बेइजिङदेखि अफ्रिकासम्म कुक्कुयात्रा
कृष्णप्रसाद भुसाल
चराहरू अनुकूल मौसम, सुरक्षित बासस्थान, आहार र प्रजननका लागि एक ठाउँबाट अर्को ठाउँ बसाइँ सरी आउने जाने गर्छन् । बसाइँ सराइ गर्ने चराहरूको संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षाका लागि विश्वव्यापी हातेमालो तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अङ्ग्रेजी मे महिनाको दोस्रो शनिबार विश्व बसाइँ सराइ चरा दिवस मनाइन्छ । जसअनुसार आज विश्व बसाइँ सराइ चरा दिवस–२०२१ हो ।
चराहरूको बसाइँ सराइको सन्दर्भ व्याख्या गर्न सन् २०१६ मा चीनको बेइजिङदेखि अफ्रिकासम्म कुक्कु कोइली चराले गरेको यात्रा निक्कै रोमाञ्चक हुनसक्छ । बसाइँ सराइको क्रममा तिनीहरूले हजारौँ माइल यात्रा गर्दै दर्जनौँ देशको दर्शन त गरे नै, उनीहरूले सयौँ किलोमिटर लामो समुद्र तथा मरुभूमिहरू माथि माथि उड्दै एक साहासिक यात्रा गरेका थिए ।
कोइलीहरू सुरिलो स्वर, लामो दूरीको बसाइँ सराइ र आफैँ गुँड नबनाउनेजस्ता विशिष्ट गुणका कारणले चर्चित छन् । वसन्तऋतुको आगमनसँगै सुमधुर स्वरका प्रतीक मानिने कोइलीका कुहुकुहु, काफल पाक्यो, बीउ कुहियो, कुक्कु जस्ता विभिन्न आवाजले तपाईं हाम्रो वरपरको वनजङ्गल गुञ्जिन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफ्नो गुँड नै बनाउँदैनन् । अरू चराको गुँडमा अण्डा पारिदिने र बच्चा कोरल्न लगाउने कोइलीलाई बाठो तर स्वार्थी चराको रूपमा हेरिन्छ । यिनैमध्येको एक हो ‘कुक्कु कोइली’ जुन नेपालमा पनि प्रजनन्का लागि बसाइँ सराइ गरी आउँछ ।
यिनीहरूबारे अध्ययन गर्न सन् २०१६ को मे महिनामा बेइजिङ कुक्कु परियोजनाका वैज्ञानिकहरूले चीनको राजधानी बेइजिङ नजिकको सिमसार क्षेत्रमा दुई पोथी र तीन भाले गरी पाँच वटा कुक्कु कोइलीलाई समाती सौर्य ऊर्जाबाट चल्ने यन्त्र (स्याटेलाइट ट्याग) लगाएर छाडिदिए । प्रजननका लागि त्यस क्षेत्रमा पुगेका कुक्कु कोइलीको जीवविज्ञान र बसाइँ सराइ यात्रा बुझ्नु त्यसको मुख्य उद्देश्य थियो । शरीरमा जडित स्याटेलाइट ट्यागले ती चराहरू कहाँकहाँ जान्छन्, कति उचाइमा, कतिको गतिमा उड्छन्जस्ता जानकारीहरू कम्प्युटरमा उपलब्ध गराउँथ्यो । उनीहरूको यात्रा अनुगमन र समन्वय सहजताका लागि पाँच वटै कोइलीको नामाकरण गरीयो । दुई पोथी कोइलीको नाम ‘फ्लापी’ र ‘होप’ राखियो भने तीन भाले कोइलीको नाम ‘स्काइबम्ब’, ‘जिगुइ’ र ‘मेङ्जी जुवान’ अथवा ‘सपनाको चरा’ राखियो । प्रत्येक यन्त्रको तौल ०.१६ औंस थियो । यन्त्र भारी भएर उड्न अप्ठ्यारो नहोस् भन्नेमा अनुसन्धानकर्ता सचेत थिए । उनीहरूले कोइली छान्दा पनि यन्त्रको तौल धान्न सक्ने क्षमता हेरेका थिए । छानिएका प्रत्येक कोइलीको तौल करिब ३.५ औंस थियो ।
यन्त्र जडान गरेपछि ती कोइलीलाई स्वतन्त्र रूपमा उड्न दिइयो । यन्त्र जडान गरी छाडिएको केही समयपछि पोथी करिब दुई सय किलोमिटर उत्तरतर्पm मङ्गोलियाको सिमानासम्म पुगे भने तीन भाले बेइजिङ आसपासमै बसिरहे । ‘होप’ उत्तर रसियातिर उडी, तर बीच बाटोमै कता हराइ पत्ता लागेन । सायद ऊ उड्दाउड्दै कुनै दुर्घटनामा परी वा यन्त्र उसको शरीरबाट खस्यो । त्यस्तै भाले ‘जिगुई’ पनि बेइजिङ नजिकै रोकियो । उसबाट अनुसन्धानकर्ताहरूले कुनै सन्देश प्राप्त गरेनन् । सायद ऊ पनि त्यतै कतै म¥यो वा यन्त्र खसाल्यो । जुनको तेस्रो साता फ्लापी प्रजननको लागि बैकाल तालबाट करिब दुई सय किलोमिटर टाढाको साइवेरिया क्षेत्रमा पुगेर रोकिई । बसाइँ सराइका लागि अनुकूल मौसम नभएर हो या लामो यात्राका लागि साथीहरूसँग बिदाइ माग्नका लागि फ्लापी स्याटेलाइट ट्याग जडान गरेको बेइजिङ क्षेत्रमै फर्की र केही दिनको अन्तरालमा पुनः उत्तर रसियातर्पm लागी । स्काईबम्बले पनि फ्लापीलाई पछ्यायो ।
अगस्त अन्तिम साताबाट उनीहरूको लामो दूरीको यात्रा सुरु भयो । स्काइबम्ब करिब एक हजार किलोमिटर दक्षिणतर्फ उड्यो भने फ्लापी करिब २४ सय किलोमिटर यात्रा तय गरी बेइजिङबाट म्यानमार पुगी । तर फ्लापीको म्यानमारमा लामो बसाइँ भएन । सेप्टेम्बर पहिलो साता नै फ्लापी म्यानमारबाट भारतको मेघालय हुँदै नेपाल प्रवेश गरी । ऊ करिब आठ सय किलोमिटर दूरी पार गरी सुस्ता त्रिवेणी हुँदै नेपाल प्रवेश गरेकी थिई । नवाँै देश प्रवेशको रूपमा नेपाल आएकी फ्लापी केही दिन बुटवल आसपासको जङ्गलमा बसी । त्यसपछि आफ्नो पश्चिमतर्पmको बसाइँ सराइ यात्रालाई निरन्तरता दिँदै उत्तर प्रदेश पुगी । केही दिनको उत्तर प्रदेश बसाइँपछि ऊ अक्टोबर पहिलो साता तीन सय पचास किलोमिटरको दक्षिण पश्चिमको यात्रा तय गरी राजस्थान पुगी । त्यहाँबाट पनि करिब पाँच सय किलोमिटर पार गरी पाकिस्तानको सीमासम्म पुगी । अक्टोबर दोस्रो साता फ्लापी त्यहाँबाट पनि करिब एक हजार किलोमिटर दूरी पार गरी पुनः उत्तर प्रदेशमै फर्की । सम्भवतः उसको अघिको बाटोमा आएको मौसमी अवरोधले हुनसक्छ आफूलाई सहज र परिचित स्थानमै फर्की । फ्लापीलाई पछ्याइरहेको स्काईबम्ब भने सेप्टेम्बर तेस्रो सातासम्म बङ्गलादेश र म्यानमारमै भुल्यो । त्यसपछि ऊ भारत प्रवेश गरेर लामो समय मध्यप्रदेशमा बस्यो । सायद ऊ समुद्रपार गर्नका लागि शक्ति सञ्चय गर्न चाहन्थ्यो । अन्ततः अक्टोबर अन्तिम साता स्काइबम्बले करिब चार दिनसम्म तीन हजार सात सय किलोमिटर निरन्तर उडान भर्दै मध्यभारतबाट हिन्द महासागर पार गरी अफ्रिकाको सोमालिया पुग्यो । तर अफसोच, नोभेम्बर तेस्रो साताबाट स्काइबम्बको स्याटेलाइट ट्यागले सूचना पठाउन बन्द ग¥यो । अनुसन्धानकर्ताहरूले उसको मृत्यु भएको हुन सक्ने अनुमान गरे । अक्टोबर पहिलो साताबाट मेङ्जी पनि दक्षीण चीनबाट लामो दूरीको यात्रामा निस्कियो । स्काइबम्बको बाटो पछ्याउँदै मेङ्जी म्यानमार, बङ्गलादेश हुँदै नोभेम्बर पहिलो साता भारत प्रवेश ग¥यो ।
नोभेम्बर पहिलो साता नै फ्लापीले पनि आफ्नो यात्रालाई पुनः निरन्तरता दिई । करिब दुई हजार किलोमिटर अविच्छिन्न रूपमा उडी फ्लापी अरबी सागर पार गरी ओमन पुगी । नोभेम्बर दोस्रो सातासम्म ऊ इथोपिया पुगी जुन स्काइबम्बसँग जम्मा पाँच सय किलोमिटर दूरीमा थियो । त्यहाँबाट पनि करिब छ सय किलोमिटर उडी ऊ केन्या पुगी । अफ्रिकामा पनि उसको यात्रा निरन्तर जारी नै रह्यो र सन् २०१७ जनवरी तेस्रो सातासम्म २० देश पार गरी ऊ मोजाम्बिक पुगी । त्यहाँ पुगेपछि आसपासका अफ्रिकी देशहरूमा घुम्दै उसले आराम र शक्ति सञ्चयमा आफ्नो समय व्यतित गरी । डिसेम्बर पहिलो साता मेङ्जी पनि करिब तीन हजार चार सय किलोमिटर अविच्छिन्न उड्दै हिन्द महासागर पार गरी अफ्रिकाको सोमालिया पुग्यो । सामुद्रिक आँधीको अवरोधले हुन सक्छ मेङ्जीले सिधा उडान नभरी सङ्घर्षपूर्ण नागबेली उडान गर्दै समुद्र पार ग¥यो ।
अप्रिल तेस्रो साताबाट प्रजनन् क्षेत्रमा पुग्नका लागि अफ्रिकाबाट फ्लापीको यात्रा पुनः उत्तरतर्पm सुरु भयो । उसले तान्जानियाबाट करिब एक हजार तीन सय किलोमिटर उड्दै यात्राको प्रारम्भ गरी । मे महिनाको दोस्रो साता फ्लापी करिब तीन हजार किलोमिटर दूरी अरबी सागरको माथि उड्दै इथोपियाबाट पाकिस्तानमा पुगी । मेङ्जी भने हिन्द महासागर माथिबाटै करिब तीन हजार किलोमिटर अविच्छिन्न उड्दै भारत पुग्यो । तीव्र रफ्तारमा उडेको मेङ्जी मे तेस्रो सातासम्म स्याटेलाइट जडान गरेकै क्षेत्र बेइजिङ पुगिसक्यो । मे तेस्रो साता नै फ्लापी सात दिनमा सात हजार किलोमिटर उडी उत्तर प्रदेशबाट काठमाडौँको आकाश हँुदै मध्यपहाडको बाटो म्यानमार पुगी । अन्ततः जुन पहिलो साता फ्लापी म्यानमारबाट बेइजिङको स्याटेलाइट ट्याग लगाइएको ठाउँलाई छलेर मङ्गोलियाको प्रजनन क्षेत्रमा पुगी । प्रजनन क्षेत्रमा छिटै पुग्नुपर्ने आवश्यकता वा बाध्यताले हुनसक्छ, फर्कने क्रमको यात्रा छिटो र छोटो बाटोबाट तय गरेको देखिन्छ ।
ऐतिहासिक यात्रा तय गरेको मेङ्जीको स्याटेलाइट ट्यागले जुन दोस्रो साताबाट सूचना पठाउन बन्द ग¥यो, वैज्ञानिकहरूले त्यसको पनि मृत्यु भएको हुनसक्ने आशङ्का व्यक्त गरे । पाँच वटा कोइलीमध्ये फ्लापीमात्र जीवित बाँची र आफ्नो यात्रालाई निरन्तर रूपमा सन् २०१८ सम्म कायम राखी । सन् २०१८ को मे तेस्रो साता जब फ्लापी प्रजननको लागि अफ्रिकाबाट फर्कने क्रममा म्यानमार पुगी उसको स्याटेलाइट ट्यागले पनि सूचना पठाउन बन्द ग¥यो । अन्ततः हामीलाई स्तब्ध बनाई फ्लापीले पनि, हराई त्यो ।
यसरी स्याटेलाइट ट्याग लगाइएका पाँच कुक्कु कोइलीमध्ये तीन कोइली साइवेरिया–चीनबाट अफ्रिकासम्म पुगे भने होप र जिगुइले बेइजिङ आसपासकै क्षेत्रमै मृत्युवरण गरे वा कतै हराए । बेइजिङ कुक्कु परियोजनाका वैज्ञानिकहरूले ती कोइलीको यात्रा विवरण यथासक्य विभिन्न देशका चराविज्ञसँग नियमित प्रवाह गरिरहे र आम रूपमा सूचना पनि जारी गरिरहे । जसले गर्दा सम्बन्धित ठाउँमा रहेका विज्ञले ती चराहरूलाई पछ्याउन पाए । फ्लापी नेपालको दाङ पुगेको बेला त्यस क्षेत्रमा भीषण आगालागी भइरहेको थियो, जसले यस पङ्क्तिकारलाई समेत चिन्तित बनाएको थियो तर सौभाग्यवश फ्लापी आगोको लप्काबाट बँची र आफ्नो यात्रा जारी राख्न सफल भई ।
फ्लापी र अन्य कोइलीप्रति समर्पण गरी सयौँ लेखहरू लेखिए, यिनको बसाइँ सराइ यात्रा र भोगिरहेका चुनौतीमा दर्जनाँै कार्यशालामा छलफल गरिए । खासमा यी कोइलीले हामी सबैलाई अपत्यारिला यात्राका तथ्यहरू मात्र उजागर गरेनन्, बसाइँ सराइका क्रममा आइपर्ने र भोगिरहेका जोखिमको न्यूनीकरणका लागि जुट्न मानव समुदायलाई सजग समेत बनाए ।
ढुकुरको जत्रो शरीर हुने कुक्कु कोइलीले साइवेरियाबाट अफ्रिकासम्मको आफ्नो यात्रामा २० देशको सीमा छुँदै करिब ३२ हजार किलोमिटर दूरी पार गरेको देखिन्छ जुन झन्डै आधा संसारको यात्रा हो । हरेक वर्ष हजारौँ किलोमिटरको यात्रा हिमाल, सागर र मरुभूमि हँुदै पार गर्नु कम्ती चुनौतीपूर्ण छैन । कोइलीजस्तो सानो चराले गर्ने यस प्रकारका साहसिक र जोखिमपूर्ण नियमित यात्रा हामी मानव समुदायका लागि सधैँ प्रेरणादायक छ ।
(लेखक पन्छी विज्ञ हुनुहुन्छ)