विचार/दृष्टिकोण |

समृद्धिका लागि पुनरागमन

डा. धनपति कोइराला

रोजगारीसहितको शैक्षणिक ज्ञानका निम्ति देशका शक्तिशाली प्रतिभाहरू विदेश जाने क्रम आरम्भ भएको पनि तीन दशकभन्दा धेरै भयो । खासगरी संस्थागत विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरेका हजारौँ प्रतिभाहरू बर्सेनि विदेशी शैक्षिक संस्थाहरूमा अध्ययन गर्न प‘ग्ने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
त्यसो त वि.सं. २०४० को दशक अघि पनि संस्कृत भाषा साहित्य र दर्शन अध्ययन गर्नेदेखि कला, वाणिज्य, विज्ञान तथा प्रविधिसम्बन्धी विषयहरूको ज्ञान हासिल गर्न भारत जानेको लहर थियो र अद्यापि यो उपक्रम सङ्ख्यात्मक दृष्टिले न्यूनाधिक विद्यमान छ । तर, त्यहाँ अध्ययन गर्न पुगेका झण्डै ९९ प्रतिशत प्रतिभाहरू अध्ययन सिध्याएर स्वदेश नै फर्कन्थे, फर्कने गरेका छन् । ती केही अपवादतिर आँखा चिम्लँदा कम्तीमा पनि जेजस्तो क्षमताले भेट्छ सोहीअनुरूप स्वदेशकै सेवामा जुट्ने गर्थे र जुट्दै गरेका छन् । छात्रवृत्ति पाएर दक्षिण एसियाका मुलुकहरूमा अध्ययन गर्न पुगेका विद्यार्थीहरू भने फर्केर आउने गरेको देखिएको छ ।
तर, तेस्रो मुलुक पुगेका प्रतिभा अपवादमा मात्रै शिक्षा हासिल गरेपश्चात् फर्किएका छन् । पढ्दै र आंशिक रूपमा रोजगारी गर्दागर्दै लामो समयसम्म बस्ने र उच्च अध्ययनपछि त्यहीँ पूर्णकालीन रूपमा सेवारत रहने, उच्च शिक्षा हासिल गरेकालाई त्यहाँको सरकारले अस्थायी तथा स्थायी नागरिकता दिने प्रक्रियामा सहभागी भई तत्तत् देशको नागरिकता लिएपछि उनीहरूको स्वदेश फर्कने सम्भावना शून्यप्रायःमा पुग्दै आएको छ ।
कोरोनाकालमा समेत ‘नो अब्जेक्सन लेटर’ लिएर हजारौँ गएका छन् । कतिपय पर्यटकीय भिसामा जाने र त्यहाँ पुगेका आफन्तसँग बस्दै गर्ने र कलेजको भर्ना खुलेपछि आवेदन दिई उतै बस्ने र अध्ययन गर्नेको सङ्ख्या पनि कम छैन । त्यसो त कागजी विवाह, नक्कली विवाह गरेर सँगै जानेसम्मका नाटकीय कार्यसम्म भए, गरिए । एउटा गएपछि अर्को जाने र देखासिकीमा एउटै क्याम्पसमा अध्ययन गर्नेदेखि उसको गाउँ र सहरमा बस्ने अरू थुप्रै ताँती लागेर विदेश जाने क्रमले गाउँ र सहरहरू झण्डै युवारहित नै बन्न गएका छन् । पहिले विदेशमा पढ्न जान इच्छुकहरू नै त्यस्ता संस्थाहरू खोज्दै जान्थे । तर, आज १२ कक्षाको परीक्षा दिनासाथ विभिन्न शैक्षिक परामर्श केन्द्र र वैदेशिक शिक्षाका निम्ति आवश्यक प्रक्रिया र प्रवेशाज्ञा मिलाइदिनका लागि काम गर्ने संस्थाहरूले प्रत्येक विद्यार्थीलाई फोन गर्ने, भेट गर्ने, प्रोत्साहित गर्नेजस्ता कार्य गर्न थालेका छन् ।
यसबाट पनि प्रतिभाहरू कति सङ्ख्यामा गइरहेछन् र जाने क्रम कुन दरमा बढ्नेवाला छ भन्ने सहजै आकलन गर्न सकिन्छ । तथापि राज्यले आफ्नो युवाशक्ति, प्रतिभा कहाँ, कति, के कस्तो अवस्थामा छ भन्ने यकीन तथ्याङ्क राख्न सकेको छैन । यसरी प्रतिभाहरू विदेश नै गइरहँदा अहिले शिक्षा, स्वास्थ्य, प्रशासन, समाजसेवा, शिक्षण सिकाइ क्रियाकलाप आदि प्रभावित बन्दै गइरहेछन् ।
आज शिक्षा सङ्कायदेखि मानविकी, कमर्स र विज्ञान आदि सङ्कायका स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरूको क्षमता, उत्तीर्ण दर, तिनले हासिल गरेको औसत सिकाइस्तर हेर्ने हो भने निकै कहालीलाग्दो छ । तिनै रहेका र मुस्किलले उत्तीर्ण गरेकालाई नै शिक्षा, स्वास्थ्य, प्रशासन, राजनीति आदिको बागडोर जिम्मा लगाउँदै जाँदा देशको भविष्य कति कमजोर र सङ्कटापन्न बन्दै गइरहेछ सहजै अनुमान गर्न सकिन्छ ।
यस परिस्थितिका बाबजुद सकारात्मक सम्भावनाहरू पनि यहाँ लुकेका छन् । जस्तो कि विकसित देशहरूमा पुगेका प्रतिभाहरूले विज्ञान, विधि, पद्धति र प्रविधिहरू हासिल गरेका छन् । त्यहाँ तरक्की पनि गरेका छन् । कुमुद धिताल जसले मुटु प्रत्यारोपण गर्नमा ठूलो सफलता हासिल गर्न‘ृभयो । त्यस्ता प्रतिभा छन् असङ्ख्य, जससँग विज्ञान र प्रविधि छ, कार्यक्रम र योजनाहरू छन् । तिनले हासिल गरेका ज्ञान, विधि, पद्धति कला र कौशल हाम्रा निम्ति वरदान साबित हुन सक्छन् ।
पहिलो विश्वयुद्ध अघिसम्म चिनियाँ नागरिक विज्ञान र प्रविधिमा अनभिज्ञ थिए । उनीहरूको पहुँच थिएन यसमा । साह्रै पछाडि थिए उनीहरू । त्यसपछि उनीहरू विश्वका विकसित देशहरूमा पुगे । त्यहाँ कोही पढ्न पुगे त धेरैजसो मजदुर, भरिया, कामदार कुल्ली आदि भए । विदेशमा पढ्न गएका तङ् स्याओ पिंग स्वयंले कारखानामा काम गरेर खर्चको जोहो गर्नुपरेको थियो । दोस्रो विश्वयुद्धपछि देशले स्वदेश फर्कन आह्वान ग¥यो उनीहरूलाई । उनीहरू त्यहाँ बस्दा जति जे जाने सिके, बुझे, तीमध्ये प्रायः धेरै आफ्नो मुलुक फर्किए । आपूmले सिकेका सीप, ज्ञान, विधि प्रविधि र पद्धति व्यावहारिक रूपमै मुलुकमा उपयोग गरे । सरकारले पनि उनीहरूका आवश्यकता पूरा गरिदियो । मान सम्मान, पद र प्रतिष्ठा दियो । फलतः विस्तारै विस्तारै मुलुक बदलिँदै जान थाल्यो । विज्ञान र प्रविधिका क्षेत्रमा मात्रै नभएर शिक्षा स्वास्थ्य, जनजीविका आदि सवालमा पनि करिश्मा देखाउन थाल्यो । झण्डै तीन चार दशकभित्रै विश्वको अर्थतन्त्रलाई चुनौती दिन सक्ने भयो ।
नेपालले पनि त्यो सूत्र उपयोग गर्नुपर्छ । प्रतिभाहरूलाई मुलुक फर्कन आह्वान गरेर मात्र पुग्दैन । उनीहरूलाई पनि यथेष्ट पद, पैसा, प्रतिष्ठा, साधन स्रोत र विज्ञता हासिल गरेको क्षेत्रमा निर्बाध रूपमा काम गर्ने भरपर्दो वातावरण मिलाइदिनुपर्छ । उनीहरूका सन्ततिको शिक्षादीक्षा र रोजगारी आदिको समेत व्यवस्था मिलाएर यहाँ राख्नुपर्छ जसरी अरनिकोलाई तिब्बतमा सम्मानका साथ राखिएको थियो । त्यो अतिशय सम्मानकै कारण चाहेर पनि उनी स्वदेश फर्कन सकेनन् ।
राज्यले विदेशमा पलायन भएकाहरूलाई स्वदेशको हितमा लाग्न उत्प्रेरित गर्न राज्यशक्तिले भ्याएसम्मकै सुविधा र सम्मान दिनमा चुक्नु हुन्न । यसका निमित्त आवश्यक बजेट क्षेत्र र कार्यक्रम ल्याउनुपर्छ । नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेकालाई पनि तत्काल आवश्यक प्रक्रिया पूरा गरिदिई नागरिकता प्रदान गर्नुपर्छ । यदि यसो भयो भने पराया मुलुकमा बस्न शायद चाहन्नन् कोही ।
जो प्रतिभा गइरहेछन् उनीहरूलाई त्यहाँका उच्च प्रविधि, ज्ञान र सीप सिकेर आउन हौसला र उत्प्रेरणा प्रदान गर्नुपर्छ । यदि उनीहरूलाई स्वदेश र स्वदेशको महìवबारे दिल र दिमागमा गहिरो छाप पार्न सक्यौँ भने अवश्य भोलि उनीहरू फर्केर मुलुकलाई सिङ्गापुर, जापान र चीनभन्दा पनि सुन्दर र समृद्ध मुलुुक बनाउनमा अहम् भूमिका खेल्नेछन् । तब मात्र हरेक नेपाली खुसीले भरिएको सुखी र मुलुक पनि समृद्ध बन्न सक्नेछ ।
पलायनतर्फ उन्मुख तथा पलायन भइसकेका प्रतिभालाई आकर्षित गर्न वर्तमान सरकारले स्वदेश फर्कन आह्वान गर्ने, सम्बन्धित विषयमा विज्ञता भएकाहरूको तथ्याङ्क निकाल्ने काम त गरेको छ तर परिवेश निर्माण गर्न सकेको छैन । यसर्थ सच्चा रूपमा विकासप्रेमी नै रहेको सिद्ध गर्न ठोस रूपमै आवश्यक परिवेश निर्माण गर्नु जरुरी छ ।

(लेखक सामयिक विषयमा कलम चलाउनुहुन्छ ।)