विचार/दृष्टिकोण |

सुखारी कर्णाली

सूर्यबहादुर बम

समृद्धि त्यो आनन्द वा खुसी हो, जसमा आमनागरिकले विकासको वास्तविकता अनुभूति गर्न पाउँछन् । समृद्धिले भौतिक विकास, आमनागरिकमा भावनात्मक एकता, राष्ट्र र राज्यप्रतिको अपनत्वभावको विकाससँगसँगै हर्षोल्लास र उत्साहको खोज गरिरहेको हुन्छ । समृद्ध मुलुकमा रूपान्तरित भएको अनुभवका लागि त्यस मुलुकको आर्थिक, सामाजिक तथा भौतिक विकाससँगसँगै आमनागरिकको जीवनस्तर तथा खुसीको मानचित्र पनि उकासिनुपर्छ । जबसम्म भौतिक विकासलाई नागरिकको सन्तुष्टिसँग जोड्न सकिँदैन तबसम्म समाज र मुलुकलाई समृद्धिको पथमा लैजान सकिँदैन । त्यसैले समृद्धिको सपना पूरा गर्न विकासलाई नागरिकका इच्छा, आकाङ्क्षा, माग र आवश्यकतासँग आबद्ध गराउन सक्नुपर्छ ।
कर्णालीलाई अल्पविकसित तथा गरिब प्रदेशको स्तरबाट माथि उकास्ने दृढसङ्कल्पसहित कार्यान्वयनमा लगिएको चालु आवधिक योजना होस् या वार्षिक बजेट, कर्णाली प्रदेश सरकारले हालसालै सार्वजनिक गरेको समृद्ध कर्णाली र सुखारी कर्णालीवासी पञ्चवर्षीय योजना या अन्य कुनै राज्यका नीति, कार्यक्रम तथा राजनीतिक नेतृत्वका अभिव्यक्ति जहाँसुकै सुनिने शब्द हो– समृद्धि । कर्णालीवासीले चाहेको पनि यही हो । यसकै लागि हामीले मुलुकमा सङ्घीयतालाई आत्मसात् गरियो, जसले स्थानीयस्तरमा रहेका सम्भावनालाई उजागरसमेत गरेको छ । स्थानीय समस्याको स्थानीयस्तरबाटै पहिचान र समाधान हुँदा आमनागरिकमा सार्वभौमसत्ता प्रयोगको अनुभूति हुन्छ । यसलाई समृद्धिको पहिलो खुड्किलाका रूपमा लिन सकिन्छ ।
समृद्ध नेपाली सुखी नेपालीको दीर्घकालीन सोचसहितको पन्धौँ योजना तर्जुमा समृद्ध कर्णाली र सुखारी कर्णालीवासीसहितको पञ्चवर्षीय योजना कार्यान्वयनमा लागिनु समृद्धिको अर्को खुड्किलो हो । केन्द्रस्तरदेखि स्थानीय राजनीतिक नेतृत्व तथा आमनागरिकसम्म हुने गरेको बहसले पनि समृद्धि प्राप्तिको आधार तय गर्न केही हदसम्म सहयोग मिलेको देखिन्छ ।
बेलायती खोजपत्रिका लेगाटमका अनुसार मुलुकको शान्ति, सुरक्षाको अवस्था, बजार पहुँच र विस्तार बसोवास, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजी, प्राकृतिक वातावरण, उद्यमशीलता, शिक्षा तथा स्वास्थ्यको अवस्था आदि समृद्धिका मापक हुन् । यसका अतिरिक्त देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) प्रतिव्यक्ति आय मुलुकमा विद्यमान गरिबीको अवस्था, बेरोजगारी दर, भ्रष्टाचार अनुभूति सूचकाङ्क, धनी र गरिबबीचको खाडल अर्थात् मानव विकास सूचकाङ्क, कानुनी शासन सूचकाङ्क, लैङ्गिक अन्तराल सूचकाङ्क आदिलाई पनि समृद्धि मापन गर्ने आधारका रूपमा लिन सकिन्छ । लेगाटम इन्स्टिच्युटले सन् २०२० मा प्रकाशित गरेको विश्व समृद्धि सुचकाङ्कलाई हेर्ने हो भने विश्वका १६७ वटा देशमध्ये नेपाल ११४औँ स्थानमा छ । युएनडीपीले प्रकाशित गर्ने मानव विकास सूचकाङ्कमा विश्वका १८१ मुलुकमध्ये नेपाल १४२औँ स्थानमा छ । विश्व खुसी सूचकाङ्कमा ९२औँ स्थानमा छ ।
नेपालभित्र पनि कर्णालीको अवस्था आर्थिक सर्वेक्षण २०७६÷०७७ मा राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा प्रदेशगत योगदान कर्णाली प्रदेशको ४.२७ प्रतिशत सबैभन्दा कम उद्योगको अवस्था ७२ वटा मात्र, बैङ्क तथा वित्तीय सस्थाको अंश ३.९ प्रतिशत, प्रतिव्यक्ति आय १०८५ पुगेका बेला कर्णालीमा ६०६ औसतमा, बाल मृत्यृदर, मातृ मृत्यृदर, गरिब अन्य प्रदेशभन्दा बढी, यस्तै मानव विकास सूचकाङ्क, औसत आयु, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्यको पहुँच यी सबै सूचकलाई मापन गर्दा समृद्ध कर्णाली र सुखारी कर्णालीवासीको सपना पूरा गर्न अझै हाम्रासामु चुनौती पहाडझैँ उभिएका छन् ।
आम रूपमा कर्णालीमा समृद्धि प्राप्तिका लागि जनगुनासो व्याप्त रहे पनि सन २०१९,२०२० र २०२१ मा आर्थिक सर्वेक्षण, योजना, बजेट र विभिन्न सङ्घ संस्थाले कर्णालीको आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा केही सुधार भएको प्रतिवेदन सार्वजनिक गरेका छन् । जुन सकारात्मक त हो तर यसैमा सन्तुष्ट भएर बस्ने अवस्था छैन ।
एकातर्फ कर्णालीमा मौलाउँदो अनियमितता र भ्रष्टाचार, असक्षम र दूरदृष्टिविहीन नेतृत्व जनस्तरदेखि राजनीतिक तहसम्म देखिएको नैतिक स्खलन, उत्तरदायित्वविहीन कर्मचारीतन्त्र, स्वार्थकेन्द्रित नागरिक समाज र सञ्चार जगत् आमनागरिकका धरातलीय भोगाइ हुन् । यिनै समृद्धिका बाधक हुन् । विकासको प्रमुख क्षेत्र कुन हो भनेर आजसम्म पनि पहिचान गर्न नसक्नु, जनताको चाहना र आवश्यकता निर्धारण गर्न सक्ने योजनाको अभाव हुनु, जलस्रोत, जडीबुटी, वन, पशुपालन, पर्यटन, क्षेत्रका सम्भावनालाई सही सदुपयोग गर्न नसक्नु, आयोजना समयमै सम्पन्न हुन नसक्नु, केन्द्र सरकारबाट आयोजना छनोट गर्दा महŒवसाथ नहेरिनु, आयोजना राम्राभन्दा बढी हाम्राले प्राथमिकता पाउनुजस्ता समस्या नाघ्नै नसकिने पर्खालसरह छन् ।
यदि हामीले हाम्रै पुस्तामा कर्णालीमा समृद्धिको खोज गरेका हौँ भने यी सबै समस्याको वस्तुनिष्ठ समाधान तथा सम्भावनाको पहिचान कार्यान्वयनको पाटो यथाशीघ्र खोजिनुपर्छ । अर्कोतर्फ जबसम्म कर्णालीका गरिब, दलित, विपन्न वर्गका समस्या आवश्यकता पहिचान गरिँदैन, पशुपालन, जडीबुटी, घरेलु उद्योग, उद्यमशीलता, खानेपानी, विद्युत्, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्यको पहुँच पु¥याइँदैन तबसम्म समृद्धि कर्णाली र सुखारी कर्णालीवासीको सपना–सपनामै सीमित हुन्छ ।
समृद्धिका लागि कर्णाली प्रदेशले शिक्षालाई व्यवसायमुखी, प्रविधिमैत्री र गुणस्तरीय बनाउने, स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने, रोजगारी केन्द्रित ठूला विकास आयोजनाको छनोट सञ्चालन गर्ने, राष्ट्रिय तथा ग्रामीण सडक सञ्जाल शीघ्र निर्माण र यथोचित स्तरोन्नति गर्नेजस्ता कार्यलाई प्राथमिकतामा राखिनुपर्छ ।
एक्काइसौँ शताब्दीले जस्तोसुकै गाथा गाए पनि कर्णालीका विकट बस्तीमा कायम गरिबी, अज्ञानता, कुपोषण, भोकमरी, खानेपानी अभाव, छुवाछूत, छाउपडीजस्ता सामाजिक कुसंस्कारले यहाँको समाजलाई नराम्रोसँग सताएको छ । कर्णालीको उत्थान र विकासका लागि काठमाडौँमा बसेर जस्तोसुकै योजना बनाए पनि त्यहाँको वास्तविकतामा भने परिवर्तन भएको छैन ।
कर्णालीभित्र बस्ने नागरिकदेखि आमनेपाली मनलाई कर्णालीका लागि म केही गर्छु र मैले केही त्यहाँबाट उत्पादन गरेर लाभ लिन्छु भन्ने भावनाको विकास गराउनुपर्छ । बढ्दो श्रम पँुजी र बौद्धिक पलायनलाई रोक्न आवश्यक योजना तर्जुमा गरी युवा तथा बौद्धिक जमातको समय सापेक्ष प्रगोगबाट समृद्धिको यात्रालाई थप टेवा पु¥याउन सकिन्छ ।
राज्य र नागरिकको आपसी सहकार्य र समन्वयबाट मूर्तता दिन सकिने समृद्धिलाई जबसम्म चुनावमा सपना बेच्ने नारा र राजनीतिक सभा–समारोहमा ताली पाउने माध्यमभन्दा माथि उठाउन सकिँदैन तबसम्म न त नागरिकले वास्तविक सुखको अनुभूति गर्न पाउँछन् न त कर्णाली प्रदेश समृद्धिको यात्रामा अगाडि बढ्न सक्छ ।
कर्णालीजति अविकसित छ, त्योभन्दा बढी सयौँ गुणा सम्भावनाले भरिएको छ । सम्भावनालाई पहिचान गरी माटोसुहाउँदो नीति जनअपेक्षाअनुसारको विकास कार्यान्वयन भएमा कर्णालीप्रदेश देशकै धनी र साँच्चै ‘सुखारी’ प्रदेश बन्ने कुरामा दुईमत छैन ।
(लेखक विद्यार्थी हुनुहुन्छ ।)