अभाव अक्सिजन होइन सिलिन्डरको
डा. प्रकाश बुढाथोकी
कोरोना सङ्क्रमणको दोस्रो लहरले छोटो समयमै सङ्क्रमणमा मात्र नभई अस्पताल भर्ना हुने र मृत्यृ हुनेको सङ्ख्या अप्रत्याशित रूपमा उकालो छ । भाइरस सजिलै हार खानेवाला नभएकाले दोस्रो महायुद्धको घोषणाका रूपमा जारी छ । यस पटक कोरोनाले आफूलाई पूर्ण तयार र थप शक्तिशाली बनाई भारतमा विध्वंश मच्चाउँदै नेपालमा प्रवेश गरेको छ । पहिलो निसानामा नेपालगञ्ज परी कोरोनासँग लड्ने सिपाही–स्वास्थ्यकर्मी मात्र होइन, हतियार–औषधी, शøया, अक्सिजनसमेतको अभाव उदाँगिएको छ ।
चर्किएको अक्सिजन अभाव
स्वस्थ मान्छेको अक्सिजन स्याचुरेसन ९५ प्रतिशत बढी हुन्छ र ९० प्रतिशतसम्म लक्षण तथा समस्या नहुँदासम्म सामान्य मानिन्छ । नयाँ भेरियन्ट कोरोना सङ्क्रमित भई अस्पताल भर्ना हुनेमा प्रमुख श्वास प्रश्वासमा समस्या रहेको र करिब ९० प्रतिशतलाई अक्सिजन आवश्यक परिरहेको छ । भारतमा अक्सिजनको अभाव भएपछि भारततिर निर्यात हुन थाले । दाल चामलझँै अक्सिजन पनि घर तथा अस्पतालमा भण्डारण गर्ने प्रवृत्ति बढ्यो ।
नेपालमा अहिलेको उत्पादन क्षमताले दैनिक १४ हजार सिलिन्डरसम्मको माग थेग्नसक्छ तथापि माग ११ हजार सिलिन्डरको मात्र छ । त्यसैमा प्लान्ट पूर्ण क्षमतामा चलाए दिनहुँ १७ हजार सिलिन्डरसम्म अक्सिजन उत्पन्न हुन्छ । तर कालोबजारी र व्यक्तिगत भण्डारणलगायतका कारण अभाव चर्किएको छ । अक्सिजन प्लान्टमा दुरुपयोग रोक्न प्रहरीको पहरा छ । जिल्लामा अनुगमन र बरामद भइरहेका छन् । स्वास्थ्य मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा बन्द गर्न आग्रह गरिसकेको छ । अस्पताललाई मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन उपलब्ध गराउन उद्योगहरूलाई परिपत्र गरेको छ । अक्सिजन पहिले ५५ औद्योगिक र ४५ प्रतिशत खपत अस्पतालमा हुने गर्दथ्यो । दैनिक उपत्यकामा आठ उद्योगबाट चारबाट बढाई आठ हजार लिटर र बाहिरका १४ को क्षमता १७ हजार र सिलिन्डर अभावका कारण चार हजार लिटर उत्पादनरत छन् । आफ्नै अक्सिजन प्लान्ट भएका निजी १२ र सरकारी १६ गरी जम्मा २८ अस्पतालका ३० अक्सिजन प्लान्टबाट दैनिक दुई हजार ५४९ सिलिन्डर उत्पादन गर्न सकिन्छ । गरगालाल र कान्तिबाट १३५ का दरले थप २७० ठूला सिलिन्डर भर्ने ग्यास उत्पादन हँुदैछ । सिलिन्डर अभाव हुन नदिन उत्पादक मुलुकबाट ५० हजार सिलिन्डर सरकारले आयात गर्दैछ । फास्ट ट्रयाकबाट चीनबाट १८ हजार स्थलमार्ग र दुई हजार हवाई मार्गमार्फत ल्याइँदैछ ।
अक्सिजन बैङ्क, उत्पादन र मर्मत
घरमा भए सर्जिकल मास्क र अस्पताल गए अक्सिजन मास्क चाहिने भन्दै काठमाडौँ महानगरद्वारा गङ्गालाल राष्ट्रिय हृदयकेन्द्रमा निर्मित अक्सिजन प्लान्टले वैशाख १९ देखि उत्पादन सुरु गरेको छ । अक्सिजन सिलिन्डरको अभावले देशभर कोरोना सङ्क्रमितको उपचार प्रभावित हुन थालेपछि बुटवलमा उपमहानगरपालिकाले अक्सिजन बैङ्क वैशाख २१ मा स्थापना गरेको छ । होम, होटल र संस्थागत आईसोलेसनमा बसेका कोभिड सङ्क्रमितलाई अक्सिजन आवश्यक परेमा अक्सिजन पु¥याउने जानकारी मेयरले दिएका छन् । कोभिड अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीहरू अक्सिजनकै लागि मध्यरातमा समेत हारगुहार गर्दैछन् । भेरी अस्पतालमा २० हजार लिटर क्षमताको अक्सिजन लिक्वीड ट्याङ्क भारतबाट ल्याई स्थापना भएको समाचार आए पनि अक्सिजन भरेर काममा आएको छैन । वीर, पाटन, शिक्षण, प्रसूति, दाङ, बुटवल, धरान अस्पतालका अक्सिजन प्लान्ट विगत एक वर्षदेखि थन्किएर बसेका थिए । हाल धेरै मर्मत गरी सञ्चालनमा ल्याइएको छ भने बाँकी मर्मतकै क्रममा छन् । टेकु अस्पतालको लिक्वीड अक्सिजन प्लान्टमा ग्यास सिद्धिएको छ । प्लान्टमा अक्सिजन आफैँ उत्पादन नभई बाहिरबाट हाल्ने भएकाले आपूर्तिमा गडबडले प्लान्ट खाली बन्ने गरेका छन् ।
पल्स अक्सिमिटर
आर्टरीमा बग्ने रगतमा अक्सिजनको प्रतिशत मात्रा मापन गरी बताइदिने अक्सिजनमापक यन्त्र पल्स अक्सिमेट्री हो । कानमा र बच्चाको हकमा खुट्टाको औँलामा लगाएर हेर्न सकिने भए पनि यो प्रायः हातको औँलामा लगाइन्छ । निकै खोज र लामो अनुसन्धानपश्चात सन् १९७४ मा जापानका बायोइन्जिनियर ताकुओ ओयागीले आविस्कार गरेको यस मेसिनबाट नाप्दा एबिजी आर्टरीबाट रगत निकालेर गरिनेभन्दा दुई प्रतिशतले मात्र तल माथि पर्न सक्छ । १० मिनेट आराम गरी, चिसो हात पुछेर, रगडेर न्यानो बनाई, नङको पालिस पुछेर, झ्याल खोली केही शुद्ध हावा लिई हातलाई अडेस लगाएर बूढी वा माझी औँलामा च्यापेर मेसिनअनुसार आवाज आउन वा एक मिनेट पर्खेर सबैभन्दा माथिल्लो अङ्कमा रोकिएको बेलाको अङ्क नै यसको रिपोर्ट हो । ९५ प्रतिशत बढी भए सामान्य, ९० प्रतिशत देखाउँदा झयालको छेउमा जाने, केही बेर घोप्टो परी बस्ने–प्रोन पोजिसन र पुनः परीक्षण गर्दा पनि कम भए चिकित्सक परामर्श लिनपर्छ ।
अक्सिजन होइन, सिलिन्डरको अभाव
हामीकहाँ अक्सिजनको कमी नभएर त्यसलाई चाहिएको ठाउँसम्म पु-याउने गतिलो संयन्त्र र सिलिन्डरको अभाव हो । सहज पारवहन र व्यवस्थापनका लागि रोक्न खोज्ने वा बाधा उत्पन्न गर्ने जोसुकैलाई पनि भारतमा जस्तै फाँसीको सजाय हुनसक्ने चेतावनी दिनुपर्ने अवस्था नेपालमा पनि देखिएको छ । अक्सिजन उत्पादन दैनिक ३० हजार बिरामीलाई पर्याप्त भए पनि अस्पतालमा पु¥याउन सिलिन्डर कम भएकाले अभाव देखिएको छ । हाल ठूला पाँच उद्योगसँग १२ हजार र अन्य १६ साना उद्योगसँग दुई हजारका दरले कुल करिब ९२ हजार सिलिन्डर सञ्चालनमा छन् । यसैबीच वैशाख १३ गतेको क्याबिनेटले कोभिड १९ सङ्क्रमितको उपचारमा आवश्यक पर्ने आईसीयु बेड, अक्सिजन सिलिन्डर, अक्सिजन फ्लोमिटर, सिरिञ्ज पम्प, आईसीयु मोनिटरलगायत १० प्रकारका स्वास्थ्य सामग्रीमा अन्तशुल्क, भ्याट, महसुल कर छुट दिने निर्णय गरेको छ ।
अक्सिजनको स्तर
बढ्दो सङ्््क्रमणबीच अधिकांश बिरामीमा फोक्सोमा पर्याप्त अक्सिजन नपुग्ने र अक्सिजनको कमी हुने समस्या छ । अस्पतालका शøया खाली छैनन् । यस्तो अवस्थामा आइसोलेसन वा घरमै सुत्ने तरिकामा केही परिवर्तन गरेर पनि अक्सिजनको सामान्य कमीलाई धेरै हदसम्म बढाउन सकिन्छ । सङ्क्रमितलाई सास लिन समस्या भए वा अक्सिजनको स्तर ९४ भन्दा कम भए चिकित्सकीय स्वीकृत विधि घोप्टो परेर पल्टिनु प्रोनिङ फाइदाजनक हुन्छ । पेटमा दुई वटा सिरानी, टाउकोमा एउटा र खुट्टाको गोलीगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुपर्छ । यसले फोक्सोको क्षमता बढाउन सहयोग गर्ने भएकाले यसलाई प्राकृतिक भेन्टिलेटर भनिन्छ । घोप्टो परेर सुत्दा फोक्सो पूरा खुल्छ र निको हुने दर बढ्छ । अक्सिजन ८७ प्रतिशत भएका बिरामीलाई घोप्टो सुत्दा बढेर ९२ र ९० भएकाको ९४ प्रतिशत पुग्नेगर्छ । भारत सरकारले पनि बिरामी आफँैले आफ्नो स्याहारका लागि प्रोनिङ सुझाव दिएको छ । प्रोनिङले अस्पतालको बोझलाई कम गर्ने मात्र नभई यान्त्रिक भेन्टिलेटरको आवश्यकतालाई समेत कम गर्छ ।
पहाडी जिल्लामा अक्सिजन कन्सेन्ट्रेटर प्रयोग गर्ने रणनीति बनाउनुपर्छ । हावामा भएको २१ प्रतिशत अक्सिजनलाई एकत्रित गर्दै बिरामीलाई उपलब्ध गराउँछ र प्रति मिनेट १० लिटर अक्सिजन दिन सकिन्छ । मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ अनुसार आईसीयुमा र भेन्टिलेटरमा राखी उपचार गर्नपर्ने क्रिटिकल बिरामीका लागि दैनिक १४ हजार लिटर र आईसीयुमा रहेका बिरामीलाई प्रति मिनेट १० लिटर अक्सिजन जरुरत पर्छ । एचडीयुमा उपचाररतका लागि प्रति मिनेट आठ लिटरका दरले अक्सिजन आवश्यक पर्छ । यसैगरी आईसोलेसनमा अक्सिजनसहित उपचाररतका लागि प्रति मिनेट चार लिटरका दरले अक्सिजन आवश्यक पर्छ ।
(डा. बुढाथोकी नेपाल चिकित्सक सङ््घका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)