रलाई हो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र फेरि सङ्कटमा पर्न सक्ने अवस्थामा आएको बताउनुभएको छ । उहाँले कोभिड–१९ का कारण मानवजातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको अवस्था विश्लेषण गर्दै कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिँदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको स्पष्ट पार्नुभएको छ । मुलुकभित्र उत्पन्न हुन सक्ने मानवीय तथा आर्थिक सङ्कटको संयमतापूर्वक उचित व्यवस्थापनसहित आर्थिक क्रियाकलापलाई बढी क्षति हुन नदिन केन्द्रीय बैङ्कले चाल्ने कदमको पनि उहाँले चर्चा गर्नुभएको छ । गभर्नर अधिकारीले नेपाली अर्थतन्त्रको मौजुदा अवस्थाको विश्लेषण गरिरहँदा कोरोनाको विश्व असर तथा नेपाली संस्करण पनि बिर्सन मिल्दैन । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) ले कोरोना महामारीका कारण सन् २०२१ मा विश्वमा थप एक करोड ३० लाखको रोजगारी गुुम्ने प्रक्षेपण गरेको छ । यसै अवधिमा स्वदेश र विदेश गरेर सात÷आठ लाख नेपालीको प्रत्यक्ष रोजगारी गुुम्ने अवस्था आउने प्रक्षेपण छ । नेपालभित्रै पनि झण्डै दस लाखले रोजगारी गुमाइरहेको अवस्था छ । रोइरहनुभन्दा गाइरहनु निको भनेझैँ सङ्कट आएपछि आत्तिनु भन्दा त्यसको सामना गर्दै वैकल्पिक रणनीति र कार्यनीतिले अगाडि बढ्नु बुद्धिमत्ता हुन्छ ।
कोरोनाको दोस्रो लहरले जटिल बनाउँदै जाँदा यसको असरलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ परिपालना नै पहिलो सर्त हो । सरुवा विषाणुले सङ्क्रमण हुने बाटो एक व्यक्तिदेखि अर्को व्यक्ति हुँदै जाने हो । एकै व्यक्तिमा १०/१५ दिनभन्दा बढी भाइरस बस्न र बच्न सक्दैन । अरूमा सङ्क्रमण हुन नदिन भौतिक दूरी कायम, भाइरस छेक्न मुख तथा नाकावरणका लागि मास्कको प्रयोग, हातमा सेनिटाइजर, सरसफाइ आदि गर्नैपर्ने चिकित्सकीय सुझावको बेवास्ता हुँदा स्थिति भयावह बन्दै गएको स्पष्टै हो । निषेधाज्ञाको अनेक चरणमा प्रवेश गर्न बाध्य हुनुपर्ने अवस्था बेवास्ताकै अर्को शृङ्खला हो र यसले आर्थिक गतिविधिलाई सहज रूपले अगाडि बढ्न अवरोध गर्छ । लगानी अवरूद्ध पार्छ । रोजगारी छिन्छ । श्रम गरेर खानुपर्ने मानिसलाई घरमै बन्दी बनाइदिन्छ । समय र श्रम साँच्न नसक्ने हुँदा आय, उत्पादन र रोजगारीमा बन्दाबन्दीले ठूलो प्रतिकूल प्रभाव पर्छ । तर पनि जीउ रहे घिउ खान पाइन्छ भनेझैँ जीवन नै प्राथमिकता हो । प्रतिकूल अवस्थालाई अनुकूलतिर रूपान्तरण गर्ने चुनौती चुलिएको छ । एकताबद्ध भई भाइरसविरुद्ध लड्दै अर्थतन्त्रमा न्यून क्षति अहिलेको प्रमुख कार्यसूची हो ।