खाद्य सुरक्षा र खाद्यजनित रोग
डा. केदारबहादुर कार्की
षित/प्रदूषित भोजनका कारणले सिर्जना भएको स्वास्थ्य प्रतिकूलतालाई खाद्यजनित रोग भनिन्छ । विषाणुयुक्त खाद्य पदार्थलाई सङ्क्रमित खाद्य भनिन्छ, जसलाई भोजन गरियो भने शरीरलाई पनि सङ्क्रमित गर्छ भने जीवाणुद्वारा निर्मित विषका कारण पनि खाद्य पदार्थ विषाक्त हुन्छ । कीटाणु लामो समयसम्म नबाँचे पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ । प्राकृतिक रूपमा विषाक्तता हुने सम्भावना धेरै कम हुन्छ । तर, त्योभन्दा बढी रोगजनक जीवाणु, भाइरस (विषाणु) अथवा परजीवीले भोजनलाई विषाक्त बनाउँछन् ।
विश्वव्यापी प्रभाव
आधुनिक समयमा खाद्य उत्पादन एवम् व्यापार तीव्र रूपमा भइरहेको छ । खाद्यजनित रोग कुनै बेला एउटा सानो समुदाय वा क्षेत्रमा मात्र सीमित हुन्थ्यो । तर, अहिले यो कुनै पनि बेला विश्वव्यापी बन्न सक्नेगरी फैलिरहेको छ । त्यसैले खाद्यान्नको सुरक्षा कुनै एउटा निश्चित ठाउँ, क्षेत्र वा देशको मात्र हैन, विश्व समुदायको सवाल हो । यसका सूचनाको नियमित आदान–प्रदान तथा आपतकालीन स्थितिमा ती सूचनाको द्रुत पहँुच अत्यन्त महŒवपूर्ण हुन्छ ।
औद्योगिक देशमा प्रतिवर्ष जनसङ्ख्याको ३० प्रतिशत मानिस खाद्यजनित रोगबाट पीडित हुने अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा हाल खाद्यजनित रोगका करिब ७६ करोड बिरामी भएको अनुमान छ । प्रत्येक वर्षमा पाँच हजारजनाको मृत्यु यही खाद्यजनित रोगका कारण हुने अनुमान छ । विकासशील देशमा परजीवीबाट हुने रोग विशिष्टप्रकारको देखिन्छ ।
खाद्य पदार्थका कारण हुने रोगले समाजमा एउटा विशाल सामाजिक तथा आर्थिक दबाब बनाउँछ । एक अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा मात्र यस्तो रोगका कारण प्रत्येक वर्ष ३५ अर्ब डलर क्षति हुने गरेको छ । सन् १९९१ मा पेरुमा हैजाको पुनः प्रकोप देखिँदाको परिणामस्वरूप त्यस वर्ष पाँच सय करोड मूल्यको माछा तथा मत्स्य उत्पादनको निर्यातमा क्षति भएको थियो । यस्ता तथ्याङ्क विश्वभर जोड्ने हो भने निकै माथि पुग्छ ।
खाद्यजनित रोग नियन्त्रण हुन नसक्नुका मुख्य कारणमध्ये एक खाद्यान्नको उचित भण्डारण नहुनु पनि हो । भोजन पकाउनुभन्दा पहिले, पकाउने बेला र पकाइसकेपछि स्वच्छताको राम्रो अभ्यास गर्नाले रोग लाग्ने सम्भावना कम हुन्छ । त्यस्तै खानेबेलामा नियमित हात धुने र खाइसकेपछि बाँकी रहेका सामग्रीलाई उचित ठाउँमा व्यवस्थापन गर्न सके पनि यस्ता रोगलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
सन् २००० मा संयुक्त राज्य इङ्ल्यान्डमा खाद्य सामग्रीमा विभिन्नखाले जीवाणुको अवस्थितिको विश्लेषण गर्दा कम्पाइलो व्याकटर जेजुनी ७७.३ प्रतिशत, सालमोनेला २०.५ प्रतिशत, इसचेरिया कोलाई ०१५७ एच ७.१.४ प्रतिशत तथा अन्य सबैखाले जीवाणु ०.१ प्रतिशतभन्दा कम रहेको अभिलेख पाइन्छ । यसबाट जीवाणु खाद्य पदार्थबाट हुने रोगमा त्यति धेरै ठूलो कारण हैन भन्ने दाबी गर्न सकिन्छ । सामान्यतः दूषित भोजनको सेवनपछि १२–७२ घण्टासम्म जीवाणु सर्वाधिक सामान्य खाद्यजनित रोगको कारक मानिन्छ । कम्पाइलो व्याकटर जेजुनीले सेकेन्डरी गुल्लियन बैर्रे सिन्ड्रोम तथा पेरिओडोँटाइटिसको माग प्रशस्त गर्न सक्छ । सालमोनेला टायिफिमुरियमले टाइफाइड गराउँछ । जुन कारण अपर्याप्त रूपले पकाएको कुखुराको फुल, मासु खाँदा हुन्छ । यीबाहेक अन्य विविध कारण पनि छन्, जसले खाद्यजनित रो निम्त्याउँछन् ।
बहिर्जीव विष
प्रत्यक्ष जीवाणु सङ्क्रमणद्वारा उत्पन्न रोगबाहेक केही खाद्यजनित रोग बहिर्जीव विषका कारण पनि हुन सक्छन् । जुन जीवाणु सम्बद्र्धनका बेला कोशिकाद्वारा उत्सर्जित गरिन्छ । जीवाणु बहिर्जीवले मरिसकेपछि पनि रोग उत्पन्न गराउन सक्छ । यो विष ग्रहण गरेको मात्रामा भर पर्छ । क्लासट्रिडिय परफ्रिन्जेन्स, कलासट्रिडियम वोटुलिनम, स्टाफलोकोकस ओरियस, बेसिलस सिरियसद्वारा उत्पन्न हुने बहिर्जीव विषका कारण तीव्र वान्ता हुने गर्छ । दुर्लभ तर सम्भावित घातक बोटुलिज्म तब हुन्छ, जब अनएरोबिक ब्याक्टेरियम क्लासट्रिडियम बोटुलिन न्यून अम्ल भएको खाद्य पदार्थमा अनुचित ढङ्गले डिब्बामा बन्द गरिन्छ ।
बोटुलिनले शक्तिशाली पक्षघातकारी विष उत्पन्न गराउँछ । ढुसी परिसकेको खाद्यान्न खाँदा माइकोटोक्सिन तथा पाचनसम्बन्धी विषजन्य रोग लाग्न सक्छ । यसले स्वास्थ्यमा ठूलो असर नगरे पनि कहिलेकाहीँ मानव तथा पशुको स्वास्थ्यमा महŒवपूर्ण प्रभाव पार्छ । उदाहरणका लागि १९६० मा ब्रिटेनमा एफलाटक्सिनबाट दूषित बदामको पिना मिसिएको दाना सेवनका कारण भएको प्रकोपबाट एक लाख टर्की कुखुराको मृत्यु भएको थियो ।
रोगका सङ्केत लक्षण
खाद्यान्नजनित रोगको लक्षण विशेषत : सेवन गरेको केही घण्टा वा दिनपछि पनि आरम्भ हुन्छ । रोगको प्रकृतिका आधारमा निम्नलिखितमध्ये एक वा अधिक लक्षण हुन सक्छन् । जस्तै, रिङ्गटा लाग्ने, पेट दुख्ने, वान्ता आउने, पखाला लाग्ने आन्द्रा बटारिने, ज्वरो आउने, टाउको दुख्ने, थकाइ लाग्ने आदि ।
यसमध्ये अधिकांश मामलामा तीव्र बेचैनी र छोटो अवधिपछि शरीर स्थायी रूपले ठीक हुन्छ । यद्यपि, खाद्यजनित रोगको परिणामस्वरूप विशिष्ट रूपबाट नयाँ रोग उत्पन्न हुन सक्छ । अझ बढी जोखिममा रहेका शिशु, साना बालबालिका, गर्भवती महिला तथा वृद्धामा यसले विशेष प्रभाव देखाउन सक्छ । अन्य विभिन्न रोगबाट ग्रसित तथा दुर्बल प्रतिरोधी प्रणाली भएका अन्य मानिसमा स्थायी स्वास्थ्य समस्या या मृत्यु पनि हुन सक्छ । क्यपिलो व्याक्टर येर्सिनिया साल्मोनेला या सिगेलाका कारण हुने खाद्यजनित प्रतिक्रियालाई बाथको एउटा विशेष कारण मानिन्छ, जुन खासगरी पखाला लागेको एकदेखि तीन हप्तापछि देखिन्छ । त्यसैगरी कलेजोको रोगबाट ग्रसित मानिस बिब्रियो बल्निफिकुसको सङ्क्रमणप्रति विशेष रूपले संवेदनशील हुन्छन्, जुन गङ्गटो तथा शङ्खेकीरामा पाइन्छ । रिफफिस तथा अन्य पशुहरूबाट प्राप्त हुने टेट्रोडोटोक्सिनको विषाक्तताका कारण अचेत, बेहोश हुने, सास फेर्न गाह्रो हुने गर्छ, जुन प्रायः घातक हुने गर्छ ।
विषाक्तताको रोकथाम
खाद्यान्नको उचित भण्डारण तथा उपयुक्त भोजन नै यस रोगलाई रोक्ने मुख्य उपाय हो । यसका लागि बजारमा पाइने पशुजन्य उत्पादनलाई सुरक्षित साथ उपभोक्तासम्म पु-याउन आवश्यक छ । किनकि खाद्यशृङ्खलामा पशुजन्य उत्पादनको ठूलो हिस्सा हुन्छ । मासु, अण्डा, दुग्धजन्य पदार्थ आदि सबै पशुजन्य उत्पादन हुुन् । अन्नबालीको भण्डारणमा विशेष ध्यान दिने, बजारमा यस्ता सामग्री बिक्री–वितरण गर्दा उचित मापदण्ड लागू गर्ने गरिएमा यसलाई रोकथाम गर्न सकिन्छ । यसबारे राज्यले विशेष ध्यान दिन जरुरी छ ।
(लेखक प्रिभेन्टिभ भेटेनरी मेडिसिनका अध्येयता हुनुहुन्छ ।)